भानुभक्त कुभिण्डेलीपहिले र अहिले
खुट्टा तान्छु अरू बढे अघि भने झार्दै लछार्छु तल । उठ्नै दिन्न अगाडि बढ्छ कसरी ? तानी पछार्छु तल ।। धेरै अर्थ थिएन किन्तु मनको सच्चा थिएँ मानव । पैसाको अभिमानले म अहिले साँच्चै भएँ दानव ।।

भानुभक्त कुभिण्डेली :
मेरो पेट सुकेर ट्याप्प पहिले हेर्नै नसक्ने थियो ।
सोही पेट बढेर ह्वात्त अहिले थाम्नै नसक्ने भयो ।।
खाली पेट हुँदा र अन्न नहुँदा या भोकमा तड्पिएँ ।
सोही पेट अजीर्ण ढुस्स अहिले हैरान साह्रै भएँ ।।
सानो जीर्ण तथा उदाङ्ग घरको छानो चुहुन्थ्यो सदा ।
हेर्दा यो दरबार देख्छु अहिले आश्चर्यको सम्पदा ।।
टुट्दा चप्पलका फिता म जहिले टालेर हिँड्थेँ जहाँ ।
राम्रा छन् घरमा प्रशस्त अहिले चिल्ला पजेरा यहाँ ।।
नाता इष्ट र मित्र मान्य जनको गर्थेँ म नै चाहना ।
देखेँ दीन दुखी भने सडकमा बुझ्थेँ सधैँ भावना ।
भाग्यो मानवता बसी सहरमा सम्झिन्न त्यो आँगनी ।
आए भेट्न कुनै भने दीन दुखी झर्किन्छु पाखे भनी ।
तृष्णा अर्थ कमाउने छ मनमा या लालसा लोभ छ ।
ईर्ष्या, डाह र क्षुब्धता कुटिलता उन्माद वा क्षोभ छ ।।
आफ्नोमात्र म सोच्छु सोच्दिन अरू सङ्कष्टमा नै परून् ।
आफ्नो मात्र म देख्छु देख्दिन अरू बाँचून् मरून् जे गरून् ।।
“खाऊँ मात्र ममात्र” चिन्तन यही बढ्दैछ मेरो अति ।
जोड्दै अर्थ अमूल्य स्वर्ण गहना ल्याई थुपारेँ कति ?
मेरो हिम्मतले तथा पहुँचले सामर्थ्यले शक्तिले ।
सेवा ढोग गरी अनन्त प्रभुमा साष्टाङ्गको भक्तिले ।।
खुट्टा तान्छु अरू बढे अघि भने झार्दै लछार्छु तल ।
उठ्नै दिन्न अगाडि बढ्छ कसरी ? तानी पछार्छु तल ।।
धेरै अर्थ थिएन किन्तु मनको सच्चा थिएँ मानव ।
पैसाको अभिमानले म अहिले साँच्चै भएँ दानव ।।
०००
भव्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest







































