डा.कुसुमाकर शर्मा गाैतमइच्छा मरण
जेनिफरले भनिन्, “बीस वर्ष पछि क्यानाडा सरकारले मेरो इच्छा मृत्युको निवेदन स्वीकृत गरेको हुँदा अस्पतालले यो शुक्रवार मलाई मर्ने दिन तोकिदिएको छ ।”

डा. कुसुमाकर शर्मा गौतम :
म उनको घरभित्र छिर्दा सबै दुखी देखिन्थे ।
जेनिफरलाई सपरिवार उनका नातिहरूले घेरेका थिए । सबैलाई हेरेँ । उनीहरूको अनुहारमा चिन्ता थिएन । दुःख थियो । यस्तै क्षण मैले धेरै पटक देखेकी थिएँ । त्रियानब्बे वर्षीय जेनिफरलाई बेला बेलामा अस्पताल लैजाँदा यसरी नै परिवार जम्मा हुन्छन् । त्यस बेला परिवारका अनुहारमा चिन्ता हुन्थ्यो । भन्थे, “हजुर आमा फर्केर आउनुहुन्छ कि आउनुहुन्न ?”
उनका अगाडि उभिएर जेनिफरलाई हेरेँ । उनको अनुहार झलल बलेको थियो । उनी धेरै खुसी थिइन् । क्यानाडा सरकारले वृद्ध र अशक्तलाई दिने सुविधाअन्तर्गत जेनिफरकी सङ्गी बनेर राहत दिन प्रतिदिन जान्छु । उनका कुराकानी सुनिदिन्छु । यो मेरो जागिर हो । तर यति खुसी भएको जेनिफरलाई पहिला देखेकी थिइनँ । म नजिक जानेबित्तिकै उनै बोलिन, “रिता, भोलिदेखि तिमी आउनुपर्दैन ।”
“किन र ? के भोलि अस्पताल जाँदै छ्यौ र ?” उनलाई अस्पताल जानुपर्दा यसरी नै नआउन अह्राउँथिन् मलाई । आफू आउनु नपर्ने कुरामा ढुक्क हुन सोधेँ, “तर साह्रै खुसी देखिन्छ्यौ, किन ?” “मेरो छोरा बितेदेखि गरेको प्रतीक्षा आज सफल भएको छ । त्यसैले खुसी छु ।” जेनिफरले भनिन् ।
साथी भएर बस्दा उनले भनेको सम्झिन्छु । उनका छोरा बीस वर्षअघि क्यान्सरले बितेका थिए । उनका श्रीमान् पैँतीस वर्षअघि । श्रीमानभन्दा छोरो बित्दा धेरै दुखी भएकी थिइन् । आत्महत्या गर्ने सोच पनि बनाएकी थिइन् रे !
मलाई अझै जान्न मन लाग्यो र सोधेँ, “यो उमेरमा त्यस्तो के पायौ र यत्रोविधि खुसी हुने ?”
उत्तर सुनेर म पनि निशब्द भएँ । झलझली महाभारतका भीष्मपितामह सम्झेँ । जेनिफरले भनिन्, “बीस वर्ष पछि क्यानाडा सरकारले मेरो इच्छा मृत्युको निवेदन स्वीकृत गरेको हुँदा अस्पतालले यो शुक्रवार मलाई मर्ने दिन तोकिदिएको छ ।”
०००
रूकुमकोट, पूर्वी रूकुम
(हालः एडमन्टन, क्यानाडा)
Subscribe
Login
0 Comments
Oldest







































