हाेमनाथ घिमिरेखाँदै नखानू बरु !
छैनन् खै इतिहास मूर्छित बन्यो सन्तप्त छन् जीवनी ! छर्रा छन् तन भित्र चोट मुटुमा उस्तै छ आँखा पनि ! चिन्दैनन् जसले यहाँ समयको बाँडेर धोका बरु। खोज्नू सत्य असत्य तथ्य मनमा मान्दै नमान्नू अरू !

होमनाथ घिमिरे :
नौटङ्की छ सधैँ जहाँ असुरले उत्पात मच्चाउँछन् !
सोझा निर्बल देख्न हुन्न यिनले हुङ्कार थर्काउँछन् !
चिन्दैनन् जसले यहाँ श्रमिकको चिन्ता न चासो अरू !
गर्लान् है करकाप फेरि यिनले जाँदै नजानू बरु !१
आफ्नै नाम भएन सह्य यिनको न्वारान आँफै गरे !
आफ्नै काम भएन पच्य जसको आलाप नौलो भरे !
चिन्दैनन् जसले यहाँ कृषकको बाँड्छन् मिठाई अरू !
डाक्लान् खान प्रसाद फेरि यिनले खाँदै नखानू बरु !२
सोच्दैनन् जब मातृभूमिहितमा होला भरोसा कब !
खोस्दैछन् अधिकार राष्ट्र जनता खोक्रो छ यो उत्सव !
चिन्दैनन् जसले हिजो समरकाे साथी र योद्धा अरू !
ङ्याक्लान्; मर्नु परोस् कदापि पदमा झुक्दै नझुक्नू बरु !३
देख्छौ नाटक रङ्गमञ्च दिनमै सोच्यौ तिमीले कति !
लेख्छौ पात्र कि भूमिका र छिनमै माछो चमेरो जति !
चिन्दैनन् जसले सुधी असलको उन्माद गर्लान् अरू !
भन्लान् पौडिन-उड्न व्योमतलमा मान्दै नमान्नू बरु !४
छैनन् खै इतिहास मूर्छित बन्यो सन्तप्त छन् जीवनी !
छर्रा छन् तन भित्र चोट मुटुमा उस्तै छ आँखा पनि !
चिन्दैनन् जसले यहाँ समयको बाँडेर धोका बरु।
खोज्नू सत्य असत्य तथ्य मनमा मान्दै नमान्नू अरू !५
०००
भरतपुर, चितवन
९ मङ्सिर, २०८२
Subscribe
Login
0 Comments
Oldest








































