शेषराज भट्टराईपिटे पनि आमै प्यारो, पोले पनि घामै प्यारो
मट्याङ्ग्राले डसेर हो कि जननीको तीर पीर बनेर मगजमा पसेर हो प्यारो निद्राले अरेबियन घोडाले भन्दा पनि छिटो टाप कस्यो । निद्रा, तन्द्रा, चयातचुत भयो ।

शेषराज भट्टराई :
आमाले सुम्ल्याएको सुम्ला अझै आजै जस्तो ताजै भएपनि र घामले डढेको अधर बदर नभएपनि एउटा नेपाली उखान सर्वथा मलाई जायज लाग्छ “पिटे पनि आमै प्यारो पोले पनि घामै प्यारो” । पिटे पनि आमै प्यारो अर्थात् आमा नै प्यारो भनिए तापनि खास भावार्थ चाहिँ आफन्तको गाली, पिटाइ,हप्काइ,दप्काइ, थुरे थर्काए वा सुम्ल्याए पनि ती प्राणीले मायाले काखी पनि च्याप्छन् वा हग गर्छन् भन्ने पनि हो । हग लगभग अहिले पृथ्वीमा व्याप्त छ । वास्तवमा मज्जाले हग गर्ने भनेकै मायाले हगेको सोहोर्नेले हो । सानामा आमाले हग गर्नु हुन्छ भने छिप्पिएपछि हग गर्ने जोडी आफै खोज्छन् । अरूले त गन्ध पनि मन पराउँदैनन् भने हगेको सोहोर्ने र हग गर्ने त कल्पनै गर्नु पर्दैन । अन्य कसैले हग गरिहाल्यो भने त्यो नक्कली हग भनेर जाने हुन्छ ।
मानव प्राणीको ढिलो विकास हुन्छ । पशुहरू जन्मिएर पुरा आयु बाँचेर मरिसक्दा पनि मान्छेको बुद्धिको मुल फुटेको हुँदैन । बालक छँदा के नर्गे के नगर्ने पत्तो हुँदैन । मोटो घाटो भए अरूलाई सुम्ल्याइन्छ र दाउरे, ख्याउरे, खिनाउरे, सुसुपाल, फुकीढल भए ज्यानभरी टन्न साथीका या सरका सुम्ला लिएर घर आइन्छ । ठूलो भएपछि आमाले सुम्ल्याएका सुम्ला सुम्सुम्याउँदै खुसी हुनुुपर्छ । ऊ बेलामा आमाले भकुर्दा थुर्दा सँगसँगै जाइ लाग्ने र आमाले हारेको भावमा पछि हट्दा खित्का छोडेर हाँसेर जित प्रकट गर्ने रित पुस्तानतरण हुँदै भावी सन्ततिको छाँटकाँट पनि त्यस्तै छ । तर जुनसुकै मामलामा होस् बाबु आमाले सन्तानले जितेको हेर्न मन पराउँछन् । उमेर छिप्पिँदै गएपछि आफ्नो साँढे स्वभावलाई धिक्कार्दै धारेहात लगाउँदा पनि आफैँलाई ऐठन हुन छोड्दैन ।
आज आमा साथमा नहुँदा आमाले सुम्ल्याएको त सन्तानको ब्रह्म कर्म, तिखार्नलाई पो रहेछ । मेरो कर्म गराइको उकाली ओरालीमा कैयौँ आमालाई जित्ने गरी पराइले पछाडिबाट सुम्ल्याइ रहेका छन् । पराइका हजार सुम्ल्याइका सामु मामुको सुम्ल्याइ प्राय शून्य साबित हुँदो रहेछ । कुटपिट, हप्काइ दप्काइ गरेर आमाले सन्तानलाई बिगारेको होइन तिखारेको हो । आज पराइका पाराले हग पनि गर्दैनन् र हगेको पनि सोहोर्दैनन् भने आमा ती दुबैका लागि तयारी, राजीखुसी भनेपछि आमाको करुणाको प्रताप कस्तो होला ? हामीले जे जस्तो सोचे पनि बाबु आमाको मन छोराछोरीमाथि छोराछोरीको मन चाहिँ मरेको पाहा झै ढुङ्गामुढामाथि नै घाम तापी रहेको हुने रहेछ ।
जति थचारे पछारे सुम्ल्याए पनि सबैलाई आमा प्यारो लाग्छ । त्यसै गरी चर्को घाम लागेर एक दिन पोले पनि अर्को दिन त्यही घाम नभइ हुँदैन । घामको काम वर्णन गरी साध्यै छैन । पृथ्वीमा घाम नपरेको ठाउँ ओसिएको हुन्छ । त्यहाँ खेतीपाती पनि राम्रो हुँदैन र त्यस्तो ठाउँमा प्रकृति पनि बेचयन हुन्छ । त्यसैगरी आमाले नसुम्ल्याएको सन्तान पनि काम लाग्दैन । त्यसले सङ्घर्ष गरेर बहादुरी र आफ्नो चुरीफुरी देखाउन सक्दैन । आमाको जस्तो दया, माया र करुणा अरूले ओकल्न सक्दैनन् । आमाको राग र तापले सन्तानको आत्मबल उच्च हुन्छ र आचीको मुला बढेझै हलक्क हल्किन्छ । त्यसैले ध्यान, मन, मुख आमातिरै ढल्किन्छ । जन्मिएको धरालाई पनि आमा मानिन्छ । त्यसैले जहाँ गए पनि जे भएपनि आमालाई बिर्सन सकिँदैन । आमा गुनका तामा त प्रकृतिकै नियम हो । त्यसैले होला कवि कृष्णप्रसाद भट्टराईले आमाको महिमा गान गाउँदै कविता लेखे :
संसार मै छ सबै चिज खोजे मिल्छ घरीघरी ।
तर जन्मदिने आमा पाइँदैन कसैगरी ॥
सबै तत्त्वको आमा हुन्छ जननी हुन्छ । जननीले सन्तान दर सन्तानको वृद्धि र सत्पथ गमनका लागि मरिमेट्छन् । उज्जल भविष्यका लागि कुस्ती खेलेर र आवश्यक परे सुम्ल्याउने धर्म निर्वाह पनि गर्छन् । साहित्य विधाका पनि जननी र तिनका नेता हुन्छन् । राजनीतिक दलका जननी हुन्छन् । हामी उपासकहरु राजनीतिक भाषामा भन्नुपर्दा झोले, धुपौरे, भरौटे, चम्चे, दलका दास हुँदाहुँदै जननी पहिचान गरेर नै पुच्छर बनेर हिँड्न रुचाउँछौँ । म पनि जानी नजानी, ज्ञात अज्ञात जननीको पुच्छर समातेर बैतरणी नदी तर्ने ताउर माउरमा तालमा बेतालसँग तैरिरहेको छु । जननी असाध्यै प्यारो लाग्छ । बाल्मिकी रामायणमा भारद्वाज ऋषिले रामलाई सम्बोधन गर्दै भनेका छन्–
मित्राणि धन धान्यानि पूजानां सम्मतानिव ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।
यसको अर्थ धनधान्यादिको संसारमा उच्च सम्मान हुन्छ ता पनि आमा र मातृभूमिको स्थान स्वर्ग भन्दा उच्च छ । यस्तै आसयले भरिएको वाणी रामले लक्ष्मणलाई पनि भनेका थिए ।
२०७९ असोज १७ गते नवदुर्गाको अष्टमीका राती कालरात्रिका राती दश बज्नै लागेको हुँदो हो । जाडो थियो ता पनि लुगासुगा फुकाल फुकुल पारेर सिरकभित्र पसिसकेको थिए । मोबाइलको म्यासेन्जरमा म्यासेज प्रकट भयो । कैयौँ साथी कुसाथी र आमाको सुम्लो पचाउनेले म्यासेजको कुम्लो कसो नपचाउला भनेर म्यासेज खोलेर हेरेको त बाफ रे ! बेमौसममा मेरो थाप्लामा चट्याङ पर्यो । मेरो दशैँको छुट्टी पनि छुट्टीछाट्टी भयो ।
आधुनिक नयाँ हास्यव्यङ्ग्य ठप्पै भयो नि । के हो सन्नीपातले छोयो कि क्या हो ? थैलीको तुजुकको गुठुरी पनि सकिन लाग्यो के छ विचार ?
मैले जाडो र डरले कम्पायमानका साथ धीमा स्वरमा जवाफ फर्काएँ । काममा व्यस्त भएर हो । ऋणको घिनले छोडेन त्यसैले दुई पैसा बढी आम्दानी गर्न पाए हुन्थ्यो कि भनेर रातदिन पोते उन्नमा नै व्यस्त र मस्त छु म त भने । म्यासेजका मट्याङ्ग्रा जवाफ नसकिँदै निरन्तर बर्सिए ।
भैरव अर्यालका बारेमा पच्चिसवटा लेख जन्मिए अन्मिए पनि तर तपाईंले त्यसलाई हेर्नु, केर्नु र टेर्नु भएन किन ? वासुदेवका बारेमा पनि चुप्प बसेर हास्यव्यङ्ग्यलाई कसरी चुप्पा गर्नु हुन्छ ? नयाँ नयाँ हड्डी विनाका व्यङ्ग्यकारका लेख पनि हेर्नु भएन किन ? तपाईंको खुट्टा दरो, वचन खरो, तर लेख्ने धनु लुलो भयो भनु भने जननी ठूलो भयो भन्नु होला, के छ फेर्ने हैन त चोला । व्यापारी भएर घाटा नाफाको हिसाबै नजानेपछि के हुन्छ ? चौबिस घण्टामा ८ घण्टा लम्पसार परे पनि, दश घण्टा पोतेमा झुण्डिए पनि बाँकी रहेको ६ घण्टामा दुई घण्टा फित्कौलीलाई नदिने ? सहँनुको पनि सीमा हुन्छ अब म सहन्नँ, अरूसँग कहन्न तर मलाई व्यङ्ग्य चाहियो ।
फित्कौलीका मट्याङ्ग्रै मट्याङ्ग्राले मेरो देह डगमगायो । खुइलेको तालु पेन्टी र पेटी भेष्टमा पल्याँटी कसेर मट्याङ्ग्राको सामाना गर्न थाले । चिट चिट पसिनासँगै आत्मा उद्वेलित भएर आयो । निन्द्राले लम्पसार पार्यो तै पनि मट्याङ्ग्राले आमाले सुम्ल्याएझै सुम्ल्याउन छोडेन ।
ठ्याक्कै छ महिना भयो नयाँ व्यङ्ग्य नदिएको । खाली बासी तासी व्यङ्ग्यले टालटुल पार्ने , कस्तो कन्जुस गरेको ? नदिए नदिनु । अठार घण्टा खटेर डटेर भएपनि म फित्कौलीलाई मर्न दिन्न । तपाईंले बैतर्नी गर्नुहोला र म स्वर्ग जाउलाको आस हरायो । महिनाको बीस पच्चिस हजार खर्चिएर भएपनि पित्कौलीको वंश वृद्धि गर्छु गर्छु । म कहाँ तल झर्छु, म किन त्यसै मर्छु ।
नानाभाँतिका चोसा, टुँडा निस्किएका धारिला मट्याङ्ग्राले म मर्माहत भएँ । रातैभरि तिनै मट्याङ्ग्राको विस्तरामा मट्याङ्ग्राकै सिरानी लगाएर मट्याङ्ग्राकै ओड्ने ओच्छ्याएर सुते जस्तो भयो । मट्याङ्ग्राले डसेर हो कि जननीको तीर पीर बनेर मगजमा पसेर हो प्यारो निद्राले अरेबियन घोडाले भन्दा पनि छिटो टाप कस्यो । निद्रा, तन्द्रा, चयातचुत भयो । निद्रा जम्मा गरेर सपना पेश गरौँला र घुरौँलाको अवस्था रहेन । तै पनि बुढो करङ ओल्टोकोल्टो फर्काउँदा फर्काउँदै निन्द्रै त नभनौ बेहोस भएछु । बिहान श्रीमतीले कान बटारेर होस खुलाएपछि जे होस् मेरो दिन चर्या सुरु भयो । चन्दनखोरीमा श्रीखण्ड घोटेर ललाट पोतेपछि फेरि डराउँदै मट्याङ्ग्राको मेसेन्जर खोलेर हेरेँ लेखिएको थियो “कचकच, बकबक, गनगन, ठोकठाक, टोकटाक, धेरै गरेकामा माफ पाउँ ।” अनि मेरो खोपडीमा त्यही उखान झन झन ताजा र राजा बनेर आयो । “पिटे पनि आमै प्यारो, पोले पनि घामै प्यारो ।”
०००
शिवशक्ति मार्ग, फूलबारी–११, पोखरा, कास्की
फोन ९८४६५६६७८६
Subscribe
Login
0 Comments
Oldest







































