तेजप्रकाश श्रेष्ठलासले भोट दिँदैन
त्यो अन्त्येष्टि होइन, एउटा प्रश्न बनोस् - छातीमा देश बोकेर हिँडेको मान्छे मरेपछि कसरी अनागरिक हुन्छ ? मुलुकमा रेमिटेन्स पठाउने हात मरेपछि कसरी अवैध हुन्छ ?
डा. कृष्ण शाह यात्री :
सरकार !
म यतिबेला
कम्बोडियाको शवगृहमा छु ।
उपचार खर्चको ऋण लागेर
फ्रिजमा कैद छु ।
मेरो शरीर चिसिएको छ,
तर मेरो प्रश्न अझै तातै छ ।
म न यहाँबाट आफैँ निस्कन सक्छु,
न त मेरो अन्त्येष्टिका लागि
कसैको हात पुग्छ ।
सरकार !
मलाई पनि मेरै धुलो–माटोमा
हातका रेखा घोटेर
परिवार पाल्ने सपना थियो ।
तर एक रात
माटोलाई ढोकामै छोडेर म हिँडेँ ।
कोखका भोका नानीहरू,
रित्तो आँगन,
निभ्न लागेको चुल्हो
आँखामा बोकेर हिँडेँ
एउटा सानो सपनाको पछिपछि ।
सरकार !
सिद्धार्थ पनि
एक रात घरबाट निस्केका थिए-
राजपाट पछाडि छोडेर,
सत्य खोज्न ।
म पनि निस्किएँ,
तर मेरो सत्य बोधिवृक्षमुनि थिएन ।
मेरो सत्य
मेरा नानीहरूको आँखामा थियो
रित्तो भकारीमा थियो
ननिभेको चुल्होमा थियो
त्यसैले म फर्किन सकिनँ ।
सिद्धार्थ सत्य भेट्न हिँडे
म सत्य जोगाउन ।
सायद,
हाम्रो यात्राको दिशा एउटै थियो
तर भोक फरक ।
सरकार !
बाटोले पहिले जङ्गल देखायो,
त्यसपछि अँध्यारो ।
हावामा विष थियो,
खुट्टामुनि काँडा,
र बाटोको छेउमा मान्छेका दाँत ।
दलालहरूले हाम्रो सपनाको पनि
मूल्य तोके ।
सुनेको थिएँ – यही बाटो भएर
मानिसहरू युरोप–अमेरिका पुग्छन् ।
तर म ठूलो सपना खोजिरहेको थिइनँ ।
म त समय र पसिनासँग निर्जीव पैसा साटेर,
अरूको खुसी किन्न हिँडेको थिएँ ।
सरकार !
त्यतिबेला मेरो नामभन्दा पहिले
मेरो पैसा घर पुग्थ्यो – रेमिट्यान्स,
रेमिट्यान्स पाएर
सरकार खुसी हुनुभयो ।
तर आज मेरो पैसा पुगेको घरमा
मेरो पार्थिव शरीर पुगेको छैन ।
म शवगृहमा बन्दी छु उद्धारको पर्खाइमा ।
आज मृत्युपछि मेरो शरीरभन्दा पहिले
मेरो कागज हराएको छ ।
म अवैध भएको छु
सरकारको नजरमा !
कस्तो अनौठो –
जीवित हुँदा मेरो पसिना कानुनी थियो
मेरो पैसा कानुनी थियो
तर म अवैध रहेछु ।
त्यसैले मरेपछि पनि
मेरो लासले कागज खोजिरहेको छ ।
सरकार !
यतिबेला मेरो अनुहारभरि
एउटै प्रश्न हिँडिरहेको छ –
भिसा सकिएको मान्छे !
कागज नमिलेको मान्छे !
दुई छाकको जोहो गर्न
समुद्रपारि पुगेको मान्छे !
कहिलेबाट मान्छे रहँदैन ?
मेरो श्रीमती र बच्चाहरू
मलाई पर्खिरहेका छन्,
मलाई होइन – मेरो अन्तिम अनुहारलाई ।
माटोले पनि मलाई पर्खिरहेको छ,
तर मेरो शरीर माटो नपाएर
कागजको एउटा देशमा
अड्किएको छ ।
र यहाँबाट मेरो पहिचान गिजोलिएको छ ।
सरकार !
नियमको एउटा पाना
मेरो छातीमाथि राखिएको छ ।
कार्यविधिको अर्को बहाना
मेरो अनुहार छोप्न आएको छ ।
सरकार भन्नुहुन्छ – मलाई फर्काउने बाटो छैन !
सायद बाटो छैन
तर सरकार, मरेका मान्छेहरूका लागि
के माटो फर्किने बाटो कहिल्यै हुँदैन ?
मलाई थाहा छ,
सरकार जवाफ दिन चाहनुहुन्न !
त्यसैले
रेमिटेन्स मात्र स्वीकार गर्नुहोस्
लास स्वीकार नगर्नुहोस् ।
पैसाले सीमाना काट्न सक्छ,
लासले सक्दैन ।
पैसालाई पासपोर्ट चाहिँदैन,
लासलाई चाहिन्छ ।
किनभने
लासले तपाईंलाई भोट दिँदैन ।
सरकार !
त्यसैले बरु कागज पल्टाइरहनुहोस् ।
मेरो शरीरमाथि अर्को पाना थपिँदै जाओस् ।
माटो मलाई पर्खिरहोस् ।
कुनै दिन मेरो लास
मेरै माटोमा पुग्यो भने
त्यो अन्त्येष्टि होइन,
एउटा प्रश्न बनोस् –
छातीमा देश बोकेर हिँडेको मान्छे
मरेपछि कसरी अनागरिक हुन्छ ?
मुलुकमा रेमिटेन्स पठाउने हात
मरेपछि कसरी अवैध हुन्छ ?
०००
(भदौ ३, २०८३)
Subscribe
Login
0 Comments
Oldest





































