रामप्रसाद अर्याल ‘अविराम’तब पो हुरी !
यो तातो हुरी कताबाट आयो होला ? पूर्व–पश्चिम या उत्तर दक्षिण । जोखाना हेरेर खाना जुटाउनेले भन्दा हुन् । यो तातो हुरीको हुर्कोले पोल्दा देशको मुटुले उँभर्को मारी रहेछ । देश जलाउने हुरीले भन्दो हो– विजय प्राप्त गरें । हुरीले जित्यो देशले हार्यो ।

रामप्रसाद अर्याल ‘अविराम’ :
फोहरको डङ्गुरमा रमाउने भनेको बङगुर मात्र हो । बङ्गुरहरू मोटाघाटा हुन्छन् । आफू मोटाउन अरुलाई लोटाउनु पर्दछ । बाजीमार्न छिर्के हान्न जान्नु पर्दछ । छिर्के हान्न नजान्नेले कुर्सी तान्न सक्दैन । कुर्सी तान्न नसक्नेले नेता छान्न सक्ने कुरै भएन । युटुवेहरूको कुरा सुन्दा लाग्छ सर्वज्ञाता भविष्य–बेत्ता उनीहरू नै हुन् । उनीहरूलाई थाहा थियो, नेपालमा ठूलो आँधी हुरी आउँदैछ । र बताएका पनि थिए ।
सत्तामा मत्ता हुनेहरूले यति कुरा पनि बुझेनन् वा कानमा तेल लगाए । बतास लगाएनन् । अनुसन्धान विभागका प्यादाहरूले ज्यादा हावा, हुरी चल्ने कुरा कसरी थाहा पाउन विचरा । हावा, हुरी, हुण्डरी देखिने कुरा हो र । उनीहरू त सत्ताको वरिपरि बस्न र चिप्लो घस्त नै मस्त भैरहन्छन् ।
“जसले उडायो धुरी तव पो हुरी ।” यो बतासे हुरीले कहिले फुल पार्यो ? कहिले चल्ला कोरल्यो ? कसैलाई पत्तै भएन । अहिले एकैचोटि गुरगुर्ती आयो, हुरहुर्ति आगो लायो । देशलाई दशकाँै पछाडि झार्यो । छ दर्जनभन्दा बढी युवाको ज्यान मार्यो । बाबुआमालाई बेसहारा पार्यो । श्रीमतीको सिउँदो झार्यो ।
यो भाद्र २३ र २४ गते एक्कासी आएको हुरीले सरकारको धुरी ताक्यो । त्यस घरमा बस्नेहरूको हुर्मत लियो । रुखका हाँगा बिंगा लछार्यो, ठुलो रुखलाई भुइँमा पछार्यो ।
बलेको अगुल्टोको पुल्ठो लिएर एकै समयमा देशैभरिका सरकारी भवनहरूको चुल्ठो झोस्यो । हेर्दाहेर्दै आकाशलाई कालराहुले डस्यो । कालाकाला धुवाँका मुस्लाले सूर्यलाई ढाक्यो । आगाको फिलिङ्गो हुरी बनेर सुरसाको मुख आँ गर्यो । धेरै कलिला स्कुले बालबालिका यमराजको मुखमा परे । यो जेन्जी नामको हुरी विचित्रको रहेछ । यो हुरी हेर्दा अचम्मै लाग्छ । मिठो मिठो, चाखी चाखी, रोजेर, छानेर, लात्तीले मुक्काले हानेर, गर्ल्याम्मगुर्लुम्म पार्यो । के के ढलायो, के के जलायो भनेर, गनेर साद्दे नै छैन ।
जेन्जी भनेका ससाना उमेर समुहका केटाकेटी हुन् भनेर उनीहरूका भाग र माग नखोसेको भए यो विपद देशले बेहोर्न पर्दैनथ्यो । रोजगारी सिर्जना नगर्ने भ्रष्टाचार गर्ने, कुशासन चलाउने, कमीशन फलाउनेहरूले अलिअलि भए पनि कुरा बुझेको भए हुने नि ! देशका नागरिक विदेश पलायन भए भने कहाँबाट आयो त्यति ठुलो मानवको हुलको हुरी खोजकै विषय हो ।
हुरीले पनि नढाँटेको भए हुने । एउटा झारपात पनि हल्लाईंदैन । ससाना फूलका बोट विरुवा पनि भाँचिदैन । सुगन्धित प्राणवायु बोकेर मन्दमन्द गतिले सुबास छर्दै आन्दोलन चल्छ, अगाडि बढ्छ । हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । भनेर नेताले झैं नढाँटेको भए हुने । यति सानो उमेरमा कहाँबाट सिके हुन् ? कहाँबाट शिक्षित–दीक्षित भए हुन् ? कसरी जाने हुन् ? यो कलीले जस्तो छली कुरा गर्न । भन्ने प्रश्न उठ्न सक्छ– जीवनको उत्तरार्धतिर टेकेका विश्व ब्रह्माण्ड नदेखेका बुढाहरूलाई ।
देशमा असन्तोषको आगो भुसको आगो झैं सल्किएकै थियो । गाँजा खाएर धतुराउने, धतुरो खाएर बतुराउनेहरूले होसमा वा बेहोसमा भनेकै थिए । सिंहदरबार जलाइ दिन्छु । लाखौंको जनता फलाइ दिन्छु । दूरदराजमा बस्ने र अन्नको अभावले पेट कस्नेहरूले समेत यो कुरा थाहा पाइसकेका थिए । (सामाजिक सञ्जालको जाल विश्वभरि फैलिएकै छ । विदेशमा बस्नेहरूले समेत देशको गोप्य कुरा थाहा पाउँदा यहाँको सत्तामा मैमत्ता हुनेहरूले थाहा कसरी पाउन् । उनीहरूलाई त आफ्ना जासुस संस्थाका अधिकारीहरूको पूर्ण विश्वास थियो । उनीहरूको रिपोटमा देशमा शान्ति सुब्यवस्था कायम छ । हजुरको शासनको सबैले प्रशंसा गरेका छन् सरकार !
जागिरदार, बफादार, अनुसन्धान विभागका ठुला ओहदाका कर्मचारीहरूले सुन्दा अप्रिय लाग्ने समाचार सुनाउन पनि त भएन । कस्ता गाह्रो छ ? जागिरदारहरूलाई । अलिकति मात्र बाँकी रहेको बजेट विलमिलाम खाम भन्न पनि हुन्न । पत्रकार नामका घुसघुसेहरूले प्रेमकटारी धसी हाल्छन् । देशैभरि हावाहुरी चल्छ । भ्रष्टाचार गरेको भनेर । साल तमामी हुने बेला खाम भरिभरि भेटी टक्याउने गरेकै हो । यति साह्रो अफवाह फैलाउन हँुदैन त ।
भ्रष्टाचार–सदाचार बनेको र बेथितिको थिति बसेको बेला डमरू बजाएर बाँदर नचाउने खेला जस्तै हो –आन्दोलन । यो दिनहु जसो भैरहन्छ हाम्रो राजधानीमा ।
देशको रक्षा, शान्ति सुरक्षा हरि नभएका प्रहरी । सन्धान गरेर पत्ता नलगाउने अनुसन्धान, रिपोट– शान्ति सुव्यवस्था, अमनचैन । सामान्य माग । सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जाल फुकुवा र रोजगारीको व्यवस्था ।
घोत्लिन्छु म जेन्जी भनेको के ? उत्तर आउँछ १४ वर्ष देखि २८ वर्ष सम्मका युवा । यो शब्द नै कहाँबाट आयो ? नेपालमा त किशोर, किशोरी, युवा, युवती, तन्नेरी–तरुनी, नौजवान भन्ने पो थियो त । जे होस् यो पत्तै नदिइ आएको हुरी तगडा र अति कडा रहेछ ।
उठी उठी पिसाब फेर्ने बाबुको रिंगि रिंगि …छोरो भन्ने सुने जानेकैे हो । छोरा पुस्ताले बाबुसँग माग राख्नु ठिक होइन, मेरो विचारमा । बुढा भाका, औषधि खाका पिलन्धरे बाबुको हैसियत आफै बुझ्नु नि ? सारसौंदो पुस्ताले आफ्नो व्यवस्था आफै मिलाउँछन् । पिआर लिएर तिहार मनाउँछन्, विदेशमै । घरमा बस्ने छोराले मलाई त्यही केटी चाहियो भनेर माग राखेकोसम्म सुनेको हो । माग पूरा नभए बाख्राको खोर भत्काइ दिन्छु भन्ने धुर्की पनि आएकै हो । तर अहिलेको नाति पुस्ताले झुक्यायो । शातिपूर्ण भन्यो विध्वंस मच्चायो । आँधीबेरी न हो । बन्दुकले स्कुले पोशाक पनि चिनेन ।
उहिले केही विवाह गर्न धनुष उचाल्नु पर्थो । माछाको आँखा ताक्थ्यो धनुषले । अहिले रोजीरोटी माग्दा बन्दुकले निधार छियाछिया बनाउनु पर्ने दिन आयो । आँधी–व्याधिले गर्नु नगर्नु गर्यो । सबैका आँखामा धुलो झोक्यो । होटल बन्द, केवलकार बन्द, भाटभटेनी बन्द । यो हुरी देखेर रोजगारदाता कम्पनी बन्द । सरकारी कार्यालय ध्वस्त, प्रहरी कार्यालय धस्त । सर्वोच्च अदालत र सिंहदवार ध्वस्त । अराजकको राज ।
धाकधम्की खुल्ला । चोरडाँका, खुल्ला । हातहतियारधारी खुल्ला । यो हुरीको उपलब्धि, अचम्मकै छ । व्यक्तिगत सम्पत्ती ठुलाठुला घर खरानी । पैसासम्म लुटेर राखेको भए त हुने नि । त्यो पनि खरानी पार्यो ।
हुन त एआईले बनाएको पैसा के भयो र ? त्यो नभए पनि लुटेको, ठगेको र जनताको पसिनाको कमाई न हो ।
हुरीले बा हटाएर आमा, दाइ हटाएर मामा संविधानसम्मत गए पो मत मिल्नु ।
यो हुरीले आफ्नो र पराइ पनि चिन्दैन । विरामीको औषधी गर्ने डाक्टर पनि कुट्छ । नेतालाई भाडामा राखिस् भनेर घरवेटीको घर पनि उडाइ दिन्छ । अन्धाधुन्ध जे पनि गर्दछ तर सर्वोच्चका फाइल मुद्धाका मिसिल, सिंहदरवारमा भएका राष्ट्रिय, अन्त–र्राष्ट्रिय सन्धि सम्झौताका दस्तावेजहरू खोजिखोजी पोल्छ । कति बाठो हो हुरी पनि अचम्मै छ बा !
तव त हुरी ! नामी हुरीको सुनामी प्रवाह थेग्न नसक्ने केबुलकार चल्न बन्द । होटलहरू बन्द । पर्यटकहरू आउन बन्द । विद्युतीय महसुल विवादले कलकारखाना बन्द । लुटलुटेनी गर्दै भाटभटेनी बन्द । प्रहरी चौकी बन्द । सरकारी कायर्यालय बन्द । निजी सम्पत्ति ध्वस्त । पार्टी कार्यालय ध्वस्त । हुँदाहुँदा बौद्धिक सम्पत्ति कितावसँग पनि केको रिस हुँदो हो यो बतासलाई । डढाएर खरानी पार्यो । दमकल समेत जान मानेन रिसको आगो निभाउन । लक्ष्मीको प्रतीक धन । सरस्वतीको प्रतीक पुस्तक । सत्ताको धन त नडढ्नु पर्ने नि । सीता आगोमा डढिन् । भक्त प्रल्हाद डढेनन् ।
आगोको कुनै गन्तव्य हुँदैन । वतासले जताजता लैजान्छ त्यतैत्यतै जान्छ । खाने नखाने सबैकुरा खान्छ । उहिले नालन्दा, तक्षशिला विश्व–विद्यालय खायो । झाँसीको पुस्तकालय, लखनउको दरबार खायो । अहिले नेपालमा सिंहदरबार । निजी सम्पत्ती, मान्छेको घरवार जलायो । फाउन्डेसनको फन्डले रिस उठेका जतिलाई डण्डा चलायो । खहरेको भेलले संसद बगायो ।
उहिले हनुमानले लङ्का जलाए । शिवजीले नन्दी, भृङ्गी खेलाए । दक्ष प्रजापतिको यज्ञ विध्वंश पारे । त्यो त कथाको कुरा भयो । यो पनि पछि कथा नै हुने छ । नेपालमा जेन्जी नामको उुमेर समुहले सुशासनको माग राखेर आन्दोलन गरे ७६ जना मरे । धेरै हताहतमा परे । त्यसपछि विध्वंश मच्चाए । वा उनीहरूको नाममा स्वार्थी समुहले देशै तहसनहस पारे ।
यो तातो हुरी कताबाट आयो होला ? पूर्व–पश्चिम या उत्तर दक्षिण । जोखाना हेरेर खाना जुटाउनेले भन्दा हुन् । यो तातो हुरीको हुर्कोले पोल्दा देशको मुटुले उँभर्को मारी रहेछ । देश जलाउने हुरीले भन्दो हो– विजय प्राप्त गरें । हुरीले जित्यो देशले हार्यो ।
अहिले दम्भको ज्वालामा दुध उम्लिरहेछ । उम्लिएको दुध कुँडेभरि देखिन्छ । उम्लिएपछि पोरिखन्छ । जुध्ने साँडेको सिङ फुक्लिन्छ । नफुक्लिए पनि शक्ति नाश हुन्छ । फागुन २१ गते चुनाव हुन्छ या हुँदैन भन्न सकिन्न । चुनाव भइहाले पनि अहिलेको आगाको ज्वाला र रगतको भेलसहित उर्लिएको हुरीले जेन्जी अथवा चुनावमा भाग लिने दलहरूलाई उडाउला, डढाउला या आफै आगाको हुर्कोमा बर्को ओढेर मुख लुकाउला ? समयले बताउला या बाटो तताउला । आम नेपाली नागरिकलाई न्याय गर्यो भने भनौंला “तब पो हुरी ।”
०००
पाल्पा







































बाङ्गे झटारोले पेटै बटाय्रो।