प्रा. कपिल अज्ञातहास्यव्यङ्ग्यको उत्कृष्ट प्रस्तुति चापागाइँकाे ‘वक्रपुराण’
एक वरिष्ट समालोचक, अर्का हास्यव्यङ्ग्यका मर्मज्ञ र अर्का हास्यव्यङ्ग्यका अभियन्ता तीनैजनाले यसका उचाई र गरिमाका आयामका स्तर निर्धारण गरिसकेपछि यो पंक्तिकारले पनि चापागाईंको यस कृतिलाई उच्च दर्जाको हास्यव्यङ्ग्यको रूपमा महसूस गरिएको छ ।

प्रा. कपिल अज्ञात :
सृष्टि, स्थिति, प्रलय, ऋषिमनिषीका वृतान्त आदिलाई पुराण भन्ने गरिन्छ । वैदिक सनातन परम्परामा पुराणहरू अठार वटा छन् भने उपपुराण पनि अठार वटै रहेका छन् । पुराण सुनाउनु भन्नाले कथावस्तुलाई बेलीविस्तार लगाएर सुनाउनु भन्ने बुझिन्छ । यही पुराण शब्दलाई आधार बनाएर त्यसमा वक्र विशेषण थपी देवीप्रसाद चापागाईंले ‘वक्रपुराण’ (हास्यव्यङ्ग्य निबन्धसंग्रह २०८२) लिएर देखापरेका छन् । वक्रको अर्थ हो ‘बाङ्गो’, यसैलाई व्यङ्ग्यको रूपमा बुझ्न सकिन्छ । यस दृष्टिले ‘वक्रपुराण’ व्यङ्ग्यपुराण हुन जान्छ । यसलाई फित्कौली अनलाइन मिडियाले प्रकाशित गर्ने स्वर्णिम अवसर प्राप्त गरेको छ ।हास्यव्यङ्ग्यको यति खँदिलो गहकिलो र उत्कृष्ट स्तरको कृति प्रकाशन गर्न पाउनु फित्कौली संस्थाको निम्ति पनि गौरवको कुरा हो ।
हास्यव्यङ्ग्यका क्षेत्रमा बुर्कुशी(२०६६), उपरखुट्टी(२०७४), कुम्भकर्णको डायरी(२०७८) र बडकौंला(२०७८) जस्ता उत्कृष्ट कृति प्रकाशित गरिसकेका चापागाईको यो हास्यव्यङ्ग्यको नमूनाको रूपमा आएको देखिन्छ । यी कृतिको शीर्षकले नै हास्यव्यङ्ग्यको खरो प्रस्तुतिलाई दर्शाउँछन् । हास्यव्यङ्ग्य सम्बन्धी लामो चिन्तन र साधनाले उनको हास्यव्यङ्ग्यात्मक लेखन उत्कृष्ट स्तरमा रहेको बुझ्न सकिन्छ ।
हास्यव्यङ्ग्यकार चापागाईंले जुन जुन विषयलाई पक्रेका छन्, तिनलाई बेलीविस्तार लगाएर कथ्नमा सफलता हासिल गरेका देखिन्छन् । उनले कथावस्तुको विस्तार पनि यति मनोरम चालसंग गरेका छन् कि यसले पाठकलाई उत्सुकता र रुचि दुबै पैदा हुने हुन्छ । उनको यो कलात्मक खुबीले निबन्धहरू निकै रोचक र प्रभावोत्पादक बनेका छन् । उनको आफ्नै शैली र प्रवृत्तिले पनि वक्रपुराण शीर्षक सार्थक रहेको बुझ्न सकिन्छ । उनले ज्ञानगुनका धेरै कुरा पनि अध्ययन गरेका छन्, त्यसले पनि उनका निबन्धहरू ज्ञानप्रद र शिक्षाप्रद बन्न पुगेका छन् । उनको शैलीमा कथन वैचित्र्य पनि रहेको छ । जसले निबन्धलाई मिठासयुक्त तुल्याएका छन् । हास्यव्यङ्ग्य रचनाका क्रममा उनले विभिन्न पौराणिक प्रसंगहरूको उपयोग गरेका छन्, त्यस्तै व्यावहारिक प्रसंगहरूको पनि उपयोग गरेका छन् । जसले रचनामा आख्यानको स्वाद पनि प्रदान गरेका छन् । विषयवस्तुको प्रतिपादन र कथनको तारतम्य मिलाउन पनि रचनाकार खप्पिस देखिन्छन् । जति पढ्यो, कति मिलाएर कथ्न सकेको भन्ने महसूस हुन्छ ।
वक्रपुराणमा जम्मा उन्नाइस रचनाहरू संग्रहित छन् । सबै समान आयतन र उत्कृष्ट स्तरका छन् । सबै निबन्धमा कार्टूनिष्टको चित्रकलाले थप आकर्षण थपेको छ । नेपाली हास्यव्यङ्ग्यमा भैरव अर्याल, केशवराज पिंडाली, रामकुमार पाँडे, श्रीधर खनाल, रुद्र खरेल, चोलेश्वर शर्मा, मुकुन्द आचार्य, लक्ष्मण गाम्नागेहरू आ-आफ्नै शैली, विशेषता र लेखन प्रवृत्तिले ख्यातिप्राप्त रचनाकार अग्रपंक्तिमा देखिन्छन् । आफ्ना रचनाको शक्ति सामर्थ्यले चापागाईं पनि त्यही पंक्तिमा उभिन समर्थ भएका देखिन्छन् । उनका सबै निबन्ध मनोयोगले पढेर आनन्द लिने प्रकृतिका छन् । रचना विश्लेषणका क्रममा रचनाकारले यति मसिना प्रसंग पनि उधृत गरेका छन् कि तिनले हामीलाई आनन्द र चकित दुवै पार्छन् ।
जस्तै नमूनाको रूपमा ‘माइत गएकी छोरी घर गएको याममा ज्वाईंको हिंडाईको पनि विश्लेष्ण गरेका छन् ससुरालीले'(पृष्ठ ४२), यस्ता मसिना र मिहिन प्रसंग आफ्ना रचनाका तारतम्यमा फिट गरेर चापागाईंले कलात्मक चतुर्यांईको निकै प्रदर्शन गरेका छन् । हनुमानको भक्तको हलो गहिरो हिलोमा गाडिएर अड्किएको थियो, त्यसलाई कसरी निकाल्ने भन्ने भक्तको चिन्ता थियो । भक्तले जति पुकार गर्दा पनि हनुमान साथ दिन आएनन् । भक्त आफैं तयार भएर हलो तान्न थाल्यो, त्यही बेला आएर साथ दिए । अहिले म आफैले प्रयास गरेपछि हजूर किन आउनु पर्यो भन्ने भक्तको प्रश्नमा हनुमानले जवाफ दिन्छन्-जुन अत्यन्तै प्रेरणाप्रद र ज्ञानप्रद भनाई छ । उनी भन्छन् – कर्ता स्वयंले प्रयास नगरेसम्म भाग्य र भगवान आउन नै मिल्दैन । यस्ता कथनहरू कृतिभरी यथेष्ट छन्, जसले पाठकलाई आनन्द र ज्ञान दुवै प्रदान गर्दछन् । एकपटक न्यूटनलाई पत्रकारले सोधेछन् कि तपाईं र अरू मान्छेमा के फरक छ ?, यसमा न्यूटनले जवाफ दिएछन्- “म एउटा काम नसकी अर्को समाउदिन, त्यसैकारण म वैज्ञानिक र अरू सामान्य (पृष्ठ ४९) । शिक्षाप्रद कथन पनि कृतिभरी यथेष्ट छन् । एक नमूना – “अरूलाई नचिन्ने मूर्ख, आफूलाई नचिन्ने महामूर्ख, आफू र अरू दुवैलाई नचिन्ने पटमूर्ख (पृष्ठ५२)” ।
यी सारा निबन्धहरूको रचनाकाल पनि धेरै अवधिको छैन । विक्रमसंवत २०७९ देखि २०८२ सम्म तीन-चार बर्षे अवधिका यी निबन्ध यति उत्कृष्ट स्तरमा निर्मित छन्, त्यसले रचनाकारको प्रतिभा, सीप, सामर्थ्य र जाँगरलाई अब्बल दर्जामा प्रमाणित गर्दछन् । रचनाकारले रचनात्मक कथ्यहरूको पुष्टि गर्न उखानहरूको पनि पर्याप्त प्रयोग गरेका छन् । जस्तै: दिन कटनी उदरस्तको झटनी, जैशीको छोरी राँड बैद्यको गलगाँड, कुन्ड कुन्ड पानी, मुण्ड मुण्ड बुद्धि जस्ता यथेष्ट प्रयोग गरेका छन् । त्यस्तै अरू उखानहरू- अर्थ न बर्थ गोविन्द गाई, टाउको दुखेको औषधि नाइटामा लाइ, ठाउँ न ठहर बुढीको रहर, माग्नेलाई तातो भात, उठ्नेको पाडी सुत्नेको राँगो, रोटी चिल्ला मीठा कुरा खस्रा मीठा, न रहे बाँस न रहे बाँसुरी, विना शब्द कुकुर भुक्तैन मुलाको फेदमा हाती लुक्दैन । आगो ताप्नु मुँढाको कुरा सुन्नु बुढाको । यसै क्रममा उनले ‘उखान कि पद्यलय’ भन्ने निबन्ध शीर्षक नै प्रस्तुत गरेका छन् जसले पाठकको मगज तिखार्ने काम गर्छ । गफको बान्कीमा उनले उखानटुक्काको अधिक प्रयोग गरेका छन् ।
कतै प्रवृत्तिको तुलनात्मक अध्ययन पनि गरेका छन् । जस्तै इतिवृत्तमा पशु प्रवृत्ति र मानव चरित्रबिच तुलनात्मक अध्ययन गरिएको छ । हास्यव्यङ्ग्यकार भनेपछि समाजका विकृतिमाथि नै प्रहार गर्दछन् र तिनले समाजका दुरावस्था र राजनीतिक दुष्प्रवृत्तिप्रति अधिक आक्रमण गर्दछन् । यस वक्रपुराणमा पनि त्यही प्रवृत्ति देखापरेका छन् । भूमिकाकार डा. गोविन्दराज भट्टराईले यिनका निबन्धहरूको गहिरो अध्ययन गरेर भाँती पुर्याएर रचिएका गम्भीर सिर्जना मान्दै उर्वरकल्पना, तार्किक शैली र सिर्जनाको अविरल प्रवाह भएको रचना स्वीकारेका छन् । भूमिकाकारको जुँगेकाजीसँगको संवार्ता एक दामी कोसेलीको चर्चाले निकै घतलाग्दो स्थिति पैदा गरेको छ । एक त अब्बल दर्जाका निबन्ध, त्यसमाथिको यो घतलाग्दो भूमिकाले कृतिलाई गुरुत्व र गरिमायुक्त तुल्याएको छ ।
त्यस्तै अर्का भूमिकाकार मुकुन्द आचार्यले हास्य र व्यङ्ग्य दुवै मूलतत्त्व मिसाएर सिप सामर्थ्य प्रस्तुत गर्ने उर्जावान व्यक्ति ठानेका छन् । त्यस्तै हास्यव्यङ्ग्य अभियन्ता नरनाथ लुइँटेलका दृष्टिमा वक्र अभिव्यंजनाका निम्ति छोटाछरिता मिष्ठवाक्यको प्रयोग गर्दै कथात्मक टिपोट र लघु सन्दर्भहरूको उपयोग गर्दै हाँसोको लेप लगाएर खाँदिएको योग्य रचना प्रस्तुत गर्ने शक्तिशाली श्रष्टा चापागाईं हुन् । एक वरिष्ट समालोचक, अर्का हास्यव्यङ्ग्यका मर्मज्ञ र अर्का हास्यव्यङ्ग्यका अभियन्ता तीनैजनाले यसका उचाई र गरिमाका आयामका स्तर निर्धारण गरिसकेपछि यो पंक्तिकारले पनि चापागाईंको यस कृतिलाई उच्च दर्जाको हास्यव्यङ्ग्यको रूपमा महसूस गरिएको छ ।
यसरी हास्यव्यङ्ग्यकार चापागाईंले भैरव अर्यालको जयभूँडीबाट सृजनात्मक प्रेरणा पाएर यसै क्षेत्रको साधनामा निमग्न भई बुर्कुसीदेखि वक्रपुराणसम्मको यात्रामा सफलताको शिखर आरोहण गर्न सकेको मान्न सकिन्छ । उनले आफ्ना रचनामा भनेका छन्– कसैलाई शैली र प्रस्तुतीले, कसैलाई विषयवस्तुले गज्जवले समाएको पाइन्छ तर उनलाई हास्यव्यङ्ग्य चेतनामा भाँति भाँतिका तत्त्वहरूले निबन्धहरूलाई निकै उर्वर बनाएको देखिन्छ । उनले कविता र निबन्ध दुवैमा कलम चलाए पनि कविता भन्दा निबन्धमा नै सफलता हासिल गरेको समीक्षकहरू बताउँछन् ।
अन्त्यमा, वक्रपुराण समग्रमा गुण, गरिमायुक्त, ज्ञानप्रद र शिक्षाप्रद निबन्ध हो भन्ने ठम्याई सहित यसका लेखक गुरुत्तर रचनाका धनी श्रष्टा देवीप्रसाद चापागाईं र फित्कौली अनलाइन दुवैप्रति हार्दिक बधाई ज्ञापन गर्दै यस लेखनीलाई बिट मार्दछु ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest








































