साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्यको उत्कृष्ट प्रस्तुति चापागाइँकाे ‘वक्रपुराण’

एक वरिष्ट समालोचक, अर्का हास्यव्यङ्ग्यका मर्मज्ञ र अर्का हास्यव्यङ्ग्यका अभियन्ता तीनैजनाले यसका उचाई र गरिमाका आयामका स्तर  निर्धारण गरिसकेपछि यो पंक्तिकारले पनि चापागाईंको यस कृतिलाई उच्च दर्जाको हास्यव्यङ्ग्यको रूपमा महसूस गरिएको छ । 

Nepal Telecom ad
प्रा. कपिल अज्ञात :

सृष्टि, स्थिति, प्रलय, ऋषिमनिषीका वृतान्त आदिलाई पुराण भन्ने गरिन्छ । वैदिक सनातन परम्परामा पुराणहरू अठार वटा छन् भने उपपुराण पनि अठार वटै रहेका छन् । पुराण सुनाउनु भन्नाले कथावस्तुलाई बेलीविस्तार लगाएर सुनाउनु भन्ने बुझिन्छ । यही पुराण शब्दलाई आधार बनाएर त्यसमा वक्र विशेषण थपी देवीप्रसाद चापागाईंले ‘वक्रपुराण’ (हास्यव्यङ्ग्य निबन्धसंग्रह २०८२) लिएर देखापरेका छन् । वक्रको अर्थ हो ‘बाङ्गो’, यसैलाई व्यङ्ग्यको रूपमा बुझ्न सकिन्छ । यस दृष्टिले ‘वक्रपुराण’ व्यङ्ग्यपुराण हुन जान्छ । यसलाई फित्कौली अनलाइन मिडियाले प्रकाशित गर्ने स्वर्णिम अवसर प्राप्त गरेको छ ।हास्यव्यङ्ग्यको यति खँदिलो गहकिलो र उत्कृष्ट स्तरको कृति प्रकाशन गर्न पाउनु फित्कौली संस्थाको निम्ति पनि गौरवको कुरा हो ।

हास्यव्यङ्ग्यका क्षेत्रमा बुर्कुशी(२०६६), उपरखुट्टी(२०७४), कुम्भकर्णको डायरी(२०७८) र बडकौंला(२०७८) जस्ता उत्कृष्ट कृति प्रकाशित गरिसकेका चापागाईको यो हास्यव्यङ्ग्यको नमूनाको रूपमा आएको देखिन्छ । यी कृतिको शीर्षकले नै हास्यव्यङ्ग्यको खरो प्रस्तुतिलाई दर्शाउँछन् । हास्यव्यङ्ग्य सम्बन्धी लामो चिन्तन र साधनाले उनको हास्यव्यङ्ग्यात्मक लेखन उत्कृष्ट स्तरमा रहेको बुझ्न सकिन्छ ।

हास्यव्यङ्ग्यकार चापागाईंले जुन जुन विषयलाई पक्रेका छन्, तिनलाई बेलीविस्तार लगाएर कथ्नमा सफलता हासिल गरेका देखिन्छन् । उनले कथावस्तुको विस्तार पनि यति मनोरम चालसंग गरेका छन् कि यसले पाठकलाई उत्सुकता र रुचि दुबै पैदा हुने हुन्छ । उनको यो कलात्मक खुबीले निबन्धहरू निकै रोचक र प्रभावोत्पादक बनेका छन् । उनको आफ्नै शैली र प्रवृत्तिले पनि वक्रपुराण शीर्षक सार्थक रहेको बुझ्न सकिन्छ । उनले ज्ञानगुनका धेरै कुरा पनि अध्ययन गरेका छन्, त्यसले पनि उनका निबन्धहरू ज्ञानप्रद र शिक्षाप्रद बन्न पुगेका छन् । उनको शैलीमा कथन वैचित्र्य पनि रहेको छ । जसले निबन्धलाई मिठासयुक्त तुल्याएका छन् । हास्यव्यङ्ग्य रचनाका क्रममा उनले विभिन्न पौराणिक प्रसंगहरूको उपयोग गरेका छन्, त्यस्तै व्यावहारिक प्रसंगहरूको पनि उपयोग गरेका छन् । जसले रचनामा आख्यानको स्वाद पनि प्रदान गरेका छन् । विषयवस्तुको प्रतिपादन र कथनको तारतम्य मिलाउन पनि रचनाकार खप्पिस देखिन्छन् । जति पढ्यो, कति मिलाएर कथ्न सकेको भन्ने महसूस हुन्छ ।

वक्रपुराणमा जम्मा उन्नाइस रचनाहरू संग्रहित छन् । सबै समान आयतन र उत्कृष्ट स्तरका छन् । सबै निबन्धमा कार्टूनिष्टको चित्रकलाले थप आकर्षण थपेको छ । नेपाली हास्यव्यङ्ग्यमा भैरव अर्याल, केशवराज पिंडाली, रामकुमार पाँडे, श्रीधर खनाल, रुद्र खरेल, चोलेश्वर शर्मा, मुकुन्द आचार्य, लक्ष्मण गाम्नागेहरू आ-आफ्नै शैली, विशेषता र लेखन प्रवृत्तिले ख्यातिप्राप्त रचनाकार अग्रपंक्तिमा देखिन्छन् । आफ्ना रचनाको शक्ति सामर्थ्यले चापागाईं पनि त्यही पंक्तिमा उभिन समर्थ भएका देखिन्छन् । उनका सबै निबन्ध मनोयोगले पढेर आनन्द लिने प्रकृतिका छन् । रचना विश्लेषणका क्रममा रचनाकारले यति मसिना प्रसंग पनि उधृत गरेका छन् कि तिनले हामीलाई आनन्द र चकित दुवै पार्छन् ।

जस्तै नमूनाको रूपमा ‘माइत गएकी छोरी घर गएको याममा ज्वाईंको हिंडाईको पनि विश्लेष्ण गरेका छन् ससुरालीले'(पृष्ठ ४२), यस्ता मसिना र मिहिन प्रसंग आफ्ना रचनाका तारतम्यमा फिट गरेर चापागाईंले कलात्मक चतुर्यांईको निकै प्रदर्शन गरेका छन् । हनुमानको भक्तको हलो गहिरो हिलोमा गाडिएर अड्किएको थियो, त्यसलाई कसरी निकाल्ने भन्ने भक्तको चिन्ता थियो । भक्तले जति पुकार गर्दा पनि हनुमान साथ दिन आएनन् । भक्त आफैं तयार भएर हलो तान्न थाल्यो, त्यही बेला आएर साथ दिए । अहिले म आफैले प्रयास गरेपछि हजूर किन आउनु पर्यो भन्ने भक्तको प्रश्नमा हनुमानले जवाफ दिन्छन्-जुन अत्यन्तै प्रेरणाप्रद र ज्ञानप्रद भनाई छ । उनी भन्छन् – कर्ता स्वयंले प्रयास नगरेसम्म भाग्य र भगवान आउन नै मिल्दैन । यस्ता कथनहरू कृतिभरी यथेष्ट छन्, जसले पाठकलाई आनन्द र ज्ञान दुवै प्रदान गर्दछन् । एकपटक न्यूटनलाई पत्रकारले सोधेछन् कि तपाईं र अरू मान्छेमा के फरक छ ?, यसमा न्यूटनले जवाफ दिएछन्- “म एउटा काम नसकी अर्को समाउदिन, त्यसैकारण म वैज्ञानिक र अरू सामान्य (पृष्ठ ४९) । शिक्षाप्रद कथन पनि कृतिभरी यथेष्ट छन् । एक नमूना – “अरूलाई नचिन्ने मूर्ख, आफूलाई नचिन्ने महामूर्ख, आफू र अरू दुवैलाई नचिन्ने पटमूर्ख (पृष्ठ५२)” ।

यी सारा निबन्धहरूको रचनाकाल पनि धेरै अवधिको छैन । विक्रमसंवत २०७९ देखि २०८२ सम्म तीन-चार बर्षे अवधिका यी निबन्ध यति उत्कृष्ट स्तरमा निर्मित छन्, त्यसले रचनाकारको प्रतिभा, सीप, सामर्थ्य र जाँगरलाई अब्बल दर्जामा प्रमाणित गर्दछन् । रचनाकारले रचनात्मक कथ्यहरूको पुष्टि गर्न उखानहरूको पनि पर्याप्त प्रयोग गरेका छन् । जस्तै: दिन कटनी उदरस्तको झटनी, जैशीको छोरी राँड बैद्यको गलगाँड, कुन्ड कुन्ड पानी, मुण्ड मुण्ड बुद्धि जस्ता यथेष्ट प्रयोग गरेका छन् । त्यस्तै अरू उखानहरू- अर्थ न बर्थ गोविन्द गाई, टाउको दुखेको औषधि नाइटामा लाइ, ठाउँ न ठहर बुढीको रहर, माग्नेलाई तातो भात, उठ्नेको पाडी सुत्नेको राँगो, रोटी चिल्ला मीठा कुरा खस्रा मीठा, न रहे बाँस न रहे बाँसुरी, विना शब्द कुकुर भुक्तैन मुलाको फेदमा हाती लुक्दैन । आगो ताप्नु मुँढाको कुरा सुन्नु बुढाको । यसै क्रममा उनले ‘उखान कि पद्यलय’ भन्ने निबन्ध शीर्षक नै प्रस्तुत गरेका छन् जसले पाठकको मगज तिखार्ने काम गर्छ । गफको बान्कीमा उनले उखानटुक्काको अधिक प्रयोग गरेका छन् ।

कतै प्रवृत्तिको तुलनात्मक अध्ययन पनि गरेका छन् । जस्तै इतिवृत्तमा पशु प्रवृत्ति र मानव चरित्रबिच तुलनात्मक अध्ययन गरिएको छ । हास्यव्यङ्ग्यकार भनेपछि समाजका विकृतिमाथि नै प्रहार गर्दछन् र तिनले समाजका दुरावस्था र राजनीतिक दुष्प्रवृत्तिप्रति अधिक आक्रमण गर्दछन् । यस वक्रपुराणमा पनि त्यही प्रवृत्ति देखापरेका छन् । भूमिकाकार डा. गोविन्दराज भट्टराईले यिनका निबन्धहरूको गहिरो अध्ययन गरेर भाँती पुर्याएर रचिएका गम्भीर सिर्जना मान्दै उर्वरकल्पना, तार्किक शैली र सिर्जनाको अविरल प्रवाह भएको रचना स्वीकारेका छन् । भूमिकाकारको जुँगेकाजीसँगको संवार्ता एक दामी कोसेलीको चर्चाले निकै घतलाग्दो स्थिति पैदा गरेको छ । एक त अब्बल दर्जाका निबन्ध, त्यसमाथिको यो घतलाग्दो भूमिकाले कृतिलाई गुरुत्व र गरिमायुक्त तुल्याएको छ ।

त्यस्तै अर्का भूमिकाकार मुकुन्द आचार्यले हास्य र व्यङ्ग्य दुवै मूलतत्त्व मिसाएर सिप सामर्थ्य प्रस्तुत गर्ने उर्जावान व्यक्ति ठानेका छन् । त्यस्तै हास्यव्यङ्ग्य अभियन्ता नरनाथ लुइँटेलका दृष्टिमा वक्र अभिव्यंजनाका निम्ति छोटाछरिता मिष्ठवाक्यको प्रयोग गर्दै कथात्मक टिपोट र लघु सन्दर्भहरूको उपयोग गर्दै हाँसोको लेप लगाएर खाँदिएको योग्य रचना प्रस्तुत गर्ने शक्तिशाली श्रष्टा चापागाईं हुन् । एक वरिष्ट समालोचक, अर्का हास्यव्यङ्ग्यका मर्मज्ञ र अर्का हास्यव्यङ्ग्यका अभियन्ता तीनैजनाले यसका उचाई र गरिमाका आयामका स्तर निर्धारण गरिसकेपछि यो पंक्तिकारले पनि चापागाईंको यस कृतिलाई उच्च दर्जाको हास्यव्यङ्ग्यको रूपमा महसूस गरिएको छ ।

यसरी हास्यव्यङ्ग्यकार चापागाईंले भैरव अर्यालको जयभूँडीबाट सृजनात्मक प्रेरणा पाएर यसै क्षेत्रको साधनामा निमग्न भई बुर्कुसीदेखि वक्रपुराणसम्मको यात्रामा सफलताको शिखर आरोहण गर्न सकेको मान्न सकिन्छ । उनले आफ्ना रचनामा भनेका छन्– कसैलाई शैली र प्रस्तुतीले, कसैलाई विषयवस्तुले गज्जवले समाएको पाइन्छ तर उनलाई हास्यव्यङ्ग्य चेतनामा भाँति भाँतिका तत्त्वहरूले निबन्धहरूलाई निकै उर्वर बनाएको देखिन्छ । उनले कविता र निबन्ध दुवैमा कलम चलाए पनि कविता भन्दा निबन्धमा नै सफलता हासिल गरेको समीक्षकहरू बताउँछन् ।

अन्त्यमा, वक्रपुराण समग्रमा गुण, गरिमायुक्त, ज्ञानप्रद र शिक्षाप्रद निबन्ध हो भन्ने ठम्याई सहित यसका लेखक गुरुत्तर रचनाका धनी श्रष्टा देवीप्रसाद चापागाईं र फित्कौली अनलाइन दुवैप्रति हार्दिक बधाई ज्ञापन गर्दै यस लेखनीलाई बिट मार्दछु ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
पुरेत र जजमान

पुरेत र जजमान

प्रा. कपिल अज्ञात
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
नीच प्रवृत्ति चित्रण

नीच प्रवृत्ति चित्रण

प्रा. कपिल अज्ञात
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
फटा नीति सकियो

फटा नीति सकियो

वलदेव थापा
0
Would love your thoughts, please comment.x
()
x