विष्णु न्याैपाने (२)बन्दैन यो देश बिना विकास
चर्कन्छ छाती बक हुन्छ रुद्ध। यथार्थ पीडा बुझ हे प्रबुद्ध॥ निस्कन्छ के भाषणले निकास। बन्दैन यो देश बिना विकास॥

विष्णु न्यौपाने :
संस्कार भाषा पहिचान भेष।
सङ्घीय मेरो गणतन्त्र देश॥
सापेक्षता संस्कृति धर्म हाम्रो।
लाग्दैन साँच्चै निरपेक्ष राम्रो॥१॥
कहाँ गए संस्कृति धर्म हाम्रो।
हिमाल हाँस्ने पहिचान राम्रो॥
पोषाक दौरा सुरुवाल टोपी।
चोली मजेत्रो पटुकी र धोती॥२॥
मानौँ कसोरी गणतन्त्र प्यारो।
थेक्नै नसक्ने महँगी छ साह्रो॥
अत्यन्त बढ्दो कर चाप भार।
थाम्छन् कसोरी गणतन्त्र मार॥३॥
बारी छ बाँझो अनि खेत बाँझो।
पाखा पखेरा सब फाँट बाँझो॥
पानी नओत्ने घर छन् उदाङ्गो।
बन्दै छ बस्ती घर गाउँ नाङ्गो॥४॥
उठ्दैन ज्याला कृषि कर्म भारी।
युवा गरून् के बिन रोजगारी॥
छोरो विदेशी घर बाबु आमा।
बसी रुँदै छन् घरको कुनामा॥५॥
छन् बाबुआमा अझ रोगग्रस्त।
बिना सहारा कति बन्नु त्रस्त॥
पानी पँधेरो अनि खेत बारी।
सम्झेर पीडा मन हुन्छ भारी॥६॥
चर्कन्छ छाती बक हुन्छ रुद्ध।
यथार्थ पीडा बुझ हे प्रबुद्ध॥
निस्कन्छ के भाषणले निकास।
बन्दैन यो देश बिना विकास॥७॥
ल्याऊ नयाँ क्रान्ति किसान गर्ने।
उत्साह उत्पादन माथि पर्ने॥
कुरा गरी व्यर्थ नटोल साथी।
विश्वास गर्लान् गणतन्त्र माथि॥८॥
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































