डा.कुसुमाकर शर्मा गाैतमसल्लाहकार
अमेरिकामा त सल्लाहकारलाई जेल हाल्छन् भने नेपालमा ? मेरो हातबाट रिमोट फ्यात्त भुइँमा खस्यो । यत्ति सम्झना छ- मेरा औँला मोबाइलमा ‘उनी’ को नम्बर रिडाइल गर्दै थिए ।

डा.कुसुमाकर शर्मा गौतम :
एका बिहानै फोन आयो । मैले ‘हेलो’ मात्रै भनेँ । सबै आउने कुरा उताबाट मात्रै थियो । सन्चो-बिसन्चोकोको क्रमलाई नै उछिनेर चन्द्रमामै पुगेको जसरी बोले “ल बधाईं छ हजुर !” मेरा कान ठाडा भए । हुन पनि किन नहून् ? जागीरबाट अवकास हुँदा पाएको बधाईंपछि अर्को एउटा पनि पाइएको छैन । कार्यालय जाँदा मातहतका कर्मचारीले नमस्कारको टस्को त दिन्थे । अवकास हुने हुने बेलामा त त्यो पनि घट्दो क्रममा थियो । देख्या पनि नदेख्या जस्तो गर्ने । कोट्याउनै जानु पर्ने नमस्कार खानलाई । अहिले त उही भान्जाभान्जी र सालासालीका सन्तानहरूको मात्रै पाइएको छ । त्यो पनि घरमा बोलाएपछि मात्र ।
जागीरबाट अवकास पाउँदा कस्ता कस्ता थिए नि बधाईंहरू- सिङ उम्रेका, पुच्छर घुमेका, रङ्गीन, रमाइला, खिस्याइला, ईष्र्याइला, कनपारो तात्तिने ! जस्तो पनि झेल्नु पर्ने यो जीवनमा । ल सुन्नुस् तपाईं पनि – ‘ल बधाईं छ ! सेवा निवृत्त जीवन उर्जामय बनोस् ।’ ‘सेकेन्ड इनिङको बधाईं ! नयाँ जीवनले सार्थकता पाओस् ।’ ‘ल बधाईं छ, तेल भिसा लगाएर छोराछोरीकहाँ जानका लागि !’ ‘ढुवानीको कन्सल्ट्यान्सी खोल्नुस्, अग्रिम बधाईं !’
कुरो फोनको हुँदै थियो । ‘उनी’ अर्थात् दरबार, बार्दली, डाँडा, टार, थान, मन्दिर सबैतिर चिनिएका । ती ठाउँहरूबाट मान सम्मान पाएका । उनले भनेपछि कसैले पनि नाइनास्ती गर्न नसक्ने । मान्छेको खुबी हुनु त त्यस्तो नि ! कता हो कताबाट मेरो पनि गोरु बेचेको नाता पर्ने रहेछ । म हुलाकको हाकिम हुँदा सालीकी नन्दकी कान्छी सासुका देवर भनेर चिनजान गर्न आएका थिए । कुन चाहिँ पार्टीको कार्यकर्तालाई जागीर लाइदिनु पर्यो भनेर । केटोलाई चिठी पत्र बाँडने ज्यालादारी हुलाकीमा लगाइदिएको । के टिक्थ्यो ?
“के को बधाइ हो ?” मैले पनि तपाईंहरूले सोचे जसरी प्रश्न सोधेँ उनलाई । पाएको बधाईं पनि छुट्ला कि भन्ने त्रास छँदै थियो । “ल राम्रै पद पड्काउनु भए छ त ! यति नजिकैको मान्छे हुनुहँदोरहेछ अध्यक्षज्यूको । मलाई त थाहा नै थिएन ! मेरै अगाडि अध्यक्षज्यूले भनेको । ‘ल कुसुमाकरजीको नाम टिपीहाल त त्यसमा !’ जे होस् पार्टीले तपाईंको योगदानको कदर गरेरै छाड्यो ।”
खुशीले उफ्रनुको सट्टा म झस्किएँ । मलाई उनका पार्टीका अध्यक्षले कसरी चिने ? न बाबु तिरका न आमातिरका । न त उनको जिल्लामा काम गरेको । न उनका झोला बोकेको, न झोलामा उनको जिनिस बोकेको ? न त उनका आसेपासे, भाइभारदार, झोलेको नजिक भएको । अफिसको कामै हापेर कुनै पार्टीको अधिवेशनमा पनि कुदेको छैन । चौअन्नी सदस्यता पनि लिएको छैन कुनै पार्टीको । म त सबै पार्टीले पनि काम नलाग्ने मान्छे भनेर हुलाकमा थनक्याइएको मान्छे । चाकरीको च नजानेको म त्यहीँ सडेँ । त्यहीँ गलेँ । त्यहीँबाट अवकास पाएँ ।
फेरि कुरो ‘उनी’ कै । “म नै हुँ भन्ने कसरी थाहा पाउनु भयो ? अरू पनि त हुन सक्छन् नि !” प्रश्न सोध्दा उताबाट तुरुन्तै जवाफ आएन । म फेरि सोचमा परेँ । अचम्मको नाम भएकोले होला नाम नै कण्ठ रहेछ बुढालाई । यसो सम्झेँ मेरो नाम गरेका प्राध्यापक र इन्जिनियर भर्खर अवकास भएका हुन् । उनीहरू पो हुन् कि ?
“फलानो जिल्ला भनेपछि तपाईं बाहेक अरुको हुन्छ र ? तपाईंको घर भएको जिल्लामा अर्को छ र उस्तै नाम भएको ? जे होस् पार्टीको जिल्ला समितिको सल्लाहकारमा नियुक्त हुनु भएकोमा फेरि पनि बधाईं ।” उताबाट च्याँठ्ठिएको जस्तो जवाफ आयो ।
म पनि मान्छे न परेँ । मुहारमा मुस्कान फुर्यो । मन पुलकित भयो । ‘यस्तो खुसीको खबर सुनाउनु भयो, यसका लागि धेरै धेरै धन्यवाद ।’ भनेर फोन राखेँ । प्रफुल्ल भएर खुशीको खबर घरकी जहानलाई सुनाउन मुख के खोलेको थिएँ । हाम्रो कुराकानी सुनिरहेकी उनले ओठ लेब्र्याउँदै प्रतिक्रिया दिइन्, “भान्सामा आज के पकाऊँ भनी सोध्दा सल्लाह दिन नसक्नेले अरूलाई के सल्लाह दिन सक्लान् ?”
मेरो उत्साह, उमङ्ग, खुसी सगरमाथाको टुप्पोबाट एक झट्कामा फेदमा झर्यो । साहस बटुलेर सम्झाएँ, ‘जोरीपारीका अगाडि त नाक रह्यो नि ! सबैले ‘पद’ कहाँ पाउँछन् र ?’ केही नबोली जुरुक्क उठेर भान्सातिर लागिन् उनी । म मनको लड्डु खान थालेँ ।
चतुरमानले वडा समितिको सल्लाहकार हुँदा त गाउँलाई पार्टी नै दिएको थियो । थिरप्रसादले त झन् घरको ढोकामै सल्लाहकार पद जोडेको आफ्नो नामको साइन बोर्ड राखे । म त उनीहरूको भन्दा माथिको सल्लाहकार हुँ । तर किन फिजुल खर्च गर्नु र ? ‘सल्लाहकारज्यू’ भनेर अब बधाईं खान पाइने भयो । नमस्तेको खडेरी पूरा हुने भयो ।
यस्तै मनको लड्डु खाइरहेको बेला हिजो खाएको गुन्द्रुकको अमिलो डकार आयो । डकार आउने बित्तिकै खोलाघरे ठाइँलालाई सम्झेँ । दूध हालेको चियाले अमिलो डकार निकाल्दै उसले भनेको थियो- सल्लाहकार भन्ने पद काम नभएकालाई मात्र दिने हो । आफूले सकुञ्जेल कोही सल्लाह माग्न आउँदैन । आफ्नो झोलामा आउञ्जेल कोही आउँदैन । जब दुनियाँले थाहा पाउँछ, अनि कसरी बच्ने भनेर सल्लाहकारकहाँ सल्ला लिन आउँछन् ।
त्यही बेला साउनेपानी खम्मेले पनि थपेको सम्झेँ- यस्तो सल्लाहकार पद कि जागीर खाँदा मसलन्द पनि नछोड्ने हाकिमलाई अख्तियारले समातेपछि पार्टीमा चन्दा दिनेलाई दिन्छन् । कि भन्सारमा आएको चिनीलाई नून र सुनलाई तामा भनी पार्टीका झोलेका सामान छुटाइदिनेलाई दिन्छन् । नभए आफ्नो तोकिएको जिम्मेवारी छोडेर पार्टीका सभा सम्मेलन अधिवेशनमा धाउनेलाई दिन्छन् ।
खम्मेको अन्तिम क्राइटेरिया थियो- कि राम्रो छवि भएका कर्मचारीलाई अर्को पार्टीले लगिहाल्ला कि भनेर अड्याउनलाई सल्लाहकार दिन्छन् । यही क्राइटेरियाले हो कि भन्ने आस जाग्यो । सम्झेँ, मासु खान छोडेर ठीकै गरेको रहेछु । नत्र खसी पाल्न सहकारीबाट ऋण लिने र सहकारीका पैसा अपचलन गर्नेलाई जस्तै पार्थे होला । तैपनि म खुसी थिएँ ।
मान्छेको लालच ! ‘मेरो खुसीको समाचार टिभीमा त आएन ?’ भन्ने सोचेर टिभी खोलेको । त्यसमा आएको समाचारले सातो गयो । समाचार वाचकले भन्दै थिए- कंसको पनि बाउ खुङ्खार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकारलाई अमेरिकामा जेल सजाय भएको छ । अमेरिकामा त सल्लाहकारलाई जेल हाल्छन् भने नेपालमा ? मेरो हातबाट रिमोट फ्यात्त भुइँमा खस्यो । यत्ति सम्झना छ- मेरा औँला मोबाइलमा ‘उनी’ को नम्बर रिडाइल गर्दै थिए ।
०००
एडमन्टन, क्यानडा
फित्काैली, पूर्णाङ्क ४१, (२०८१ ,वैशाख जेठ)








































हार्दिक आभार