साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिँडालु पण्डितलाई पत्र (३)

आफ्नो भुँडी आफ्नो होइन कि भनी मुड्कीले हान्छु, पण्डित । क्यारुँ ! जिउमा एक थोपो पानी नहुँदा पनि कहाँबाट झर्छन् यी बलिन्द्रधारा आँसु ?

Nepal Telecom ad

पूर्ण ओली :

पारंगत पिँडालु पण्डित
पाँच औँलाको प्रणाम ।

अस्ति रिङ्टा लागेर लडेदेखि उठ्नै सकेको थिइनँ । त्यसो त मुढोझैँ ढलेपछि कति दिनपछि उठेँ अत्तोपत्तो केही छैन । जिउ अहिले पनि काँपिरहेको छ । आन्द्राभुँडी बाउँडिरहेका छन् । क्यारूँ पण्डित ? बिउँझनेबित्तिकै आफू कहाँ छु भनेर खुट्टाले गोर्यान छामेँ । हातले सिरानी छामेँ । हातमा केही चिज खस्रो खस्रो लाग्यो । उठाएर हेरँ तेरो पत्रको मुठो पो रहेछ । बिस्तारै अस्तिको कुरा सम्झँदै गएँ, अनि आफू कहाँ छु र कस्तो अवस्थामा छु भन्ने छर्लङ्गै भयो । झटपट चस्मा खोजेर कानमा भिरेँ र एउटा पाना तानेर पढ्न थालेँ ।

तैँले लेखेको रहिछस् : “उहिले आँखाकान देख्दैनथिस् । माथि मात्र हेर्थिस् किनकि तलतिर अन्धकार मात्र देख्यिस् । तँ आफूलाई सर्वस्व र महान ठान्थिस् । तेरा दृष्टिमा अरूहरू तृण बराबर थिए । बल्ल अहिले तेरो आँखा उघ्रेकोले देखिस् होला माथि तेरा कोही रहेनछन् । जे छ तलै छ ।”

क्यारूँ त पण्डित ? पढाइ सकेर तँ पण्डित्याइँतिर लागिस् ! म प्रौढकालीन पढाइ छोडेर नेतागिरीतिर लागेँ । नेता भई टोपलेपछि त मेरो पछि लाग्नेको के गन्ती ! पछि लाग्नेलाई यत्रैसिद्धि वास्ता गरिनँ । तँलाई समेत भुसुक्कै बिर्सिएँ । अघि लाग्नेहरूलाई मात्र देखेँ । कुन उपायले तिनीहरूलाई पछि तानेर अघि जाऊँ भनेर अनेकौँ दाउ रचेँ, उनीहरूलाई नै भाउ दिएँ, उनीहरूकै पाउ मलेँ, उनीहरूकै घाउ धोएँ । आफूलाई आकाशमा उत्पन्न भएको ठान्थेँ । मेरो जीवन नै आकाश हो भन्ठान्थेँ । लाग्थ्यो मलाई लिन यही आकाशमै इन्द्रको रथ आइपुग्नेछ । तर मेरो कल्पना वाहियात रहेछ पण्डित ! आखिर स्वर्गको लिस्नो चढ्न पनि अन्तिममा जमिनमै झर्नुपर्दो रहेछ । दिन धकेल्न दुई हातको खाट भए पुग्दो रहेछ । प्रथम सास फेर्दाजस्तै अन्तिम सास फेर्दा दुई हातको जमिन भए पुग्नेरहेछ, क्यारूँ ! मलाई मात्र हो र ? तँलाई पनि त्यस्तै हो नि पण्डित ! हैन र ?

सुरुकै सम्बोधनमा पाँच औँलाले मात्र प्रणाम गरेको देखी तँ बिच्केलास् । हेर् न, एक हात भुइँमा टेकेर अर्को हातले तेरो पत्र वाँच्दै छु । क्यारूँ ! तैँले थप लेखेको रहिछस् : “अहिले ती ‘माथिका’ लाई न चियाउन सक्छस्, न हियाउन । तँलाई यतिखेर सांसारिक धरातलको यथार्थ बोध भएको छ । देखिस् नि ? आखिर भूइँ एक सत्य रहेछ । हिजो तेरा भुइँखुट्टै थिएनन् । तर आज ती खुट्टा तँलाई गिज्याउँदै भुइँमै टेकिरहेछन्, भुइँमै लडीबुडी गर्न बाध्य छन् ।”

हो नि पण्डित । यी हेर् त अब त खुट्टै लाग्न छोडे । टेक्न खोज्दैमा टेकिए पो ! खुट्टा मात्र होइन जम्मै आङ भुइँमै छ । चलमल गर्नै सक्तिनँ । क्यारूँ त ? अझै लेखिछस्: “हिजो लाठी भाँच्ने तेरा ती हातहरू आज सिन्कासम्म पनि उचाल्न सक्तैनन् । हिजो सहर उचाल्ने तेरा स्वरहरू आज कोठासम्म घन्काउन सक्तैनन् । तेरो बसेको स्वरले आफ्नै प्रिया बोलाउन सक्तैन, छोराछोरी र नातिनातिना बोलाउनु त परकै कुरा । तेरो स्वर भासिएको छ सुकेको छ ।”

तैँले आफ्नै बेथा सम्झेर लेखिस् कि मेरो यथा जानेर ? खै के था ? मेरो आँतभित्रै पसेर लेखिछस् पण्डित । तेरो पत्र अझै पढ्दै गएँ : “संसद् चर्काउँछु भन्थिस्, सांसद् थर्काउँछु भन्थिस्, को छ मेरा अगाडि शिर ठड्याउने ? भन्थिस् आज तेरा यी भनाइ तेरै उपहास बनेका छन् । हिजो तैँले थर्काएकाहरू आज तेरो सम्मुख उभिँदा हप्काउनु पर्दैन, उनीहरूले ‘के छ ?’ भन्न खोज्दैमा तीसँग तँ आफै तर्कन्छस्, तँ आफै थर्कन्छस् र तेरो श्वास बढ्छ र रोकिएलाझैँ हुन्छ ! किनकि, तँ अब मुढो भइस् तँ अब बुढो भइस् ।”

सोह्रैआना साँचा कुरा गरिस् पण्डित । म के बुढिएँ, जीर्ण मुढोसरी भएँ । लडाए भो, गुडाए भो । खाना खायौ भनी सोध्नै परेन, गाह्रो भयो कि भनी बुझ्नै परेन । ढाले भो, बाले भो, फाले भो । साँच्चिकै मुढोको बेहाल जिन्दगी बाँचिरहेको छु पण्डित । हेर् न, तेरो पत्र पढ्दा आँखा पिरिन्छ, मन घोरिन्छ, छाती चिरिन्छ ।

आफ्नै खुट्टा आफ्ना होइनन् कि भनी घरीघरी चिमोट्छु । आफ्ना आँखा आफ्नै होइनन् कि भनी सकुन्जेल फट्टाउँछु । आफ्नो भुँडी आफ्नो होइन कि भनी मुड्कीले हान्छु, पण्डित । क्यारुँ ! जिउमा एक थोपो पानी नहुँदा पनि कहाँबाट झर्छन् यी बलिन्द्रधारा आँसु ?

योभन्दा अरू पढ्न सकिन पण्डित । बाँचेछु भने अर्को दिन तेरा बाँकी पत्र वाचुँला । अहिलेलाई भैगो । यति नै ।

उही तेरो कृपालु ‘कमले’

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x