घिमिरे ‘मैदेली’धन्य नेता नेपालका !
जनताले पहिरन फेराएर सिन्दूर अबीर गरी पठाएका नेता सदनलाई कुरुक्षेत्र मानी रगत कटकटाएको पहिरनमा दुःख र दर्दले हैरान पारेका जनताकहाँ गएर कुन अनुहार देखाएर के भन्ने ? विकासविनाको सन्त्रास र निरास भएका जनताको आश अब नेतामा छैन ।

घिमिरे मैदेली :
भत्ता खाई प्रचुर धनको मादमा मात्तिएर । जसले सक्छ दल र बलमा रीसले तात्तिएर ॥ हानाहान गरी सदनको मर्यादा नै बिगार । ठूलै रै’छौ जनप्रतिनिधि धन्य नेता नेपाल ॥
असल कार्य गर्नेलाई धन्यवाद दिएर त्यस्ता कामकुरो बारम्बार गर्न सक, गर्दै जाऊ भनेर पुरस्कार र प्रोत्साहन दिने हाम्रो पुख्यौली परम्परा ने हो । जुन व्यक्ति, समाज र पार्टीले स्वार्थमा माथि उठेर परम्स्वार्थी काम गर्छ भने त्यस्तालाई यथोचित धन्यवाद, लोप्रेहात, छारीहात गाउनु पनि परिपञ्चके कुरो हुन आउँछ । बूढो गोरुले…. ओगटेझै कुर्सी ओगट्ने, कुर्सीबाट नहट्ने नेता र तलबाट हेरेर कुर्सी हल्लियो भन्दैमा झर-झर भन्ने नेताहरूको झडपले झन्डै झन्डै पार्टीका झन्डा भागवन्डा भएको । झन्डै नेताहरू नै परमधाम भएको !
नीति, न्याय र नैतिकताको अलिकता पनि ख्याल नगरी नराम्रोसँग निमोठिन पुग्दा साँढेको जुधाइ साँढेकै मिचाइचाहिँ भएकै हो । रामका अगाडि रावणलाई नमाने पनि विषालु सर्पलाई नागराज भनेर पूजा गर्ने परम्परा हुँदाहुँदै पनि किन सर्पलाई जिस्क्याउँछ मान्छे ? देशको जङ्गलै सखाप पारेर कैयौं कुर्सी टेवुल बनिसक्दा पनि किन एउटै कुर्सीमा मरिहत्ते हाल्छ मान्छे ? देश बनाउने कुरामा गनाउने रोग लागिसक्दा पनि किन विकासकै कुरालाई बहाना बनाएर जनतालाई भ्रम पार्दै छ भाषण गरेर रासन पचाई शासन चलाउने मान्छे ? झुटको खेती कति दिनसम्म चल्छ र त्यसबाट के फल्छ ? धन्य हाम्रा नेता र उनको नैतिकता !
सिधा-साधा जनताका भोटलाई नोटमा साटेर धमाधम धनआर्जन गर्ने नराधमहरू सधन हुनलाई सदनमा दनादन दन्काइरहेका छन् । लठ्ठी भाँचेर ताण्डव नाच नाचेर । कस्तो मज्जा । जस्तोसुकै कसुर र मसुर भए पनि जनताका पैसा भत्ता हसुर्न पाएकै छन् । जति जति सदन टंगिए पनि सांसद नाङ्गिए पनि विधेयकबिल पास गर्नेतिर मुसो नमरे पनि भत्ता पाक्नेले हत्तपत्त भत्ता किन रोक्थे र सदन लम्ब्याउनु नै उनका लागि सघन बनेका बेलामा ।
नेताले निर्धा र निमुखा जनताको अर्जीलाई आफ्नो मर्जी ठानेर सढि बन्दै जनताको माड पोखेर आफ्नै गलगाँडलाई जाँड धोकाउँदै र राष्ट्रवादको नारा घोकाउँदै हिँडेका छन् नेताहरू ।
धन्य नेता ! पाप लुकाउन धर्मको स्वाङ पारेर, हिंसा र हत्या लुकाउन शान्तिको पाठ जपेर मात्र होइन आफ्नो गलाको गाँड छोप्न गलबन्दी गुथेर पनि हिँड्ने गरेका छौ ।
कसैका भने कुर्सीमाथि कुर्सी, कोही भने त्यही कुर्सी तान्न बुर्कुसी बाहेर दौडने खेल चलेको छ नेपालमा । पर्खालभित्रकाले पनि कुर्सीकै खुट्टो हानेको र पर्खालबाहिरकाले पनि त्यही कुर्सी लम्की हडप र झडप सिर्जना भइरहेको छ कुर्सीको मुलुकमा । एउटै कुर्सीमा सबैजना झुम्मिने हो भने बरु सोहनीका काका भतिजाले झै मिलेर एक-एक वर्षलाई पालैपालो गर्नु नि त्यो माथिको ठूलो कुर्सीको पनि । कुर्सीको विकल्प त्यति मात्र छैन । बरु देशमा कर विभाग केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण केन्द्रीय कार्यालय, भूमिसुधार, ठेक्कापठ्ठा विभागजस्ता विभागका विशेष कुर्सीको विधेयक सबै मिलेर सांसद भत्ता विधेयक पास गरेझै पास गर्नु करोडभन्दा माथिको आर्थिक कारोबारमात्र त्यस कुर्सीबाट पास गर्ने परम्परा बसाल्नु बूढाको डबलकुर्सीभन्दा आय-आर्जनमा यस्ता कुर्सीलाई जनसम्पर्क बढाउनु अनि पो कुर्सीको प्रेसर (चाप) कम हुन्छ त !
त्यसै हल्ला र हङ्गामा मच्चाएर टाउकामा जुत्ताको डाम बसालेर के काम ? त्यसबाट त भत्तामात्र पाइन्छ । औषधोपचार खर्च त सुत्केरीकै खाए पनि दिया छ । अहिले त आफ्नै रोगका लागि मात्र उपचार होइन राष्ट्रिय समस्या र राष्ट्रिय रोगको नै उपचार गर्नुपर्यो । कुर्सीको निकासको विकल्प निकाल्नुपर्यो ।
कुर्सीकै निकास ननिस्केको बेला देशको विकास किन सोच्ने ? गलबन्दीले गाँडलाई बेर्ने र भाँडले रोस्टम घेर्ने दुवै परम्पराले नजीरको रूप लिन पायो भने यो सदनको अधम कदम यही हुनेछ, अनि हाम्रा जनप्रतिनिधि धन्यवादका पात्र हुनेछन् ।
देशविकासको दौडमा दौडँदा-दौडँदा बाटैमा धोती झरेर सर्वाङ्ग नाङ्गो भइसकेका नेताले धोती खस्न लाग्यो भनेर किन चिच्याएको ?
जनताले पहिरन फेराएर सिन्दूर अबीर गरी पठाएका नेता सदनलाई कुरुक्षेत्र मानी रगत कटकटाएको पहिरनमा दुःख र दर्दले हैरान पारेका जनताकहाँ गएर कुन अनुहार देखाएर के भन्ने ? विकासविनाको सन्त्रास र निरास भएका जनताको आश अब नेतामा छैन ।
कुन सदनको कुन विधेयक जनताका भलाइका निमित्त आए र त्यसप्रति कुन नेताले आफ्नो अलिकता नैतिकता देखायो ? अब किन जनताले नेताको नाम लिने ? नेतामा नैतिकता नभएपछि बहुदल बाहुबलमा परिणत भएपछि कसरी हुने नेपालमा शान्ति र विकास ?
आखिरमा देश यस्तै भएको छ-
न शान्ति भो विकास भो न भो निकास ।
जो छानियो जो चुनियो उही भो पिचास ॥
न भो पुर्खाको गति न भो भविष्यको विचार ।
नेता नामर्दले गर्दा बिग्रदैछ नेपाल ॥
०००
हिमालय टाइम्समा २०५७। ११ । १५
ट्याब्लेटकाे मान्छे, (२०५८)
Subscribe
Login
0 Comments
Oldest







































