बालकृष्ण खनालपुर्खाको भनाइ र हरिभक्तको कथा
जसले न राम्रोसँग पढ्यो लेख्यो नत मैले भनेको कुनै कुरा मान्यो उदण्ड र गुण्डा गर्दीको भरमा यो देशको शासन व्यवस्थाको हिस्सेदार भएर मञ्चमा आसिन छ र सबैको सलामी पाइरहेको छ ।

बालकृष्ण खनाल:
हरिभकक्तका तिनभाइ छोरा जतिजति हुर्कँदै थिए त्यति त्यति उनले मीठा सपाना देख्न थाले । मेलापातबाट थाकेर लखतरान भएर घरपुग्दा । बर्सौटे एकएक वर्षको फरकमा जनमेका ति आफ्ना तिन दाजुभाइ छोराहरूका मामाले लाहोरबाट ल्याइदिएको एउटा खेलौना । एकआपसमा खोसाखोस गर्दै झगडिएर रुवाबासी गरेको देखेर । सिरको टोपि झीकेर पसिनाले भिझेको अनुहार र नाङगा पाखुरा पुछ्दै सुइअ लामो सुस्केरा हाल्दै । आफ्नी अर्धाङगिनीतिर हेरेर मुसुक्क मुस्कुराउँदै अब अरु दुइवटा छोरा पाउनपर्छ बुढी अनि पाण्डव भने पनि फरक पर्दैन । त्यसपछि हाम्रा दुःखका दिन हराउँछन् ।
तिमी कौसीमा बसेर घाम ताप्दै कपालकोरौली । म तिम्रो नजिकै बसेर चस्मा मिलाउँदै स्वस्थानी व्रतकथा र कृष्ण चरित्रका कहानी सुनाउँला । अनि बुढीले जङ्गिँदै भनीछन् भो पर्दैन अरु पाउन यिनैलाई राम्रो सङग हुर्काउन सके कति हो कति । आफूले पाएर हुर्काउन परे पो त थाहा हुन्छ । बिहान उठ्यो अर्काले बनाएको खाना खायो काममा गयो अनि बेलुका आयो यो सृष्टिनै मैले मात्रै धानेको छु जस्तो गर्यो ।
दुइचारदिन मात्रै घरमा बसेर यिनको हेरविचार गरेर मैले गर्ने काम गर्नुहोस् त । मैले बाहिर हजुरले गर्ने काम गर्छु अनि बुझ्नु हुनेछ भनिछन् । हरिभक्त ट्वाल्ल पारेर चुपचाप बसेर बुढीको अनुहार हेरिरहेका रहेछन् । बुढी थनथनाउँदै भान्सातिर लागिछन् । हेर्दाहेर्दै उसका ३ वटै छोरा स्कुल जाने भएछन् अनि उसले सरसतीको मुर्ती बानाएर श्री पन्चमीको दिन घरैमा थपना गरी पूजापाठ गरेर । सरस्वतीसँग आशिष मागेर स्कुल लगेर नाम लेखाएर शिक्षक शिक्षिकाको जिम्मा लगाएर घर आएर बुढीसँग भनेछ ।
हेर्दै जा बुढी हाम्रा छोरा टाँठा बाठा छन् अवश्य पढाइमा अवल निस्कने छन् । स्कुलका शिक्षक शिक्षिकाहरूले पानि ओहो हजुरका छोरा त त्रिरत्न नि पो रछन् कतिबाठाहुन भनेर दङग पर्दै थिए नि भनेछ । अनि बुढी मख्ख पर्दै मुसुक्क मुस्कुराउँदै भनिछन् । हजुर फर्कने बखत हामी पानि जान्छौ भनेर जिद्धी त गरेनन् ? के गर्थे रमाएका पो थिएत आफुहरू जस्तै धेरै साथीहरू भेटेर । बरू त्यो माइलो बदमासले अर्को बच्चाको कलम खोसिदिएछ मैले सम्झाएर उसको कलम फिर्ता गरिदिए ! त्यसो गर्न हुँदैन भनेर ।
यसरी उनीहरूका समय दिन महिना वर्ष बित्दै गए । कान्छो छोरा अक्षरसम्म चिन्न सक्ने भएर स्कुल जान नै छोडेछ बरू जोगी सन्याशी पण्डा पुरोहितहरूको सङ्गत गर्न पो लागेछ । उसलाई कसैगरी पनि स्कुल पठाउन सकेन छ हरिभक्तले माइलाले भने कैले जाने कैले नजाने गए पनि मन लगाएर नपढ्ने साथी भाइ खेल्ने समूह बनाउने हुलदङगा गर्ने । कसैबाट कुटिने कसैलाई कुट्ने खानेपिने ठेक्कापट्टामा च्याखे थाप्ने कमिसन खाने कृषकहरूको अनुदान मिलाइदिन्छु भन्ने आधा दिने आधा आफु खाने गुण्डागर्दी गर्ने गर्न लागेछ । एकदिन मुल्यवृद्धिको विरोधमा आन्दोलन हुँदैरहेछ उस्को माइलो पनि सरिक भएको रहेछ ।
त्यसै बखत आन्दोलनकारीहरूको भिडबाट छुटेको पत्थरले सुरक्षा कर्मीको कन्चेटमा लागेछ । अनि पुलिसले ऊ लगायत दर्जनौलाई गिरफ्तार गरेर लगेछ दोश्रो दिनसम्म अरु सबै चुटेछन् तर ऊ छुटेन छ । अनि हरिभक्त आफैँ गएर बिन्ती बिसाइ जमानत बसेर छुटाएछ र घर ल्याएर सम्झाउन लागेछ यसो नगर माइला हेरत दाजुको पढाइ कति अब्बल छ । प्रत्यक वर्ष छात्रवृत्ति पाउँछ उसका खातिर मैले आजसम्म एक पैसा लगानी गर्न परेको छैन । तैँले भने घरै कङ्गाल बनाइ सकिस् यसरी कसरी चल्छ भन त; आफै ?
एउटा छोरो सिल्ली जस्तो भयो जोगीका पछि लागेर हिड्छ । हैन मेरो भाग्य पनि कस्तो रहेछ साथी भाइले त भन्थे जेठो जन्मँदा बितिक्कै परिवार नियोजन गरिहाल । एक सन्तान ईश्वरको वरदान हुन्छ भनेर मैले त्यतिखेर उनीहरूलाई के जवाफ दिए थाहा छ थुक्क नामर्द हो छोराछोरी पाउन डराउने भनेर । अझै मेरो त अरु दुईवटा पाउने इच्छा थियो पाँच पाण्डव जस्तै तेरी आमा नमानेर पो हो त भनेछ ।
अनि बुढीसँग गएर लामो सास फेर्दै भनेछ छोराहरू हुर्केलान् पढ्लान् लेख्लान हामीले भनेको बाटो लाग्लान् र सुखका दिन आउलान् भन्ने सपना देखेको त झन दुःखका दिन पो आउछन् कि क्या हो बुढी भन्दो रहेछ । कान्छो हरायो कहाँ गयो कहा गयो माइलाको यो चाल छ कुन दिन यस्तै आन्दोलनमा लगेर सरकारसँग जोरी खोज्दा गोली खाएर मर्ने हो कि आजीवन कारागारमा सडेर मर्ने हो भनेछ । त्यही जेठाको आशा भरोसा छ त्यस्को पनि कतै बुद्धि नबिग्रोस् भनेर प्राथना गर्दछु म त भनेछ ।
केही वर्ष पछि राज्यको ज्यादतिले हो या विदेशीको चलखेल हो । देशमा महिनौ दिनसम्म पनि आन्दोलन रोकिएन । पुरा देशै ठप्प हुनेगरी चक्कजाम हड्ताल सङ्घसंस्था कल कारखाना स्कुल क्याम्पस लगायत सरकारी कर्मचारीहरू समेत कार्यालय बन्द गरेर आन्दोलनकारीहरूको साथ दिन लागेछन् । अनि सरकार आन्दोलनकारीहरूसँग बसेर कुरा गर्न सहमत भएपछि । एउटा सहमतिमा पुगेर आन्दोलनरत पक्ष पनि अन्तरिम सरकारमा सामेल भएछ । हरिभक्तको माइलो समेत त्यो मन्त्रीमण्डलमा कानुन मन्त्री भएछ ।
उता जेठो सहसचिवको पदमा कार्यरत थियो अब माइलाको मनमा बदलाको भवना जुर्मुराउन थाल्यो । सानैदेखि बाबा आमाको प्यारो भएर सधैँ मलाई सानो र निच हराम देखाउने पनि यही हो र आन्दोलनमा पनि सरकारी उच्च ओहोदाको पदमा बसेर हाम्रो आन्दोलन दवाउनमा यस्को पनि ठुलो हात छ अब यसलाई कहीँ न कहीँ नफसाई कहाँ छोड्छु र मौका परेको बखत भनेर उसलाइ फसाउने जुक्ति खोज्न लागेछ । उसले भने मेरो आफ्नै भाइले ममाथि के बेमानी गर्ला र भनेर उसको पुणर् विश्वासमा पारेछ । उसैको विश्वासमा पर्दा । पादको दुरुपयोग गरेर अनमित्ता गरेको भन्दै अख्तियारले कारागार चलान गरेछ ।
यो सुनेर हरिभक्त तालिँदै माइलो छोराकोमा पुगेछ मन्त्री हो जे भए पनि केही उपाय निकाल्छ कि भनेर । उसले यसो पो भनेछ त म पनि कति पल्ट जेल पारेर यहाँसम्म पुगेको हूँ । सरकारको बफादार नोकर शाह बनेर मलाई बारम्बार जेल चलान गर्नेमा त्यसको पनि त भूमिका थियो म त कसैसँग हारगुहार माग्न गएन त अहिले किन यतिसाह्रो चिन्ता बाबाको प्यारो लेखेपढेको विद्वान् छोरो भएर होला भनेछ ।
त्यस्का त्यस्ता कुरा सुनेर हरिभक्त छाँगाबाट खसेझै भएछ अनि सरासर कारागार पुगेर जेठालाई सम्पुण कुरा सुनाएछ । अनि उसले भनेछ उसैका कारण त आज मलाई नखाएको विष लागिरहेको छ बाबा भाइ भनेर विश्वास गरेको फल खाँदैछु ठिकै छ उसको धर्मले यही देख्यो म सत्य छु मलाई कुन्नि आत्मग्लानी छैन भनेछ । हरिभक्तको केहीदिन राजधानीमै अल्झिन पर्ने भएछ ऊ एकदिन खुलामन्चको आसपास टहलिँदै रहेछ । अगाडि पछाडि सुरक्षाकर्मीहरूको जमात पञ्चकन्याले चमार हम्कँदै बाजागाजा र धार्मिक झाँकीका साथ एकजना धर्म गुरु जस्तो देखिने मान्छे ।
त्यो सझिसजाउ झकिझकाउ मञ्चमा गाएर आसनगह्रण गर्दछ । हरिभक्तले टाढाबाट हेर्छ कतै देखे देखे जस्तो मान्छ तर पनि ती मान्छेको भिँडको बिचबाट नियाली रहन्छ । केहीबेर पछि साइरन बजाउँदै झण्डा हल्लाउँदै सुरक्षाकर्मीहरूको घेरा भित्रबाट उहीँ हरिभक्तको माइलो हात हल्लाउँदै रवाफकासाथ मञ्चमा गएर त्यही धर्म गुरु जस्तो देखिने मान्छेको पाउमा घोप्टिन्छ । अनि त्यसपछि आउने आमन्त्रित जनहरू सबैले उसैको पाउ छुँदै खादा र माला ओढाउदै आशिष माग्दछन् ।
केहीबेर पछि धर्म गुरु जस्तो देखिने मान्छेको प्रवचन सुरु हुन्छ त्यतिखेर उस्ले आफ्नो वास्तविक परिचय खुलाउँछ । उसको भाइ माइलो उसको मुखमा हेरेर दङ्ग पर्दछ जस्को ऊ अघि भरखरै पाउमा परेर दण्वत गरेको थियो । त्यसपछि हरिभक्तले मनमनै सोच्दछ जो पढेलेखेको बुद्धिमान भनेको छोरो नखाएको विष लागेझै नगरेको दोष लगेर जेल जीवन बिताउँदैछ । जसले न राम्रोसँग पढ्यो लेख्यो नत मैले भनेको कुनै कुरा मान्यो उदण्ड र गुण्डा गर्दीको भरमा यो देशको शासन व्यवस्थाको हिस्सेदार भएर मञ्चमा आसिन छ र सबैको सलामी पाइरहेको छ ।
जसले स्कुलै नगएर जोगी र भिखारीको सङ्गत गरेर १००मा ९० कुरा झुटा बोल्दै मान्छेलाई कल्पनाको स्वर्ग देखाएर यहाँसम्म पुग्यो उसैका पाउ छुन आतुर छन् । उच्च ओहोदाका सुरक्षाकर्मी निजामती सेवाका विशिष्ट अधिकारी ‘जननिर्वाचित कार्यकारी प्रमुख तँछाडमछाड गर्दै लाम बद्ध भएर । झुकेलो देख्दा कताकता पुर्खाहरूले भनेको सम्झिन्छ हेर बाबु नानी हो कुनैदिन संसारमा यस्तो व्यवस्था आउने छ जुन व्यवस्थामा नजान्नेले जान्ने माथि शासन गर्ने छ भनेको सम्झेर सायद त्यस्तो व्यवस्था नेपालबाटै सुरु हुन्छ कि क्या हो भन्ने सोच्दा घर पुगेर लामो सुस्केरा हाल्दै घेरो फाटेको टोपीले पसिना पुछ्दै ए बुढी एक अम्खरा पानी ल्या त भनेछ ।
०००
टीकापुर, कैलाली
Subscribe
Login
0 Comments
Oldest








































