डिल्लीप्रसाद मूलतिहुनधरोधर्म गर्छु (३८)
साहित्य साधना गर्ने त्यागी हेर्न त हेर्छु म पछाडि सुविधा मागे बोली अवश्य फेर्छु म । साहित्यकारले खोज्छन् आफ्नो कृति फिजाउन म खोज्छु भोटका निम्ति तिनैलाई रिझाउन ।

डिल्लीप्रसाद मूलतिहुन :
साहित्य र कला सम्झे ज्वरो आउँछ हन्हन
यतापटि सकेसम्म जान मान्दैन यो मन (४८१)
तथापि अतिनै जान्ने जस्तो देखिन खोज्छु म
बाटो साहित्यको छोडी बिब्ल्याँटो पथ रोज्छु म (४८२)
लेख्ने कलमको शक्ति कति हो नाप्न जान्दिनँ
देशभक्ति जगाएको लेख उचित ठान्दिनँ (४८३)
प्यारो देश दुख्यो भन्छन् मलाई त दुखेन खै
अनुत्पादक यो लेख भन्छु लेख्नै हुँदैन है (४८४)
यस्तो कुराहरूलाई इच्छा छैन सघाउन
मलाई भोटको खाँचो पर्दा खोज्छु फकाउन (४८५)
भोट दिन्छु भने चाहिँ साहित्य म रुचाउँछु
लाखौं पुस्तक घोकेको बाहिरी गफ लाउँछु (४८६)
नालिबेली सबैथोक बुझेको भन्न भ्याउँछु
राखेर मनमा कालो जिब्रोले म भुल्याउँछु (४८७ं
साहित्यका विधा जम्मै जानेझैँ गर्छु जान्दिनँ
भोट सर्बस्व हो मेरो गर्छु नाटक यो लिन (४८८)
उपन्यास कथा साथै नाम लिन्छु निबन्धको
गद्य ,पद्य भनेकाछन् भेउ पाइन्न काव्यको (४८९)
हास्यव्यङ्ग्य सुने ज्यादै झ्वाँक चलेर आउँछ
मैले काम बिगारेको चर्चा गर्न रुचाउँछ (४९०)
राजनीति लपेटेको भए साहित्य चिन्छु म
नत्र भने धरोधर्म जरैदेखि उधिन्छु म (४९१)
चुनाव आउँदा मात्र साहित्य म उठाउँछु
सहयोग दिनैपर्ने बेला आए हराउँछु (४९२)
सेवा साहित्यको गर्छु मेवा पाए चपाउन
भोलि बर्साउने मैहुँ भन्दै थाल्छु फकाउन (४९३)
साहित्य साधना गर्ने त्यागी हेर्न त हेर्छु म
पछाडि सुविधा मागे बोली अवश्य फेर्छु म (४९४)
साहित्यकारले खोज्छन् आफ्नो कृति फिजाउन
म खोज्छु भोटका निम्ति तिनैलाई रिझाउन (४९५)
क्रमशः
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































