साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेरिएकालाई अनौठाको लक्षण !

मानिसको जीवनमा शारीरिक, मानसिक कुरामा स्वस्थता सबैभन्दा महत्वपूर्ण  कुरा हो, त्यसैले त बाँचेसम्म सुखमय तरिकाले बाँच्न सिक्नु पर्छ । आफ्नो स्वास्थ आफैँ रक्षा गर्न तत्पर हुनु नै दीर्घ, स्वस्थ र सुखमय जीवनको रहस्य हो भन्ने बुझ्नै पर्छ ।

Nepal Telecom ad

डा. मुकेश चालिसे :

पाको उमेर हुँदै गएपछि मानिसहरूमा विभिन्न किसिमका शारीरिक-मानसिक समस्याहरू भएको पाइन्छ । कतिपय बुझक्की परिवारले समस्या समाधानका लागि अविराम प्रयत्न गरिरहेका हुन्छन् भने दुष्टमतिका सन्तानले हेँलाहोचो तथा बेवास्ता पनि गरेका भेटिन्छन् । उमेरजन्य रोगहरूमा अरु उमेरसमुह बारेमा धेरै अनुसन्धान र खोजिनीति भएकाले बेलैमा खुट्ट्याउन सकिने भएर ओखती-उपचार गर्न सजिलो हुन्छ । उमेरिएका अतिपाका मान्छेमा देखिने रोगहरूलाई कतिपय चिकित्सकहरूले ठिक ढङ्गले निर्क्याेल गर्न ढिला र अलमल भएर समयमै उपचार नभई धेरै दुख पाएका भेटिन्छन् । ‘अस्पताल धाउँदा-धाउँदा र योभन्दा त्यो जान्ने हल्लाले विज्ञ भनेर चिकित्सक फेर्दा-फेर्दा’ बिरामी निराश भई ‘के थाङ्ने रोग लाग्यो ? अब यसैले लैजान्छ जस्तो छ’ भन्दै सुस्केरा हालिरहेका भेटिन्छन् ।

त्यसपछि पारिवारिक हेरबिचार कमहुँदै जान्छ र घरपरिवारका भरपर्दा पाकाहरू बिस्तारै अलग-थलग भई ‘काल पर्खिरहेका ज्युँदा लास’ बन्न गएको परिस्थिति कायम हुनजान्छ । कैयौँ समस्याहरू बिरामीले प्रष्ट भन्न नसकेर पनि चिकित्सकले खुट्ट्याउन सक्दैनन्, त्यसैले उमेरिएका मानिसलाई नजिकबाट हेरबिचार गर्नेले लक्षणहरू बारेमा आफ्नो भोगाई र अनुभवबाट प्रष्ट्याउनु पर्छ । यस अवस्थामा हरेक पटक चिकित्सकलाई भेटन जाँदा जिम्बेवार सदस्य परिवारबाट पठाउनैपर्छ र अघिल्लो पटकको भेटमा भएका कुरादेखि अहिले आउँदाको फरक वा उही भन्न सक्नुपर्छ ।

छटपटी र तुलबुल:
हरेक उमेरसमुहलाई कहिले न कहिले सामान्य वा जटिल कुरामा असजिलो लागिरहने, दिक्कलाग्ने, छटपटी हुने, कोक्किने र दिक्क लागेर ‘के गरौँ, कसो गरौँ’ भएको हुन्छ । पाका मान्छेमा यस्तो हुँदा असाध्य भएर बिरामी भई थल्लिन सक्छन् भने देखिने केही रोगादि नभएकाले के भएको भनि खुट्ट्याउन जो कोहीलाई गाह्रो हुन्छ । यस्तो समस्या अनुभूति भइरहनेलाई नै फ्रेन्च भाषामा ‘मलइसे’ वा वाक्क दिक्क र हुटहुटी लागिरहने समस्या भनिन्छ । यस्ता समस्याका लक्षणहरूमा जतिखेर पनि थकान महसुस हुनु, आफूलाई सधैं नातागत भएको लाग्नु, ‘के बिर्सेको, के बिर्सेको’ जस्तो हुन्छ । खालिपन, दिमागले काम नगरेर मन तुलबुल भई उडेको ठानेर रोगी भएको आभाष गर्ने, केही न केही अदृश्य रोगले समातेको लागिरहने हुन्छ । काममा एक चित्त नहुने, असाम्भाव्य कुरामा मन जाने, अस्पष्ट कुरा सम्झँदै जागराम भइदिने र सुतिहाले धेरै निद्रा लाग्ने पनि हुनसक्छ ।

बेथ इज्राइलको डिकोनेश स्वास्थ केन्द्रका बाथरोग चिकित्साका पूर्व विभागीय प्रमुख साथै हार्वाड स्वास्थ प्रकाशनका वरिष्ट सम्पादक डा. रोबर्ट श्मेरलिङले दिक्क र छटपटी हुने समस्यालाई खास विशिष्ट खालका नभई अरु रोगमा हुनसक्ने लक्षणहरू पनि देखापर्ने हुनाले अलमल भएर तोकेर भन्न गाहारो हुन्छ । उनि भन्छन, ‘मैले यस्तो रोगलाई सामान्यतया जहिल्यै दिक्क-वाक्क लाग्ने अनुभूतिजन्य भावनात्मक चेतनाको समस्याकोरुपमा परिभाषित गर्दछु ।’ सर्वसाधारणले किटेर ‘यसो भएर यसरी सुरु भएको वा यस्तो हुन्छ’ भनेर शव्दमा तोकेर भन्न सक्तैनन् । बरु पाकाहरू बिचित्रका अनुभूति भएको अस्पष्ट र रहस्यमय तरिकाले रोगै लागेर स्वास्थ झाँटिँदै गएको ‘कसैको आँखा लाग्यो कि ? पिशाचले बाण हान्यो कि ? कुनै लागु-भागु पो भयो कि !’ भनि वर्णन गर्न थाल्छन् । यसो भन्नेले सधैँ थकाई लाग्ने र जाँगर नै मरेर जाने पनि भन्दछन् भने उत्साहको कमीभएको गुनासो गर्न सक्छन् । त्यसैले सामान्यतया पुरै शरीरको जाँचपड्ताल र प्रयोगशाला परीक्षणमा कुनै खास रोगलागेको नदेखिए पनि समस्याको कारण ठम्म्याउन भने विज्ञचिकित्सकलाई अप्ठ्यारै पर्ने डा. श्मेरलिङको भनाई छ ।

पाका मानिसलाई मन भरङ्ग भएर किम्कर्तव्यविमूढ हुने त्यस्तो प्रभावको अवस्था व्यक्तिपिच्छे फरक-फरक तिब्रतामा हुनसक्छ । केही पाकालाई दैनिकीमा कुनैकुनै बेला अल्पकालिन तरङ्ग तथा तन्द्राको रुपमा लागेको देखिन्छ भने केहीलाई काम गर्दागर्दै वितृष्णाको तहमा देखापर्छ । अरुहरूलाई भने बाहिरीमात्र होइन घरायसी दैनिक काममा नै बाधा पर्ने गरेर घनिभूत असरभएर पाका मान्छे ‘त्वम शरणम्को तहमा’ एकत्व भएर वरिपरीको वातावरण बिर्सेर आफ्नै अनौठो कल्पनाहरू मनमा खेलाउँदै थाकेर लखतरान देखिन्छन् । यस्तो हुनु कुनै रोगका अवस्थाहरू होइनन् बरु शरीर भित्र कुनै अनौठा चिन्तन र जैविक गतिबिधिको प्रभावले असरभएको लक्षण चाहिँ अवस्य हो । किनकी हेर्दा यस्तो प्रक्रिया यति सामान्य हुन्छन् कि यसले कुनै रोग खुट्ट्याएर वा तोकेर भन्नै नसकिने लक्षण मात्र देखाइरहेको हुन्छ । थप परीक्षण र जाँचपडताल गरेरमात्र अहिलेसम्म थाह पाइएका मध्ये कुनै एक रोग वा अरु रोगसँग गाँसिएर आएको थप लक्षण भनि थाह पाउन सकिन्छ ।

सामान्य कारणहरू:
शरीरमा केहि गडबडी हुँदैछ भन्ने पूर्वजानकारी स्वरुप टोलाउने, हरेक गतिविधिमा दिक्क हुने, सामान्य परिस्थितिमा पनि छटपटी गर्ने, बिलखबन्द पर्ने जस्ता लक्षण हुनसक्छन् । त्यस्तो हुँदा त्यसैबेला खासै अरु सम्बन्धित खालको रोगका लक्षणहरू नदेखिन पनि सक्छन् । डा. श्मेरलिङ भन्छन, ‘म त त्यस्तो कुनै लक्षण पाका मानिसमा देखिएमा, काल्पनिक, केही भएकै होइन, कुनै कुराले चिन्तित, बुढ्यौलीका रोग, उमेरिदा यस्तै हो भनि अन्दाज गर्दिन ।’ कुनै पनि जैविक फरक लक्षणहरूलाई गम्भीरताकासाथ जाँचपडताल गर्न अरु जघन्य रोगहरूमा जस्तै नियमित सम्भावित प्रक्रियामा हरेक चिकित्सक लाग्नैपर्छ । पाका मान्छे समस्या भईआएमा हलुका ढङ्गले उमेरदारलाई जस्तो ‘पछि गरौँला, ढिला भए पनि हुन्छ’ भनि पञ्छाउन मिल्दैन । उमेरिएकाको समस्या वयस्ककाभन्दा भिन्न तथा जटिल हुनेगर्छ भन्ने तथ्यलाई सम्पर्कित हरेक चिकित्सकले र परिवार जनहरूले मनन् गर्नै पर्छ । उपरोक्त भनिएका लक्षणहरू फरक-फरक विभिन्न रोगका सुरुवाती कारणले भएका हुन सक्छन् । त्यस्ता कारणहरूमध्ये सङ्क्रमण हुने रोगहरूदेखि असाध्य रोगका कारणलगायत जीवन सञ्चालनका अनमेल तरिकाको पनि परिणाम यो कुप्रभाव भएको हुनसक्छ । केहि सामान्य जोसुकैलाई हुने कारणका स्रोतहरूको सरल टिप्पणी गरौँ र बुझौँ है त !

सङ्क्रमणः
अतिशुक्ष्म (भाइरस) वा शुक्ष्म किटाणु (व्याक्टेरिया)का सङ्क्रमण भएर पुरै शरीर तथा विभिन्न खास अङ्गलाई अनेक किसिमले हैरान पारेको अवस्थामा मनोविज्ञान नै बिगार्ने उपरोक्त लक्षणहरू देखापर्न सक्छ । सामान्यतया नेपालमा पनि बेला-बेला प्रकोपको तहमा देखापरेका चिसो लाग्ने, रुघाखोकी लाग्ने, फ्लु (इन्फ्लुएन्जा) हुने र कोभिड-१९ को प्रभावले निको भइसकेका पूर्वरोगी भएकालाई पनि बेचैन तथा कुनै कुराले हुनु नपर्ने तर दुखदिने छटपटी साथै अनावश्यक असजिलो लागिरहने अवस्था ल्याएको हुनसक्छ । हिजोआज नेपालमा त्यस्ता महामारी रोगबाट बाँचे पनि अहिले अरु नै रोग भन्दाभन्दै त्यो बेलाको सङ्क्रमणको थिग्रिएर रहेको कुप्रभावले ज्यान गएका हरेक अस्पतालमा भेटिन थालेका छन् । त्यतिखेरका सङ्क्रमणका शुक्ष्म जीवाणुले शरीरका विभिन्न अङ्गहरूमा आश्रय लिएका वा बिगारी दिएकाले हामी कमजोर हुनासाथ घनिभूत धावा सुरु गर्ने हुनाले ज्यान जोखिममा परेर धेरैको मृत्यु भएको पाइएको छ । त्यसैले शरीरमा विभिन्न जोखिमपूर्ण रोगको पूर्वजानकारी दिन नै मन भरङ्ग हुने, छटपटी लाग्ने, बिना ठोस कारण तुलबुल र चिन्तित हुने लक्षणहरूले अबान्छित किटाणु बिरुद्ध लडिरहेको देखाउनका लागि हुनेरहेछ भनि बुझ्नुपर्छ है । नत्र ‘कहाँ जुठेका बा कहाँ जुठेकी आमा’ हुन जनविपक्षी सरकार हुँदा के ठेगान ?

थाङ्ने रोगः
कुनै रोगहरू लामो समयसम्म दुखदिने खालका हुन्छन, अझ वयस्क छँदै सुरु भएका भए त उमेरिदा अलिकति शारीरिक तल-माथि हुनासाथ थला पारिदिने भइहाल्छन् । त्यस्ता रोगहरूमा मधुमेह, रक्तअल्पता र मुटुसँग सम्बन्धित रोगले बेलाबेला सामान्य फरक पर्दा पनि पाका मानिसलाई आतुस तथा डरमर्दो बनाइदिन सक्छ । त्यसोहुँदा सम्पूर्ण ध्यान स्वास्थको स्थितिमा केन्द्रित हुनेहुनाले धेरै मानिस टोलाउने, छटपटाउने, बरबराउने र अति गाँज्दा हातका हाउभाउ सहित एकोहोरिएका, मगज असन्तुलन जस्तो क्रियाकलाप गर्छन् । कतै हिँडडुल गर्दा पनि बेलाबेला टक्क अडिने र कुनै बस्तुलाई ध्यानपूर्वक हेरेजस्तो गरेर टोलाइ रहन्छन् । लगातारको चिन्ता, अवसाद, निराशा साथै नकारात्मक नै सोच भएका मानिसमा त यस्तो सोचाइ र व्यवहारले दिक्क रहने, चिन्तित मानसिकता गढेर सँधै उन्मादले घर गरेर छटपटी तथा हतोत्साही रहने हुन्छ । यसै त उमेरिएको शरीर त्यसमाथि मानसिक बोझयुक्त बैचारिक प्रभावले खुट्ट्याउनै नसकिने रोगी ज्यान हुन कुनै दुर्घटना भइरहनु पर्ला र ?

मानसिक स्वास्थः
‘चिताले मरेको जलाउँछ, चिन्ताले जिउँदालाई खङ्गार बनाउँछ’ भन्ने उखान लामो अनुभवपछि मानव समाजको सिर्जना होला । हो, मानिसमा चिन्ता, अवशाद, मानसिक चिन्ता, निराशा, नैराश्यता जस्ता भावनाले मानिसलाई अग्रगामी निकास भन्दा काँतर, अपमानित, ग्लानीयुक्त र सर्वसाधारण बिच आफू लज्जित भएको भावना प्रवल बनाएको हुन्छ । यस्तो भावनाले अरु उमेरसमुहको उमेरजन्य शारीरिक तथा मानसिक विकासमा निकै व्यवधान पार्दछ । त्यस्तै पाकाहरूमा त बढि डराउने, कतै ठूलो अवाज वा होहल्ला सुने थरथरी काँप्ने, बाहिर बाटो तिरको कर्कस आवाज सुने ‘नराम्रो भवितव्य पर्ला’ भनि घरका झ्यालढोका थुन्ने गर्न थाल्छन् । यस्तो गर्दा शरीरको उर्जा निरर्थकमा प्रयोग भएर त्यसपछि थाकेर लखतरान परेका देखिन्छन् ।

ओखतीको दुष्प्रभावः
सबै किसिमका रोगव्याध र परजीवीको सङ्क्रमणबाट मानिसलाई बचाउन ओखती प्रयोग गरिएका हुन् । कतिपय ओखतीको मात्रा तथा खाने अवधि निश्चित हुन्छ तर पाका मानिसले असचेतपूर्वक लगातार सेवन गर्ने वा मनलागे खाने, नलागे बिर्सने गर्दा ओखतीको प्रभाव घटने वा अति भई शरीरका तन्तु र अङ्गमा रसायनिक पदार्थ थिग्रिएर बस्न सक्छ । अचेलका आधुनिक ओखतीको जति छिटो प्रभाव पर्छ त्यति हानिकारक हुनसक्ने तथ्य पनि हृदयङ्गम गर्नैपर्ने हुन्छ । शरीरका विभिन्न भाग दुख्दा, ज्वरो आउँदा समान्यतया प्रयोग हुने सिटामोल, पेट गडबडी र अम्लपित्तको बिरुद्ध प्रयोग हुने ओखती बढि प्रयोग गर्नेहरूका विशेष गरी मिर्गौलामा समस्या देखापर्दै गएको देखिएको छ ।

यस्तै चाहिएभन्दा धेरै समय ओखती प्रयोग गर्नेलाई पछिपछि त्यति नै मात्राले नछोएको धेरैको गुनासो सुनिन्छ । यस्ता सबै सम्भाव्यता बिचारेर मात्र ओखतीको सदुपयोग गर्नुपर्छ नत्र त कतैकतै नेपालमा रोग निमिट्यान्न होइन दबाउने भनि ओखतीलाई ‘दबाइ’ भनेको ठिकै रहेछ भन्ने ठान्नुपर्ने हुन्छ । कुनै ओखती त एउटालाई फाप्ने र त्यहि रोगमा अर्कोलाई नफाप्ने पनि हुनसक्छ, ज्यान हेरेर प्रतिरोधी प्रक्रिया देखाउने हुन्छ । त्यसैले राम्रो निरोपण गरेर मात्र प्रयोग गर्नुपर्छ नत्र ज्यान नै जोखिम पर्ने सम्भावना रहन्छ । यस लेखकले पेनिसिलिन एलर्जी हुने एक बिरामीलाई नजाँची धेरै घाउखटिरा आएकोमा चलनचल्तीको पेनिसिलिन सुई दिँदा बिरामी बेहोस भई मृत्यु नजिक पुगेको अवस्थामा हत्तरपत्त त्यस प्रतिक्रिया बिरोधी सुई दिएर बचाएको देखेको थियो । आधुनिक ओखती पाका मान्छेमा प्रयोग गर्दा ‘अमृत’ पनि हुनसक्ने र यथेष्ठ जाँचपड्ताल नगरी दिँदा ‘कालकुट’ पनि हुनसक्ने बिरामी र चिकित्सकहरूले अग्रीम नै सोच्नु पर्छ है !

पोषक खानाः
सधैंभरी जे पायो त्यहि खाने, बजारिया आकर्षक तर कमसल बस्तुका खानेकुरा हजम गर्न उत्सुक हुने, पोषक तत्व भएका खानेकुरा परम्परागत मान्यताको सिकाई अनुकुल नखाने प्रवृत्तिलाई छोडेर गुणका आधारमा खाना खाने बानी बसाल्नु राम्रो हुन्छ । हिजोआज भिटामिन र खनिज तत्वबारेमा गाउँगाउँमा प्रचार पुगेको छ । हिजोसम्म हेय दृष्टिकोणले हेरिने मकैका च्याँख्ला, कोदो, फायरको ढिँडो साथै प्राकृतिक जैविक मल र किटनाशक प्रयोग नभएका सागपात फलफूलको माग बढेको किन होला बिचार्नोस् त ? सहरतिर कौशीखेतीको प्रचलन किन उक्सेको होला, यसै करण होइन र ? एक मुट्ठि भए पनि शुद्ध पोषक फेला पार्न त हो नि ! सामान्य थकाई, नातागत बिरुद्ध भितामिन डि तथा खनिज लौहतत्व चाहिन्छ नत्र चाँडै गल्ने र छिनछिनमा रिङ्गटा चलेको गनगन सुन्नुपर्छ । यस्ता विभिन्न चाहिने पदार्थको सेवन कम वा नहुँदा उमेरिएका मानिसहरू हरेक कुरामा रिसाउने, अरुले भनेका बस्तुमा हत्तपत्त चित्त नबुझाउने, नयाँ कुरामा डरले काँप्ने, कसैले केहि बोल्यो कि आक्रोशित भइहाल्ने स्वभाव बिकसितगरेका हुन्छन् । यसबाट दिक्क, चिन्तित र हुर्दुराउने आदि रोगकैरुपमा भएझैँ अनौठा समस्या देखापरेका हुन्छन् । त्यसैले केटाकेटीलाईझैँ पाका मान्छेलाई खानपिन र पोषक खानामा परिवार सदस्यले ख्याल गर्नैपर्छ ।

सुताईः
मस्त निदाउने बानी सबै उमेरसमुहलाई उमेर अनुसार आवश्यक छ । उमेरिएका मानिसको निद्रामा व्यवधान हुने काम कम्तिमा घरकाले गरिदिनु हुन्न । लुगाफाटो र ओढनी-ओछ्याउने मौसम अनुसार गरिदिएर आरामी जीवनको व्यवस्था गर्नैपर्छ । निद्रा कचमचिदा उमेरदारले अर्कोदिन क्षतिपूर्ति गर्लान् तर उमेरिएकाको एकरातकै निद्रा बिग्रँदा पनि थला पर्न सक्छन् वा कैयौँ दिनसम्म ‘नुन खाएको कुखुराझैँ झोक्राउन’ सक्छन् । यस्तो भएमा बेचैनी हुने, निराश बन्ने, चिन्तित भइरहने र जीवनप्रति दिक्क भएर हरेक सन्दर्भमा अन्यौलका समस्या देखाउन सक्छन् । यसले गर्ने कुप्रभावले उमेरिएकालाई मनोवैज्ञानिक समस्याको नफर्किने खाडलमा जाकिनु अघि रोकथाम गर्नैपर्छ नत्र मानसिक रोगको झञ्झटमा परिन सक्छ भन्ने हेक्का गरौँ । अनिदोपन, थकान, चिडचिडाहट, सधैं दिक्क र निराशाको मानसिक रोगमा आफ्ना आदरणीयलाई कस्ले पुर्‍याउन खोज्ला र ?

जीवन शैलीः
जीवनको उतारचढाव र चाहनाको अतृप्त दौडधुपमा मानिसले खानपान, व्यायाम र पर्याप्त निद्राको तालिका कायम राख्न सकभर कोशिस गर्नैपर्छ । राजनीतिक, सामाजिक तथा आर्थिक कारणले हरेकका फरक स्थिति हुनसक्छ तर विज्ञानसम्मत बिचारका आधारमा फारुतिनु र कम्तीबाट भए पनि आपूर्तिको अवस्था बनाउन प्रयास गर्नुपर्छ । शरीरलाई सञ्चालन गर्न चाहिने आधार सकेसम्म पुर्‍याउनको लागि अनावश्यक गलत बिचारबाट प्रभावित भएर, ठूलाबडाका शौखका नक्कल गरेर धुमपान, मद्यपान, फेशन, देखावाको तुजुकमा आफूसँग नभए पनि हुने बस्तुमा मिहेनतले आर्जित धनको दुरुपयोग नगरौँ । चाहिँदो कुरामा सफासुघ्घर, नियमित र आवश्यक बस्तुको आपूर्तिमा ध्यान दिऔँ, त्यसले असाध्य रोग लाग्नु अघिको निराशा, चिन्ता र बिचित्रका बानी बिकासमा रोकथाम गरी स्वस्थ रहनु उमेरिएकालाई ‘रामबाण ओखती’ बन्न सक्छ ।

अन्त्यमा,
मानिसको जीवनमा शारीरिक, मानसिक कुरामा स्वस्थता सबैभन्दा महत्वपूर्ण  कुरा हो, त्यसैले त बाँचेसम्म सुखमय तरिकाले बाँच्न सिक्नु पर्छ । एक पटकको मानव अस्तित्वमा हामीले सामान्य, सजिला तरिकाहरू बानी-व्यवहारमा लागु गरेमा अनावश्यक झञ्झट र असजिलोमा परिदैन । शारीरिक हिसावले जैविक प्रक्रिया मार्फत सङ्केत गरिरहेका हरेक लक्षणमा ध्यान दिऔँ र आफ्नो स्वास्थ आफैँ रक्षा गर्न तत्पर हुनु नै दीर्घ, स्वस्थ र सुखमय जीवनको रहस्य हो भन्ने बुझ्नै पर्छ । उमेरिदाको बेला हाम्रा अभिभावक कि परिवारजनका अमिल्दा गतिविधिले रुष्ट हुन्छन् कि भित्री शारीरिक गडबडीका सङ्केतस्वरुप विभिन्न मानसिक समस्या भएकोजस्तो व्यवहार गर्न थाल्दछन् । थप असाध्य रोग आएर आदरणीय पाकाको साथै पुरै परिवार चिन्तित बनाउने परिस्थिति निर्माण नगर्न बेलैमा सतर्कताकापूर्वक ध्यान दिऔँ, त्यसोभए सबै हाँसखेलमा जीवन बिताउन सक्नेछन् ।

०००
चालिसे डाँडा, ललितपुर
कार्तिक ३, २०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
बृध्दभत्ता– पहेँला अक्षता कि पिण्ड हो ?

बृध्दभत्ता– पहेँला अक्षता कि...

डा. मुकेशकुमार चालिसे
कसरी पाटी बन्दैछन् घरहरू… ?

कसरी पाटी बन्दैछन् घरहरू…...

डा. मुकेशकुमार चालिसे
हामीलाई एकै नापो काम लाग्दैन है !

हामीलाई एकै नापो काम...

डा. मुकेशकुमार चालिसे
हामीलाई बेवास्ता गरे विकास हुन्छ र ?

हामीलाई बेवास्ता गरे विकास...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x