डा. गोविन्दराज भट्टराईकेही अराष्ट्रिय तत्वहरू
बर्खाका बाढीले र हिउँदका खडेरीले सरकारलाई निक्कै राहत पुग्दैन । भुटानी शरणार्थीहरूले यु. एन्. ओ. सम्मै बेलिब्रिज लाइदिएका छन् । तर पनि सरकारले नथाम्ने भो, अब त घरमै अराष्ट्रिय तत्वहरू जन्मिन थाले ।

डा. गोविन्दराज भट्टराई :
प्रजातन्त्र शिशु नै छ धेरै चर्को नबोल्नुहोस् इशारा पो बुझ्नुपर्छ हात धेरै नमोल्नुहोस् ।
अराष्ट्रिय तत्वहरू हरेक देशमा हुन्छन् चाहे प्रजान्त्र होओस् चाहे एकतन्त्र । सरकारहरू लठ्ठी घुमाइरहेका हुन्छन् त्यहाँ । ढेडू बाँदर चुट्यौँं भन्छन् तर मर्नेहरू मानिस हुन्छन् । अराष्ट्रिय तत्वलाई भुट्यौँं भन्छन् तर मर्नेहरू मानिस नै हुन्छन् ।
हाम्रो देशमा पनि अराष्ट्रिय तत्वहरूको जन्म भएको २०१७-१८ सालदेखि हो । पञ्चायतकाल उर्लेका बेला थुप्रैथुप्रै तिनीहरू मरे । अराष्ट्रिय तत्वहरूको अनुहार बेग्लै हुन्छ । ऊ सरकारको रूप र अनुहारमा कमजोरी देखाइरहेको हुन्छ । ऊ जनता जस्तो असल हुँदैन र भद्र हुँदैन, सहन सक्दैन, ऊ केही कुरा कहन खोजिराखेको हुन्छ । सरकारको चश्मा आँखामा राखेर हेर्दा अराष्ट्रिय तत्वको अनुहार छर्लंङ्ग देखिन्छ । ऊ घाँसभित्र लुकेको हरियो सर्प हो, ऊ झाडीमा पर्खिबसेको घातक पशु हो, ऊ विष्फोटक आतङ्क अर्थात् आतङ्ककारी दुश्मन हो ।
यस्ता दुश्मनको सास निभाउनु प्रत्येक नागरिकको कर्तव्य हो । यस्तो हरियो सर्पलाई मर्नेगरी चुट्नु सरकारकै कर्तव्य हो । यस्तो हरेक देशमा भइरहन्छ । पञ्चायतकालमा हाम्रो देशका अराष्ट्रिय तत्वहरू निकै सखाप भए । वर्षैपिच्छे दबाइ हानेका उडूस हुन्थे ती । कुनैबेला सुखानीतिर, कुनैबेला भोजपुरतिर, कुनैबेला सुनसरीतिर, कुनैबेला भोजपुरतिर, कुनै बेला झाडीमा, कुनै बेला दुर्गम सीमानासम्म । धेरै अराष्ट्रिय तत्वहरूले जेलभित्रै स्वर्ग देखे । निस्केपछिकाहरूले पनि धेरै देखे ।
धेरै अराष्ट्रिय तत्वहरू त्यसबेला उम्केर आज सरकारमा पुगे । माथ्लो तहमा पुगे । यो देशको निणर्ायक भाग्य कोर्नेहरूमा पुगे । हामीलाई आशा थियो, अराष्ट्रिय तत्वहरू मासिए होलान् भन्ने तर प्रजातन्त्रको उदय पश्चात् पनि ती तत्वहरू देशभरि नै बढ्दै गएको देखेर मनमा भय उत्पन्न भएको छ ।
केही अराष्ट्रिय तत्वहरू काठमाडौँ महानगरीमा पसेर पेटीपेटी पसल थापि-हिँड्छन् । अरु धेरै तिनीहरू पानी पिउन पाइएन भन्छन्, सरकारलाई ठोक्छन् । के यो कलिलो सरकारले लाखौँलाई पानी पिलाउने ठेक्का लिएको छ र ? केही अराष्ट्रिय तत्वहरू महँगी भो भन्छन्, चिनी, पानी, तेल र सारा कुराको भाउ उरालियो भन्छन् । तलब पुगेन भन्छन् । एउटा बालकको सामुन्ने हात थाप्ने यी निर्लज्जहरू ! शिशुको गाँस खोस्न पल्केकाहरू, सासै थुन्न ढल्केकाहरू, यी आतङ्ककारी, यी अराष्ट्रिय तत्वहरू ।
त्यत्तिले पुगेन । आज गाउँ गाउँमा तिनीहरूको बीउ पुगेको देखेर म जिरिङ्गै भएको छु । सरकारले के मात्र गर्ने होला ? मल पुगेन भन्छन्, बीउ पुगेन भन्छन, स्कुल छैन, पानी छैन, चौकी छैन, बाटो छैन भन्छन् । मुखैमा छैन, मुखैमा पुगेन । मुखैमा “लेओ” । दरिद्रवाणी, सधैं अभावको बोली । मैले यो देशमा बाससम्म पाएको छु, धन्य म कुनै देशमा शरणार्थी बन्नु परेको छैन । यी पाखुरी बजार्छु र खान्छु भन्ने होश कसैमा छैन । देश विकास गर्छु भन्ने जोश कसैमा छैन ।
यो दुखको कुरा यो राष्ट्रिय दरिद्री चेतना भएको सरकारले १० वर्षैमा सिङ्गापुर बनाउँछु भनेको छ, दश महिना पर्खने धैर्य छैन । यस्ताहरू अराष्ट्रिय तत्व हुन् । यस्ताहरू देशका रोग हुन् । शरीरका गीर्खा हुन् । सरकारमा बसेका आफ्ना अङ्कलहरूको विजोक देखेर, हजुरबाहरूको पसिना छुटेको देखेर मेरो मन पसिनाले आज लफ्रक्कै भिजेको छ । कसरी मद्दत गर्ने होला, यो शिशु प्रजातन्त्रलाई, कसरी मलजल गर्ने होला । यसलाई विदेशी डलरले सेकताप गर्नुपर्छ । यसलाई स्टर्लिङ्ग पाउण्डको धूप चाहिन्छ, येनको माला, गिल्डरको पर्सादी, फ्रयाङ्कको अत्तर, भारुको कपडा ।
यसरी लिटो चाटेर हुर्केको बालकको भागतिर टुलुटुलु हेर्नेहरू यी अराष्ट्रिय तत्वका ताँती देखेर कसलाई भाउन्न छुट्दैन ? तीनै वर्षे शिशुले घरबार थामेका कहाँकहाँ देखिएको छ ? यी अबुझहरू । हेर्नोस् काठमाडौँमा आउनोस् भनेर सरकारले कसलाई निम्ता गरेको छ र पानी पिउन पाइन, मरेँ भन्नु ? कसले नाक थापेर सुङ्नु भनेको छ र बागमती गनायो, विष्णुमती गनायो, फोहरले शहर ढाकियो भनेर कराउँदै हिँड्नु । म त छक्क पर्छु, मलाई उदेक लाग्छ ।
शिशु प्रजातन्त्र जन्मेदेखि यी अराष्ट्रिय तत्वलाई थला पार्ने प्रयत्न नगरिएको हैन । शुरुका वर्षमा यो संक्रमणकाल भनियो । दोश्रो वर्ष जनताको आकाङ्क्षा धेरै बढे, घोषणापत्रअनुसार हामी चल्छौँ भनियो । तेश्रो वर्ष भएपछि उनीहरू फेरि निकै सगबगाउन थालेका देखिन्छन् । बर्खाका बाढीले र हिउँदका खडेरीले सरकारलाई निक्कै राहत पुग्दैन । भुटानी शरणार्थीहरूले यु. एन्. ओ. सम्मै बेलिब्रिज लाइदिएका छन् । तर पनि सरकारले नथाम्ने भो, अब त घरमै अराष्ट्रिय तत्वहरू जन्मिन थाले ।
एकसय चार वर्ष चुइँक्क नबोल्ने नेपालीले १०-२० वर्ष धैर्य लिन सिक्नुपर्योे । प्रजातन्त्रको बोट फुल्न दिनुपर्यो, फल र पाक्न दिनु पर्यो । तब सबै मिलेर चाखौँला । तपार्इं नभए तपाईंका छोराले खालान् नत्र नातिले, नत्र पनातिले । अहिल्यै आत्तिन मिल्छ र ? धैर्य गर्न सिक्नोस् । अराष्ट्रिय तत्वमा नाम नलेख्नोस् । आकाङ्क्षाहरूलाई बेलगाम बत्तिन दिनु भएन । चाहनालाई चाउरी पार्न सिक्नोस् । हामी सरकारमा हुनेहरूका भाषणमा के भरोसा ! हामी पोलिटिक्स गर्नेहरूका बोलीमा विश्वास गर्ने होइन, तपाईहरूले आफ्ना बाबुमा विश्वास गर्नोस् आफ्ना बुढाबाबुमा । उनीहरूको जीवन कसरी चल्यो तपाईंको पनि त्यस्तै हुनु आवश्यक छ । सरकारले तपाईंको गोठमा भैँसी बाँधिदिँदैन, तपाईंका बारीमा मल र बिउ छर्दैन ।
यता हामी मुश्किलले सरकार ल्याइरहेछौँ । यो ठूलो जिम्मेवारीको काम हो । तपाइँहरूका विश्वासको नाशो नातावाद कृपावाद गर्यो भन्नुहुन्छ, भो त्यसका आश्चर्य मान्नुपर्ने छैन । त्यो सत्य हो । ज्वाईं भान्जाहरू छन् यहाँ । काका भतिजा र सालासालीहरू छन् यहाँ, फुपाजु र मित मामाहरू छन् यहाँ । मन मिल्नेछन्, भावना मिल्नेछन् । जसतसलाई विश्वास सुम्पिन मुश्किल हुन्छ, त्यसैले आफन्तमा हामी अडिएका छौँं ।
तपाईंंको घरमा कुनै भोजभतेर पाक्छ भने, कुनै कुनै पर्सादी वा बिलो भाग लाग्छ भने, के तपाई आफ्ना छोरी ज्वाईंलाई निम्ता नगरी रहन सक्नुहोला, आफ्ना साला जेठान र जेठी सासूका भाञ्जाज्वाइँलाई बिर्सनु होला ? आज यहाँ ठीक छ त्यस्तै परेको छ । हेर्नोस्, आज मेरो ज्वाईं मन्त्री भए भोलि तपाइँको सालो होला । कृपया, शान्त रहनोस् । धैर्य धारण गर्न सिक्नोस् । शिशु प्रजातन्त्रको ज्यान जाला, अराष्ट्रिय तत्वमा लाग्ने होइन । जय नेपाल । रामराम ।
०००
‘फित्कौली’ अङ्क १, (गाईजात्रा २०६२ असोज), धुम्रलोचन शर्माको नामबाट








































फित्कौलीमा बेजोडको गुलेली, सलोट छ व्यङ्ग्यकारलाई।
Pokhrel