डा.कुसुमाकर शर्मा गाैतमफोन कल
माथिबाट कल आयो, पैँतीस वर्षमै सिद्धार्थलाई कल आयो बुद्धत्वको माथिबाट कल आएपछि शक्तिशाली राष्ट्रको क्षमता पनि शून्य हुन्छ। अनि मलाई आएको कलले यिनलाई किन घोच्छ ?

डा. कुस्माकर शर्मा :
यसले सोध्यो
उसले सोध्यो
उनले सोधिन
छिमेकीले सोधे
पुरै वस्तीले सोध्यो
कसको कल आयो तिम्लाई
बेला न कुबेला !
कति खेरलाई बेला भन्ने ?
ठूलाघरेको साहिँलो
एक्काइस वर्षमै बित्यो,
उमाकान्तका बा
अँझै खोक्तै छन् नब्बेमा,
सान्चौरे पातलीकी छोरी
पोइल गई चौध वर्षमा
स्मार्ट फोनको संगतले।
मेरै कलको पछि
किन लागेको हो दुनियाँ ?
कल जहाँबाट आए पनि
जसले गरे पनि
कलको आवश्यकता
किन र केका लागि भन्दा पनि
यिनीहरूको अभिलाषा
मेरो स्तरको मूल्याङ्कनमा थियो
न कि
मेरा फाटेका जुत्ता गन्नेमा थियो,
जीवनका रङ्गीनपानाहरू च्यात्नमा थियो
न कि च्यातिएका पलहरू सजाउनमा।
पैँतीस वर्षमा मोजार्टलाई
माथिबाट कल आयो,
पैँतीस वर्षमै सिद्धार्थलाई
कल आयो बुद्धत्वको
माथिबाट कल आएपछि
शक्तिशाली राष्ट्रको
क्षमता पनि शून्य हुन्छ।
अनि मलाई आएको
कलले यिनलाई किन घोच्छ ?
०००
८ डिसेम्बर २०२३
एडमन्टन, क्यानाडा
स्राेत : बाङ्गा अक्षरकाे बारीबाट सुटुक्क पाेकाे पारी
Subscribe
Login
0 Comments
Oldest







































