साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुम्रा गनौँ : देश बनाऔँ

यसरी स्नातकोत्तरसम्म हासिल गरिसकेपछि जुम्रा विषयमा विद्यावारिधी कसरी गर्ने होला भन्ने सकसक पनि भइसक्यो होला हैन ? नेपालमा केपि, देउवा, प्रचण्डलगायतका प्रोफेसरहरू भेटिए पनि यिनीहरू अलि आलाकाँचा नै छन् ।

Nepal Telecom ad

पूर्ण ओली :

जुम्रा गन्नु हाम्रो परम्परागत र मौलिक पहिचान भएकोले अचुक मौलिक विकास मोडेल हो । हामीले अन्य विकास मोडेलतिर लागेकोले हामी पछि परेका हौँ । हामीले जुम्रा मात्र गनेर बस्यौँ भने पनि नेपालले छिट्टै नै संसारका सबै देशलाई समृद्धिमा पछि पार्नेछ । सदियौँदेखिको गरिबीको दुष्चक्र तोडने एक बलियो हतियार हुनसक्ने प्रबल सम्भावना छ जुम्रा उद्योग । तसर्थ हामी टोलटोलमा जुम्रा स्कुल खोलौँ । पाठ्यक्रममा अनिवार्य विषयमा जुम्रा गन्ने विषय पनि समावेश गरौँ । जुम्रामै अनुसन्धान गर्ने र विद्यावारिधि हासिल गर्ने वातावरण मिलाऔँ । कुनै काम गर्ने जाँगर नहुनेले पनि जुम्रा सजिलै गन्न सक्तछ । आँखा नदेख्ने, कान नसुन्ने, अन्य अङ्गभङ्ग भएकाले पनि जुम्रा गन्न सक्दछन् । अतः यो देशमा शतप्रतिशत रोजगारी सिर्जना गर्ने अचुक अस्त्र हुनसक्छ । तसर्थ असल कार्यमा ढिलाइ नगरौँ । यो महान क्रान्तिमा सबै नेपालीहरू आजैदेखि अग्रसर बनौँ ।

सकेसम्म सबैले अधिकतम् जुम्रा पालौँ । आङको मयल नफालौँ । झुत्राझाम्रा लगाऔँ । खुट्टाका औँलामा उम्रने रौँदेखि शिरको टुप्पीसम्म अनिवार्यरुपमा जुम्रा पाल्ने व्यवस्था गरौँ । जुम्राउपर हिँसा हुन वा आघात पर्ने कुनै काम गर्न नदिऔ । जुम्रा मार्न नपाइने कडा कानुनी व्यवस्था गरौँ । जुम्राउपर घरेलु हिँसा गर्नेलाई आजन्म कैद तथा जरिवाना हुने र जुम्रा मार्नेलाई प्राण दण्ड दिने कानुन बनाऔँ ।

जसले बढी जुम्रा पाल्छ उसलाई पुरस्कृत र सम्मानित गरौँ र राष्ट्रिय विभूति घोषणा गरौँ । जुम्राकै टोकाइले कोही मर्यो भने त्यसलाई राष्ट्रिय शोक मनाउँदै सहिद घोषणा गरौँ । वर्षमा भव्य कार्यक्रमहरूसहित सप्ताहव्यापी जुम्रा दिवस मनाउन सबै सरकारी गैरसरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा दिने व्यवस्था गरौँ ।

नेपालमा जुम्राको पढाइ सुरु भयो भने यस विषयमा कोही विद्यार्थी पनि फेल हुनेछैन । फेलको कुरै छोडौँ कसैले पनि विशिष्ट श्रेणीभन्दा तलको अङ्क प्राप्त गर्नेछैन । फेल नै नभएपछि न त प्रधानमन्त्रीले आरोप लगाउन पाउनेछन् न तपाईँहरूले नै सडकमा आन्दोलन गर्नुपर्नेछ । अभिभावकहरू हो आफ्ना सन्तानलाई पढाइको निम्ति सहरमा वा विदेशमा पठाउने टन्टा अब खतम हुँदै । ढुक्क होऔँ अरु विषय छोडेर आफ्ना विद्यार्थीहरूलाई आफ्नै गाउँमा जुम्रा गन्ने विषय नै पढाऔँ ।

स्कुल कसरी खोल्ने र कहाँ खोल्ने भन्ने कुरामा धेरै टाउको नदुखाऔँ । जुम्रा स्कुल खोल्न कुनै भौतिक संरचना आवश्यक पर्ने छैन डेस्कबेन्च र खेल मैदान आवश्यक पर्नेछैन । प्रत्येकको घरघरै जुम्रा स्कुल खोल्न सकिन्छ । अनौपचारिक रूपमा त खुलेकै छन्, तिनलाई औपचारिकता दिऔँ । यो कुरा आआफ्ना कित्ताका नेताहरूलाई घचघच्यायौँ भने उनीहरू जुम्रा स्कुल खोल्नको लागि अरू सबै काम लत्याएर यतैतर्फ मात्र उनीहरूको ध्यान खिचिनेछ । सांसदहरूले कार्यान्वयन गर्नै नसकिने ताइ न तुइका कानुनहरू निर्माणमा लाग्नुभन्दा जुम्रा कानुन बनाउनमै दिलचस्पी लगाउनेछन् । देशको अधिकांश बजेट यतै विनियोजन हुनेछ ।

जुम्रा विषय पढाउने शिक्षक नपाइएलान् भन्ने चिन्ता नगर्नुहोस् । जुम्रामा विद्यावारिधी गरेका नेताहरू हाम्रा हरेक पार्टीमा एक से एक छन् । उनीहरूका कार्यकर्ताहरू जुम्रा गन्नकै लागि भर्ती भएका छन् र अनौपचारिक रूपमा भए जुम्रा गन्ने बाहेक अरू काममा लागेकै छैनन् । जुम्रा पढाउने स्कुल खुलेको थाहा पाउनेबित्तिकै उनीहरू तँछाडमछाड गर्दै तपाईँकै घरमा उनीहरू हामफाल्दै आइपुग्नेछन् ।
जुम्रा विषयक पाठ्यपुस्तकको पनि चिन्ता नगर्नुहोस् । तपाईँसँग पाठ्यपुस्तक किन्ने पैसा नहोला । यस तनावबाट पनि मुक्त हुनुहोस् । कहिल्यै नच्यातिने र कैले नमैलिने पाठ्यपुस्तक तपाईँकै छेउमा उपलब्ध छन् । त्यो भनेको पराइको आङको छाला र रौँ हो ।

प्राथमिक शिक्षाको लागि तपाईँकै परिवारका सदस्यहरू पाठ्यपुस्तक हुन् । बाह्रखरी सिकाउनको लागि घरमा रडाको मच्चाइरहने तपाईँकै बाबु वा आमा पर्याप्त छन् । बाह्रखरी सिकिसकेपछि परिवारको जुन सदस्य मन पर्दैन उसकै जुम्रा गन्न थाल्नुहोस् । जुम्रा गन्न नजानिएला वा बिर्सेला कि भन्ने पिर पनि नगर्नुहोस् । उल्टोसुल्टो जताबाट गने पनि हुन्छ । जतिपटक गने पनि हुन्छ । जुम्रा नदेखिए के गन्ने भन्ने सन्ताप नलिनुहोस् । तपाईँले शिरदेखि पाउसम्म जता आँखा पर्छन् त्यसैलाई जुम्रा मानिदिए हुन्छ ।

परिवारमा मन नपर्ने मान्छेको जुम्रा गन्न सफल हुनुभयो भने तपाईँ प्रथम कक्षा उत्तीर्ण हुनुभयो । अब दोस्रो कक्षाको लागि सबैभन्दा नजिकको छिमेकीका जुम्रा गन्न थाल्नुहोस् । तेस्रो कक्षाको लागि साथीका जुम्रा गन्न थाल्नुहोस् । यसरी नजिकका सबैको जुम्रा गनिसक्नुभयो भने तपाईँले जुम्रामा प्राथमिक शिक्षा उत्तीर्ण हुनुभयो ।

माध्यमिक शिक्षाको लागि अलि बाहिर निस्कनुपर्ने हुन्छ । तपाईँका समाजका अन्य व्यक्तिहरूका जुम्रा गन्न थाल्नुहोस् । समाजमा तपाईँलाई मन नपर्ने मुख्यमुख्य व्यक्तिहरूको जुम्रा गनिसक्नुभयो भने तपाईँले माध्यमिक शिक्षा पनि उत्तीर्ण गर्नुभयो ।
अब उच्च शिक्षा पनि हासिल गर्न सक्छु भन्ने हिम्मत बढ्यो होला हैन त तपाईँको । उच्च शिक्षा भनेको लरतरो शिक्षा होइन । धेरै विषयहरू अध्ययन गर्नुपर्छ । धेरै परका मान्छेहरूका जुम्रा गन्न सिध्याउनुपर्छ । आजभोलिको प्रविधिको जमानामा त्यो पनि असम्भव भने छैन । जुम्रामा उच्च शिक्षा हासिल गर्नका लागि नेपाली नेताहरूका कार्यकर्ताहरू नै तपाईँका असल गुरुहरू हुन् । उनीहरूको नजिक जानुहोस् । उनीहरुका कुराहरू सुन्नुहोस् । उनीहरूले ककसका जुम्रा गनिरहेका छन् । कसरी गनिरहेका छन् ध्यानपूर्वक ख्याल गर्नुहोस् । उनीहरूको सभा सम्मेलन भयो भने त्यहाँ पनि पुग्नुहोस् र तिनीहरूका भाषणहरू तथा प्रवचनहरू सुन्नुहोस् ।
यदि तपाईँलाई उनीहरूको पछि लाग्ने फुर्सद छैन भने अर्को उपाय गर्न सक्नुहुन्छ । तपाईँसँग मोबाइल त अवश्य होला । मोबाइलमा नेट जोड्नुहोस् । अनि प्रमुख दलका कार्यकर्ताहरूको हरेक दिनको पोस्ट हेर्नुहोस् । हरेक फोटो र भिडियो हेर्नुहोस् । उनीहरूले जुम्रा कसरी गनिरहेका छन् भन्ने प्रस्ट भइहाल्छ ।

तपाईँलाई उनीहरूको जुम्रा गनाइ देखेर हाँसो उठ्न सक्छ । खबरदार ! पटक्कै नहाँस्नुहोला । तपाईँले उनीहरूको पोस्टमा आँखा चिम्लेर खुरुखुरु लाइक गर्नुहोस् । देख्नेबित्तिकै शेयर गर्नुहोस् । शेयर गर्दा क्याप्सन लेख्न नबिर्सुनहोस् जसले यो पोस्ट तुरुन्तै शेयर गर्नेवाला धनधान्यले पूर्ण हुनेछ । देखेर पनि वास्ता नगर्नेले अनिष्ट र विपत्ति भोग्नुपर्नेछ । अनि उनीहरूका प्रत्येक पोस्टमा बल पुग्ने कमेन्ट गर्दै जानुहोस् । हौसलापूर्ण कमेन्ट थप्दै जानुहोस् । तर झुक्किएर पनि नराम्रो कमेन्टचाँहि नगर्नुहोला है । तपाईँले उनीहरूको अलिकति छुस्स पनि आलोचना गर्नुभयो भने तपाईँले गाली खान वा गोदाइ खान वा तपाईँको हाड भाँचिन बेर लाग्नेछैन । ती गुरुहरूबाट बडो होसियारीसाथ जोगिएर सिक्नुपर्ने हुन्छ । सेतोलाई कसरी कालो भन्ने, कालोलाई कसरी सेतो भन्ने, आकाशलाई कसरी पाताल भन्ने, गलतलाई कसरी सही भन्ने, उल्टोलाई कसरी सुल्टो भन्ने आदि कुराहरू तपाईँले उनीहरूबाट सजिलै सिकेर अरूको जुम्रा फटाफट गन्न सक्नुहुनेछ ।

अर्को कुरा तपाईँ कसका जुम्रा गन्ने भन्ने विषयमा पनि निकै ख्याल गर्नुपर्ने हुन्छ । ती कार्यकर्ताहरूले आज जसका जुम्रा गनिरहेका हुन्छन् भोलि त्यसैको जुम्रा गन्न छोडिदिएका हुन्छन् । तपाईँले नबुझी नजानी उनीहरूले जुम्रा गन्न छोडेका व्यक्तिकै जुम्रा गन्न थाल्नुभयो भने ठान्नुहोस् यमराज तपाईँका नजिकै छन् । अर्को कुरा उच्च शिक्षामा जुम्रा गनेर मात्र पनि पास भइँदैन । लिखा पनि गन्नुपर्ने हुन्छ । लिखा गन्नलाई तपाईँका आँखा अझै तिखा पार्नुपर्छ । जुम्राले भर्खरै झारेका फुलहरू पनि एकएक गरी गन्न जान्नुपर्ने हुन्छ ।
गन्न जानेर मात्र पुग्दैन है भन्न पनि जान्नुपर्छ ।

जुम्रामा उच्च शिक्षा प्राप्त गर्न निकै कठिन पो रहेछ भनेर बिचैमा पढाइ छोडिदिनुभयो भने पनि तपाईँले उन्मुक्ति पाउनुहुनेछैन । यता देशले नै समृद्धि हासिल गर्ने कुरा छ, उता नेताहरूले पनि रातारात समृद्धि हासिल गर्ने कुरा छ । तपाईँले यति महत्त्वपूर्ण पढाइ छोडिदिनुभयो भने कसरी देश बन्ला ? कसरी तपाईँका नेताको भविष्य बन्ला ? चौरासी साल पनि नजिकिँदै छ, तपाईँले तपाईँका नेताका प्रतिष्पर्धीका जुम्रा गनिदिनुभएन भने तपाईँको नेताले चुनाव जित्लान् भन्ने के ग्यारेन्टी छ ? तपाईँको नेताले हार्नेबित्तिकै तपाईँले झुम्रा भिरेर हुम्ला जानु नपर्ला भन्ने के ग्यारेन्टी छ ? तसर्थ तपाईँले तपाईँका आफन्तहरूका निम्ति जुम्राको विषयमा कम्तीमा पनि स्नातक गर्न अनिवार्य छ ।

यो पढाइको लागि कस्तो प्रकारको युनिफर्म आवश्यक पर्ला भन्ने खुलदुली तपाईँभित्र जागिसकेको होला । त्यसको फिक्री पनि नगर्नुहोस् । बरु तपाईँले झुत्राझाम्रादेखि राम्राराम्रा पोशाक जे भए पनि जोगाड गर्दै जानुहोस् र आङमा पत्रैपत्र गरी लगाउँदै जानुहोस् । तपाईँको आङभरि पनि जुम्राको खात हुनसक्छ । तपाईँका नेताका आङभरि पनि जुम्राको खात हुनसक्छ । तसर्थ सकभर एउटा जुम्रा पनि कसैको नजरमा नपर्ने गरी पोशाकले ढपक्कै ढाक्नुपर्ने हुन्छ । चर्का चर्का शब्दआभुषण प्रयोग गरेर आफ्नाहरूका आङमा ढपक्कै ढाकिदिनुपर्ने हुन्छ । जुम्रा देखिइहाले पनि त्यो त सुनको ठुम्रा पो हो भनी तपाईँले नै प्रमाणित गरिदिनुपर्ने हुन्छ । तपाईँले भनेको नपत्याउने यो संसारमै कोही छैन ।

पोशाक भने अलि बलियो नै चाहिन्छ । तपाईँको आङमा भैँसी नै छिरे पनि अर्काले नदेखोस् । त्यो भैँसीले तपाईँकै आङमा हगेमुते पनि बाहिर नदेखियोस् । सिँगौरी खेलेर तपाईँको पोशाक नच्यातियोस् । तपाईँको नेताको आङमा हात्ती नै छिरे पनि अरुले पटक्कै सुइँको नपाऊन् । अनि अरूले कसरी सक्लान् र तपाईँ वा तपाईँका मान्छेहरूको जुम्रा गन्न ? आफूले अर्काको आङको गन्न मिल्ने तर अर्काले तपाईँको आङको जुम्रा गन्न नमिल्ने कति काइदाको छ यो विषय । यो विषय सजिलो यस मानेमा छ कि तपाईँको आङमा वा तपाईँले मन पराउनेको आङमा हिँडेका जुम्राहरू गन्नै पर्दैन । बिर्सेर आफ्नै जुम्रा गन्नुभयो भने तपाईँ फेल ! एउटा कक्षामा मात्र फेल होइन तपाईँले पढेका जम्मै कक्षामा फेल !

यसरी स्नातकोत्तरसम्म हासिल गरिसकेपछि जुम्रा विषयमा विद्यावारिधी कसरी गर्ने होला भन्ने सकसक पनि भइसक्यो होला हैन ? नेपालमा केपि, देउवा, प्रचण्डलगायतका प्रोफेसरहरू भेटिए पनि यिनीहरू अलि आलाकाँचा नै छन् । ती त नेपालमै चिट चोराइएर प्रोफेसर बनाइएका हुन् । बरु बाहिरतिर मोदी, ट्रम्प, पुटिन, जिनपिङलगायत थुप्रै सिद्धहस्त प्रोफेसरहरू छन् । तिनीहरूबाट सिक्न सके राम्रो । नसके तिनीहरूका सम्पर्क सूत्र नेपालमै जति पनि भेटिन्छन् । तिनीहरूले नेपालमै सक्कली मोदी, ट्रम्प, पुटिन, जिनपिङ आदि दुरुस्तै तयार गरिदिन्छन् । सोधी त हेर्नुस् । तपाईँ डिजे अर्थात् डाक्टर अफ जुम्रियोलोजी बन्ने पक्का !
जुम्रा गनौँ : देश बनाऔँ !
आफ्ना जुम्रा आफै लुकाऔँ !
जुम्रा गणना : राष्ट्रिय धर्म !
जय जुम्रा ! जय झुम्रा !!

०००
रूकुम पश्चिम

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
harka singh
harka singh
10 months ago

ववू!क्या व्यङ्ग्य अलेख!पढेर साह्रै मजा आयो।अब म पनि जुम्रालयमा जुम्रा क्लाश सुरु गर्नु पर्‍यो🤣🤣🤣
पाठ्यपुस्तक कता खोज्नेहोला!घर भित्रैबाट सुरु गर्नु भन्नुभाछ।त्यसै गर्ने त होला!🤣🤣

Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
1
0
Would love your thoughts, please comment.x
()
x