Fitkauli LIVE
साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छुरा काट्ने कुरा

लाजनीतिलाई नाङ्गो पार्छ भन्ने कुरा बुझ्नु आजको अपरिहार्य आवश्यकता भएकोले यो कुरा काट्ने र छुरा काट्ने कुराको अन्त्य गर्न चाहान्छु ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

हामी नेपालीको बानी पनि अचम्मको छ । अरु केही गर्न नसके पनि अर्काको कुरा काट्ने काममा भने निकै चतुर छौँ । हतियार लिएर काट्नु पर्ने कुरामा पछि परे पनि छुराले कुरा काट्ने काममा भने निकै पहिलेदेखि अगाडि छौँ । बा ले आमाको कुरा काट्ने आमाले बा को कुरा काट्ने श्रीमतीले श्रीमान्को कुरा काट्ने श्रीमान्ले श्रीमतीको कुरा काट्ने । यो कुरा काट्ने हतियार कुनै छुरा होइन रहेछ कुरा नै छुरा बनेर कुरा काट्ने रहेछ र छुरा काट्ने हतियार भनेकै बोलीको छुरा भन्ने कुराको सुइको मैले पाएको छु । अब कसरी सुइको पाइस भन्नु होला ?

कसैको बोलीमा गोली हुन्छ भने कसेको बोली छुरा जस्तै लाग्ने हुन्छ । यदि कसैको केही बिगार गरेको छ भने वा रिस उठेको छ भने हामी वा अरु कोहीले मुखमा आए जतिसबै फलाना चिलाना भन्दै गाली गर्छौ । अनेकौ नयाँ शब्दका गोलीहरु वर्षन्छन् र लाग्ने छुरा भन्दा पनि बढ्ता भएर हामीलाई मनमा गढेर बस्छ । मुटुमा बिझ्छ र त्यो शब्दले चस्स चस्स भैरहन्छ । त्यसको बदलामा हामी पनि त्यो भन्दा अझ कडा शब्द अनि उसका पुर्खादेखिका सबैलाई यस्तो उस्तो फलाना चिलाना भनेर उत्तानो परेको शब्दले घोप्टो पारेर सराप्छौ । अनि उसले भनेका कुरालाई इन्कार गरेर कुरा काट्छौ । भनौ हामी नेपाली कुरा काट्ने विषयमा सबै पिएचडी नै उपाधी प्राप्त गरेका छौ भन्दा कुनै फरक पर्दैन ।

यस विषयमा हामी नेपालीको विज्ञता अनि प्राज्ञिकता अन्य देशका नागरिकको भन्दा धेरै माथि भएको जस्तो लाग्छ मलाई । यसो विचार गर्दा मलाई के लागछ भने कुरा काट्ने छुरा भने कै कुरा नै रहेछ । कुरौटेका अगाडि चुरौटेको केही लाग्दैन भन्ने उखानले दस थरी कुरा गरेर आफ्नो व्यापार बढाउनु पर्ने चुरौटेले आफ्नो कुरौटे ग्राहकबाट शिक्षा लिइरहेको जस्तो लाग्छ । यहाँ कुरा उल्टो भैरहेको छ । चुरौटेले कुरा सिकाउनु पर्नेमा ग्राहकले कुरा सिकाएर चुरौटेले चुरा बेचेको अवस्था छ । राजनीतिमा भनौ वा कुटनीतिमा वा समाजनीतिमा समाजशास्त्रीय विधि नै लोप गराउने नियतले कुरा काट्ने चलनले दुषित राजनीतिको रहस्य खुलस्त भएको अवस्था छ ।

वास्तवमा भन्ने हो भने छुरा काट्ने कुराको प्रादुर्भाव नै राजनीतिबाट भएको हो भन्दा कुनै फरक पर्देन । राजनीति यस्तो नीति हो जसमा कुरा काट्नेनीति भएन भने त्यो राजनीति नै पूर्ण हुँदैन । नेपालको सन्दर्भमा हेर्ने हो भने अहिलेसम्मको राजनीति यसरी नै चलिरहेका स्पष्ट छ । मुखलाई छुरा बनाउन नजान्नेले राजनीति नगरे हुन्छ र राजनीति गर्नै मान्छेले मुखलाई लौवाको छुरा बनाउनु जरुरी पनि छ । राजनीतिज्ञलाई तह लाउने हतियार भनेकै छुरा जस्तो कुराले हो । छुराको कुरा गर्दा अकबर र वीरबलको कथाको पनि हामीलाई सम्झना हुन्छ । वीरबलको जस्तो कुटनीतिकता, तार्किक क्षमता र बौद्धिकता हाम्रा नेताहरुमा छैन । क्षमता छ भने छुराले कुरा काट्ने त्यो पनि पूर्ण रुपले कुरा काट्न सक्दैनन् । अधकिल्चो पारेर कुरा काट्ने अनि घिट्घिटो पारेर फाल्ने प्रवृतिले राजनीतिमा विष घोलेर जनतालाई पिलाउने चलन रहेको छ । तर यो विषले जनतालाई भन्दा पनि बढी नेतालाई बढी पोलेको छ जस्तो मलाई लागेका छ ।

हाम्रो अहिलेको अवस्था भनेको नेता देवायै नमः भन्नु पर्ने हो । जनताले वा अन्य कुनै पनि राजनीतिक दलका नेता कार्यकर्ताहरुले यति भनेँ भने साइबर अपराध वा सरकार विरुद्ध खनिएको भनेर मामा घरको यात्रा तय गर्नु पर्ने अवस्था आउँछ । जसले गर्दा छुरा काट्ने कुरा पनि तह लागेर मुखभित्रै नअड्केला भन्न सकिन्न । यदि कुरा मुखभित्रै अड्किने अवस्था आयो भने हामी राणा कालमै फर्कियौँ भनेर भन्दा सोह्रै आना यथार्थता झल्किने तथ्यले घुमफिर गर्ने अवसर पाउँछ भन्दा सयमा दुईसय प्रतिशत सत्य ठहरिन्छ । सत्यका अगाडि झुठ टिक्दैन र झुठका अगाडि सत्य डग्दैन भन्ने कुरालाई हामीले आत्मसात गर्नु पर्दछ । कुराले छुरा काट्ने सत्य हो र पहिले पहिले छुराले दाह्री काट्ने पनि सत्य हो । तर अहिलेको अर्को सत्य भनेको कुराले जसतै लाग्ने छुरालाई पनि भुत्ते बनाउँछ भन्ने कुरा पनि सत्य हो भन्ने कुराको बयान मैले यहाँ गरिरहनु उपयुक्त नहोला । किनकि कुरा काट्नेहरु जहिले पनि मुखमा राम राम बगलीमा छुरा बोकेर हिडेका हुन्छन भन्ने कुरा हामीले बिर्सनु हुँदैन ।

छुरा बोक्नेका कुरामा कुरा काट्नेका कुरा मिसाउँदा त्यहाँ भाँडभैलो हुन्छ । काटेर कुनै पनि कुरा जोड्न वा मिलाउन सहज हुन्न । कुरा र छुराको साइनोमा आकाश पातालको फरक हुन्छ । त्यसैले काट्ने कुराले शान्तिभन्दा अशान्ति बढी हुन्छ । कुरा काट्नु भनेको अशान्तिको बिऊ रोप्नु हो भन्दा पनि कुनै फरक पर्दैन । छुरा काट्यने भने त्यसलाई आरनमा लगेर पगालेर फेरी बनाउन सकिन्छ तर कुरा काटियो भने आरनमा लान मिल्दैन । एकपटक मुखबाट ािस्केको बोली फेरी फर्केर मानिसको मुखभित्र पस्न सक्दैन त्यसैले बोल्दा अरुले कुरा काट्न नसक्ने गरी तर्कपूर्ण र विश्वासयोग्य कुरा बोल्नु पर्दछ भन्ने बुढापाकाको भनाईलाई हामी आजका घातनीतिका कुरा गर्नेहरुले बुझ्नु पर्दछ भन्ने मेरो बाङ्गो कुरा नाङ्गाहरुलाई सुझाव हो । त्यसैले छुरा काट्ने कुराले कुरा गर्नेको हित गर्दैन भन्ने मलाई लागेका पनि धेरै भएको छ । तर भन्ने मौका पाएको छैन र मात्र हो नत्र भने मबाट माखो पनि मर्दैैन भन्ने कुरा म यहाँहरु जस्तो बोद्धिक, रौद्रिक तथा मौद्रिकहरुलाई हुलमुलमा ढुलमुले कुरा गर्न चाहन्छु । किनकि म आफैँ हुलमुले मान्छे भएकोले ढुमुले कुरा गर्नु कुनै नौलो हो जस्तो लाग्दैन । गफले माखो नमारे पनि कामले मच्छर मार्न सिपालु म वरको सिन्को पर सारेर अरुलाइृ दाँत कोट्याउन सक्ने हैसियत ममा छ । त्यसेले छुरालाई काट्ने कुराको खेती गरेर कहिल्यै नअघाउने अर्ध गफाष्टकमा दाजिने प्रयास गर्दे छु । पहिले अर्ध गफाष्टकमा नियुक्ति लिएर अनि गफाष्टक, पूर्ण गफाष्टकको र अन्त्यमा विशिष्ट गफाष्टकको नियुक्ति लिने सोचका साथमा अघि बढेको म कुरालाई छुराले काट्न सक्ने दर्जामा पुग्छु भन्ने अपूर्ण विश्वासमा शिखरको यात्रामा खुट्टालार्य नै तगारो पारेर बसेको छु ।

कुरा नकाट्ने छुरा र छुरा नकाट्ने कुराको खेती गर्नु पर्ने समयमा हामी छुरा काट्ने कुरा गरेर सामाजिक न्यायका कुरा गर्छौँ । समानताका कुरा गर्छौ, सामाजिक, आर्थिक, शैक्षिक तथा औद्योगिक विकास र समाजवाद ल्याउने कुरा गर्छौ । हामीले गर्नु पर्ने के र के गरी रहेका छौँ ? हिड्ने बाटो फरक भएपछि कुरा पनि फरक हुन्छ । फरक फरक धारमा हिडेर छुराले कुरा काटेर देशको विकास समृद्धिको बाटो तय हुन्छ भनेर कुरा गर्नू भनेको भ्यागुताको धार्नी पुग्नु जतिकै हो भनेर कुरा काट्नेहरु समाजमा जन्मिएका छन् ।

मुख छुरा बनाएर काम नगर्नेहरुले आफ्ना व्यक्तिगत मन गढन्ते हावा कुरा बोलेर मत एकत्रित गरेर देशलाई हावामा छाड्नु राजनीतिक बेइमान हो र अहिले भैरहेका पनि त्यही हो । अर्काका कुरा छुराले काट्ने अनि आफ्ना कुरामा अरुले छुरा चलाउँदा देशै चलाउनेसम्मका कुराले प्रयोगात्मक रुपमा स्थान पाइरहँदा जन आक्रोसका स्वरहरु पनि उतिकै घन्किरहेको सुनिन्छ । कुरामा कुरा जोडेर माकुरा बन्नेहरुले देश चलाउन सक्दैनन् र बरु जलाउन भने सक्छन भन्ने कुरा प्रमाणित भएकोले माकुराका कुराका पछि लागेर हिड्नु भनेको आफैँ बर्वा हुनु हो भन्ने कुराको पुष्टि पनि भएको छ ।

गफापाल देशको गफाष्टक नगरमा कुरौटेहरुले राज्य संचालन गरेको तथ्य र सत्य हामीले भोगेको हुनाले कुराका बारेमा धेरै कुरा के गर्नु । माकुराले चलाएको देशमा हामी कुरौटेहरुको काम पनि छैन । भरौटेहरु भएको भए केही काम लागिन्थ्यो होला । तर हामी अक्षरका माध्यमबाट भुरा कुराको खेती गर्ने भएकोले ठूला कुराको खेती गर्न सकिएन । कुराको खेती गर्न लगानी गर्न सक्ने क्षमता भएको भए खल्तीमा छुरा बोकेर हिड्न पर्दैनथ्यो होला । कुरालाई छुराले काटेर , अरुलाई ढाँटेर मरिमेटेर राजनीतिका ठाउँमा लाजनीतिको पोको बोकेर बोको बनेर हिड्ने देशमा छुराले जति सुकै राम्रो काम गरे पनि त्यसलाई कुराले काटेर टुक्रा टुक्रा पार्ने काम हुन्छ । टुक्रा टुक्रा पारेका छुरा जोडेर के चाहिँ गर्न सकिएला र नेपालमा अब ?

र , अन्त्यमा म कलम लिएर बसेको मान्छे धेरै कुरा के गरौँ । यहँ कुराले छुरा त काटिएको अवस्था छ भने मेरो कुरा नकाटिने त कुरै हुँदैन । कुराले छुरा काट्दा कलमलाई पीडा हुन्छ । कतै कलम काट्ने कुरा आयो भने छुराले के गर्ला ? कलम रोएर बस्ला वा अरु कलमकारहरुलाई गुहार्ला ? कलम माथि कुरा चलाउँदा कुरा गर्नै नै माथि पुग्छ कि ? वा कलम माथि पुग्छ ? छुरा चलाएर कलमको हत्या गर्ने पेंचधारीहरु श्रीलाई बाहिर मिल्काएर बस्न बाध्य भएको यो समयमा माकुराहरुले कलमका बारेमा कुरा गरेको पनि धेरै भयो । तर आजसम्म कलम कलम नै भएर बसेको छ । कलम काट्ने बन्दुकधारीहरुले पनि पर्दछ माकुरा बन्न सकेनन् भने अरुले त कलमलाई गन्दै गनेनन् । तर कलमलाई बन्दुक बनाउन सक्नु पर्दछ भन्ने मान्यता राखेर कलम घोटिरहनेहरुलाई म सलाम नगरि रहन सक्दिन । कलमले अरुको कुरा काटेर, छुराको कुरा गुनेर बन्दुकको कुरालाई बौद्धालयमा राखेर सबै कुरौटेहरुको बिरौटे कुरा त्यागेर देशमा एक्लो राज गर्न पाउनु पर्ने अधिकारको खोजीमा रम्नु पर्दछ । अनि कुरा काट्ने र छुरा काट्ने कुराले स्वर्गको बाटो समाउने मौका आउला कि ?

छुरा काट्ने कुरा वा कुरा काट्ने छुरा जे सुकै भए पनि कलमको अगाडि पछाडि लागेर, कलम बोकेर अरुको मलम बन्न सक्नु कुरा काट्नेको औषधी बन्न सक्छ भने छुरालाई काट्ने कुराले राजनीतिलाई होइन भाजनीतिलाई लाजनीतिलाई नाङ्गो पार्छ भन्ने कुरा बुझ्नु आजको अपरिहार्य आवश्यकता भएकोले यो कुरा काट्ने र छुरा काट्ने कुराको अन्त्य गर्न चाहान्छु । जय साहित्य जय व्यङ्ग्य ।

०००
उदयपुर, गाईघाट, हाल भक्तपुर थिमी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
मुसालाई शिक्षा

मुसालाई शिक्षा

माधव पोखरेल गोज्याङ्ग्रे
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
दोषी चस्मा २.०

दोषी चस्मा २.०

संप्रस पाैडेल
विज्ञापन

विज्ञापन

भोलानाथ सुबेदी
नक्कल

नक्कल

सीताराम नेपाल
अनिकालमा धैर्य

अनिकालमा धैर्य

डा. छायादत्त न्यौपाने ‘बगर’
भलो चाहनेहरूको भिड

भलो चाहनेहरूको भिड

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x