पूर्ण ओलीलाजनीति खुस्किसकेको राजनीतिमा यस्तै हुन्छ
चुनावपश्चात् मात्र युवाहरूका यी मागहरू पूरा हुने हुन् भने ती पूरा हुन कति वर्ष लाग्ने हुन् ? त्यस बेलासम्म जेन अल्फा, जेन बिटा पनि आफ्नो उपस्थिति जनाउन सक्षम भइसक्नेछन् ।

पूर्ण ओली :
नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यू
जेनजीको मन जितेर प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ । यो गहन जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुहोला हार्दिक शुभकामना छ ।
यो बधाई ज्ञापन पत्र मैले तपाईंकै लागि लेखे पनि यो पत्र तपाईंसम्म पुग्नेछैन भन्ने मलाई प्रष्ट थाहा छ । म यही कुरामा प्रष्ट भएकोले नै बधाई दिँदै छु । अहिले सामाजिक सञ्जालभरि तपाईँकै फोटोले रङ्गिएको छ । समाचारपत्रहरू तपाईँकै समाचारले भरिएको छ । रेष्टुँरादेखि रेस्टरुमसम्म, घरबारदेखि दरबारसम्म, सखारैदेखि सन्ध्यासम्म तपाईँ नै तपाईँ हुनुहुन्छ । सम्भावित प्रधानमन्त्रीमा तपाईँको नाम पनि देखिनेबित्तिकै तीमध्ये तपाईँ नै प्रधानमन्त्री भैदिए हुन्थ्यो भनी कामना गर्नेहरू धेरैजसो थिए । धेरैजसो भन्नाले सबै दलहरू, सबै सुरक्षा अङ्गहरू, पुरानो सत्ताका सबै अङ्ग- व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका सबै सबैहरू । सबै व्यवसायीहरू, सबै पेसाकर्मीहरू र सबै जनताहरू । सबैको मनमा तपाईँ नै बस्नुभयो । सबैको दिलदिमागमा तपाईं नै बिराजमान हुनुभयो । अस्तिसम्म अधिकांश दरबारहरू जल्दा अब के हुने हो भनी आत्तिएकाहरूलाई तपाईँ प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि अब सिंहदरबार जलेकै थिएन जस्तो भान भइरहेको छ ।
सबैको मन जित्नसक्नु नै तपाईंको सबैभन्दा ठुलो सफलता हो । कारण के हो भने भताभुङ्ग पार्नमा जोसुकै अघि सरे पनि तिनीहरूलगायत चाहिएको सबैलाई सुरक्षा थियो । जो यस लोकमा जन्मिने सबैलाई बाँचुन्जेल जुन तरहले भए पनि सुरक्षाकै दरकार पर्दछ । केही प्राणीहरूलाई त प्रकृतिले नै सुरक्षाकवच दिलाइदिएको हुन्छ । आन्दोलनको क्रममा सुरक्षाको पाटो कमजोर देखिए पनि आन्दोलनबाट जसोतसो बाँचेपछि सबैलाई सुरक्षाको खाँचो छ । यस विषम परिस्थितिमा ल एण्ड अर्डरको खाँचो थियो । तपाईँ ल एण्ड अर्डर कायम गर्ने निकायबाटै यता पदार्पण गर्नुभएकोले उपलब्ध विकल्पहरूमध्ये तपाईँ नै सर्वोत्तम विकल्प हुनुहुन्थ्यो । आफ्नै धोतीटोपीको सुरक्षा गर्नसक्ने वा गरे पनि आफ्नै कित्ता मात्र छुट्याएर सुरक्षा गर्न खोज्नेको यति बेला के काम ? अवस्था यस्तै रहिरहे ती स्वार्थीहरूले गुमेको विश्वास कमाउन केही थान पापड बेल्नै पर्नेछ ।
हुन त सत्तामा रहँदा संविधानको मूल मर्मलाई जसले गर्नुसम्म बर्खिलाप गरे उनीहरूबाट नै संविधान जोगाउनुपर्छ भन्ने आवाज निस्कन थालिसकेको छ । यो आवाजको घनत्व अझै बढ्ने नै छ । उनीहरूलाई प्रष्ट थाहा छ कि यही संविधान रहेमा यसलाई मज्जासँग बर्खिलाप गरी केही समय अझै ऐश आरामको जिन्दगी काट्न सकिन्छ । अर्को कुरा केही महनीयहरूको मुखौटो उत्रिनबाट रौँप्रमाण जोगिएकोले उनीहरूलाई त्यस्तो भन्नैपर्ने बाध्यता पनि छ । नभने भोलि फेरि माथि उक्लनलाई भर्यालङ नभेटिने डर छ । कसैको ‘मुखमा राम राम, बगलीमा छुरा’ त, कसैको ‘मुखमा छुरै छुरा, बगलीमा राम’ पनि हुनसक्छ । यो छुट्ट्याउनलाई यस्तै आन्दोलन नदोहोरिई यसै भन्न सकिँदैन । यी बाइफालेहरूभन्दा तपाईँ पक्की, हक्की र उचुक्की पनि भएकोले देशलाई हाँक्ने सवालमा जो आउनुपर्ने त्यही आइपुग्नुभएको छ ।
००७ सालको प्रजातन्त्र प्राप्तिको क्रममा कसैले भनेका थिए रे कान्तिपुरमा प्रजातन्त्र आउँदा पनि हरेकले दीपावली गर्छन् र जाँदा पनि उनीहरूले नै दीपावली गर्छन् । मलाई हो कि भन्ने पनि लाग्दछ । ४६ सालको प्रजातन्त्र पुनर्बहालीको क्रममा आफ्नै आँखाले देखेको थिएँ कि हिजोसम्म पञ्चायती व्यवस्था जोगाउन मरिहत्ते गर्नेहरू रातारात बदलिएर प्रजातन्त्रको पुनःप्राप्तिसँगै कट्टर बहुदलबादी भइसकेका थिए । समयक्रममा उनीहरूले नै बहुदल हाँक्न थाले । अतः फ्याँक्नको लागि पनि अर्को उत्तम पात्र को हुन सक्छ र ? भनिन्छ सर्पले मात्र आफ्ना खुट्टा देख्न सक्छ । यस्तो हुन्छ र भइरहन्छ । खोलाबाट बाहिर उछिट्टिएका माछा आफ्नो पोल्टामा हाल्न नखोज्ने को होला र ? पटक पटक प्रजातन्त्र जाँदा र आउँदा यस्तो भइरहन्छ । जन्मे मरिन्छ, सुरु भए अन्त्य हुन्छ र स्वागतपछि बिदाई त हुन्छ नै । पात्र उनै हुन्, मनस्थिति उही हो, परिस्थिति उही हो । यो नेपाल नामको लोकमा अरू कुन लोकबाट स्वागतार्थी आइदिऊन् त बरा ? यहाँ परिवर्तन हुने त ‘परिवर्तन’ शब्द मात्र हो । अरू सबै स्थिर नै रहने जो यहाँको दुर्भाग्य छ ।
अब प्रजातन्त्रका पर्यायवाची शब्दहरू थपिँदै जानेछन् । सुनिँदै जानेछन् । रैतीतन्त्र, प्रजातन्त्र, लोकतन्त्र ! लोकतन्त्रपछि गणतन्त्र ! गणतन्त्रपछि अब के तन्त्र आउला ? चिन्ताको विषय रहेन । उन्नत र सुधारिएको भन्ने शब्दहरू पुरानो सत्ताले सिफारिस गरिरहेको छ । वैकल्पिक शब्दको केही छिनमै आविष्कार भइहाल्छ । पुरानो सत्ता भनेकोमा निवर्तमानहरूले आपत्ती नजनाउनुहोला । पुरानो नै नयाँ हुने हो । नयाँ पुरानो हुँदै जाने हो । यहाँ यस्तो चक्र चलिरहन्छ ।
तर मलाई त निकै डर छ सम्माननीयज्यू । जति ठुलो पिण्ड हुन्छ, त्यति ठुलो छायाँ हुन्छ । जति ठुलो छायाँ हुन्छ, त्यति ठुलो ब्ल्याकहोल हुन्छ । सानो सानो लोकतन्त्र जाँदा त यति ठुलो विध्वंस मच्चियो भने त्यो उन्नत र सुधारिएको लोकतन्त्र जाँदा झन् कति प्रलयङ्कारी विध्वंस मच्चिएला ? कसैगरी आफ्नै आँखाले त्यो प्रलय देख्न नपाए हुन्थ्यो ! सम्झिँदा सास रोकिन्छ, मुटु फुट्ला जस्तो हुन्छ । तर यो तुच्छ मुटु फुटे पनि केही नापिने छैन । यहाँ सितिमिति नफुट्ने पत्थरका ठुला ठुला मुटुहरू हुनेहरू अझै धेरै छन्, जसले र् याल काढ्दै आगामी सत्ता कुरिरहेका छन् । शपथग्रहणका गुलिया सपनाहरू देख्न थालिसकेका छन् । जसले अब छिट्टै जेनजीको सदस्यता प्राप्त गर्नेवाला छन् । धेरैजसो त सदस्यता लिनै नपर्ने गरी अस्ति नै रातारात जेनजी भइसकेका छन् । कोही नख्खुदरबारबाट जेनजी बन्न आए । कोही बागदरबारबाट जेनजीको सदस्यता बाँडिरहेका छन् । कोही नागार्जुनबाट जेनजी बन्न तमतमाइरहेका छन् । काठमाडौँ खाल्डोका जल्दै गरेका दरबारहरूबाट पनि जेनजी बन्न लालायित छन् ।
तपाईँ भन्नुहोला धत् मूर्ख जेनजी भनेको त हाल १५ देखि २५ वर्ष उमेर समूहको युवा पुस्ता मात्र हो । त्यो उमेर पहिल्यै काटिसकेका व्यक्ति कसरी जेनजी हुन सक्छन् ? तपाईंलाई जगजाहेरै छ सम्माननीयज्यू, लाजनीति खुस्किसकेको राजनीतिमा यस्तो हुन्छ । ३० वर्षभन्दा तलकालाई मात्र युवा मान्ने पुरानो मान्यता भत्काउँदै ४०, ५०, ६०, ७० हुँदै अझै माथि जेनजी आन्दोलनपूर्व नै पुगिसकेको थियो । युवाको मापदण्ड हाम्रै आँखाको अघि १०० वर्षसम्म पुग्न सक्छ । अब निर्वाचन पनि यही संविधानअनुसार हुने भएपछि अब पनि उही मनस्थितिका पात्र नै आउने भए र परिस्थिति उही हुने पक्का नै हुने भयो । भोलि, कुनै समयमा १० देखि २५ वर्ष उमेर पार गरेका जति सबैले जेनजी हुन पाउने नियम यिनीहरूले नबनाउलान् भन्न सकिँदैन ।
सम्माननीय प्रधानमन्त्रीज्यू क्षमा चाहन्छु म तपाईँलाई बधाई तथा शुभकामना दिन उपस्थित भएको थिएँ तर बहकिएँ अर्कैतिर । सरकारी धरोहरहरू अझै निभिसकेका छैनन् । जताततै खरानीको थुप्रो मात्र देखिन्छ । तपाईं यस्तो दुर्दिनको अवस्थामा न संविधानबाहिर न संविधानभित्रको खुकुरीको धारजस्तो धारालाई टेकेर प्रधानमन्त्री बन्नुभएको छ । तपाईंको अनुभव, योग्यता र क्षमताले पक्का पनि प्रधानमन्त्रीको लहरमा नाम मात्र चढाउनको लागि यो जिम्मेवारी पक्कै सम्हाल्नुभएको होइन होला भन्ने ठान्दछु । तर तपाईंको नियुक्तिमा भने खास गरी निर्वाचनकै कुरा मात्र आएको छ । चुनावै गराउनको लागि तपाईंको नियुक्ति गरिएको हो भने त निकै हास्यास्पद र बिडम्बनापूर्ण हुने भयो । चुनाव त अस्ति भर्खरै सकिएर मै हुँ भन्नेहरू एकएक चुनिएकै हुन् र यी चुनिएकैहरूले यो अवस्था सिर्जना गरेका हुन् । खरानी हुँदै गरेका निजी दरबारहरूको छेउछाउबाट गर्मीमा दुलोबाट सर्पले फणा निकालेझैँ यिनीहरूले मुन्टो निकाल्न थालिसकेका छन् ।
ती मै हुँ भन्नेहरूको २३ र २४ गते मात्र सास रोकिए पनि अहिले त उनीहरूको दोहोरो सास चल्न थालिसकेको छ । सबैतिर खरानी भइसकेको देशको शेष बजेट पनि फेरि स्वाहा पार्ने गरी चुनावी प्रक्रियाको डोली चढाएर पुनः उनीहरूलाई नै धुमधामका साथ किन भित्र्याउनुपर्ने हो ? मैले पटक्कै बुझ्न नसकेको कुरो हो । खैर, यो कुरा बुझेरै तपाईँ प्रधानमन्त्री चुनिनुभएको होला । म त भन्छु, चुनावसुनाव गोली मारेर कि जेनजीको मुद्दामा केन्द्रित हुनुहोस् कि त तिनै ओली, देउबा र दाहाललाई राज्याभिषेक गरिदिएर खुरुक्क तल ओर्लिहाल्नुहोस् । बाँकी जे गर्छन् उनीहरूले नै गर्नेछन् । उनीहरूलाई छोडिदिए नरहे बाँसुरी नरहे बाँस । अर्को आन्दोलनको खुराकको निम्ति आगोले नजल्ने पक्की निजी आवास तयार गर्नपट्टि, बमले नछेड्ने धनसम्पत्ति लुकाउने सुरुङ निर्माण गर्नपट्टि लागे भने पनि अभेद्य किल्ला देखेपछि भविष्यका आन्दोलनकारीहरूले आन्दोलन गरिरहनुपर्ने टन्टै खत्तम ।
सम्माननीयज्यू, जेनजीले आन्दोलन गर्नुको मुख्य एजेन्डा भनेको भ्रष्टाचार नियन्त्रण र समाजमा न्याय स्थापना गर्नु थियो । यी मुद्दा कसैको लागि नयाँ होइनन् । हरेक दलका घोषणापत्रमा सबैभन्दा अगाडि यही घोषणा छ । तर निर्वाचन गरेर न यो पहिले प्राप्त हुन सक्यो, न पछि नै प्राप्त हुनेछ । प्राप्त नभए पनि के र ! हामी मतदाताहरू लोकतन्त्र आउँदा पनि दीपावली गर्ने र जाँदा पनि दीपावली गर्ने क्षमताका छँदै छौँ । हाम्रो मतले दोस्रो व्यक्ति आउने सम्भावना नै छैन ।
सम्माननीयज्यूलाई जगजाहेरै छ, जेनजी विश्वव्यापी आन्दोलनमा उत्रिएकै बखत नेपाल सरकारले लगभग २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरूमा अन्धाधुन्ध जारी गरेको प्रतिबन्धले युवाहरूमा सञ्चार र सूचना प्रवाहमा बाधा महसुस गरी नेपाली युवाहरूले अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाएको अर्थ्याए र ‘डिजिटल आपतकाल’ सिर्जना भएको भनी सोको विरोधमा सडकमा उत्रिए । उनीहरू सडकमा उत्रिएको मौका छोप्दै छद्मभेषीहरूले ‘फिजिकल आपतकाल’ सिर्जना गरिदिए । आन्दोलन सम्हालिसक्नुभएन ।
जेनजी युवाहरूले हरेक राजनीतिक दलहरूमा रहेको भ्रष्टाचार, अवसरको असमानता, विशेष गरी राजनीतिक वंशवाद (नेपो किड्स) को अन्त्यको माग गर्दै आन्दोलनको क्रममा १० वर्षदेखि माथिका युवाले प्राणको आहुती दिएका छन् । शासनमा पारदर्शिता, जवाफदेहिताको माग गरेका छन् । राजनीतिक संरचना र नेतृत्वप्रति युवाहरूको तिब्र आक्रोश छ । युवाको आवाज न सुन्ने व्यवहार, राजनीतिक नेतृत्वको अक्षमता, सरकारी संयन्त्रको अकर्मण्यताप्रति युवाहरू असन्तुष्ट र आजित छन् ।
युवाहरूको चाहनाअनुसार प्रधानमन्त्रीलगायत मन्त्रीहरूको राजीनामा स्वीकृत भई तपाईंको नेतृत्वमा सत्ता परिवर्तन समेत भइसकेको छ । युवाहरूले नेपालको लोकतान्त्रिक शासन र संविधानिक प्रक्रिया बचाउने, संविधान र कानुन कायम राख्ने चाहना व्यक्त गरेकोले उनीहरूको चाहना संविधानमा सार्थक रूपमा समेटिनुपर्ने छ । राजनीतिक विकृति र विसंगति हटाउनकै लागि आन्दोलन छेडिएकोले त्यस दिशातर्फ राजनीतिक नेतृत्वलाई हृदयङ्गम गराउनु आवश्यक छ ।
चुनावपश्चात् मात्र युवाहरूका यी मागहरू पूरा हुने हुन् भने ती पूरा हुन कति वर्ष लाग्ने हुन् ? त्यस बेलासम्म जेन अल्फा, जेन बिटा पनि आफ्नो उपस्थिति जनाउन सक्षम भइसक्नेछन् । हाम्रो मनस्थिति र परिस्थिति नबदलिए उनीहरूको अर्को उन्नत आन्दोलनले नेपालको धूलोपिठो केही बाँकी रहनेछैन । तसर्थ के गरी हुन्छ युवाका यी मुद्दाहरूउपर मध्यनजर राख्दै खुट्टा नकंपाएर अगाडि बढ्नुहोला । पुनः बधाई एवम् शुभकामना छ ।
०००
रूकुम
Subscribe
Login
0 Comments
Oldest






































