साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखियाको पार्टी

विष्णुलाई 'यस्ता बेहोस र शुद्धिहिन मुखियाहरुले के पार्टी, के देशको भलो गर्लान् ?' भन्ने चिन्ताले पो सतायो। ब्रह्माजी 'मेरो सिर्जनामा त यस्तो सूत्र नै थिएन कसरी यस्तो भयो ?' भनी घोत्लिँदै थिए।

Nepal Telecom ad

डा. कुसुमाकर शर्मा गौतम :

ब्रह्मा, विष्णु, महेश्वर त्रिदेव भेट भएर इन्द्रको कफी कर्नरमा कफीको चुस्की लिँदै भलाकुसारी गर्न थाले। विष्णुले भने ‘हामी त्रिदेव मिलेर स्वर्ग, मर्त्य र पाताल तीनै लोक मज्जासँग  चलाइराखेका छौँ। हामी जस्तै तीनवटा शक्ति मिलेर लोक हाँक्ने कोही होलान् कि नहोलान् ? मलाई लोकमा गएर हेर्न मन लागेको छ।’

चार हात मध्ये दुई हातले जुँगा मुसार्दै ब्रह्माजी बोले ‘अहिले स्वर्गलोकमा र पाताललोकमा त्यस्तो विघ्न उपद्रो भएको छैन। त्यसैले मर्त्यलोकमा मात्रै गए के होला ?’

‘कुराे एकदम ठीक हो। म पशुपति भएको देश नेपाल जान्छु।’ गाँजाको धुवाँ फाल्दै लठ्ठिएको आवाजमा स्वर निकाले महादेवले।

‘ए त्यसो हो भने म पनि तिरुपति भएको देश भारत जान्छु।’ विष्णुले छाने। ‘ब्रह्माका मन्दिर बनाउने र ब्रह्मालाई पुज्ने देश थाइल्यान्ड मात्रै हो। म त त्यहीँ जान्छु।’ हाँस्दै बोले ब्रह्माजी।

‘जाने त जाने अनि हेर्ने के ?’ राता आँखा पल्टाउँदै गर्जिए महादेव। विष्णुले मुस्कुराउँदै बोले ‘मर्त्य लोकमा अहिले डेमोक्रेसी भन्ने चिज हावी छ। देश सञ्चालनमा एउटा पक्ष र अर्को विपक्ष हुन्छ। अचम्मको कुरो त त्यहाँ पार्टी भन्ने जन्तु बग्रेल्ती हुन्छन्। यी पार्टीमा पनि हामी जस्ता तीनवटा मुखियाहरु भए कसरी पार्टी चलाउँदा रहेछन् त ? भनेर हेर्ने।’

‘ल ! त्यही गरौँ र आफ्नो काम सकिएपछि सगरमाथाको टुप्पोमा भेट्ने’ भनी वाचा गर्दै त्रिदेव आ-आफ्नो गतव्यतिर लागे।

ब्रह्माजी थाइल्यान्ड गई त्यहाँको सरकार र पार्टी सञ्चालन सुचारु रुपले चलेको थाहा पाएर आफ्नो काम सिध्याई सगरमाथाको टुप्पोमा आइ बसे। एक हप्तापछि विष्णु ब्रह्माजीको छेउमा आइपुगे र बोले ‘ओहो भारत त कति जटिल देश रहेछ। जताततै माकुराको जालो जस्तो जेलिएको। तैपनि सरकार र पार्टी सञ्चालन राम्रै रहेछ। पार्टीको मुखिया एउटै हुने रहेछ।’

ज्ञात रहोस् देउताको एकदिन भनेको मर्त्यलोकको एक वर्ष हुन्छ। दुई हप्तासम्म पनि महादेव नआएपछि ब्रह्माजी र विष्णु महादेवलाई खोज्दै पशुपतिको मन्दिर माथिको श्लेषमान्तक जंगलमा पुगे। यसो हेरेको त महादेव श्लेषमान्तक जङ्गलको सबैभन्दा अग्लो ढिस्कोमा बसेर नेपालका पार्टीका मुखियाहरूको चर्तिकला हेर्दै रहेछन्।

ब्रह्मा र विष्णु छेउमै आउँदा चोर् औँलाले स् !स् ! गर्दै चुप लाग्न संकेत गरे। कस्तो अचम्म ! नेपालमा भएका जति प्रत्येक पार्टीमा तीन तीनवटा मुखिया रहेछन्। ठूला ठूला नामधारी राष्ट्रिय, क्षेत्रीय, जातीय पार्टीहरु र अरु चुच्चे बुच्चे पार्टीमा पनि तीन तीन जना मुखिया रहेछन्। यी तीन मुखियाका मुख तीनतिर फर्केका रहेछन्। खाली हातेसाङ्लो मात्रै बनाएका रहेछन् त्यो पनि कमण्डलु जस्ता खल्ती जोडेर। ती मुखियाहरुले एक अर्कालाई डाम्ने, खुइल्याउने, पार्टी नै चल्न नदिने, नभए पार्टी फोड्ने, आदि इत्यादि मात्र गर्दा रहेछन्। अर्को अचम्मको कुरा ! ती मुखियाहरुका मालिक फरक फरक रहेछन्। चाबी दिने खेलौना जस्तै मालिकले जति दम दिन्छन् त्यति नै चल्दा रहेछन्, खेल्दा रहेछन्। यही देखेर महादेवले एउटा परीक्षण गरिरहेका रहेछन्। त्रिदेव मिलेर त्यो परीक्षण हेर्न लागे ।

साँझ परेपछि एक अमूक पार्टीका तीनवटै मुखिया सोमरस र महादेवको बुटीले धुत्त भएर भट्टी बाहिरको ट्याक्सीमा चढे र ‘पार्टी कार्यालय जाने’ भनी ट्याक्सी डाईबरलाई आदेश दिए। होशै नभएका यी मनुवा देखेर यही मौकामा ट्याक्सी डाईबरलाई पनि पैसा कमाउन मन लाग्यो। नसाले धुत्त भएका मुखियाहरु ट्याक्सीभित्र चढेपछि ‘जाउँ त है नेताजी ?’ भनेर सोध्यो डाईबरले। ‘ल ल जाउँ’ को जवाफमा ट्याक्सी स्टार्ट मात्रै गर्यो र एकै छिनपछि ‘लौ हजुरको पार्टी कार्यालय आयो’ भनेर एक पाइला पनि अगाडि नबढाइ ट्याक्सी बन्द गर्यो। ढूस भएका नेताहरु ट्याक्सीबाट ओर्ले र पार्टी कार्यालयतिर लागे। त्रिदेव अन्य सबै अमूक पार्टीका मुखियाहरुको उस्तै अनुकरणीय चाला देख्दै हतप्रभ भइरहेका थिए । विष्णुलाई ‘यस्ता बेहोस र शुद्धिहिन मुखियाहरुले के पार्टी, के देशको भलो गर्लान् ?’ भन्ने चिन्ताले पो सतायो। ब्रह्माजी ‘मेरो सिर्जनामा त यस्तो सूत्र नै थिएन कसरी यस्तो भयो ?’ भनी घोत्लिँदै थिए।

अन्तिममा त्रिदेव हालको सरकार भएको पार्टीका तीन मुखियाहरूको चर्तिकला हेर्न थाले । ती मुखियाहरू पनि सोमरस र शिवजीको बुटीले धुत्त हुँदै भट्टीबाट निस्के र ट्याक्सीमा चढे। ट्याक्सी डाईबरले ‘कता जाने नेताजी ?’ भनी सोध्यो। ‘पार्टी कार्यालय जाने’ भन्ने जवाफ पाउनासाथ सँधै झैँ ट्याक्सी स्टार्ट गर्यो अनि एक छिनपछि बन्द गर्यो एउटै स्थानमा बसी बसी। ‘पार्टी कार्यालय आयो हजुर’ भनेर डाईबरले भनेपछि तीन नम्बरको मुखियाले पैसा तिर्यो र ट्याक्सी बाहिर निस्कियो । दुई नम्बरको मुखियाले ‘धेरै धेरै धन्यवाद है भाइ। रात विरात यहाँसम्म ल्यादिनु भयो’ भन्यो र ट्याक्सी बाहिर निस्कियो।

एक नम्बरको मुखिया आफू बसेको सिटबाट अलिकति अगाडितिर सर्‍यो र डाईबरलाई झ्याम्म चड्कायो। ‘ए ! बजियाले त थाहा पाएछ कि क्या हो मैले ट्याक्सी स्टार्ट र बन्द गरेको’ भन्दै डराई डराई डाईबरले सोध्यो। ‘किन पिटेको हजुर ?’ एउटा खुट्टा ट्याक्सीको ढोका बाहिर राख्दै नम्बरी मुखियाले भन्यो ‘कति धेरै स्पीडमा ट्याक्सी कुदाएको ? झण्डै दुर्घटना भएकोथ्यो। अब यस्तरी नकुदाउनू।’ यो सुन्ने बित्तिकै त्रिदेव श्लेषमान्तक जङ्गलबाट सुइँकुच्चा ठोके स्वर्गतिर।

०००
बाङ्गा अक्षर समूहबाट सुटुक्क

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Misu Shrestha
Misu Shrestha
10 months ago

लु गजब सब बाठा

Nepal Telecom ad
नक्कली झोला

नक्कली झोला

डा.कुसुमाकर शर्मा गाैतम
फोन कल

फोन कल

डा.कुसुमाकर शर्मा गाैतम
सम्मान

सम्मान

डा.कुसुमाकर शर्मा गाैतम
इच्छा मरण

इच्छा मरण

डा.कुसुमाकर शर्मा गाैतम
सल्लाहकार

सल्लाहकार

डा.कुसुमाकर शर्मा गाैतम
पुङमाङे

पुङमाङे

डा.कुसुमाकर शर्मा गाैतम
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
1
0
Would love your thoughts, please comment.x
()
x