कुर्सी, कमिसन र प्रशासन
प्रशासन कुर्सीकै सुरक्षामा छ, कमिशन त्यसकै छायामा छोपिएको छ अनि किन नफलोस् र नफुलोस् देशमा प्रजातन्त्र ? सदन दनदन दन्केको छ, मिटिङ दिनदिनै तन्केको छ, पाउने रातोपिरो भएर तन्केको छ, नपाउने फनफन फन्केको छ ।
घिमिरे मैदेली :
धन्य हुन् हाम्रा नेता, प्रतिनिधि र प्रशासक ! सदन लम्ब्याउनुलाई एउटा राष्ट्रिय सिकार फेला पारेर सबैले भागबन्डा लगाई-लगाई हसुर्न पाएकोजस्तो भएको छ । बहाना भने यही खाने र पाउने सबैले त्यही कस्तो सजिलो, कसलाई लाज, कसलाई घिन, तीन हप्तासम्मको उपलब्धि ठप्प भएको बैठकको मिसनले कमिसन कुस्त कुम्ल्याउने सदनमा बसेर दनादन मन नपरेकालाई सुम्ल्याउने, के यही हो प्रजातन्त्र ?
तीसौं वर्षसम्मको त्याग, तपस्या र तनावले तरल भएको राजनीति प्रजातन्त्र आएपछि टाठाबाठाकै खत्तीमा झरल पार्ने । के यस्ता व्यवहारने प्रजातन्त्र र राष्ट्रियतालाई जोगाइराख्ला ? कसैलाई दङ्ग्याउने, कसैलाई नङ्ग्याउने र कसैलाई बङ्ग्याउने गर्नु नै पार्टी-पार्टीको उद्देश्य हो ? के अहिले दुईसय व्यक्तिले गरेको काम दुई करोडलाई सह्य र ग्राह्य होला ? फेरि तपाईंहरूले सार्वभौम जनताका अगाडि मुख देखाउनुपर्दैन ? जति प्रश्न गरे पनि ढुङ्ग्रामा हात्या कुकुरको पुच्छरजस्तो सोझियो भनेर स्वतन्त्र छाड्न नहुने रहेछ ।
गरिब जनताले कर तिरेका पैसाले त्यत्रो लामो समय तन्काएर बिनाउपलब्धिको मिटिङ र भत्ता के खान मिल्ने कुरो हो ? तपाईंहरूसँग अलिकता नैतिकता छ भने यो झगडा गरेबापत प्राप्त भत्ताले गरिब नेपालीका लागि नून किनिदिनोस् । विरामी उपचार गर्दागर्दै मरे पनि डाक्टरले अपप्रेसन फि लिएरै छाडेझै यसपालिको भत्ता नलिनोस् । मरी-मरी पसिनामात्र होइन, रगत नै बगाएर कमाएको भत्ता भन्नुपर्दैन, कसैले कमिसन नपाएर कसैले कमिसन खाएर गरिएको व्यक्तिसङ्घर्ष, पाटीसङ्घर्ष र स्वार्थपूर्ण लडाइ हो भन्ने कुरा दुई करोड नेपालीले बुझिसकेका छन् ।
अब यस्ता बैठक र भत्ता खान पाइन्छ भनेर कसैले कुर्सी तान्न कसैले कुर्सी समाएर बस्ने गरेर जनताका समस्या र सम्पत्तिमा खेलवाड गर्नु राम्रो हुन्न । कुर्सीमै लुछाचुँडी गरेर भुँडी भर्ने परम्परा यो उन्नाइसौं अधिवेशनबाट हटाउनुपर्यो भनेर म आफ्ना कुरा राख्दै थिएँ, मेरा एकजना उपसचिव साथीले भने- “खै कुरा बुझ्या ? राष्ट्रभर नै हिजो आज मिटिङ व्याप्त छ । हेर्नुस्, बुझ्नुस्, सुन्नुस्, सचिवज्यू कहाँ हुनुहुन्छ, मिमिटङमा उपसचिव, सहसचिव मात्र हो र ? सायद राष्ट्रभरका सबैजसो कार्यालय, सबै प्रशासन, सबै पार्टी अहिले कुर्सी कमिसन र प्रशासन पट्याउन, जनताका काम छाडेर मिटिङमा तल्लीन छन् । भत्ता त के कमिसनकै बोल चलेको छ ।”
साथीको त्यस्तो कुराले मलाई अलिअलि हो क्यारे जस्तो पार्दै थियो, हिजोमात्र पत्रिकामा एकजना सचिवज्यूले मनभित्र गुम्स्याएर राख्न नसकेर होला, ३ दिनमा ६ ठाउँमा मिटिङ गर्नुपरेको छ । जताततै मिटिङ, जे गरे पनि
मिटिङ भनेजस्ता केही व्यङ्ग्य र केही तथ्य कथ्य छपाउनुभएबाट साँच्चिने कमिसन र प्रशासन नै रहेछ कुर्सी अड्याउने तत्त्वजस्तो लाग्यो ।
राष्ट्रभर कुर्सी पक्षले कुर्सी अड्याउने मिटिङ भत्ताको व्यवस्था गरेका छन्, विपक्षीले कसरी कुर्सी ढलाउने भनेर मिटिङ गरेका छन् । हामीजस्ता साधारण जनतालाई त कुर्सीले देश अड्याएको छ कि देशले कुर्सी अड्याएको छ, खुट्याउन नसकिने अवस्था देखिन थाल्यो ।
प्रजातन्त्र भनेको बडो अनौठो कुरा रहेछ । जसले जसलाई जहाँ जे गर्न पनि पाउने । नर्तकीले दर्शकको आशय थाहा पाएर अर्थार्जनका लागि नाङ्गै पनि नाचिदिन सकेझै प्रजातन्त्रका हिमायती हुँ भन्नेले प्रजातन्त्रलाई ‘हिट’मा ल्याउनलाई कसैले कुर्सी, टेबल, माइक भाँचेका छन्, कसैले लाठो ताकेर सत्ता अड्याएका छन् । प्रजातन्त्र जान आँट्यो, यसो नगर भन्यो भने प्रजातन्त्र कुर्सीमा, मेच-टेबलमा, माइकमा, थप्पडमा, कुस्तीमा टाँसिएको छ र जान्छ भनेर आफ्नै प्रजातन्त्रको परिभाषा दिन्छन् । कुरो न हो, आफू नाङ्गो छैन भने भइहाल्दो रहेछ । अब त धर्म, मर्म र सर्म नमानीकन गरिएको दुस्कर्म नै प्रजातन्त्र हो भनेर टाउकेले परिभाषा दिएपछि लाउकेलाई प्रजातन्त्रको प्रयोग गर्न के गाह्रो पर्यो र अनि त पड्काएर प्रजातन्त्रको प्रयोग गरेको हुन्छ जहिले पनि ।
पौराणिक कालमा रावणले तहल्का नमच्चाएको भए रामराज्यको महत्त्व हुने नै थिएन । नदी किनारको बकुल्लाले झै नेता कुर्सी कुर्ने र कर्मचारी दिउँसै कुर्सीमा घुर्ने शान्ति र स्वतन्त्रता एकप्रकारको रामराज्य नै माने हुन्छ । पैसा देखेपछि महादेवले झै तेस्रो नेत्र खुलाएर जनताका काम र खल्तीमा दाम गर्दा पनि खासखुसे व्यवहार भएकामा त्यहाँ शान्तिभङ्गको आरोप लगाउने ठाउँचाहिँ देखिन्न ।
कर्मचारीलाई छड्के गर्नेले पनि छड्के आँखाले पैसो नै देख्न पुगेको दृष्टान्त दिनानुदिन सुनिएकै कुरा हो । कमिसन र तस्करीका कुरा त राष्ट्रका प्रधानमन्त्रीले नै हामीभित्रै छ भनी स्वीकारिसकेपछि र कमिसन र किनबेचका कुरा खसी बोकाभन्दा छिटो बिक्ने र बिकाउने हुँदा त्यस पक्षमा भने पूर्ण प्रजातन्त्रको प्रयोग भएकै मान्नुपर्दछ ।
प्रजातन्त्र भनेको जसले जे पनि गर्न र भन्न पाउने कुरा नै रहेछ । एउटाले भ्रष्टाचार भो भन्छ, अर्काले हैन भन्छ, एउटा राजीनामा दे भन्छ, अर्को कानमा तेल हालेर प्रजातन्त्रमा उन्मुक्त हुन्छ । एउटाले ‘ब्यालेट’को कुरा गर्छ, अर्को ‘बुलेट’को कुरा गर्छ र प्रयोग पनि गर्छ । एउटाले खुट्टो तान्छ, अर्काले नछोऊ भन्छ । हेर्दा, बुझ्दा कुरो कुर्सीमै अडेको छ, प्रशासन कुर्सीकै सुरक्षामा छ, कमिशन त्यसकै छायामा छोपिएको छ अनि किन नफलोस् र नफुलोस् देशमा प्रजातन्त्र ? सदन दनदन दन्केको छ, मिटिङ दिनदिनै तन्केको छ, पाउने रातोपिरो भएर तन्केको छ, नपाउने फनफन फन्केको छ, प्रशासनका झिगांचाहिँले जुधेका साँढेका सिङले लगाएको घाउका रगतबाट तागत बढाएका छन् । आखिरमा कुर्सी कमिसन र प्रशासन भन्नु पनि यस्तै रहेछ ।
जनताका हक हितका कुनै विधेयक पारित गर्नेतिर कोही नलागी सदन र सडक तताउने र मताउने कामकै प्रजातन्त्र चलिरहेछ । यस्तै रहेछ कुर्सी, कमिसन र प्रशासन भनेको पनि ।
०००
हिमालय टाइम्स (२०५७ फागुन २२)
Subscribe
Login
0 Comments
Oldest