घिमिरे ‘मैदेली’पुच्छर राख्ने र झिक्नेका कुरा
बाँदरको पुच्छर लौरो न हतियार त भएकै हो । बाह्रवर्षसम्म ढुङ्ग्रामा हाल्दा नसोझिने कुकुरको पुच्छर नचिन्ने कोही छैन । एउटाको पुच्छर काट्दा अर्कालाई फाइदा बेफाइदा के होला ?

घिमिरे मैदेली :
प्राणीलाई पुच्छर दिने प्रकृतिको पारख पनि पार लगाई नसक्नुको छ भन्या । कुनै प्राणीलाई लामा पुच्छर कुनै प्राणीलाई छोटा पुच्छर दिएका छन् त कुनै प्राणीलाई घुमाउरो पुच्छर दिएको छ । अझ कुनै प्राणीलाई त प्रकृतिले पुच्छर नै राखिदिएको छैन । देख्दै अनौठो !
होइन, प्रकृतिले जेजस्तो रूप आकार दियो त्यसैमा सन्तोष नमानेर मान्छेहरू नानाभाँतीका अक्कल निकालेर कसैका नभएका पुच्छर गाँस्न र झिक्न किन खोज्छन् हँ ?
पौराणिक कालमा हनुमानको पुच्छरले लङ्का जलायो रे । जस्तै स्वामी भक्त भएपनि जलाउने र बलाउनेलाई बलवान् र बहादुर कुन समाजजे ठान्यो र ? अनुमान गरौँ त जलाउने कसको मात्र भक्त हुँदोरहेछ ? फेरि त्यसमा पनि पुच्छर नै नाइके भएर त्यसले शरीरलाई नै हल्लाउन थाल्यो भने त्यसको के गत होला सोचौं त ?
एकादेशमा ज्ञानेन्द्ररूपी शरीरलाई कमलरूपी पुच्छरले घुमाइदिँदा राज्य अङ्ग नै थला बसेको र आफैँ पनि थला परिसकेपछिका थापासमेतले पछि पुछुतो लाग्दा बताएकै कुरा हो । पुच्छर बढी नचाउँदा त्यसले पछाडिका फोहोर बोर लाग्ने गरेर टाउकामा ल्याइदिन्छ । टाउकेको इज्जतै बर्बाद हुने पुच्छ्रे इतिहासको उपहास भा बेलाँ पुच्छर हटाउनु र कटाउनुलाई केको महत्व दिएका होलान् ! सबै ठाउँमा एउटै नियम र सबै रोगका एउटै उपचारले त धान्दै न नि । पहिले त्यही पुच्छरले काम गर्ने पछि त्यही पुच्छर मात्र दुच्छर भनेर कटाउँदा त पछुतो र अछुतो हुनु पर्ला भन्या त त्यही भै’रा भन्या !
मान्छेलाई पुच्छर दिन प्रकृतिले कन्जुस्याइँ गर्यो रे भन्दैमा आफ्ना नीतिमा किन पुच्छ्रे राजनीति गर्नुपर्या होला ? भनी प्रश्न गर्ने जनताका सबालले जवाफ पाएन । यस्ता झिनामसिना झन्झटको सिँगलो झिकेर नेताहरू नचेती किन पुच्छे झमेला झिक्छन् ?
पुच्छ्रे समूहमध्येको एउटा नायक बोल्यो ‘पचासौं वर्ष अघि कुनै विदेशीले गाँसिदिएको पुच्छर पुरानो भो हटाउँछु हामीलाई चाहिँदैन । हामीलाई पुच्छरमात्र दिनेले त उसकै पुच्छर हटाइसक्यो ।’ दोस्रो समूहनायकको पनि कथन त्यस्तै थियो । पुच्छर हटाउने जोडतोड चल्यो । पुच्छर कतिसम्म काट्ने ? पछि चाहियो भने के गर्ने ? राजनीति सन्दर्भका यस्ता पुछे सवालजवाफ चलिरहे ।
हुँदा हुँदा पुच्छर घाँडो भएर तानातानको स्थिति देखिन थाल्यो । त्यत्रा जमातमा एकजनाले पनि पुच्छर राख्दा र फाल्दा हुने लाभहानिका बारे कोही नेता बोल्न सकेनछन् । यो भइरहेको पुच्छर झिक्नुपर्छ भनेर पहिले कसले कुरो उठायो ? पहिले उसकै पुच्छर रेट्ने भन्ने कुरो चलिसकेपछि अब पुच्छर राखेर पनि राम्रो होला जस्तो भएन । फेरि पुच्छर बुच्चो पारेपछि त्यो कस्तो होला त्यो भन्न सक्ने पनि कोही भएन । उठान भइसकेको कुरो बैठान गर्न त्यति सजिलो भएन । अहिले पुछे बजारमा पुच्छर निकै चर्चित बनेको छ ।
अँ यस्ता पुच्छरकै कुरो गर्दा एउटा सानो कथाको याद आयो । एउटा मुसोलाई आफू ठूलो हुँ भन्ने घमन्ड चलेछ । हुर्किएकी छोरी जाबो मुसोलाई के दिने भनी आफ्नो पुच्छर गाँठो पार्न लगाएर विशेष बनी सबैभन्दा शक्तिशाली सूर्य नै ठानेर सूर्यलाई छोरी दिन पुगेछ । सूर्यले भनेछन् ‘म के ठूलो धर्तीले मेरो किरण नै छेकिदिन्छ उनै ठूला हुन् उतै जाऊ’ भनेछ । फेरि त्यो मुसो आफ्नी छोरी धर्तीलाई दिन पुगेछ । धर्ती पनि कम बाठो थिएन । घमन्डी मुसोलाई भनेछ । ‘म’ के ठूलो छु र मलाई छियाछिया पारी मुसाले प्वाल पारिदिन्छ मभन्दा त मुसै ठूलो छ ।’
बल्ल मुसोलाई थाहा भएछ । आआफ्ना ठाउँमा सबै ठूला रहेछन् ! अनि मुसोले छोरी मुसैलाई दिन जाँदा एउटा घोर्ले मुसोले भनेछ । ‘तपाईं मुसानै हो भने खै तपाइँको पुच्छर देखाउनोस् ? हामी त मुसाकै वर्गकी कन्या विहे गर्छौँ ।’ बल्ल मुसाको घैटामा घाम लागेछ । अनि कसैलाई आफ्नो गाँठो पारेको पुच्छर फुकाउन लगाई मुसैसित उसको नाता जोडिएछ ।
कताकता हालको यो पुच्छर गाँस्ने र मास्ने कुरो पनि मुसाकै कथा जस्तो उपकथा त बनोइन ? पुच्छर हुनेले राम्ररी सोच्ने बेला आयो है । गाई भैँसीका पुच्छर खुरसम्म लत्रनु उसको शोभा नै हो । लङ्गुरका, बङ्गुरका, सुङ्गुरका पुच्छर त देख्नु भएकै छ । बाँदरको पुच्छर लौरो न हतियार त भएकै हो । बाह्रवर्षसम्म ढुङ्ग्रामा हाल्दा नसोझिने कुकुरको पुच्छर नचिन्ने कोही छैन । एउटाको पुच्छर काट्दा अर्कालाई फाइदा बेफाइदा के होला ? त्यो किन नसोच्या हो ?
यो पुच्छर राख्ने, छोट्याउने र काट्ने सबालमा भोका र नाङ्गा जनतालाई मतलब छैन । बरू पुच्छ्रेले हात्तीको सुँड र पुच्छरौँ दुवैैतिर पुच्छर थप्दा कुन अगाडि हो कुन पछाडि नचिनाएर लुक्न लुकाउन सजिलो होला । जनता त त्यही सल्लाह दिन्छन् । कसका लागि पुच्छर झिक्न खोजेको ? आज छोट्याएको पुच्छर भोलि गाँस्नु पर्ला है । नरनेतालाई चेतना भया बेसै हुन्या छन् ।
०००
‘घिमिरेको घुयेत्रो’ (२०६७)
Subscribe
Login
0 Comments
Oldest






































