साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दलदलभित्रका दलहरू

यी प्रतिनिधि दलदलभित्रका दलहरूको राजनैतिक उदाहरणबाट दोधारमा परें - सबैभन्दा नयाँ पार्टी खोलेर अर्को नयाँ नेतादेव बनौँ, कि पहाडको एकान्त गाउँ फर्किएर एक्लै जोगी बनौं.....?

Nepal Telecom ad

ईरानराई :

‘अ’लाई उनको कम्युनिस्ट पार्टीको पूरा नाम शुद्ध लेख्न र भन्न आउँदैन भने संस्थापकहरूको नाम जान्ने कहिल्यै चेष्टा नै गरेकी छैनन् । उनी त्यो पार्टीको जिल्ला कमिटी सदस्य । उनको जहिल्यैको कचकचे गुनासो जोकोहीले पनि सुन्नुपर्छ – उनलाई पार्टीले न नगरप्रमुखको टिकट दियो, न सांसदको ।

‘आ’ अर्को कम्युनिस्ट पार्टीको पालिका कमिटीको वरिष्ठ उपाध्यक्ष । उसले उसको पार्टीको चुनावचिह्न चिन्दछ तर लगातार चारवटा निर्वाचनदेखि उसको पार्टीको चुनावचिह्नमा मतदान गर्न पाएको छैन; चुनावैपिच्छे अरू नै पार्टीको झन्डा बोक्नुपरेको छ, चिह्न फेरी फेरी चुनावचिह्नहरूमा छाप ठोक्नुपरेको छ । उसको पनि उही गुनासो पार्टीले उसलाई टिकट नै दिँदैन ।

‘इ’ तेस्रो कम्युनिस्ट पार्टीको निर्वाचन क्षेत्रीय नेता, क्षेत्रभरिमै उसका पार्टीबाट उम्मेदवार बन्ने कार्यकर्ता छैनन् । औंलामा गन्न सकिने कार्यकर्ताहरू मात्र भएकाले प्रत्येक पटकको निर्वाचनमा ऊ आफैँ उम्मेदवार बन्दछ, अनि ‘हाम्रो पार्टीको यति भोट छ, जसले भ्रष्टाचारविरोधी हाम्रो पार्टीको समाज रूपान्तरणको मुद्दा बोक्छ र प्रचारप्रसारमा सहयोग गर्छ, उसैलाई सबै भोट एकछापे जान्छ’ भन्दै भोट बेच्दै आएको छ रे । उसको गुनासोचाहिँ नेता र नीति ठीक छन् तर पार्टी र घरखर्च चलाउन माथिल्लो कमिटीले पैसा दिँदैन ।

‘ई’ चौथो कम्युनिस्ट पार्टीको प्रदेश नेता तर उसको क्रान्तिकारी पार्टीले अहिलेसम्म ‘खसीको टाउको झुन्डाएर कुकुरको मासु बेच्ने’ ‘पुँजीवादी संसदीय निर्वाचनको बहिष्कार; अग्रगामी सङ्घर्षमै जनाधार’ नारा लगाउँदै निर्वाचनमा भाग लिएको छैन। तर पार्टी चलाउन चन्दाका लागि चाहिँ तिनै जनप्रतिनिधिहरूकहाँ पुग्छ रे। उसको गुनासोचाहिँ पार्टीले पैसा दिने धनीमानी सामन्त, कालाबजारीहरूकोमा चाहिँ कारबाही गर्न दिँदैन । त्यहाँ कारबाही गर्न पाए, एकै जनाकोले एक वर्ष काम चल्ने थियो ।

सबैभन्दा जेठो पार्टीको केन्द्रीय तरुण ‘क’लाई वीपी कोइरालाको फोटो देखाएर ‘उहाँ को हो ?’ भनेर सोध्दा ‘ठ्याक्कै चाहिँ चिनिनँ तर तल्लाघरे काकाका साइँलाबाजस्तो देखिन्छ बूढो’ रे ! उसको गुनासोचाहिँ केन्द्रीय सदस्य भएपछि भाषण गर् गर् भनिरहन्छन् रे, ऊचाहिँ भाग्दाको दास्ती । ‘भाषण किन, केटाहरू भेला पारे भएन र’ भन्छ ।

पुरानो सिद्धान्त बोकेको नयाँ पार्टीको प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवारलाई एक मतदाताले सोधे तपाईंको पार्टी कहिले स्थापना भएको हो ? उनले झर्किदै भनिन् – अनावश्यक प्रश्न नगर्नुहोस् न दाइ, मेरो पार्टी मैले खोलेको हो र? यो पार्टीमा मलाई भित्र्याएर टिकट दिने अङ्कलका आन्टीहरू कति जना हुनुहुन्छ भनेर झुक्किरहने मान्छेले पार्टीको स्थापना घोकिरहन्छु ? फेरि म सधैंभरि यही पार्टीमा बसिरहन्छु होला त ? उनको रिसचाहिँ नेतासँग हैन, कार्यकर्ता, मतदाताहरूसँग रहेछ । पार्टीमा तपाईं नयाँ मान्छे, अझ कोही-कोहीले त आ’को एक महिना भा’को छैन, टिकट भनेर व्यङ्ग्य गर्दारहेछन् ।

मुखभरि चौतीसवटा दाँत भएका अदन्त्यहरूको नगर पार्टी अध्यक्ष ‘ख’ले विदेशको नमुना विकासको व्याख्या गर्याे बालदिवसमा । पाँच कक्षामा पढ्‌ने छात्राले सोधिन्- सर, खुत्रुके कसरी बनाइन्छ ? निकै बेर अलमलपछि जवाफ दियो -नजाने गाउँको बाटै नसोध्नू । हामीले सरकार चलाउन पायौँ भने जमानाअनुसार सबै जनतालाई सेफ र सेफभरि पैसा दिनेछौँ । त्यतिबेला खुत्रुकेको आवश्यकता नै पर्दैन, त्यसैले खुत्रुकेबारे चासै छैन ।

उसको गुनासो अरु पार्टीका मतदाता र कार्यकर्ताहरूसँगै रहेछ । अरूका ती कार्यकर्ताहरूलाई परिवर्तन नचाहने झोले भन्दोरहेछ । ती झोलेहरू छिटोछिटो कुरा बुझेर उसको ‘खोले’ पार्टीको ‘फेसबुक’ र ‘युट्युब’ बोक्न आएनन् भनेर आलोचना गर्दोरहेछ । पाइपबाट पानी ल्याएर परिवर्तन गर्न उसको पार्टीमा पसेर ‘मुखाले’ बन्नुपर्ने रे ।

दिवाकालीन लज, रात्रिकालीन ट्याक्सी, सन्ध्याकालीन भोज र प्रातकालीन मोजजस्ता व्यवसाय गरेका खप्पिस इलमी कुनै राजनैतिक दलमा पनि टिक्न सकेन, त्यस्तो स्वतन्त्र डाङडुङे ‘ड’ले शङ्खघोष गर्याे यो देशका सबै पुराना बूढाखाडा र भ्रष्ट नेताहरूलाई जेलमा कोच्छु ।

ऊ त सबैप्रति नकारात्मक छ । भन्छ – न नेता, न कार्यकर्ता, न जनता; सबका सब मूर्ख । सडकमा परेका सानातिना खाल्डाखुल्डी पुरेर टिकटक बनाउनु भन्छ, अनि सडक कार्यालयको काम छैन रे, भत्काएर समाचार फुक्नु रे ।

युवा र नेतृहरूले ताली बजाए । ताली बज्दाबज्दै प्रहरीले उसलाई मञ्चबाटै गिरफ्तार गयो । कसुर -चेलीबेटी बेचबिखन र लागूऔषध ओसारपसार । प्रहरी-भ्यानबाटै चिच्याउँदै थियो मजतिको युवानेतालाई विनापक्राउपुर्जी पक्राउ गर्ने डरछेरुवा सरकार, मूर्दावाद । मजस्ता देशभक्त र उद्यमी युवाहरूको एकता – जिन्दावाद !!

यी प्रतिनिधि दलदलभित्रका दलहरूको राजनैतिक उदाहरणबाट दोधारमा परें – सबैभन्दा नयाँ पार्टी खोलेर अर्को नयाँ नेतादेव बनौँ, कि पहाडको एकान्त गाउँ फर्किएर एक्लै जोगी बनौं…..?

०००
हास्यव्यङ्ग्यकार नालीबेली (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x