साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही अराष्ट्रिय तत्वहरू

बर्खाका बाढीले र हिउँदका खडेरीले सरकारलाई निक्कै राहत पुग्दैन । भुटानी शरणार्थीहरूले यु. एन्. ओ. सम्मै बेलिब्रिज लाइदिएका छन् । तर पनि सरकारले नथाम्ने भो, अब त घरमै अराष्ट्रिय तत्वहरू जन्मिन थाले ।

Nepal Telecom ad

डा. गोविन्दराज भट्टराई :

प्रजातन्त्र शिशु नै छ धेरै चर्को नबोल्नुहोस् इशारा पो बुझ्नुपर्छ हात धेरै नमोल्नुहोस् ।
अराष्ट्रिय तत्वहरू हरेक देशमा हुन्छन् चाहे प्रजान्त्र होओस् चाहे एकतन्त्र । सरकारहरू लठ्ठी घुमाइरहेका हुन्छन् त्यहाँ । ढेडू बाँदर चुट्यौँं भन्छन् तर मर्नेहरू मानिस हुन्छन् । अराष्ट्रिय तत्वलाई भुट्यौँं भन्छन् तर मर्नेहरू मानिस नै हुन्छन् ।

हाम्रो देशमा पनि अराष्ट्रिय तत्वहरूको जन्म भएको २०१७-१८ सालदेखि हो । पञ्चायतकाल उर्लेका बेला थुप्रैथुप्रै तिनीहरू मरे । अराष्ट्रिय तत्वहरूको अनुहार बेग्लै हुन्छ । ऊ सरकारको रूप र अनुहारमा कमजोरी देखाइरहेको हुन्छ । ऊ जनता जस्तो असल हुँदैन र भद्र हुँदैन, सहन सक्दैन, ऊ केही कुरा कहन खोजिराखेको हुन्छ । सरकारको चश्मा आँखामा राखेर हेर्दा अराष्ट्रिय तत्वको अनुहार छर्लंङ्ग देखिन्छ । ऊ घाँसभित्र लुकेको हरियो सर्प हो, ऊ झाडीमा पर्खिबसेको घातक पशु हो, ऊ विष्फोटक आतङ्क अर्थात् आतङ्ककारी दुश्मन हो ।

यस्ता दुश्मनको सास निभाउनु प्रत्येक नागरिकको कर्तव्य हो । यस्तो हरियो सर्पलाई मर्नेगरी चुट्नु सरकारकै कर्तव्य हो । यस्तो हरेक देशमा भइरहन्छ । पञ्चायतकालमा हाम्रो देशका अराष्ट्रिय तत्वहरू निकै सखाप भए । वर्षैपिच्छे दबाइ हानेका उडूस हुन्थे ती । कुनैबेला सुखानीतिर, कुनैबेला भोजपुरतिर, कुनैबेला सुनसरीतिर, कुनैबेला भोजपुरतिर, कुनै बेला झाडीमा, कुनै बेला दुर्गम सीमानासम्म । धेरै अराष्ट्रिय तत्वहरूले जेलभित्रै स्वर्ग देखे । निस्केपछिकाहरूले पनि धेरै देखे ।

धेरै अराष्ट्रिय तत्वहरू त्यसबेला उम्केर आज सरकारमा पुगे । माथ्लो तहमा पुगे । यो देशको निणर्ायक भाग्य कोर्नेहरूमा पुगे । हामीलाई आशा थियो, अराष्ट्रिय तत्वहरू मासिए होलान् भन्ने तर प्रजातन्त्रको उदय पश्चात् पनि ती तत्वहरू देशभरि नै बढ्दै गएको देखेर मनमा भय उत्पन्न भएको छ ।

केही अराष्ट्रिय तत्वहरू काठमाडौँ महानगरीमा पसेर पेटीपेटी पसल थापि-हिँड्छन् । अरु धेरै तिनीहरू पानी पिउन पाइएन भन्छन्, सरकारलाई ठोक्छन् । के यो कलिलो सरकारले लाखौँलाई पानी पिलाउने ठेक्का लिएको छ र ? केही अराष्ट्रिय तत्वहरू महँगी भो भन्छन्, चिनी, पानी, तेल र सारा कुराको भाउ उरालियो भन्छन् । तलब पुगेन भन्छन् । एउटा बालकको सामुन्ने हात थाप्ने यी निर्लज्जहरू ! शिशुको गाँस खोस्न पल्केकाहरू, सासै थुन्न ढल्केकाहरू, यी आतङ्ककारी, यी अराष्ट्रिय तत्वहरू ।

त्यत्तिले पुगेन । आज गाउँ गाउँमा तिनीहरूको बीउ पुगेको देखेर म जिरिङ्गै भएको छु । सरकारले के मात्र गर्ने होला ? मल पुगेन भन्छन्, बीउ पुगेन भन्छन, स्कुल छैन, पानी छैन, चौकी छैन, बाटो छैन भन्छन् । मुखैमा छैन, मुखैमा पुगेन । मुखैमा “लेओ” । दरिद्रवाणी, सधैं अभावको बोली । मैले यो देशमा बाससम्म पाएको छु, धन्य म कुनै देशमा शरणार्थी बन्नु परेको छैन । यी पाखुरी बजार्छु र खान्छु भन्ने होश कसैमा छैन । देश विकास गर्छु भन्ने जोश कसैमा छैन ।

यो दुखको कुरा यो राष्ट्रिय दरिद्री चेतना भएको सरकारले १० वर्षैमा सिङ्गापुर बनाउँछु भनेको छ, दश महिना पर्खने धैर्य छैन । यस्ताहरू अराष्ट्रिय तत्व हुन् । यस्ताहरू देशका रोग हुन् । शरीरका गीर्खा हुन् । सरकारमा बसेका आफ्ना अङ्कलहरूको विजोक देखेर, हजुरबाहरूको पसिना छुटेको देखेर मेरो मन पसिनाले आज लफ्रक्कै भिजेको छ । कसरी मद्दत गर्ने होला, यो शिशु प्रजातन्त्रलाई, कसरी मलजल गर्ने होला । यसलाई विदेशी डलरले सेकताप गर्नुपर्छ । यसलाई स्टर्लिङ्ग पाउण्डको धूप चाहिन्छ, येनको माला, गिल्डरको पर्सादी, फ्रयाङ्कको अत्तर, भारुको कपडा ।

यसरी लिटो चाटेर हुर्केको बालकको भागतिर टुलुटुलु हेर्नेहरू यी अराष्ट्रिय तत्वका ताँती देखेर कसलाई भाउन्न छुट्दैन ? तीनै वर्षे शिशुले घरबार थामेका कहाँकहाँ देखिएको छ ? यी अबुझहरू । हेर्नोस् काठमाडौँमा आउनोस् भनेर सरकारले कसलाई निम्ता गरेको छ र पानी पिउन पाइन, मरेँ भन्नु ? कसले नाक थापेर सुङ्नु भनेको छ र बागमती गनायो, विष्णुमती गनायो, फोहरले शहर ढाकियो भनेर कराउँदै हिँड्नु । म त छक्क पर्छु, मलाई उदेक लाग्छ ।

शिशु प्रजातन्त्र जन्मेदेखि यी अराष्ट्रिय तत्वलाई थला पार्ने प्रयत्न नगरिएको हैन । शुरुका वर्षमा यो संक्रमणकाल भनियो । दोश्रो वर्ष जनताको आकाङ्क्षा धेरै बढे, घोषणापत्रअनुसार हामी चल्छौँ भनियो । तेश्रो वर्ष भएपछि उनीहरू फेरि निकै सगबगाउन थालेका देखिन्छन् । बर्खाका बाढीले र हिउँदका खडेरीले सरकारलाई निक्कै राहत पुग्दैन । भुटानी शरणार्थीहरूले यु. एन्. ओ. सम्मै बेलिब्रिज लाइदिएका छन् । तर पनि सरकारले नथाम्ने भो, अब त घरमै अराष्ट्रिय तत्वहरू जन्मिन थाले ।

एकसय चार वर्ष चुइँक्क नबोल्ने नेपालीले १०-२० वर्ष धैर्य लिन सिक्नुपर्‍योे । प्रजातन्त्रको बोट फुल्न दिनुपर्‍यो, फल र पाक्न दिनु पर्‍यो । तब सबै मिलेर चाखौँला । तपार्इं नभए तपाईंका छोराले खालान् नत्र नातिले, नत्र पनातिले । अहिल्यै आत्तिन मिल्छ र ? धैर्य गर्न सिक्नोस् । अराष्ट्रिय तत्वमा नाम नलेख्नोस् । आकाङ्क्षाहरूलाई बेलगाम बत्तिन दिनु भएन । चाहनालाई चाउरी पार्न सिक्नोस् । हामी सरकारमा हुनेहरूका भाषणमा के भरोसा ! हामी पोलिटिक्स गर्नेहरूका बोलीमा विश्वास गर्ने होइन, तपाईहरूले आफ्ना बाबुमा विश्वास गर्नोस् आफ्ना बुढाबाबुमा । उनीहरूको जीवन कसरी चल्यो तपाईंको पनि त्यस्तै हुनु आवश्यक छ । सरकारले तपाईंको गोठमा भैँसी बाँधिदिँदैन, तपाईंका बारीमा मल र बिउ छर्दैन ।

यता हामी मुश्किलले सरकार ल्याइरहेछौँ । यो ठूलो जिम्मेवारीको काम हो । तपाइँहरूका विश्वासको नाशो नातावाद कृपावाद गर्‍यो भन्नुहुन्छ, भो त्यसका आश्चर्य मान्नुपर्ने छैन । त्यो सत्य हो । ज्वाईं भान्जाहरू छन् यहाँ । काका भतिजा र सालासालीहरू छन् यहाँ, फुपाजु र मित मामाहरू छन् यहाँ । मन मिल्नेछन्, भावना मिल्नेछन् । जसतसलाई विश्वास सुम्पिन मुश्किल हुन्छ, त्यसैले आफन्तमा हामी अडिएका छौँं ।

तपाईंंको घरमा कुनै भोजभतेर पाक्छ भने, कुनै कुनै पर्सादी वा बिलो भाग लाग्छ भने, के तपाई आफ्ना छोरी ज्वाईंलाई निम्ता नगरी रहन सक्नुहोला, आफ्ना साला जेठान र जेठी सासूका भाञ्जाज्वाइँलाई बिर्सनु होला ? आज यहाँ ठीक छ त्यस्तै परेको छ । हेर्नोस्, आज मेरो ज्वाईं मन्त्री भए भोलि तपाइँको सालो होला । कृपया, शान्त रहनोस् । धैर्य धारण गर्न सिक्नोस् । शिशु प्रजातन्त्रको ज्यान जाला, अराष्ट्रिय तत्वमा लाग्ने होइन । जय नेपाल । रामराम ।

०००
‘फित्कौली’ अङ्क १, (गाईजात्रा २०६२ असोज), धुम्रलोचन शर्माको नामबाट

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
umanath DL
umanath DL
1 year ago

फित्कौलीमा बेजोडको गुलेली, सलोट छ व्यङ्ग्यकारलाई।

Khimananda pokhrel
Khimananda pokhrel
1 year ago

Pokhrel

Nepal Telecom ad
गणतन्त्रले दुइटा दिने भो

गणतन्त्रले दुइटा दिने भो

डा. गोविन्दराज भट्टराई
एक टपरी मेरा इच्छाहरू

एक टपरी मेरा इच्छाहरू

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (२)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (१)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
प्रतिनिधि

प्रतिनिधि

सुरेशकुमार पाण्डे
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
2
0
Would love your thoughts, please comment.x
()
x