हरिशंकर परसाईंभाषण गर्न सिक्नुस् !
अनि त तपाईं पनि श्रोताका कान चिर्न सफल हुनुहुनेछ, अनिद्राको रोगको उपचार गराउन थाल्नुहुनेछ, एक घण्टासम्म फत्फताएर पनि केही नबोलेझैँ लाग्नेछ र भन्न थाल्नुहुनेछ, ‘हामी पाकिस्तानलाई एक सेकेन्डमा फुकेर उडाइदिनेछौँ ।….’

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
अचम्मको कुरो के छ भने उनीहरूका नटनागर, राधारमण विहारी, माखनचोर, मनमोहन कृष्ण आफ्नो समयका सबैभन्दा उम्दा भाषणकर्ता थिए भन्ने कुरो वैष्णव कविहरू अनि भक्तहरूका दृष्टिबाट कसरी छुटेछ कुन्नि ! यदि द्वापरमा ‘डिबेट’ (तर्कवितर्क) प्रथा हुँदो हो, पक्षपात नगर्ने निर्णायक हुँदा हुन्, समयभन्दा पहिले घण्टी बजाउने सभापति नहुँदा हुन् र बसाल्नका लागि बिचमै ताली बजाइदिने श्रोताहरू नहुँदा हुन् त, हाम्रा कृष्ण सबैभन्दा बढी अङ्क पाएर पुरस्कार पाउनेमा पर्थे । म त बुढेसकालमा चर्चिललाई के सुझाव दिन्छु भने यदि उसले महायुद्ध गराउने भाषण सिक्नु छ भने ऊ यहाँ आएर कुनै वैष्णव मठाधीशको लँगौटी धोएर बिहानबेलुका कृष्णको आरती गरोस्, अनि त ऊ पनि तेस्रो महायुद्ध गराउन अवश्य सफल हुनेछ ।
त्यसो त आत्तिनुपर्ने पनि छैन । यी मठहरूमा पाइने स्तरीय भोजन त इङ्ग्ल्यान्डको राजाका लागि पनि सम्भव नहोला, किनभने हामी हिन्दुस्थानी ठुला धार्मिक हौँ । हामीले यी मठहरूलाई यति धेरै धन दिएका छौँ कि यस्ता ठाउँमा पालिने भुसतिघ्रे र ‘सच्चरित्तर’,हरूले दण्ड पेलेको पसिनाको कमाइ खाने तथाकथित साधुहरू भगवान् कृष्णको ‘चोरजार शिरोमणि’को आदर्शको प्रचार गरून् जसबाट ‘धर्म’को जय होस् र ‘पाप’को समूल नाश होस् ।
अँ त, म भन्दै थिएँ, हाम्रा कविहरूले ‘वनमा वृषभानुकुमारि मुरारिरमा’ इत्यादि त भनेका छन् तर कृष्णले नै केवल एउटा भाषण गरेर महाभारत मच्चाएका हुन् भनेर भने भनेका छैनन् । तपाईं भन्न सक्नुहुन्छ, ‘वाह ! खुब भनिस् नि ! कृष्णले शान्तिका लागि त्यत्रो प्रयास गरे अनि तँ भने महाभारत उनैले गराएको भन्छस् ?’ यसमा मेरो उत्तर यस्तो छ, यदि कृष्णले नैतिक डरले हताश भएर धारासभाका निन्दाप्रिय सदस्यहरूजस्तै पछाडि सरेर रथमा बसेको पाण्डवका नाक मानिएको अर्जुनलाई एउटा भाषण गरेर जोसमा नल्याएका भए महाभारत हुन्थ्यो ? कस्तो जादु थियो !
अब तपाईँ त्यस समयमा अर्को पनि कुनै त्यस्तै प्रसिद्ध भाषणबाज थियो ? भनेर सोध्नुहुन्छ भने मेरो उत्तर हुनेछ, हो, थियो । ऊधौ (उद्धव) महाराज पनि आफैलाई निकै ठुला ‘बकता’ (वक्ता) ठान्दथे । तर जसरी एउटा कुकुरलाई देखेर अर्को कुकुर ‘ङ्यारङुर’ गर्न थाल्छ र गधा गधामा लात हानाहान हुन्छ त्यसै गरी यी दुई ठुला वक्ताहरूमा पनि तालमेल भएन । अनि, कृष्ण थिए त निकै चतुर ! उनले निकै चलाखी गरेर उद्धवको पिठ्युँमा धाप मारेर उता गोपिनीहरूका बिचमा भाषण गर्न पठाइदिए ।
अब तपाईं सोध्नुहोला, के उद्धव कृष्णको उल्क्याइमा उल्किने त्यस्ता मूर्ख थिए र ? तर कुरो मुटुसित जोडिएको छ के ! नारीहरू मात्र भएको ठाउँमा गएर भाषण गर्ने सुनौलो अवसर त कसले पो छोड्न चाहन्छ र ? यदि सभाहरूमा उपस्थित हुने श्रोताहरूमा नारीहरू नहुने हो भने हाम्रै समयमा नै वक्ताहरूको सङ्ख्या एक चौथाइमात्र रहन्थ्यो होला ! स्त्रीश्रोताहरूकै प्रतापले गर्दा हाम्रा ‘अजबसिंहजी’ र ‘श्वानमुखजी’ पनि टाई बाँधेर र अनुहारमा चुना दलेर सभासमारोहमा ‘प्रेमलपेटे अटपटे बैन’ (नसुहाउँदा प्रेमवाणी) बोलेर वक्ता बन्न थालेका छन् ।
अनि बिचरा उद्धवजी पनि द्वापरकै भए पनि थिए त मान्छे नै ! मुखमा पानी त कसो आएन होला र ! भन्नेहरू त के पनि भन्छन् भने उनले त्यसै दिन हजामकहाँ गएर दाह्री कटाएका थिए, जुँगालाई सिरुपाती खुकुरीजस्तो बनाउन लगाएका थिए, आँखामा गाजल लगाएका थिए, राम्रो कपडाको दौरा सिउन लगाएका थिए, जुत्तामा देल दलेका थिए, शरीरमा बेसारको बुकी मल्न लगाएका थिए, ढल्के पारेर टोपी लगाएका थिए अनि कपाल पनि रँगाएका थिए किनभने ‘केशव केसन अस करी’ (केशवका केशले यस्तो गरे) भन्ने अवस्था आएको थियो ।
कुनै कुनै पुराणकारले त केसम्म भनेका छन् भने उद्धवले पछ्यौराको छेउमा एउटा ‘सेफ्टी रेजर’, साबुनको बट्टा र फुटेको ऐनाको एउटो टुक्रो पनि बाँधिराखेका थिए अनि गोकुलको सीमामा पुगेर एउटा रुखमुनि बसेर उनले आफ्नो दाह्री मुसारेका थिए ।
अनि के पनि सुनिएको हो भने उद्धवले कपालको रङ्ग पखालिने डरले दुई दिनसम्म नुहाउँदा पनि नुहाएका थिएनन् । जे भए पनि, जब यी महान् वक्ता उद्धवले भाषण आरम्भ गरेका थिए अनि गोपिनीहरू रुन थालेका थिए । उद्धवलाई पनि लाग्यो, अब उनको विजय भयो । तर त्यसै वेला गोपिनीहरूले आफ्नो समाजमा एउटा ‘डिबेट’ (तर्कवितर्क) नै राखिदिए जसको विषय थियो, ‘निराकार ब्रह्म कि साकार ब्रह्म ?’ एकातिर उद्धवजी निराकार ब्रह्मका विषयमा बोल्दै थिए भने अर्कातिर गोपिनीहरू साकार ब्रह्मका बारेमा आफ्नो तर्क राख्दै थिए । तर त्यहाँ उद्धवको स्थिति घरबाट भाषण रटेर गएको प्रतियोगीको जस्तै भयो । उद्धव त रटेको भाषण उकेल्न थाले भने गोपिनीहरूले कति बाङ्गाटिङ्गा प्रश्नहरू गर्न थाले भने उद्धको होसियारी त थन्केको थन्क्यै भयो ।
त्यहाँबाट उछिटिँदै कृष्णका सामु गएर भन्न थाले, ‘हौँ ता कितारथ हो गयो, उनकी पदरज पाय !’ (उनीहरूको चरणरज पाएर म त कृतार्थ भएँ ।)
कृष्णले मनमनै भने, अब कहिल्यै भाषणबाज बन्ने हाँक दिने छैन ।
यो त भयो द्वापरको कुरो । कलियुगको यस बिसौँ शताब्दीमा पनि भाषणको महत्त्व घटेको छैन । मैले पनि सिक्नुपर्यो किनभने विवाहको जुन ‘टेन्डर’ भरेर केटीका बाबुकहाँ पठाउनुपर्ने थियो त्यसमा एउटा महल यस्तो पनि थियो, ‘भाषण गर्न सक्नुहुन्छ ?’ त्यसैले मैले यो कला सिकेँ । पाठकहरूका लागि पनि केही सूत्रहरू दिँदै छु —
सबैभन्दा पहिले नेतामित्रहरूसँग मिसिएर मेहतरहरू (शौचालय सफाइ गर्ने एक अशिष्ट मानिने भङ्गी जाति)को भिडमा ‘लाल झन्डा जिन्दावाद !’ को नारा लगाउनुस् । तर अचेलको समय राम्रो छैन पुलिसको ख्याल गर्नुहोला । निलो फेटा (त्यस समयका भारतका पुलिसको चिह्न) देख्नासाथ नजिकको गल्लीबाट भाग्नुस् । काम अलिक गाह्रो छ । मैले एकदम गोरो मुख हुनुहरूलाई पनि मञ्चमा जानासाथ कालो भएको देखेको छु । अनि आरम्भ यी शब्दबाट गर्नुस् — ‘आज हामी स्वतन्त्र भएका छौँ ।…..’ अझै पाँचदश वर्षसम्म यसको वाक्यको सम्भावना जीवित छ । साथै यदि तपाईको होस ठिक ठाउँमै छ भने र सम्भव हुन्छ भने मुड्की देखाउनुस् ।
यदि धेरै नै आत्तिनुभयो भने त्यही वाक्य दोहोर्याइरहनुस् — ‘हामी स्वतन्त्र छौँ भने हामी स्वतन्त्र छौँ । अर्थात् हामी स्वतन्त्र छौँ, त्यसैले हामी स्वतन्त्र छौँ । हामी स्वतन्त्र छौँ किनभने हामी स्वतन्त्र छौँ । हामी स्वतन्त्र भएकैले स्वतन्त्र छौँ ।……’ अथवा नआत्तिएको देखाउनका लागि खोकीलाई पनि उपयोगमा ल्याउन सक्नुहुन्छ । पसिना आएको भए त्यसलाई रुमालले पुछ्नुपर्छ । बारम्बार टाँक फुकाल्ने र लगाउने गर्दा पनि अत्यास कम हुन सक्छ ।
तपाईंले चाहनुभयो भने बारम्बार कानमा औँलो घुसार्न पनि सक्नुहुन्छ । आँखाका कचेरा पनि पुछ्न सक्नुहुन्छ । यदि तपाईं चस्मा लगाउनुहुन्छ भने बारम्बार चस्मा झिक्ने र लगाउने गर्दा पनि अत्यास कम हुन्छ । तपाईंले श्रोतादर्शकतिर नहेरेर कतै शून्यमा पनि आँखा टिकाउन सक्नुहुन्छ । अथवा ढोकाबाहिर यसरी हेर्न सक्नुहुन्छ जसबाट देख्नेलाई लागोस् कि कोही तपाईंको प्रतीक्षा गर्दै छ । यदि तपाईंलाई थरहरी छुट्न थाल्यो भने सभापतितिर फर्केर टेबुल समाउन सक्नुहुन्छ किनभने त्यहाँ तपाईंप्रति सुखद सहानुभूति राख्ने सभापति नै हुन्छन् ।
यसरी जब तपाईंका गोडा जम्न थाल्नेछन् अनि अगाडिको अभ्यास गर्न थाल्नुस् । अनि त तपाईं पनि श्रोताका कान चिर्न सफल हुनुहुनेछ, अनिद्राको रोगको उपचार गराउन थाल्नुहुनेछ, एक घण्टासम्म फत्फताएर पनि केही नबोलेझैँ लाग्नेछ र भन्न थाल्नुहुनेछ, ‘हामी पाकिस्तानलाई एक सेकेन्डमा फुकेर उडाइदिनेछौँ ।….’ अनि ताली बज्नेछ र तपाईं मुस्कुराउनुहुनेछ ।
०००
यो निबन्ध परसाईं ‘रचनावली ४’को ‘व्याख्यान देना सीखिए !’ शीर्षकको निबन्धबाट अनुवाद गरिएको हो र यो १५ फेब्य्रुअरी सन् १९९० को ‘प्रहरी’मा प्रकाशित भएको थियो ।
Subscribe
Login
0 Comments
Oldest







































