हरि खनालउखुबारी र इँटाभट्टा
उखुघारी भयो भने इच्छाले अनिच्छाले जे गरे पनि प्रमाण हुँदैन । हामीजस्ता नेतालाई पनि हाइसञ्चो उनीहरूलाई पनि । उखुघारीका रहस्यमय घटना त सम्झना होला नि ? वेचनले जुँगा मुसार्दै सोधे । मेरो भने मुटु हल्लियो ।

हरि खनाल :
बिक्रिमा राखेको इँटा तर मान्छे भने भट्टा नै किन्न आए । बिक्रीमा राखेको उखु तर मान्छे उखुबारी नै किन्न आए । किन्न आउने नचिनेका पनि होइनन् तर जबर्जस्ती बेच भन्छन् । हिजो बिहानको कुरा हो । एक दर्जन मान्छे लिएर आए नेता बेचनलाल । नाम बेचन लाल भए पनि अहिले किनन लाल बनिरहेका छन् । धेरैपटक भट्टा र उखुबारी मागेपछि मैले कारण सोधेँ ‘बेचन बाबु ! किन मेरै भट्टा ताक्नुभएको ? अलि पर किसनको भट्टा बिक्रीमा छ त्यही किने हुन्न ?’
मेरो प्रश्न सुनेर बेचनले घुरेर हेरे । मलाई थाहा थियो उनमा क्रोध सवार भइसकेको थियो । अब के भन्ने हुन् म उत्सुकतापूर्वक पर्खन थालेँ । उनले भने ‘हेर भाइ मलाई तिम्रो भट्टा मात्र उपयुक्त छ । किसनको भट्टा अलि भिडभाड भित्र छ । तिम्रो चाहिँ एकान्तमा । किसनको तिमी किन म तिम्रो किन्छु ।’ वेचनले भने । मलाई उनको प्रस्ताव झनै रहस्यमय लाग्यो । उनलाई चाहिएको इँटाभट्टा तर मेरै किन । किन एकान्त ?
‘हैन मेरो भन्दा त किसनको भट्टा पो चलायमान छ । इँटा बिक्रीको मामलामा किसन अघि छ । उसले त भट्टा हेर्ने मान्छे भएन, भएको एक छोरो पनि विदेशियो भनेर मात्र बेच्न खोजेको हो । मलाई त त्यो समस्या छैन नि हजुर ।’ मैले एकैपटक यी कुरा भनेँ ।
‘हेर भाइ मलाई धेरै चलायमान भट्टा चाहिएको छैन । म आफैँ चलायमान छु त तिम्रो भट्टा किनेपछि स्वतः चलायमान भइहाल्छ । नभनूँ भनेको गोप्य कुरा भन्नै पर्ने भो । आखिर तिमी मेरा कार्यकर्ता जो पर्यौ । अँ चुनाव आउँदैछ । यसपाला टिकट लिइन्छ नै । लगानी अहिलेदेखि नै भइसकेको छ । चुनाव हो अलिअलि केटाहरूलाई परिचालन गरिन्छ नै । डाङडुङ गर्दा अलि अलि पड्काउँदा कोही न कोही आधा वा पूरा हताहत भइहाल्छ । आधा भएकालाई र पूरा भएकालाई व्यवस्थापन गर्न सबैभन्दा उपयुक्त स्थान भनेको इँटा भट्टा नै हो भनेर राज्यका सबै अङ्गबाट प्रमाणित भइसक्यो भाइ ।’ वेचनलालले सुनाए ।
‘कसरी हुन्छ हजुर ? बालम साबले त दुख पाउनुभयो नि ?’ मैले प्रश्न ठोकेँ ।
‘के दुख ? प्रमाणित त भएन नि । अहिले त निस्किसक्नुभयो त । आरोप लगाउन १२ वर्ष लाग्यो निस्किन १२ महिना के तनाव । अलिकति होशियारी थपेको भए आरोप पनि भट्टातिरै समापन हुन्थ्यो । जसले आरोप प्रमाणित गर्न खोजे तिनले कानून बुझेनन् ।’ बेचनले पिच्च थुक्दै भने । मलाई भने आश्चर्य लाग्यो ।
‘कसरी बुझेनन् भन्ने हजुर ? ती त कानुनबेत्ता हुन् त ?’ मैले प्रश्न तेर्स्याएँ ।
‘जसले कोशिस गरे तिनले धरम सम्झेँ । धरम् हामीबाट ७२ सालतिरै लिखितम् रूपमै चट् भएको हो । यो त धरम निरपेक्ष भइसकेको छ । यही कुरा भुलेर हो । अब पछिकाले यो कुरा बुझे सहज भयो ।’ वेचनले थप प्रस्ट पारे । अब भने उनले भट्टा किन्न खोजेका कारण स्पष्ट भयो । ‘ल भट्टा त चुनावका लागि अनि उखुबारी के का लागि नि ?’ मैले सोधेँ ।
‘हैन अब नेताका कार्यकर्ता त भइहाल्छन् । आजभोलि विरोधीले झोले भन्छन् क्यारे । खैर जे होस् । अनि हामीजस्तालाई सहयोग गर्नेले कहिलेकाहीँ मनोरञ्जन पनि गर्न खोज्छन् । उखुघारी भयो भने इच्छाले अनिच्छाले जे गरे पनि प्रमाण हुँदैन । हामीजस्ता नेतालाई पनि हाइसञ्चो उनीहरूलाई पनि । उखुघारीका रहस्यमय घटना त सम्झना होला नि ?’ वेचनले जुँगा मुसार्दै सोधे । मेरो भने मुटु हल्लियो । मैले पनि धरम निरपेक्ष भएर भट्टा बेच्नुपर्ने भयो अनि धरम निरपेक्ष भएरै उखुबारी पनि । यस्तो काम गरूँ कि नगरूँ ? नगरूँ वेचनले देश छोड्नै पर्ने बनाइदिन्छ । यो उमेरमा देश छोडेर कहाँ जाने ? मनमा निकै कुरा खेले ।
‘नेताज्यू ! म परिवारसँग सल्लाह गरेर मात्रै निर्णय दिऊँला ।’ मैले भनेँ ।
‘निर्णय त भइ नै सक्यो । बरू पास कहिले गर्ने सल्लाह गर्नु निरपेक्ष भएर ।’ वेचनले भने । म बोलिन । उनी आफ्ना लावालश्करसहित घरबाट निस्के । ममा अचानक के संवेगात्मक परिवर्तन आयो कुनि आफ्नै कोठाको भित्तामा भएका धेरै तस्बिरहरू झिकेँ । ती सबैलाई करेशाबारीको कुनामा थुपारेँ र लाइटर खोज्न थालेँ ।
(यस कथाका घटना तथा पात्रहरू काल्पनिक हुन् कसैको जिन्दगी र नामसँग मेल खान गएमा त्यो संयोग मात्र हुने छ ।)
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































