साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढे पुराण

यिनीहरूको पाचन प्रणाली एकदम बलियो हुन्छ । एकै रातमा एकै छाकमा अरबौंको खान्की झ्वाम पार्न सक्दछन् तथापि कहिल्यै अघायौं भनेर सन्तोष मान्दैनन ।

Nepal Telecom ad

राजकुमार लामिछाने :

नेपालको राष्ट्रिय जनावर गाई, डाँको छोड्दै कराई, बहरतर्फ धाई, दश महिनामा ब्याई जन्माएको काले होस् वा माले, तिल्के होस वा झिल्के, जे जस्तो रङ्गको या ढङ्गको भए पनि सिङ मात्र भएकोलाई बहर र सिङ, ढिङ दुबै भएकोलाई बाच्छी भन्ने चलन छ । बहर जति रहर गर्दा पनि बैंसमा सुमर्न मानेन र हलो तान्दै किसानको भलो गर्न जानेन भने त्यसलाई साँढेको पगरी दिएर नगरीतिर खेदिन्छ । बाच्छी चाहिँ बढ्ने र जवानी चढ्ने क्रममा बाली भएर ब्याइन् भने गाई र जति बाली भए पनि नब्याई खाली मात्र रहिन् भने बैला भन्ने गरिन्छ ।

नेपाली बृहत् शब्दकोशमा जेसुकै कुरा लेखिएको होस् तर मैले भने साँढे र गाईको परिभाषालाई यसरी व्याख्या गर्ने गरेको छु । कसैले राम्रो माने पनि ठिक्क छ नराम्रो भने पनि दिक्क मान्दिनँ ।

जसरी प्रजातन्त्र र लोकतन्त्रमा महँगी तन्त्रलाई कसैले नियन्त्रण गर्न सक्दैन त्यसैगरी छाडा छोडिएको साँढेलाई समेत कसैले नियन्त्रण गर्न सक्दैन । मन लागेको ठाँउमा जान पाउने र इच्छा लागेको कुरा खान पाउने भएकोले नेपालका सांसद, मन्त्री तथा नेतागण मोटाएझैँ साँढे पनि ह्वात्तै मोटाउँछ । खान्की पुगेपछि बान्की पर्नु स्वभाविकै पनि हो ।

एक दिनको कुरो हो – बिहान जुरूक्क उठेर घुरूक्क गेट मात्र खोलेको थिएँ, शुभ मुहूर्तमा एक जना धूर्त नेताजी भेट भएकाले कतै आज अशुभ खबर सुन्नुपर्ने त होइन ? भन्ने डरले मेरो पेट पोलिरहेको थियो । त्यतिकैमा एक जना बुढा बाजे गाईलाई डोहो-याउँदै बाबु यतातिर कतै साँढे छैन ? हिजोदेखि गाई साँढे सम्झेर कराइरहेको छ कहीँ पाउन सकिनँ, पहिला त सडकभरि छ्यास्छ्यास्ती साँढेको हुल पाइन्थ्यो, ताक नजाँदै गाईलाई लाइन्थ्यो, टुङ्गो पुग्ने बित्तिकै गाई ब्याउँथिन्, टन्न बिगौती खाइन्थ्यो । अब त साँढेको बास नै पत्ता लगाउन गाह्रो पर्ने भो, के को बिगौतीको आश, भन्दै बुढा बा निराश भएर एकछिन मसँग जाग्नुभो, त्यसपछि आफ्नो बाटो लाग्नुभो, आखिर साँढे फेला नपरेको अशुभ खबर तुरून्तै सुनियो ।

यो साँढे हराएको प्रसङ्गले साँच्चै मलाई झसङ्ग बनायो । तपाईंहरूलाई पनि थाहा नै छ, पहिला सडक र गल्ली गल्लीमा हल्ली हल्ली हिँड्ने साँढेहरू आजकल बेपत्ता भएका छन् । यति धेरै मात्रामा साँढेहरू सडकभरि हुन्थे कि कहिलेकहीं त सडकमा जात्रा नै लाग्ने गर्दथ्यो । एक दिनको कुरो हो- मेरा एक जना घनिष्ट मित्र रेस्टुरेन्टभित्र बेलुकाको नास्ता सुइँक्याइसकेपछि मोटरसाइकल हुइँक्याउँदै घरतर्फ खुइँकिन लाग्दा पहिले पञ्चे चोक अहिले परिवर्तित गणतान्त्रिक चोक वरिपरि सडक पुरै ढाकेर साँढेहरू बसिरहेका रहेछन् । साथी पनि के कम, शूरवीर चढेको झोकमा साँढे नै नघाइदिन्छु भनेर मोटरसाइकल उडाउन खोज्दा दुर्घटनामा परी झन्डै साथी नै माथि नगएका ।

त्यसैगरी एउटा छिल्याहा साँढे केही पहिला छिमेकी छानबहादुर छन्त्याल दाइको गोठमा पसेर गौमातामाथि गड्याङमड्याङ गर्न लागेछ । साँढेको त्यस्तो अभद्र, अशिष्ट, अमर्यादित व्यवहार देखेर छन्त्याल दाइ रिसाउँदै साँढेलाई आँडे पारिदिन्छु भन्दै हतियार- सहित जाइलाग्दा साँढेको मृत्यु भएकोले छन्त्याल दाइलाई साँढे मारेको मुद्दा समेत लागेको थियो । धन्न अभियोग प्रमाणित भएन र पो छन्त्याल दाइ बचेका ।

यसरी छाडा छोडिएको साँढेलाई न जोत्न हुनु न उसको गोबरले घर पोत्न नै हुनु । सबैलाई दुःख मात्र दिई रहने साँढे जतासुकै मरोस् बिनासित्तीमा किन खोजी र नीति गरेको भन्नुहोला । हेर्नोस् त ! एउटा घरमा पालेको कुकुर हराउँदा त लुखुरलुखुर खोज्न हिँड्ने हाम्रो समाजमा, सिङ्गै राज्यले मानेको साँढे हराउँदा कसरी चुप लागेर बस्न सकिन्छ र ?

साँढेको महत्त्वका सम्बन्धमा धार्मिक दृष्टिकोणले हेर्दा- साँढे शिवजीको वाहन हो । त्यसै भएर पशुपतिनाथको अगाडि उसको पनि मूर्ति राखिएको हुन्छ । पशुपति गएर साँढेको दर्शन गरेन भने मन्दिर गएको कुनै अर्थ रहँदैन । अर्थात साँढे बिना शिवजीको, शिवजी बिना पार्वतीको, पार्वती बिना सम्पूर्ण महिलाहरूको र महिला बिना पुरूषको अस्तित्व नै जीवन्त रहन सक्दैन । त्यसैले साँढे हराउनु वा साँढेको अस्तित्व हराउनु भनेको साँढेलाई खोजेर गाई कराउनु मात्र होइन तपाईं हामी सबै डराउनु पनि हो ।

राजनीति कोणबाट हेर्दा- नेतागण र साँढेगणका कतिपय कुराहरू दुरूस्त मिल्दाजुल्दा छन । साँढेहरू पनि प्रायजसो सडकमै हुर्किन्छन र सडकमै डुक्रिन्छन भने नेतागण पनि सडकबाट नै सार्वजनिक हुँदै सिंहदरबारसम्म सवार हुन पुग्छन् र सत्ताबाट सुइँकिने बित्तिकै सरासर सडकमै आइपुग्छन् । अर्थात् दुबैको मूल थलो भनेको सडक नै हो ।

सामाजिक रूपमा हेर्दा- जब कसैले यस लोकबाट परलोकको यात्रा तय गर्छ, तब एघारौं दिनका दिन मृतआत्माको शान्तिका लागि वृषोत्सर्ग गर्न सकभर साँढे नै र नभए साँढेको मूर्तिको भने पनि आवश्यकता पर्दछ । त्यसैगरी न्यायिक क्षेत्रमा भन्नुपर्दा पहिला पहिला पञ्चायत कालमा न्यायिक निकायबाट जारी गरिने म्याद सार्वजनिक स्थलमा टाँस्नुपर्दा साँढेको ढाडमा टाँसेर तामेल गरिन्थ्यो रे ।

खेलकूद क्षेत्रमा हेर्दा – स्पेनको बुल फाइट विश्वभरि चर्चित भए जस्तै माघे सङ्क्रान्तिको दिन नुवाकोटको तारुका गाविसमा हुने गरेको गोरू जुधाइ खेल पनि कम चर्चित छैन । नेपाली गोरूहरूलाई सन्सारभरि चिनाउने र उनीहरूको ताकत हेर्ने खेल । हुन त नेपालका गोरूहरू कस्ता छन् भन्ने कुरा सबैले चिनिसकेका छन् तैपनि तारूकामा हुने गरेको सो दिनको जुधाइबाट अफ छर्लङसँग थाहा पाउनेछन् । साँढे र गोरूमा फरक छ नि भन्नुहोला । खासै फरक छैन, उनीहरू दाजुभाइ नै हुन् । गोरूको सुकेको, साँढेको फुकेको, फरक यति हो ।

यसरी सबै क्षेत्रमा उतिकै महत्त्व र प्रभाव रहेको हामीले मानी आएका साँढेहरू साँच्ची कति प्रकारका छन् त भन्ने सम्बन्धमा कही पनि एकिनसाथ उल्लेख भएको पाइँदैन । साँढेहरूको श्रेणी विभाजन नहुँदा कस्तो खालको साँढेलाई कति महत्त्व दिएर सम्मान गर्नु पर्ने हो भन्ने सम्बन्धमा जो सुकैलाई पनि खुल्दुली लाग्न सक्दछ । त्यसैले आफूले जानेका र समाजले मानेका केही साँढेहरूका बारेमा जानकारी गराउन चाहन्छु:

लोकल साँढे:
यी साँढेहरू प्रायजसो चिया पसल, चुस्की पसल, टोलटोल तथा गल्लीहरूमा चौबिसै घन्टा हल्लिई हल्लिई डुक्रिरहने गर्दछन् । त्यस एरियाको ठुलाबडा जान्नेसुन्ने भन्न रूचाउने यी साँढेहरू हरेक कार्यक्रममा आसन जमाउन र भाषणमा रमाउनमा व्यस्त रहन्छन् ।

विकासे साँढे:
आफ्नै मुलुकमा ढलिमली गरेर खाई हुर्केका साँढेहरूलाई विकासे साँढे भनिन्छ । यिनीहरू गाउँका झुपडी घरबारमा भन्दा उच्चकोटिका सहरिया दरबारतिर बस्न रूचाउँछन् । यिनीहरूको पाचन प्रणाली एकदम बलियो हुन्छ । एकै रातमा एकै छाकमा अरबौंको खान्की झ्वाम पार्न सक्दछन् तथापि कहिल्यै अघायौं भनेर सन्तोष मान्दैनन । यिनीहरूको मुख्य विशेषता भनेकै जति पनि खाने र खाएर कहिल्यै नअघाउने हो । विकासे साँढेहरूको ज्ञान नभए पनि ज्यान भने पुष्ट र पोटिलो हुन्छ ।

जर्सी साँढे:
विकासे साँढेले ड्वाँ गरेर गुहार मागेपछि मित्रराष्ट्र विशेष गरी भारतबाट नेपालमा आउने साँढेहरूलाई जर्सी साँढे भन्ने गरिन्छ । प्रायजसो विकासे साढेहरूलाई कुनै सङ्कट, आपत र विपत पर्यो वा पर्न लाग्यो भने जर्सी साँढेहरूलाई सङ्कट मोचनका खातिर पुकार गर्ने गरिन्छ ।

होलिस्टान साँढे:
अमेरिका, बेलायत, तथा अन्य तेस्रो मुलुकबाट आयातित साँढेहरूलाई होलिस्टान साँढे भनिन्छ । जर्सी साँढेको सिङ् हुन्छ तर होलिस्टान साँढेको सिङ हुँदैन । कहिलेकहीँ जर्सी साँढेबाट पनि समस्या समाधान हुन सकेन भने मान सम्मान गरेर होलिस्टान साँढेलाई बोलाउने र होलिस्टान साँढेलाई देखेपछि विकासे साँढेहरू नतमस्तक भएर टोलाउने गर्छन् । होलिस्टान साँढेको टाउको विकासे साँढेहरूको बाउको भन्दा पनि ठूलो हुन्छ । होलिस्टान साँढेहरू अरू साँढेभन्दा विश्वकै शक्तिशाली साँढेका रूपमा चिनिन्छन् ।

त्यसैले जुनसुकै क्षेत्रमा उत्तिकै प्रभाव र महत्त्व रहेका यी चार थरिका साँढेहरूलाई पूजेर खुसी पार्नुभयो भने तपाईंको मनोकामना झुसी हुन्छ अन्त कहीँ जानै पर्दैन ।

०००
(लेखक सिस्नुपानी नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष हुनुहुन्छ ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सहमति

सहमति

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
नाग देवताय नमोनम:

नाग देवताय नमोनम:

राजकुमार लामिछाने
उस्तै उस्तै

उस्तै उस्तै

राजकुमार लामिछाने
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
0
Would love your thoughts, please comment.x
()
x