फित्काैली डटकमजनसांस्कृतिक महासङ्घ नेपालद्वारा ६१ जना स्रष्टाहरू सम्मानित
सामाजिक योगदानमार्फत् राष्ट्र र समाजका लागि उल्लेखनीय भूमिका निर्वाह गरेका ६१ जना स्रष्टा तथा कलाकारलाई विभिन्न विधामा सम्मान गरेको हो ।
काठमाडौँ । जनसांस्कृतिक महासङ्घ, नेपालद्वारा प्रगतिशील साहित्य, संस्कृति, कला र सङ्गीतका क्षेत्रमा विशेष योगदान गरेका अग्रज तथा क्रियाशील प्रगतिशील लेखक, साहित्यकार र कलाकारहरू सम्मानित भएका छन् ।
साहित्य, कला, सङ्गीत, चलचित्र, नाटक, जनसांस्कृतिक आन्दोलन तथा सामाजिक योगदानमार्फत् राष्ट्र र समाजका लागि उल्लेखनीय भूमिका निर्वाह गरेका ६१ जना स्रष्टा तथा कलाकारलाई विभिन्न विधामा सम्मान गरेको हो । इन्द्रेणी सांस्कृतिक विकास केन्द्र, बुद्धनगरमा आयोजित सम्मान कार्यक्रमको सहआयोजकमा नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठान, रामेछाप तथा इन्द्रेणी सांस्कृतिक विकास केन्द्र रहेका थिए।
जनवादी कला क्षेत्रका अग्रज स्रष्टाहरू जेबी टुहुरे, खुशीराम पाख्रिन र प्रमोद हमाललाई मरणोपरान्त स्रष्टा सम्मान अर्पण गरिएको थियो भने सहिद कृष्ण सेन ‘इच्छुक’ र चुनु गुरुङलाई प्रगतिशील बलिदान स्रष्टा सम्मान अर्पण गरिएको थियो।
वरिष्ठ प्रगतिशील स्रष्टा सम्मानबाट निनु चापागाई, मेघराज शर्मा ‘मन्जुल’, रामकृष्ण दुवाल, श्याम तमोट र जीवन शर्मालाई वरिष्ठ प्रगतिशील स्रष्टा सम्मान- २०८३ बाट सम्मान गरिएको थियो।
हाम्रो अदम्य क्रान्ति गीतका लागि गीतकार रामचन्द्र भट्टराई, सङ्गीतकार माधव प्रधान, प्यारो जलजला गीतका लागि गायक ध्रुव ज्ञवाली, सहिदहरू हाँसिरहेको गीतका लागि सीता आचार्य, सङ्गीतकार चन्दु गोर्खाली, नाटककार भरत बर्बरिक, कवि स्वप्निल स्मृति, नृत्य निर्देशक शान्ति कठायत, कलाकार नारायण शर्मा, वाद्यवादक गेम थापा ‘जटिल’, हास्यकलाकार खड्गबहादुर पुन ‘खबपु’लाई प्रगतिशील स्रष्टा सम्मान प्रदान गरिएको थियो। साथै ,नवोदित गायक/गायिका दिपक राई वान्तवा, अनु शर्मा र रफेला मर्हजनलाई पनि प्रगतिशील स्रष्टा सम्मान-२०८३ बाट सम्मान गरिएको थियो।
लेखक तथा कवि अमर गिरी, चलचित्र बलिदानका निर्माता श्याम सापकोटा, शेखर अर्याल,इन्द्रेणी सांस्कृतिक समाज (इसास), गीति नाटक सिम्मा, उद्घोषक समष्टि बुढामगर, ललितकलाकर्मी नारदमणि हार्तम्छाली र चलचित्रकर्मी सुवास गजुरेललाई पनि प्रगतिशील स्रष्टा सम्मान-२०८३ बाट सम्मान गरिएको थियो।
देउडा गायक नन्दकृष्ण जोशी, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, मल्लके सुन्दर, गायक तथा सङ्गीतकार शम्भु राई, लोकगायक बद्री पङ्गेनी, पशुपति शर्मा, विष्णु खत्री, प्रकाश सपुत, हास्यकलाकार सुबोध गौतम, सङ्गीतकार बीबी अनुरागी, बुलु मुकारुङ, सुरेश अधिकारी, सन्तोष श्रेष्ठ, गजल गायक थानेश्वर गौतम, चलचित्र निर्देशक नवल खड्का, मनोज पण्डित, बाँसुरीवादक रत्न विक, आर्टिस्ट सुन्दर श्रेष्ठ, लेखक दिवाकर भण्डारी, गायक बैकुण्ठ महत, सङ्गीतकार राज सिग्देल, कवि राजभाइ ज:कमी, गायिका लोचन भट्टराई, निर्मला घिसिङ, भिडियो निर्देशक पूजा ठकुरी, गायक ऋषि अधिकारी, प्रस्तोता राम अविरल, भिडियो एडिटर विनोद बम र प्रगतिवादी लेखक भानु भण्डारीलाई जागरण स्रष्टा सम्मान-२०८३ बाट सम्मान गरिएको थियो।
यसैगरी,नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठानका संस्थापक रमेशबाबु श्रेष्ठको अध्यक्षतामा भएको प्रगतिशील स्रष्टा सम्मान कार्यक्रमको उद्देश्य र औचित्यका बारेमा जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय इन्चार्ज चिरन पुनले प्रगतिशील र व्यवसायी सांस्कृतिककर्मीहरू बिच सहकार्य र सदभावकायम रहनु आवश्यक छ।यस्ता कार्यक्रमहरूबाट दुरी कम हुने र प्रगतिशील गीत सङ्गीतको लोकप्रियता बढ्ने बताउनुभएको थियोे।सहादत अर्थात् बलिदान गरेका सांस्कृतिककर्मीहरूका बारेमा समेत हामीले स्मरण गर्नुको विकल्प छैन ।तसर्थ सांस्कृतिक क्षेत्रको विशिष्टतालाई समग्र सांस्कृतिक हिस्साको रूपमा लिनुपर्ने बताउनुभएको थियो ।
महासङ्घका केन्द्रीय संयोजक भीम कुमाखीले कार्यक्रमको लक्ष्य बारे चर्चा गर्दै अहिलेको सांस्कृतिक आन्दोलन विगतका क्रान्ति र परिवर्तनको उपलब्धि भएको बताएका थिए । सञ्चालन जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय कार्यालय सदस्य तथा प्राज्ञ द्वय कुश्मा महरा ‘प्रगति’, बखतबहादुर हमाल ‘सुवर्ण’ र कार्यालय सदस्य रमेश श्रेष्ठले गरेका थिए।
यस अवसरमा जनकलाकारहरू मोहित श्रेष्ठ, बिहानी विक, धनु ज्ञाङ्मी, कुश्मा महरा ‘प्रगति’, शारदा लिम्बु, केशरी घर्तीमगर ‘एलिना’ कृष्ण विक ‘आँसु’, लक्ष्मण पाख्रिन, देवी बस्नेत र दिपक राई वान्तवा, प्रकाश रन्का र प्रगति हिङमाङले गाउँ गाउँबाट उठ, सिमली छायामा बसी, टुटफूट र खण्डित कुरा नगर बोलका कालजयी गीतहरू प्रस्तुत गरेका थिए।
नृत्य शान्ति कठायत र लक्ष्मी तामाङले प्रस्तुत गरेका थिए भने कवि स्वप्निल स्मृतिले ‘१ मिनेट मौनधारण’ शीर्षकको कविता वाचन गरेका थिए। सम्मानित सष्ट्राहरूको तर्फबाट वरिष्ठ प्रगतिवादी लेखक निनु चापागाईले जनसांस्कृतिक महासङ्घ प्रगतिशील सांस्कृतिककर्मीहरूको महत्त्वपूर्ण सिबिर भएकाले यसको लक्ष्यमा बिचलित नरही अघि बढ्न सक्नुपर्ने बताउँदै आयोजक प्रति धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमको प्रायोजन मिलिजुली नौमती पञ्चेबाजा समूह, अग्रवाल सेक्युरिटिज नक्सालका सिइओ सुजन श्रेष्ठ, डल्लु आवासक्षेत्रस्थित टिम एक्सयलका सचिन्द्र चित्रकार, हाँडी बिरयानी तथा रैथाने भान्साका सञ्चालक पूजन नेपाल, होराइन स्पा एन्ड फेवा रोधी ठमेलका दिनेश लामाले गरेका थिए। कार्यक्रमको सुरुवातमा मिलिजुली नौमति पञ्चेबाजा समूहले आफ्नो प्रस्तुति देखाएको थियो।
०००
बेनामे बानियाकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest




































