डा.कुसुमाकर शर्मा गाैतमसम्मान
हरिका बाले विद्यालयलाई दिएनन् बरु त्यहीँबाट पियनको तलब लिए। आखिर सम्मान पनि केही न केही दिनेले मात्रै पाउने रहेछ ।

डा. कुसुमाकर शर्मा गौतम :
विद्यालयबाट निस्कने वेलामा हरिका बाले ध्रुबेलाई एउटा चिठी दिए र भने- “घरमा गएर बालाई दिनू ।”
घर पुगेपछि ध्रुबेले बालाई चिठी दियो। बाले चिठी खोले र भने- “विद्यालयले सम्मान गर्न निम्ता गरेको रहेछ ।”
ध्रुबेले बालाई सोध्यो- “बा ! सम्मान दिने भनेको के हो ?”
ध्रुबेका बाले छोरालाई यो सम्मान दिने भन्ने कुरो बुझाउन प्रतिप्रश्न गरे- “ध्रुबे ! तैंले बाजे बज्यैलाई भेट्दा के गर्छस् ?”
“ढोग गर्छु ।”
“तैँले बाजे बज्यैलाई ढोग गर्नु भनेको उहाँहरूलाई तैँले सम्मान दिएको हो । कुरो बुझिस् ?”
ध्रुबेले बुझेजस्तो गरी टाउको त हल्लायो तर उसको अनुहारमा अझै कालो बादल थियो ।
“बा । तिमीले विद्यालयलाई जन्माएको हो र, विद्यालयले तिमीलाई सम्मान दिने ?” ध्रुबेले फेरि प्रश्न सोध्यो ।
ध्रुबेका बाले सम्झाए- “तैँले पढ्ने विद्यालय खुलेदेखि यसलाई चलाउनलाई मैले र अरू अभिभावकहरूले धेरै सहयोग गरेका छौँ । धेरै धेरै चन्दा दियौँ । समयमै छोराछोरीको कक्षा शुल्क तिर्छाैँ । त्यही भएर विद्यालयले हामी अभिभावकहरूलाई सम्मान गर्न लागेको हो ।”
सम्मान गर्ने दिन सबै अभिभावकलाई मञ्चमा अगाडि राखेर शिक्षक, विद्यार्थी सबैले प्रणाम गरेर अभिभावकहरूलाई सम्मान गरे । ध्रुबेले हरिका बालाई अभिभावक समूहमा देखेन । अनि सुस्तरी फुसफुसायो- “हरिका बाले विद्यालयलाई दिएनन् बरु त्यहीँबाट पियनको तलब लिए। आखिर सम्मान पनि केही न केही दिनेले मात्रै पाउने रहेछ ।”
०००
एडमन्टन, क्यानडा
‘हिउँको राप’ (२०८०)
Subscribe
Login
0 Comments
Oldest






































