सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एउटा संवाद

केही गर्नुपर्ने भएको भए तिमीलाई थुप्रै हात र गोडाहरू पनि जोडेर पठाइ दिइहाल्थे नि । बूढो साँढेको सट्टा एउटा द्रुतगामी जेट नै वाहनको रूपमा पठाइदिँदो हूँ।" शिवजी झन् चर्किए ।

Nepal Telecom ad

भैरव अर्याल :

हिजो साँझ तन्काएको भाङ र धतुराको ह्याङओभर अझै नसकिएकोले शिवजी तन्द्राको मुद्रामा त्यान्द्रे मुन्टो लगाएर एक चिलिम गाँजा तान्दै थिए । उनको भित्री कानमा जडिएको अन्तर्वाणीको घण्टी टिन्न बज्यो । गाँजाको चिलिम धुनीमा घोप्ट्याएर झर्को मान्दै शिवजी ध्यानस्थ भए । आवाज पशुपतिनाथको थियो ।

“के हाल छ पशुपति ?” – शिवजीले सोधे ।
“बेहाल छ कैलाशपति ? ” पशुपतिको जवाफ आयो। “ख्वै, आचार आकाश-आकाशै उड्न खोज्छ, विचार विदेश-विदेशै कुद्न खोज्छ । त्यसैले यहाँका मान्छेहरू त चारमा मात्रै सीमित हुन थाल्या छन् प्रभो ।”

“पहिलेका चार कि अहिलेका चारमा ? अनिर्वचनीय वा एव्स्ट्रयाक चारमा ? ए पशुपति । तिम्रो कुरो अलि बुझिनँ ?”

‘त्यही बुझाएर बुझाइबक्सनु ‘चार’मा”
“अब मैले के गर्नुपर्यो त ? ” -शिवजीले सोधे ।

“कि मलाई लगेर आफैमा मिलाउनु पर्यो अब, कि सोझालाई पनि वङ्ग्याइ दिनुपर्यो, कि बाङ्गोलाई पनि सोझ्याई दिनुपर्यो । नत्र म यो सिधासाधा मान्छेहरू बचाउने जिम्मा लिन सक्तिनँ ।

“जो बाँच्नै सक्तैनन्, ती लाटा सोझालाई कल्ले बचाउनु भन्यो त ? बचाउने काम हाम्रो विभागमा पर्दैन भन्ने तिमीलाई थाहा छैन ? तैपनि म एकपटक विष्णुलाई सूचना गरिदिउँला, उनी अहिले मध्यपूर्व, एसिया र ल्याटिन अमेरिकाको भ्रमणमा गएका छन् ।”

“त्यसो भए म चाहिँ मान्छे जे जस्तो स्थितिमा पुगे पनि टुलुटुलु हेरीमात्र रहूँ त ? अहिले केही नगरूँ ?

“टुलुटुलु हेर्ने भनेर त पन्द्रवटा आँखा दिएर तिमीलाई त्यहाँ बसिरहू भनेको ! केही गर्नुपर्ने भएको भए तिमीलाई थुप्रै हात र गोडाहरू पनि जोडेर पठाइ दिइहाल्थे नि । बूढो साँढेको सट्टा एउटा द्रुतगामी जेट नै वाहनको रूपमा पठाइदिँदो हूँ।” शिवजी झन् चर्किए ।

पशुपतिले पनि अलि घुर्कीकै आवाजमा भने- “म त्यस्तो निष्क्रिय भएर कति बसूँ प्रभो ? ब्रह्माजीको यो सृष्टि अब यति गनाउने भइसकेको छ कि एकपटक सिनित्त पारेर नयाँ श्रीगणेश गर्न लगाउँ जस्तो झोंक चल्छ मलाई त !”

शिवजी- “किन ? तिमी जस्तो मेरो शान्त प्रतिनिधि अहिले यस्तो उग्रव्यग्र किन भयौ ?”

पशुपति- “हेर्नोस् न, एउटा आउँछ जल चढाउन, सुँध्यो त्यसमा उसको आँसु गनाउँछ- म उसलाई बचाउन सक्तिनँ । अर्को आउँछ, फूल चढाउँछ, त्यसमा मान्छेको मासु गनाउँछ- म उसलाई मार्न सक्तिनँ । कि यो बचाउने-सचाउने अधिकार पनि हामी पृथ्वीका देवी-देवतालाई दिनुपर्यो, कि तपाइँहरू नै यहाँ ओर्लेर जहाँ जहाँ जे जे गर्नुपर्छ गर्नुपर्यो ।”

शिवजी- “ए त्यसो भए तिमी त मेरो प्रतिनिधि होइन, पृथ्वीका देवताहरूको प्रतिनिधि भएर पो बोलिरहेका रहेछौ, होइन ? भाङ र धतुरो खाँदैमा महादेव बूढो आफ्नो जिम्मेदारी बिर्सी बहुलायो भन्ने सम्झ‌याै कि क्या हो ? तिमी स्वयम् मेरै एक अंश हौ पशुपति । मैले तिमीलाई भनिदिएको छु- अहिले तिम्रो काम हेर्ने मात्र हो। जुन दिन पापले मुटु चर्केकाहरू ढोगदिने निहुँमा तिमीलाई ढाल्न थाल्नेछन्, या पेडाले हिर्काएर तिम्रा आँखा टाल्न थाल्नेछन्, त्यसै दिन मात्र म त्रिशुल लिएर त्यहाँ ओर्लूला । लौ त, तिमी हेर्दै गर, म एकपटक ब्रह्माजी बूढासित कुरा गर्छु- नयाँ सृष्टिको मोडेल सोच्दैछु भन्थे, बुझूँ- कस्तो सोचेका छन् ।”

०००
‘पियुष’ सहबलिङ्ग मा.वि. चमडा, डडेलधुराको प्रकाशन, २०३२ बाट

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
नरनाथ लुइँटेल
Admin

भैरवकाे याे उत्कृष्ठ व्यङ्ग्य कथा धेरै पाठकहरूले पढ्न पाएका थिएनन् भन्ने महसुस गरि फित्काैलीले पुनरावृत गरेकाे छ ।

नरनाथ लुइँटेल
Admin

यहाँलाइ कस्ताे लाग्याे कुन्नि ???

Nepal Telecom ad
पुरस्कार

पुरस्कार

भैरव अर्याल
सरसल्लाह

सरसल्लाह

भैरव अर्याल
तमसुक

तमसुक

भैरव अर्याल
ट्रम्पकाे टरटर

ट्रम्पकाे टरटर

शेषराज भट्टराई
कुर्सीरसायन

कुर्सीरसायन

इन्दिरा चापागाईं
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
आधा सत्य आधा भ्रम- १५

आधा सत्य आधा भ्रम-...

अर्जुन दाहाल (क)
वीभत्स भाष्य

वीभत्स भाष्य

रमेश समर्थन
2
0
Would love your thoughts, please comment.x
()
x