अनिता काेइरालासमयको ब्ल्याक होल !
अहंकारको आलोक फैलिएपछि प्रज्ञाको सूर्य पक्षपाती भएको हो आफ्नालाई जमिनबाट उठाएर सोझै स्वर्गको भ्रमण गराएको हो चम्चे र धुपौरेका आरतीले मगमगाएको सूर्य ।

अनिता काेइराला :
वर्षौंपछि अचानक
उही आदिम सूर्यलाई
देखेँ आँखै अगाडि ।
समीपैबाट
नियालिरहेँ खुल्ला आँखाले
निस्तेज हुँदैगएको
उसको आभामण्डल ।
चकित भएँ,
विस्मित भएँ
रत्तिभर तिल्मिलाएनन्
मेरा चिम्सा आँखाहरू
हेरिरहें अझ् हेरिरहें
डुब्न लागेको त्यो सूर्यको गति
चारैतिर उज्यालो बोकेर
कुनै दिन हिँडेको त्यो आदिम सूर्यले
पश्चिमको डाँडा भुलेको थियो
अप बल, तप बल र बाहु बलको
उन्मादमा ।
छातीभरि अरुणको
कलिलो ज्योति लिएर
उदाउँदै गरेको
मेरो सूर्यलाई
जाकिदिएको थियो
अनिश्चितताको दलदलमा ।
शक्तिको घोडामा
सत्ताको काठी कसेर दौडिरहेको त्यो सूर्य
तल झरेर विवेकको उचाइबाट
गाँस्दै थियो
कुटुम्बको निकटतम माला ।
अमिट,अखण्ड र अतुल
स्वराज्यको घोषण गरेर रमाएको
त्यो सूर्यले देख्न सकेन
समयको ब्ल्याक होल
जहाँ ऊ पनि एकदिन फस्न सक्छ।
दुर्भाग्य
निश्चितताको आकाश ओडेर
हाँसेको त्यो सूर्यले
समयमै देख्न सकेन
नियतिको नियम
बुझ्न सकेन घुमिरहने समयको चक्र।
सपना सजाएर रमाएका
मेरा कलिला आँखाहरूले
हेर्दै थिए परपरसम्म
निर्दोष र निश्छल
आँखाहरूमा
असक्षमता र अविश्वासको
कुटिल दृष्टि फैल्याएर
खोसेको थियो त्यो दम्भी सूर्यले
मेरो धर्ती र आकाश ।
अहंकारको आलोक फैलिएपछि
प्रज्ञाको सूर्य पक्षपाती भएको हो
आफ्नालाई जमिनबाट उठाएर
सोझै स्वर्गको भ्रमण गराएको हो
चम्चे र धुपौरेका आरतीले
मगमगाएको सूर्य
समयलाई टिपेर
दिक्कालसम्म
आफ्नै सन्दुकमा राख्न चाहन्थ्यो ।
तर थाहा पाउनै सकेन
बोधले भरिएको
त्यो खाली सूर्यले
अरूको खुशी खोस्नेलाई
कहाँ मिल्न सक्छ र
खुशीको प्रशान्त सागर ! भनेर ।
०००
काठमाडाैं
२०८२-४- ८
Subscribe
Login
0 Comments
Oldest








































