सुरेशकुमार भट्टखरानी केमा लगाम बा ?
‘हैन सबै घर जाने हुन् भने माने कसौंडीमा लगाऊ छोरी ।” यसाे भन्नुहुँदा डाँडाको घर गाउँ नै थर्कने गरी हाँसो भो । सबै मरिमरि हाँस्तै घरतिर लागे।

सुरेशकुमार भट्ट :
गोरखाका गाउँघरमा एकताका अति रमाईला हँसिला गफिला पाकापुस्ता थिए। उनीहरू कतिपय समकालीन र कतिपय पुराना पुस्ताका नाम चलेका पनि थिए। तिनै मध्येका घुन्चोकका चील पनेरू, लाँग्दीका …सिलवाल, देउरालीका लोकबहादुर, बिरिन्चोकका जनकबहादुर, गोरखा बजारका ….गणेश, ताकुका मुसेथापा, मशीलको चामे दमाई, भ्यागुते देवकोटा, अपुनका महावीर गुरूंङ यी रमाईला मान्छे थिए।
यसैगरी नामचलेका पुराना ठूला ठालुमा च्याङ्ग्लीका गोर्खे कडेल, गाईखुरका हिम दत्त, मिम दत्त पन्त, लिगलिगका हरिभक्त देवकोटा, खोप्लाङका व्यापारी रघुवीर,चामनारायण श्रेष्ठ, सोमध्वज, मक्करध्वज पाँडे, जौवारी हटियाका मेहरसिंह श्रेष्ठ, धन्सारका प्रिथे तिर्थे ढकाल, खरीबोट भरस्टारका जगदिश्वर, खगेश्वर धिताल, घुन्चोकका नन्दे बैदार, स्वाँराका क्षेत्र नारायण श्रेष्ठ,ओखले कुविण्डेका (बल्दप) हरिप्रसाद भट्ट, तान्द्राङ॰का नन्दुपाध्य खनाल, मसेलका हरिलाल(जगटे)भट्ट, (जबरे) शिवप्रसाद देवकोटा, पोलाहा घले बराम, बगुवाका भिमराज वन्त राते भट्ट, अश्राङका गर्भेपाँडे,ताप्लेका गुमाने मग्राती, बोर्लाङका ..थापा, घैरूंङका चन्द्रदास श्रेष्ठ, गप्टारका भुवानीप्रसाद पन्त, फुजेलका पुष्करराज पन्त, नाम्जुङका वीरबहादुर थापा । यसैगरी धेरै गोरखालीहरू छन् केही अघिपछिका तिनका नाम क्रमश.. प्रसङ्गमा ल्याउनु नै पर्ला तर अैले यहाँ लाँङ्दीका साह्रै रमाइला सिलवाल बाका कुराको पयुँ लाउँ कि भनेर अरू स्थगित गरेँ ल।
लाँङ्दी’शब्द मगर भाषाबाट आएको भन्ने लोकबोलीमा सुनिन्छ। मगर भाषामा लाङ भनेको ढुंगा दी (डी)भनेको पानी भएकोले ढुंगापानी / ढुंगे पानी / पहरा पानी भन्ने लोकको भनाइ छ। पानी जत्तिकै प्रयाप्त ढुंगा पनि भएकोले नाम अनुसारको ठाम भन्नै पर्छ। त्यस गाउँमा पानीको कुनै कमि छैन, छेलोखेलो पानी छ। सबै जसो खेत छ। केही पाखाबारी आवश्यक हुनाले मात्र पाखो राखेर बाँकी खेत बनाई रोपेको देखिन्छ। बिहान सूर्योदय भएदेखिनै घाम लाग्ने उत्तर पूर्व फर्किएको पाखा हुनाले पहारिलो, रसिलो र रमाइलो छ लाङ्दी गाउँ। उचाइको हिसावले लेककाे काख नै हो लाङ्दी। जति रमाइलो त्यो गाउँ छ तेत्तिकै रमाइला त्यहाँका मानिसहरू छन्। तिनै रमाइला रौसिला गफिला मध्येका शिरा हुन् सिलवाल बा। उनले कुराको बिट मार्न पर्याे भने एउटा हँसिलो झट्टा हानेर मात्र बिट मार्ने उनको बानी नै रहेछ।
लाङ्दी गाउँका उहाँका समकालीन रोहिणीदेव भट्ट (निर्वासित राजनीतिज्ञ), छिमेकी गाउँ तल्लो गोहोरेका बुध्दिसागर ढकाल (निर्वासित) राजनीतिज्ञ,पाँडे गोहोरेका पाँडे बन्धुहरू समेत निर्वासित भएका थिए। ती तिनैवटा गाउँ एकताका कांग्रेसमय थियो। त्यसैले त्यहाँका बयस्क, युवा, वृध्द सबै सबैनै राजा महेन्द्रको नीतिको टड्कारो निशानीमा पर्न पुगेका थिए। कोही पनि सुरक्षित घरबारमा लामो समय बस्न पाएका थिएनन्। केहि राहत भएपछि लामो समयपछि भूमिगत, निर्वासित समेत गाउँमा फाट्टफुट्ट देखिन थालेका थिए। शुन्य गाउँ अलिअलि रमाइलोसँग सास फेर्ने अवस्थामा आउँदै थियो।
हिउँदे फुर्सदको बेला थियो। खेतीपाती थान्कोमुन्को गरिसकेकाले यसो खुल्ला पाहारमा बसेर भेटघाट गफगाफ दुखसुखका कुरा बिहाबारी घुमफिर तीर्थब्रत आदिका कुरा गरेर गफिने कुरा गाउँघरको विशेषता नै हो। यही क्रममा गाउँका खुल्ला ॲागन मन र जन भएका घरमा नै यस्ता भेटघाटका कचहरी हुने गर्थे। आज तेस्तै जमघट सिलवाल बा कहाँ भएको थियो। २०/३० जना जम्मा भएर बस्न नपाएको पनि धेरै समय भैसकेको थियो पुलिस र सरकारी निगरानीले गर्दा। आज धेरैले धेरैथरी कुराकानी भने-अनि बातचित गर्ने अवसर पनि पाए।
गफिदै जाँदा बिहानको भात खाने बेला पनि टरिसकेको थियो। कतिपयलाई घरबाट भातखाने खबर आइरहेको थियो। यसै बिचमा सिलवाल बाकी कान्छी छोरीले बाको छेउमा आएर भनिन् ”खरानी के मा लगाम बा ?” सिलवाल बाले भन्नु भो- “यी सबै यहीं बसे भने’ यो मेरो निधारमा लगाऊ,” (बाले चोर औँलाले निधार देखाऊनु भो ।) त्यसपछि त हाँसोको फोहरा छुटिहाल्यो। मुटु मिचिमिची हाँस्न थाले।
बाले फेरि भन्नु भो ‘ हैन सबै घर जाने हुन् भने माने कसौंडीमा लगाऊ छोरी ।” यसाे भन्नुहुँदा डाँडाको घर गाउँ नै थर्कने गरी हाँसो भो । सबै मरिमरि हाँस्तै घरतिर लागे। थपलिया बाले भने यो दुनिया हँसाउन पनि सिप लिएरै जन्मनु पर्ने रैछ।खोई हाम्लाई तेस्तो भन्न आको।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































