साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समीक्षा : एक व्यङ्ग्य

आफ्नो कृतिको समीक्षा कसैले नगरिदिँदा आफै अर्को नामले समीक्षा गर्ने उत्तरआधुनिक नेपाली साहित्यको रीतिमा पनि यो एउटा नजिरका रूपमा युगान्तकारी मानिने छ ।

Nepal Telecom ad

रमेश समर्थन :

पोस्तकपोस्तिका र पत्रपत्रिकामा नाम चलेका धुरन्धरदेखि जति काम गरे पनि नाम गुमनाम र बदनाम भएका लेखकहरूसम्मका रचनाहरू धमाधम आउँछन् र शून्यदेखि हजारौंसम्मको सङ्ख्यामा पाठकहरू, मन पराउने (लाइक गर्ने)हरू र टिप्पणीकार (कमेन्ट गर्ने)हरू यस अनन्त दुनियाँमा देखा पर्छन् । कोही काम नहेरेर नामका भरमा प्रशंसा वा निन्दा गर्नेहरू छन् भने कोही पढेर आफ्नो पाठ्यपुस्तकबाहेक अन्य पुस्तक, पुस्तिका र पत्रिकाका पनि पाठकहरू नपाइइरहेको वर्तमान उत्तरआधुनिक पठनकालमा ‘फेसबुक’ नामको मुहारपुस्तिका निकै पढिने पुस्तिका भएको छ । यसमा आफ्नो पक्षको र विचार मिल्दो भए तारिफको ताडमा चढाउने र नभए निन्दाको निम्नतामा गिराउने पनि भेटिन्छन् । लेखकहरूमा पनि केही आफूले राम्रो सामग्री राख्दा पनि कसैको कमेन्ट नआएकामा पाठकलाई जथवातथवा भन्नेहरू पनि भेटिन्छन् ।

यसै हुलमुलमा आफ्नो ज्यान जोखिममा राखेर एकजना स्थापित हुन हुन खोज्दा विस्थापित हुने तयारीमा रहेका लेखक पनि बेलाबेलामा ताई न तुईका रचनाहरू लिएर देखा पर्छन् र कहिले एकदुई लाइक वा कमेन्ट पाएर फुलेल हुन्छन् । उनीसँग कुनै कार छैन किनभने यो कार किनूँ कि त्यो कार किनूँ भन्दाभन्दै उनले बेकारको कार किनेर थन्क्याएका छन् । उनलाई लेखक भन्नुभन्दा बढी ‘ले खोक’ भन्नु उपयुक्त लाग्छ किनभने उनले बोलेको खोकेको र कनिकुथी लेखेको भाँडाकुटी खेलेको हुन्छ । कहिले उनी स्रष्टा बनेर टुप्लुकिन्छन् कहिले द्रष्टा बनेर अन्भरिन्छन् । स्रष्टा द्रष्टा जे बने पनि उनी यथार्थमा भ्रष्टा नै हुन् नेपाली साहित्यमा किनभने उनी सबैका आँखामा किरकिराउँछन् ।

सानो मान्छेको परिचयको भूमिकामा यति शब्द खर्च गरिसकेपछि उनको अशुभ नाम पनि भनिदिइहालूँ । त्यो नाम हो कसैको समर्थन त कसैको असमर्थन पाएको रमेश समर्थन र आज म उनै स्वनामधन्य लेखोकको हालै मुहारपुस्तिकामा प्रकाशित लघुकथा ‘मन परेन’ भन्ने लघुतम रचनाको गुरुतम समीक्षा गर्दै छु ।

यसको प्रकाशन मिति २०८१ साल कार्तिक १७ गते शनिबार हो र त्यसै दिन यसमा उनी स्वयम्सहित दुई जनाको लाइक र उनीसमेत सात जनाको टिप्पणी आएको छ । उनको विषयको गम्भीरता, विषयवस्तु, कलासंयोजन आदि विविध विषयमा व्यापक समीक्षा गर्नुपूर्व उनको यस लघुकथामाथि टिप्पणीकर्ताहरूको टिप्पणी प्रस्तुत गर्नु समीचीन ठानेको छु किनभने यसले पनि उनीभित्रको लघुकथाकारलाई चिन्न सहयोग पुग्नेछ र पाठकहरू र लघुकथाका शोधकहरू यसबाट लाभान्वित हुनुहुनेछ भन्ने विश्वास लिएको छु ।

जम्मा सातवटा टिप्पणीकारमध्ये पहिलो टिप्पणीकर्ता हुन् एक सचेत पाठक सुरज घिमिरे जसले ‘मीठो व्यङ्ग्य’ भनेर टिप्पणी गरेका छन् र आफ्नो पाठकीय गहनताको परिचय दिएका छन् । उनले ‘मिठो’लाई ‘मीठो’ लेखेर लघुकथाको माधुर्यको सूत्रात्मक प्रशंसा गरेका छन् जुन कथाकारको अधिकारकै कुरो हो ।

दोस्रो टिप्पणी राजु भुसालको छ जसमा उनले कथाको भित्री भावलाई नबुझेर लेखकसँग नै प्रश्न गरेका छन् यसरी – ‘हैन, केटीका बाबुले केटीलाई पनि केटाको घरमा ल्याएका रहेछन् ?’ अब लघुकथाकारको महानता पनि हेरौँ । उनले त्यसरी टिप्पणी गर्नेलाई आमाचकारी गाली गरेको भए पनि हुने थियो किनभने पाठकलाई डुकुलन्ठक ठान्ने हाम्रो लेखक समाजमा यसलाई ‘शठे शाठ्यं समाचरेत्’ भनेर प्रशंसा नै गरिन्छ । तर लेखकले त्यसो नगरेर सहज उत्तर दिए, ‘हजुर, केटी केटो हेर्न गएकी थिई ।’ लेखकको शालीनता यहाँ मुक्तकण्ठले प्रशंसायोग्य छ । पाठकको कत्रो सम्मान छ ‘हजुर’ र यो स्वीकारोक्ति पनि हो ।

चौथो टिप्पणी छ मदन पराजुली पोखरेलीको जसमा उनी लेख्छन्, ‘प्रयोग नौलो छ । कथा भने मन पर्‍यो है !’ यस लघु कथनमा उनले ठुलै कुरा बोलेका छन् । एक, कथा प्रयोगवादी हो, दुई, प्रयोग नौलो छ, तीन, यो कथा नै हो र चार, यो कथा मनपर्ने खालको छ । यो चानचुने कुरा हैन एक गुमनाम लेखकका लागि ।

पाँचौं टिप्पणीकर्ता हुन् दीपक ज्ञवाली । उनी यसमा अझ नयाँ कुरा अथवा बेग्लै कुरा देख्छन् र प्रश्नमै भन्छन्, ‘कथाको प्लट नै बेग्लै, केटि केटा हेर्न केटाकै घर मा ??’ यो कथा हो भन्ने कुराको अर्को दरिलो दसी यो टिप्पणी पनि हो भने यसमा लेखकले चलनचल्तीमा रहेकोभन्दा बेग्लै प्लट ल्याएका छन् भन्ने कुरो भनेका छन् । बेग्लै हुनु नै नौलो र नयाँ हुनु हो जुन कुरा मदन पराजुलीको टिप्पणीले पनि पुष्टि गरेको छ भने केटी नै केटालाई हेर्न केटाको घरमा जानुलाई हाम्रो समाजले कुन दृष्टिले हेर्दो रहेछ भन्ने कुरो पनि देखाउँछ । अर्थात् हाम्रो परम्परावादी र पुरुषप्रधान समाजमा सधैं केटाले नै केटीलाई हेर्ने र मन परे बिहे गरिदिएर उपकार गरिदिने अनि मन नपरे बिहे नगरेर केटीलाई अझ ठुलो समस्यामा पार्ने चलन रहेकामा यसमा लेखकले केटी नै केटो हेर्न केटाको घरमा गएको कुरो गरेर बेग्लै कुरो ल्याएका छन् भन्ने तथ्य विद्वान् पाठक ज्ञवालीको टिप्पणीले बताउँछ । उनको टिप्पणीको अर्को महत्त्वपूर्ण पाटो के छ भने उनले वाक्यको अन्तिममा दुईदुईवटा प्रश्नवाचक चिह्नको प्रयोग गरेका छन् । यसले उनमा प्रश्नात्मक आश्चर्य जागेको प्रस्ट बुझ्न सकिन्छ र यति लघु रचनाबाट पाठकमा यस्तो उत्सुकता र जिज्ञासा जगाउन सक्ने सामर्थ्य जोकोहीमा नपाइने र त्यो वैशिष्ट्य समर्थनमा नै रहेको कुरामा पनि असमर्थन जनाउन सकिँदैन । हो, यहाँ टिप्पणीकर्ताले दुवै चिह्न प्रश्नवाचक नराखेर एउटा विस्मयादिबोधक राखेको भए टिप्पणीकारको भाव सहज सम्प्रेषित हुने थियो ।

अर्का सचेत पाठक ईश्वरी नामका पुरुष पोखरेलको छ जुन अङ्ग्रेजीमा छ । रोमनलाई देवनागरीमा लेख्दा उनी लेख्छन्, ‘इट इज जस्ट सिभर्स । दिस फीचर इज असाइमिलेट इन पोस्ट मोडर्न लिटरेचर ।’ मदन पराजुलीको ‘प्रयोग नौलो छ ।’ दीपक ज्ञवालीको ‘प्लट नै बेग्लै’ र ईश्वरी पोखरेलको ‘जस्ट रिभर्स र पोस्ट मोडर्न लिटरेचर’को आशय उस्तैउस्तै हो । ईश्वरीको उत्तरआधुनिक अध्ययन कति फराकिलो छ भन्ने कुराको पनि प्रमाण हो यो । हो, उनले भनेझैं यस लघुकथामा विषयलाई ठ्याक्कै उल्टो पारिएको छ । केटा केटी हेर्न नगएर केटी नै केटा हेर्न गएकी छ । यो एकदम नौलो प्रयोग र बेग्लै प्लट हो । उत्तरआधुनिकको मर्म विनिर्माण र नवनिर्माणलाई यसमा लेखकले सहजतापूर्वक प्रस्तुत गरेका छन् । केटा केटी हेर्न नजानु परम्पराको विनिर्माण वा ध्वंश हो भने केटी नै केटो हेर्न जानु नवनिर्माण अर्थात् नयाँको थालनी हो । अझ त्यसमा केटीले नै केटालाई ‘हुन्न’ भन्नु र भन्न सक्नुले नारीस्वाभिमान र उच्चतालाई पनि स्थान दिएको छ । लेखकको यस चेतनालाई दुईवटा मात्र लाइक आउनु कतै पाठकको मस्तिष्कले लघुकथाको गहिराइ नाप्न नसकेको त हैन भन्ने प्रश्न पनि उठ्न सक्छ । किनभने गहिराइ नाप्न त माछो हुनुपर्छ र माछो माछो भ्यागुतोजस्ता पाठकले रचनासागरको गहिराइ कसरी नाप्न सकून् ? म यहाँ पाठकको पाठकीय अक्षमतामाथि केवल ‘कठै !’ मात्र भन्न सक्छु ।

अर्का टिप्पणीकर्ता हुन् श्यामप्रसाद न्यौपाने र उनले ग्राम्यदोषयुक्त भाषामा विवाह नभइरहेको र प्रौढतातिर लम्किरहेको युवकप्रति लक्षित गरेर कटु व्यङ्ग्य गरे पनि सुन्दर कथा भनेर कथाकारको भने मुक्त कण्ठले प्रशंसा गरेका छन् । कसैले पनि विपरीत टिप्पणी नगरेको हुँदा पनि यो लघुकथा उच्च स्तरको छ भन्ने प्रमाण पेस गरेको छ ।

‘कविः करोति काव्यानि अर्थं जानाति पण्डित’ । यहाँ पण्डित भनेर समीक्षकलाई भनिएको हो र ती समीक्षकलाई भनिएको हो जसले आफन्तका रचनामा र आफ्नो गुटका लेखकका रचनामा र पैसा लिएर समीक्षा लेखाउने लेखकका रचनामा हुँदै नभएका कुरा पनि छन् भनेर जबरजस्ती आफ्नो उपबुज्रुक्याइँ खोक्छन् । वास्तवमा समीक्षक लेखकभन्दा पण्डित हुन् र हुनुपर्छ तर त्यो पाण्डित्य नैतिकतामा टिकेको हुनुपर्छ जुन नेपाली साहित्यमा त दिउँसै बत्ती बालेर खोज्नुपर्छ । लेखकले भन्न खोजेका तर नभनेका वा भन्न नसकेका वा भन्न नचाहेका कुरा पनि जुन आम पाठकले देख्न सक्दैनन् त्यो समीक्षकले देख्छन् वा देख्नुपर्छ किनभने ‘ईक्ष’ भनेकै देख्नु हो र सम् उपसर्गले राम्ररी वा नियालेर भन्ने भाव दिन्छ ।

यस लघुकथामा पनि लेखकले देखाउन खोजेका तर टिप्पणीकाररूपी पाठकको दृष्टि नपरेका केही पक्षहरू पनि छन् जुन नखुलाउनु लेखकप्रति अन्याय हुन जानेछ । एउटा हो, विवाह नभएर बुढो कुमार बस्नुपर्ने अवस्था आउँदा पनि दाइजोमा र्‍याल चुहाउन नछोड्ने हाम्रो समाजलाई दरो झापड हान्न लेखकले बाबुआमाका बिचमा दाइजोका कुरा गराएका छन् भने त्यो कुरो केटीले सुनेकी छ र त्यसपछि मात्र उसले मन नपरेको बताएकी छ । यसबाट केटोमा दाँत उठ्नु र थुक उछिट्टिनुबाहेक खासै अवगुणहरू नभएकाले केटी त्यतिमा समझौता गर्न सक्ने हुनसक्थी तर त्यसै बेलामा उसले दाइजोका कुरा सुनी र उसको मुड बदलियो भन्ने भाव प्रक्षेपित हुन्छ । यो दाइजोका लोभी बाबुआमाका लागि सबक हो । अब कि त दाइजो लेओ कि बुहारी ल्याओ । बुहारी र दाइजो दुबै कुरा पाउँदैनौ चाहे तिम्रो छोरो कुमारैमा बुढो होस् । अर्को कुरो केटामा देखिएको त्यो दोष केटीले लगाउनका लागि मात्र लगाएको पनि हुन सक्छ । जस्तो पहिलेपहिले दाइजो नपाउने भएपछि केटा वा केटाका बाबुुआमा वा दिदीबहिनीले लगाउने गर्थे । केटी अलि होची रहिछे, अलि अग्ली रहिछे, अलि बोलैया रहिछे, बोल्दै नबोल्ने लाटीजस्ती रहिछे, कौवाको फूल चोर्लीजस्ती रहिछे, अर्को लोग्नेमान्छेले फस्ल्याङफुस्लुङ पार्न सक्ने गोज्याङ रहिछे, अलि काली रहिछे, बढी फुस्री रहिछे, आँखा चिमरा रहेछन्, आँखा राँगाका जस्ता रहेछन्, हातगोडाका औंला लोग्नेमान्छेका जस्ता रहेछन्, कामै गर्न नसक्ने र महिनौं खान नपाएकीजस्ती सिन्के जिउ रहेछ, बसी बसी खाएर र कामको नाममा वरको सिन्को पर नसारेर भैंसीको जस्तो थसुल्लो ज्यान रहेछ आदि आदि । लेखकले रचनाको आकारगत सीमालाई विचार गरेर यी कुराहरू कथामा लेखेका छैनन् तर अप्रकट रूपमा सबै कुरा भनेका छन् केवल लेखकको भनाइलाई आफ्नो अध्ययनको फराकिलो परिधिमा राखेर बुझिदिने पाठक चाहिएको छ नेपाली साहित्यलाई । अनि अर्को कुरो, कथामा केटीले अन्तिममा केटालाई ‘दाइ’ भनेकी छ । प्रश्न उठ्छ के विवाहका निम्ति हेरिएको केटालाई दाइ भन्न मिल्छ ? प्रश्न नाजायज छैन तर परिवेश हेर्नुपर्छ । यहाँको परिवेश के छ भने केटीले मनमनै केटालाई अस्वीकार गरिसकेकी छ र त्यो खुल्दै छ । अस्वीकार गरिसकेपछि त्यो केटो उसको हुनेवाला पति त भएन । अब हाम्रो संस्कारले के भन्छ ? जो परपुरुष हो त्यो त दाजु वा भाइसरह हो । त्यसैले केटीले केटालाई ‘दाइ’ भनेकी हो र लेखकले सचेततापूर्वक नै ‘दाइ’ भन्न लगाएका हुन् ।

रचनाभन्दा भूमिका ठुलो लेखिने नेपाली साहित्यजगत्मा यो समीक्षा पनि एउटा कोसेढुङ्गो बन्ने विश्वास लिएको छु भने आफ्नो कृतिको समीक्षा कसैले नगरिदिँदा आफै अर्को नामले समीक्षा गर्ने उत्तरआधुनिक नेपाली साहित्यको रीतिमा पनि यो एउटा नजिरका रूपमा युगान्तकारी मानिने छ । एउटा स्रष्टा कसरी आफ्नै रचनाको द्रष्टा बन्छ भन्ने कुराको योभन्दा अब्बल उदाहरण ब्रह्माण्डमै छैन कि ?
आफ्नो त उपनामै समर्थन । अनि अरूले असमर्थन गरे पनि आफै गरिन्छ समर्थन ! समर्थन !! समर्थन !!!

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
फागुका तीन लाेला

फागुका तीन लाेला

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x