साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एपेकले गर्यो दिलदार देहल्वी साँझ, नेपाली गजलकार माझ

कवि, गजलकार एवं गीतकार वसन्त चौधरीको प्रमुख आतिथ्यमा आइतबार साँझ राजधानीमा उक्त कार्यक्रम आयोजित भएको हो ।

Nepal Telecom ad

काठमाडौँ । एपेक नेपालले भारतका चर्चित गजलकार दिलदार देहल्वीको सम्मानमा दिलदार देहल्वी साँझ,नेपाली गजलकार माझ कार्यक्रम गरेको छ ।

कवि, गजलकार एवं गीतकार वसन्त चौधरीको प्रमुख आतिथ्यमा आइतबार साँझ राजधानीमा उक्त कार्यक्रम आयोजित भएको हो ।

उक्त कार्यक्रममा देहल्वीले’किसी तौर कोइ बहाने तो आ मोहम्बत नही दिल दुखाने तो आ’ लगायत आधा दर्जन गजल पेश गरेका थिए ।

कार्यक्रममा वसन्त चौधरीले ‘रोज अन्दाज नयाँ हुस्न ने दिखलाया हे’ लगायत केही थान गजल सुनाए । साँझ ढल्दै जाँदा गजलको महफिल पनि झन जम्दै थियो ।

यसैक्रममा घनेन्द्र ओझा भन्दैथे, ‘यस्तो जुलुम नगर्नु दोषी म बन्न सक्छु।’ इम्तिहाज बफा के कम,’बस यहि सोच के हम और भी घबराने लगे’ लगायतका अन्य गजल पस्के । जय पौडेलले ‘मन थियो एउटा मसंग बाँकी त्यो पनि उनलाई दिएर आएँ’ भन्ने गुनासो गर्दै थिए ।

साँझ धमिलिंदै थियो अध्याँरो भएर । गजलकारहरु निरन्तर गजल पस्केर माहौल जमाउँदै थिए । यसै क्रममा विन्टु केसीको पालो आयो। गजल सुन्दा यस्तो लाग्थ्यो गुनासा नै गुनासाले मन भरिएको छ । तर पनि उनी भन्दै थिइन,’गुनासोलाई थाती राखी बात गरौं।’ शान्ति शर्माको गजल उस्तै बेजोड थियो । रवि प्राञ्जल गुनासो गर्दै थिए,’कागज भए मजबुद हुन्थें फलाम भएर गल्ती गरें’ ।

सानो तर उल्लेख्य गजलकारहरुको जमघट । माहोल उल्लासमय थियो । धिरेन्द्र महर्षी पनि के कम उनले हामी सबैको दैनिकी बनेको मोबाइलमाथि गजल प्रहार गरे, ‘मेरो साथी मोवाइलले जे कुरा नि जान्दोरैछ ।’ सामयिक थियो उनको गजल । रुपक बनवासी,प्रेम प्रमोद ढकाल लगायतले पनि गजल पेश गरेका थिए ।

कार्यक्रममै जीवनमा सधैं दुःख आएको भन्दै सुख पाउने कहिले भन्दै गजल वाचन गरे,’दुःख मात्रै साथ आयो यो खुशी चाहिँ कहिले आउँछ’ भन्दै थिए करुण थापा ।

प्रमुख अतिथि चौधरीले दिलदारसंगको मञ्च साझा गरेको एक दशकभएको स्मरण गर्दै भने,”दिलदार जस्ता छन्,लेखनीमा उस्तै राम्रा लेख्छन् र त्यतिनै राम्रो बोल्छन् ।” जिन्दगी माग्दैमा सकिने भन्दै उनले भने,”कहिले आफन्तसंग प्रेम माग्छौं,कहिले उपरवालासंग दुवा माग्छौं । राम्रो काममा मेरो तर्फबाट साथ,समर्थन र सहयोग रहनेछ ।”

यसअघि एपेकका कार्यकारी निर्देशक,कवि राजेन्द्र शलभले समेत मन्तव्य राखे ।

सोही कार्यक्रममा देहल्वीलाई दोसल्ला र सम्मानपत्र सहित अभिनन्दन गरिएको थियो । कार्यक्रममा गजल बाचन गर्नेहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

सभाध्यक्ष,आयोजक संस्थाका अध्यक्ष विश्वविमोहन श्रेष्ठले एपेक नेपाल विगत २७ वर्षदेखि समकालीन साहित्यका क्षेत्रमा विभिन्न विचारबिमर्श सहितका कार्यक्रमहरुमा अविरल लागिरहेको जानकारी दिए । उनले चैतमा वार्षिक उत्सवमा गजलको एक कृति पुरस्कृत हुने पनि बताए ।

कार्यक्रमको सहजीकरण धीरेन्द्र महर्षीले गरेका थिए ।

०००
प्रदीप सापकाेटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x