डा. गोविन्दराज भट्टराईहरि कोर्कालीको व्यङ्ग्य कविताकृतिमाथि एक विहङ्गम दृष्टि
सङ्ग्रह भित्रका कविता एकपल्ट पढिसकेपछि मलाई लाग्यो संविधानमा परिवर्तन ल्याए पनि मानव-चरित्रमा परिवर्तन ल्याउन मुस्किल रहेछ । हजारौं वर्षको अधिनायकवादले थिचेको हाम्रा जनताको मनमा बसेको दासत्व खुर्किन मुस्किल रहेछ ।

डा. गोविन्दराज भट्टराई :
श्री हरि कोर्कालीको हृदयमा साहित्यरस भरिपूर्ण थियो । पैंतालीस वर्षअघि हामीले मोरङको राधिका मा. वि. उर्लावारीमा अङ्ग्रेजी शिक्षक भएर सँगै काम गरेका थियौँ । उस बेला त्यस विद्यालयवाट ‘कोसेली’ नामक साहित्यिक पत्रिकाका दुई अङ्ग निकाल्यौं । पहिलो अङ्ग छपाउन म बनारस पुगें । उहाँ पनि सम्पादक मण्डलमा हुनुहुन्थ्यो । कविता लेख्नुहुन्थ्यो ।
अङ्ग्रेजी साहित्यमा एमए (प्राइभेट) गर्न भनी हामी दुवै कस्सिएका थियौँ । पुस्तक किन्न इन्डिया जान्थ्यौं । तर त्यस बेला शिक्षक पेसामा सञ्चयकोष थिएन, अनुदान, उपदान केही थिएन । हामी भविष्यको चिन्ता हुनेहरू अन्यत्रै हामफाल्यौं । उहाँ लोकसेवा पास गरेर सरकारी जागिरतिर लाग्नुभयो, मचाहिँ त्रिविसेवा पास गरेर प्राध्यापन पेसामा प्रवेश गरें ।
आफ्नो पेसाका भऱ्याडमा चढ्दाचंढ्दै हामी आ-आफ्ना उपल्ला तलामा पुगेर सेवानिवृत्त भयौँ । उहाँले देशका समग्र जनताले कुप्रशासनका कारण भोग्नुपरेका दुर्दशाहरू देख्नुभयो, मैले शैक्षिक जगत्का विकृति-विसङ्गति । ती कुराले आजित भएरै मैले ‘विश्वविद्यालयमा अग्निपूजा’ (निबन्धसङ्ग्रह) लेखें, उहाँले प्रस्तुत गर्नुभएको कवितासङ्ग्रह ‘धृतराष्ट्रको शुभकामना’ त्यसैको प्रमाण हो । यी हाम्रो पेसाले देखाएका लेख्नुपर्ने कुरा हुन् । तर लेख्ने कला, शिल्प, जाँगर, आँट सबै कुरा भएका मान्छे सीमित हुन्छन् ।
अनुसन्धानमा एउटा शब्द हुन्छ ‘सम्मिलित परिदर्शक’ । उसले त्यो समूहकै सदस्यजस्तो भएर आफूले निरीक्षण गर्न खोजेका समूहको विशेषता / चरित्र हेर्दछ । त्यही समूहको एक भोक्तासरह भएर त्यहीँभित्र पस्तछ ।
हरि कोर्कालीले त्यसै गरी समाजको प्रत्यक्ष भोक्ता भई आर्जन गरेका, अनुभवले रचेका यी कविताको मूल उद्देश्य हो देशलाई निल्ने भ्रष्टाचार, अत्याचार र शोषणतिर हाम्रो दृष्टि फर्काउनु । त्यसका लागि प्रयुक्त प्रभावशाली हतियार हो व्यङ्ग्य । उहाँको व्यङ्ग्यभाव आदिदेखि अन्त्यसम्मका सबै कवितामा निरन्तर छ, त्यो प्रहारक पनि छ।
सत्य कुरा सिधै भन्दा वर्णन मात्रै हुन्छ, नाङ्गो हुन्छ, ठाडो विनाआवरणको त्यो आरोप, हिंसा, अपमान जे पनि हुन सक्छ । त्यसैले स्रष्टाहरू सिधै भन्नुको सट्टा घुमाएर व्यङ्ग्यको प्रयोग गर्छन् । त्यसैले व्यङ्ग्यलाई साहित्यमा एक शक्तिशाली साधन मानिन्छ । देशको राजनीति र कुसंस्कार संरक्षित दुर्व्यवहारले कतिलाई देशमै नबस्नु जस्तो पारेको छ । राजनीतिले सारा कुकृत्यलाई संरक्षण प्रदान गर्दछ । दुष्ट पात्रलाई हास्यास्पद, निन्दनीय, तुच्छ, अवाञ्छित देखाउने यो परोक्ष शक्तिलाई पूर्वीय शास्त्रले ‘वक्रोक्ति’ भन्दछ । यो एक विशेष अलङ्कार हो । पाश्चात्य जगत्मा पनि ग्रीसेली साहित्यदेखिकै यो एक स्थापित जुक्ति हो । मान्छेका दुर्गुण, मूर्खता, त्रुटि आदिलाई हाँसेर, उपहास वा परोक्ष कथनद्वारा सुधार्ने चेष्टा हो ।
हरि कोर्कालीका कविताको मलाई एक निचोडमा पुग्न मन लाग्यो । यी रचनाले समग्रमा के देखाउँछन् भने सरकारी संयन्त्र, देशसञ्चालक व्यक्तिहरू, सत्तासीनहरू, ठूला दलहरू नै जनमुखी बनेर सुधार गर्नुपर्ने ठाउँमा छन् । ती अधिकार लिएर बसेका छन् । तर जनजीवनमा सुधार आउनुको सट्टा भ्रष्टाचार झन् अनियन्त्रित हुँदैछ । विभिन्न प्रकारका ठगी, लुट, दलाली र अत्याचारले देशमै नबस्नु जस्तो पारेको छ । हाम्रो जस्तो देशमा राजनीतिले सारा कुकृत्यलाई सदा संरक्षण प्रदान गर्दै आएको छ । त्यसैले पचास लाख नेपाली यस आतङ्कवाट aच्न देश छाडेर भागेका हुन् ।
प्रस्तुत सङ्ग्रहका प्रत्येक कविताको विषयवस्तु बेग्लाबेग्लै छ तर जोड्दा यिनको एउटै थिम नेपालका शासकवर्ग, राजनीतिकर्मी फटाहा, धूर्तले सोझासाझालाई गर्ने गरेको व्यवहार, चरित्र र प्रवृत्ति रहेको छ ।
सङ्ग्रह भित्रका कविता एकपल्ट पढिसकेपछि मलाई लाग्यो संविधानमा परिवर्तन ल्याए पनि मानव-चरित्रमा परिवर्तन ल्याउन मुस्किल रहेछ । हजारौं वर्षको अधिनायकवादले थिचेको हाम्रा जनताको मनमा बसेको दासत्व खुर्किन मुस्किल रहेछ, शासनसत्ता चलाउनेहरूको मनमा एक मालिकको वा प्रभुको प्रभाव यथावत रहने रहेछ, प्रजातन्त्रले देशमा प्रवेश गरेको ७० वर्ष नाघ्यो, तर बारम्बार अधिनायकवाद किन जनतामाथि घोडा चढ्छ ? एक दशक भयो चौथोपल्ट मुक्त भएर लोकतन्त्र ओढेको, तर अझै पनि हामी ढुक्क छैनौं । अधिनायकवादले ढुकिरहेकै छ । कुनै अड्डामा एउटा ससानो काम गराउन जानोस्, हरि कोर्कालीका कविताका पात्र त्यहीं भेटिनेछन् ।
अन्तिमपटक २०५२ सालदेखि एक दशकसम्म घरघरमा आतङ्क र मृत्यु नाच्यो । त्यसले नसकेर मात्रै शान्तिसम्झौतामा परिणत भयो, नत्र नेपाली जनजीवन कति कठोर कारागारमा पस्थ्यो, यस सङ्ग्रहको ‘धृतराष्ट्रको शुभकामना’ शीर्षक कवितामा त्यही सार छ ।
यी कवितामा विगत दुई दशकको नेपाली आत्माको राष्ट्रिय चित्र पाइन्छ । कति ठाउँमा दुर्योधन, शकुनि जस्ता चारित्रिक त्रुटि भएका मिथकीय पात्रको विम्बात्मक प्रतिनिधित्व छ ।
देशमा कुशासनको चरम व्याप्ति, भ्रष्टाचारको चरम व्याप्ति, मानव-समाजमा कहिल्यै नहट्ने कुण्ठा-निराशा – यो बिमार छिटै निको होला जस्तो छैन । संविधान बदलेर पनि हजारौं वर्षको दल्ने र दलिने वर्गबीचको विभेदले दासत्व र मालिक्याइँ अझै जीवित छ । संस्कार वदलिन कति लाग्ने होला ! कवितामा यही चित्र छ । यस्तो परिस्थितिमा गुज्रिरहेको समाज छ । एक दृष्टान्त हेरौं –
नसकिने रहेछ बिर्सन भ्रष्टाचारलाई
सदरमुकाम
खाऊ ! सरकार खाऊ !
नातावाद
लोकतन्त्र खोज्दै
सहिद दिवस ।
प्रत्येक यस्ता कविता उही विषयका अनेक रूप र प्रकृति हुन् ।
एउटा विषय मेलम्ची ! तीस वर्षपश्चात् बल्ल पूरा भइसकेको अवस्था छ भने ‘गरिब रहेछन् यहाँका सडकहरू’ शीर्षक कवितामा अस्ट्रेलियाका सडकसँग नेपाली सडकको दुरवस्थाको तुलना छ । ‘मनमा सर्प पाल्नेहरू’ जस्ता केही कविता मानवचित्रका दृष्टान्त छन् ।
सम्पूर्ण नकारात्मक कामकुरा, तत्त्व, चित्र व्यङ्ग्यात्मक रूपले प्रस्तुत गर्दा सकारात्मक सुनिएका कुरा छन्, तर व्यङ्ग्य गरेको भनी बुझ्नुपर्छ । जस्तै – ‘खाऊ सरकार । खाऊ ।’, ‘शिशु गणतन्त्रमा ऊ’, ‘हजुरको कला’, ‘कुबाटोमै जय छ’, ‘भ्रष्टाचारको सुगन्ध’, ‘हजुर ठूलो मान्छे’ । प्रत्येक कामकुरा व्यङ्ग्यार्थ बोकी आएको छ ।
कति कविता माओवादी क्रान्तिकालका भयानक स्थितिबोधक छन् । ‘सपनामा जे देखियो’ मा हामीले भोगेको एक यथार्थ इतिहासको पाना छ –
अर्को एउटा युवक थियो
साहसपूर्वक केही लेखिरहेको
स्पष्टवक्ता
पत्रकारजस्तो
जिउँदै खाल्डोमा पुरिँदा
छातीभित्रै थुनिएको सास
विचारको ज्वालामुखी बनेर फुट्न
घुँकधुँक्याइरहेको ।
अर्को रहेछ निर्दोष शिक्षकको
पाता कसेर रूखमा टाँगिएको
बेसरी चुटिएको
कायरतापूर्वक छाती नै चाल्नो पारिएको ।
लेखक-कलाकारले भुल्दैनन् । उस वेला लेख्न नसकेको कुरा दिव्य गिरीले आफ्नो शक्तिशाली कथासङ्ग्रह ‘ईश्वरको अनुहार’ मा लेखेका छन् । त्यस्तै हुन् यी कविता । कथित प्रजातान्त्रिक नेपालले भोगेका यी दुर्दशाले सङ्ग्रह भरिएको छ । यी कवितामा भयङ्कर समसामयिक चेतना र शक्ति प्रकट छ । यी कविता राजनीतिक विषयका भएकाले दस-पन्ध्र वर्षअघिसम्म यस्तो लेख्ने आँट हुँदैनथ्यो कसैमा । बल्ल यतिखेर अधिनायकवाद अलिकति मत्थर छ, लोकतन्त्रको खोल ओढेर देश उड्दैछ र यतिको बोल्न सकिने, छाप्न सकिने दिन आएछ भन्नुपर्यो ।
मेरा परम मित्र, स्रष्टा र साधक श्री हरि कोर्कालीलाई यस कर्मका लागि बधाई अर्पण गर्छ । उहाँको यो तेस्रो कृति हो । यसले उहाँलाई एक सफल कविका रूपमा स्थापित गर्नेछ ।
यी समयका शक्तिशाली आवाजहरू सबैले सुनौं ।
०००
८ जेठ २०७९
सुकर्मटोल, कीर्तिपुर
धृतराष्ट्रको शुभकामना (२०७९) काे भूमिका
Subscribe
Login
0 Comments
Oldest







































