कलानिधि दाहालकृष्ण तटस्थ हो गङ्गा !!
उसलाई राजनीतिको पगरी नगुताऊ कसैले न ऊ पुत्रमोहको धृतराष्ट्र बन्न सक्छ कृष्ण सफा मन हो बन तिमी! आफैँ कृष्ण हौ अन्यायको निर्मूलक न्यायको प्रतिस्थापक !!

कलानिधि दाहाल :
मिचाहाको दुश्मन
छद्मभेषको यमराज
अनाधिकार चेष्टाको बरफ
छली ओठको मुक्का
निर्भीक स्वयम्भू
निस्कलङ्क सगरमाथाको
टुप्पोबाट छङ्छङाएको
तटस्थ भागीरथी
गङ्गा हो कृष्ण!
सियोको टुप्पो
अधिकार अर्कालाई नदिने
पाएसम्म आफैँ
छलेर
ठगेर
दुष्कर्मको हदै पार गरेर
सानको अभिमान भर्ने
ललाएर अदनालाई
फकाएर दीनहीनलाई
घरको जग उखेलेर
टहराको किलो भत्काएर
उन्मादका आँखा हेर्ने विरुध्दको
मुटु छेड्ने
तीखो तीर हो कृष्ण!
चोरेर
बटारेर
आँखाआँखाको सानमा
कौडा मन्त्रेर
दाँतका हाँसोले
काला ओठ
र अनुहार हल्लाउने
हात विरुध्को
तरवार हो कृष्ण !
अहङ्कारका खेतीमा
अपराधका फाली जोतेर
भाइ कनाउँदै
जुवाइ मुखबुझो लगाउँदै
बहिनीको चिरहरण
चम्केको कर्ण होस्
वा दुशासन
भीष्म होस्
वा द्रोणाचार्य
अस्वस्थामा नै
किन होस्
सर्वांशविनाशको
जड् जरो हो कृष्ण
देवता नठान कृष्णलाई
ऊ पुजिन सक्दैन
मूर्तिमा
आवारा न ठान कृष्णलाई
ऊ रहन सक्दैन
अन्यायको आसनमा
ऊ सपाट गङ्गा हो
जो फोहोर दबाएर सङ्लिन्छ
ऊ स्फटिक हो निस्कलङ्कको
जो कलङ्क नासेर
गङ्गा बहन्छ
लफङ्गा नठान कृष्णलाई
जो राधा तिरष्कार गरेर
गोपिनी फेर्छ दिनहुँ
त्यो पापी मान्छे पनि
नठान कृष्णलाई
जो पत्नी विदेश पठाएर
विलास उठ्छ
परपत्नी व्यायाममा
कृष्ण कुनै धर्मको
मागी खाने धार होइन
बोलबम पनि नबोल
अटाउन्न पहेँलो झोलीको
मागन्ते अनुहारमा
उसलाई राजनीतिको
पगरी नगुताऊ कसैले
न ऊ पुत्रमोहको
धृतराष्ट्र बन्न सक्छ
कृष्ण सफा मन हो
बन तिमी!
आफैँ कृष्ण हौ
अन्यायको निर्मूलक
न्यायको प्रतिस्थापक !!
०००
कलेकुटी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































