होम सुवेदीसरकार ब्याउन लाग्याे
हाेस गर अम्राे झर्न ढिलाे हुनु भएन सुत्केरीलाई अरू कसैले छुनु भएन देशले परिवर्तन मागेकाे छ अब नयाँ सरकार जन्मन लागेकाे छ सरकारलाई बेथा लागेकाे छ ।

हाेम सुवेदी :
सरकारले साँढे मागेकाे थियाे
सरकारमा साँढे लागेकाे थियाे
सरकार ब्याउने भएकाे थियाे
भर्ती भएकाे
दस महिना लागेकाे छ
अब राम्राे साइत आएकाे छ
सरकार साँझ बिहान भएकाे छ
सरकार ब्याउन लागेकाे छ ।
अब पुरानाे भाेक भागेकाे छ
बिगौती खाने भाेक जागेकाे छ
असार लागेकाे छ
देशले परिवर्तन मागेकाे छ
अब नयाँ सरकार जन्मन लागेकाे छ !
पुरानाे सरकारलाई
बेथा लागेकाे छ
देशले नयाँ सरकार मागेकाे छ ।
त्यसैले-
खसी काटी राख
न्वारानका लागि सामान साटी राख
पुरेत डाकिराख
हात चाटी राख
डाेरी बाटी राख
किनभने-
देशले परिवर्तन मागेकाे छ
अब नयाँ सरकार जन्मन लागेकाे छ
सरकारलाई बेथा लागेकाे छ !
बालुवाटारमा सुत्केरी झाेल तयार पार
झाेलका निहुँमा तर मार
खुट्टा पसार
तिमी नयाँका लागि
याे अवसर बिहे पनि हाे
कसार बटार ।
सुँडेनी तयार पार
बालुवा टारकाे ढाेका उघार
सरकारलाई बेथा लागेकाे छ
नयाँ सरकार जन्मनै लाग्याे
देशले पनि याे कुरा माग्याे
ए सुडेनी हाे, तयार पर
तिमीहरू पनि बालुवाटारतिर सर
सरकारका बेथाकाे दुख हर
पानी तताऊ
ज्वानाे झाेल बनाऊ
कता छ सरकारकाे बाउ
उसलाई पनि
स्वास्नी थल्लिने खबर सुनाऊ
तेल घस्ने वर आऊ
सुडेनी हाे
बच्चाकाे सालनाल काट्नू
गाईले बाछाे चाटेझैँ
सरकारकाे बच्चाे चाट्नू
हाेस गर
अम्राे झर्न ढिलाे हुनु भएन
सुत्केरीलाई
अरू कसैले छुनु भएन
देशले परिवर्तन मागेकाे छ
अब नयाँ सरकार जन्मन लागेकाे छ
सरकारलाई बेथा लागेकाे छ ।
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest







































