साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाग देवताय नमोनम:

"गाउँघरमा झैँ गाईको बाक्लो गोबरले नाग नटाँसी किन केमिकल मिसाएर टाँसेको" भन्दै  नागहरू रिसाएर पुनः मलाई लखेटेकोले बचाउबचाउ भन्दै छट्पटिँदा खाटबाट डङ्गरङ्ग भुईंमा पछारिँदा पो झल्याँस्स ब्यूझिएछु ।

Nepal Telecom ad

राजकुमार लामिछाने :

एउटा साहित्यिक कार्यक्रममा बमजस्तै ताली पड्किने कवितासहित उपस्थित हुने निम्तो आएकोले के कोर्ने होला भनेर विस्तारामा पल्टेर गम खाँदै थिएँ। अचानक एउटा कविता फुरेकोले साइत जुरेको महसुस गरेँ।

उद्घोषक मित्रले बाेलाएपछि पोडिएम अगाडि अडिएँ र कविता बाचनका लागि ठडिएँ। गला खाेल्न र स्पष्ट हुने गरी बाेल्न ख्वाक्क खोकेँ र माइकको मुखमा हल्का  ठोकेँ। माइक रिसाएर हाे कि मैले बाेली मिसाउन नपाउँदै उ चुप रह्यो। “हलो हलो” भन्दाभन्दै उसको आवाज कता चलो पत्तै भएन। साउण्ड सिस्टमका साहुजीले माइकलाई फकाई फुल्याई गरेर एकछिन भुल्याएपछि माइक टेस्ट गर्दा वेस्ट भयो। बल्लतल्ल स्थान पायो मेरो कविताले ।

एक सय चार वर्ष जंगे साँपले डस्यो
त्यसपछि कालो जातको पंचे सर्प पस्यो
राजतन्त्र, गणतन्त्र, तन्त्र सबै उस्तै
धामी मात्र फरक हजुर मन्त्र उस्तै उस्तै !

अत्यन्त चोटिलो, पाेटिलो, सान्दर्भिक र मार्मिक मेरो कविताले कार्यक्रममा उपस्थित  दर्शकहरूको मन छोयो र वान्समोरको आवाजले कविता स्वयं भावुक भएर राेयो।

तर दुर्भाग्यवश उक्त  कविताले आफ्नो अपमान भएको भनेर सारा नागहरू जागे र मलाई लखेट्न लागे। म अघिअघि नागहरू पछिपछि केही किलोमिटरको  म्याराथन रेश नै चल्यो। जब दौडिन नसक्ने भएर मेरो शक्ति गल्याे, तब उनीहरूसमक्ष हात जाेड्दै र प्रसङ्ग क्षतिपूर्तितिर मोड्दै कुरा मिलापत्रतर्फ चल्यो।

एउटा  किंवदन्ती सुनेको थिएँ- “एकपटक एउटा किसानले आफ्नो खेत खनिरहेका बेला नागका बच्चाहरू मारिएपछि नागिनी रिसाएर किसानको पनि सबै परिवार सखाप पारिदिएकी थिइन्। तर  किसानकी छोरीले भने तपाईंलाई दुध खुवाउछु नमार्नुहोस् भन्दै अनेकौँ अनुनय विनय गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छाडिदिएकोले उनको ज्यान बचेको हुँदा नागहरूको पछिसम्म ध्यान गरेको रे ।”

मैले पनि उक्त किसानकी छोरीले झैं विलौना गर्दै भनें- “माफ गर्नोस् ! मैले नेपालको अस्तव्यस्त राजनीतिक व्यवस्था र दुईजिब्रे  नेतागणको चरित्रसँग तुलना गरेर हजार जिब्रा भएका तपाईंहरूको उपेक्षा गरेँ। अब सधैं तपाईंहरूको शरणमा पर्छु र गाईको दूध, अक्षता, दुबो, खीर, पुरीसहित विभिन्न परिकारका प्रसाद चढाउदै पूजा गर्छु।” यति भनेपछि मलाई क्षमा दिए र नागहरू अलप भए।

हुन त नागलाई विभिन्न भगवानको रूप मानेको, सृष्टि नै उनीहरूले धानेको, नाग रिसाए भने पानीको अभाव हुने, खडेरी परेर ज्यान लिने, घर पातालतिर धस्ने र मानव समुदाय ठूलो संकटमा फस्ने लगायतका अनिष्ट हुन्छ भन्ने धार्मिक विश्वास र मान्यताहरूले बेलाबेलामा दिमागमा हिट नगरको होइनन् । झन् आफ्नै कवितामा नागहरूलाई व्यङ्ग्य गरेका कारण उनीहरू रिसाएका कुराले चिटचिट पसिना छुटिरहेको हुँदा मेरो मथिङ्गल कसरी नागलाई खुशी बनाउने भन्ने सन्दर्भमा नै सधैं जुटिरह्यो।

माले, झाले, कोरम, फोरम, पाएजति सबै साेरै भन्ने विभिन्न पार्टीहरूका नाम भएजस्तै नागहरूका समेत  बाह्र नाम उल्लेख भए पनि अनन्त, वासुकी,पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागहरूको पूजा गर्ने प्रचलन रहेको। नाग नगिनी खुशी भई उनीहरूले दिएको आशिर्वादले चन्द्रावति र नवराजको भाेलिपल्टै भेट भएको। रौ को आकारमा  फूलभित्र पसेर परीक्षितलाई तक्षक नागले डसेर मारेको धर्मशास्त्रमा वर्णित प्रसङ्गहरूले समेत नागलाई खुशी बनाएर राख्नुपर्ने विषयले मथिङ्गलमा सधैं कचिंगल चलिरहन्थ्यो।

यिनै विविध कारण र आफूले गरेको कबोल मुताविक नागहरूलाई खुशी पार्न दुध चढाउने, विभिन्न परिकारका सामग्री तयार गरी नाग टाँस्ने पूजा गर्ने पवित्र उद्देश्यले नाग पञ्चमीका दिन सबेरै गौमाताको दुध एवम्  गोबर संकलनतर्फ लागेँ।

गाउँघरमा पो माली गाई, झाली गाई, काली गाई, तिल्की गाई, मिल्की गाई, खैरी गाई, राती गाई, कथुरी गाई, कैली गाई जस्तो रंग रूपको गाई खोज्यो त्यस्तै गाई पाइन्थ्यो। रोजीरोजी दुध र  गोबर  ल्याइन्थो। नाग  लपक्क  टाँसेर दुध चढाइन्थ्यो र पो नाग पुजेको फल पाइन्थ्यो।  गाउँमा कति  कहर काट्नु भनेर रहरले शहर पसियो। अहिले गाई खोज्दैमा बिहान चुर्लुम्म डुब्छ गाई रोज्न त परै जाओस्।

गोबर खाेज्न गौरीगञ्जका गौरीशंकर गौतमका गएको। गाईको गर्धनमा गजबको गिर्खो गाडिएर गोल बजारका गम्भीरमान गोतामेको गाडीमा गुन्जनगरतर्फ गुडाएको  गजानन्द गजुरेलले गाठी कुरा गम्भीरतापूर्वक गरेकोले गोबर्धन गौडेलसँगै गएँ गजेन्द्र गुइदेलको गाई गोठमा।

मलाई देख्नेबित्तिकै गौमाताले आँखा तानिन् र झ्याप्प पुच्छरले सप्काे मारेर हानिन्। त्यो हिलाम्मे लप्काे मेरा ढाँडमा लपेटियो। अहो ! गौमाताको उदर बिसन्चो भएर हो वा खुराक त्यस्तै खुवाएर हो, पिनास नै विनाश हुनेगरी गन्ध प्रवाह भयो।  तैपनि अझ यकिन गर्न हातका औँला गौमाताद्वारा विसर्जित गोबर रूपी हिलाेमा चोबल्दै नाकार्षनलाई न्यायमूर्तिको जिम्मेवारी दिएँ। एक हप्ताको बासी मांसलाई समेत ताजा  सुगन्धित एवम्  वास्नादारको हवाला दिने नाकेश्वर नारायणले समेत गौमाताले गोब्य्राएको अर्धठाेसाकार पदार्थमा दुर्गन्धको मात्रा भेटिएको निर्णय सार्वजनिक हुने क्रम चलिरहेको थियो। त्यति नै बेला गौमाताको पेट मेघ गर्जनसरि गडगडाउँदै गोब्रेद्वारबाट छुटेको धाराे मेरो शरीरको हेडक्वाटरबाट खनियो र पुरै शरीर असारे रोपाइँमा मेला गएको बाउसे झैँ बन्यो।

हे भगवान् ! म बिलखबन्दमा परेँ । के गरौँ कसो गरौँ छट्पटी भयो। नजिकै रहेको धाराको सहारा लिएँ। चार पाँच पटक साबुनपानीले दल्दा पनि गन्ध बन्द भएन। मलाई त त्यस्तो गाह्राे भयो भने आधुनिक दानाकाे नाउँमा अपाच्य खाना ख्वाउँदा गौमातालाई कति साह्रो भएको होला ? जे होस् दुग्ध व्यवसायको भल बगाउने नाउँमा नानाथरी केमिकल मिसिएको खाना ख्वाउन बल गर्ने गोपालहरू नै जानून्।

बल्लतल्ल चम्चाको सहारा लिएर गोबरलाई एउटा प्लास्टिकको थैलोमा थन्काए। घरमा आएर सबै पूजाका सामग्रीहरू तयार गरी नाग टाँस्ने बन्दाेबस्त गर्दै थिएँ। तर तरल पदार्थजस्तैमा परिणत भएको उक्त गोबर दोब्बर तेब्बर लगाउँदा पनि नाग टाँसिएन। हातमा गाँसिएर फिर्ता भई रह्यो। केही सिप नलागेपछि आधुनिक गमले लोपरलुपुर पार्दै दुधको धारो नागका शीरबाट झार्दै- “नाग देवताय नमोनम” भन्दै नाग टासेँ र नागहरूलाई नमन गर्दै मुसुक्क हासेँ।

यति गरेपछि नागहरू पक्कै खुशी भए होलान् भनेर मन झुशी भयो। तर “गाउँघरमा झैँ गाईको बाक्लो गोबरले नाग नटाँसी किन केमिकल मिसाएर टाँसेको” भन्दै  नागहरू रिसाएर पुनः मलाई लखेटेकोले बचाउबचाउ भन्दै छट्पटिँदा खाटबाट डङ्गरङ्ग भुईंमा पछारिँदा पो झल्याँस्स ब्यूझिएछु । अहिले संझदा पनि जीउ थरर्र कामिरहन्छ। इति

०००
लेखक सिस्नुपानी नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष हुन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सहमति

सहमति

राजकुमार लामिछाने
साँढे पुराण

साँढे पुराण

राजकुमार लामिछाने
खाईजात्रे बजेट भाषण

खाईजात्रे बजेट भाषण

राजकुमार लामिछाने
उस्तै उस्तै

उस्तै उस्तै

राजकुमार लामिछाने
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x