एमपी पाण्डेहाडमासुको रोबर्ट
मरेको त म हुँ— सृष्टिका सूक्ष्म जराहरूमा दाग दिएर, खौरेको टाउकोमा सेतो बृकिट्टो बाँधेपछि जिउँदाहरूको रंगमञ्चमा आशोचको प्रहसन गरिरहेको हाडमासुको रोबर्ट हाडमासुको रोबर्ट ।
एमपी पाण्डे :
जब–जब
मेरो मुटुको मौन धड्कन
र
हृदयको निराकार आँखाले
अगेनो छेउमा टुकरुक्क बसेको
मातृवत्सल्यताको भौतिक अस्तित्व खोज्छ,
तब–तब लास जलेको मसानघाटझैँ
उदास, उजाड लाग्छ म उभिएको सुरम्य धरा
र
मैले ओढेको चकमन्न आकाश।
आफ्नै घरको मुलढोकाबाट
आमाको स्वायत्त साम्राज्य नियाल्दै गर्दा,
मानौँ
म,मेरो घरमा होईन,सिंहदरबार पसेछु
जेएनजी आन्दोलनपछिको तातो खरानीमा
चिसा पैताला घिसार्दै।
आफ्नै अलच्छिनी दिमागमा
एक अनौठो अपरिचित छायाचित्र बोकेर,
एक थान मूर्त छविमाथि अमूर्त कोलाज भर्दै
स्वयम् सजाइरहेको छु आमाको चिता
र
स्वयम् झोसीरहेको छु आगो।
आमा चिरनिद्रामा सुतिरहेको एक सरो मौका छोपेर
खन्याइरहेको छु अलिकति डाल्डाका लेग्रा,
अलिकति रिफाइन पेट्रोल,
झोसीरहेको छु कुकाठ—
जीवन–विज्ञानको बधशालामा
स्वयम्लाई कालको प्रतिनिधि घोषित गरेर।
र
फेरि आफैँ बेच्दैछु
आँसुको विशाल कर्णाली
सामाजिक सञ्जालका भित्ताहरूमा,
नश्वर शरीरको पुरानो तस्वीर अड्याउँदै
श्रद्धाञ्जली, समवेदनाका नानाथरी विषाद ओगटेर
“आमा! आमा!”…. जपिरहेछु…..
अञ्जुलीभरी सिङ्गो समुद्र बोकेर
मातृवत्सल्यताको करुण अलाप।
वर्ण–विन्यासको अग्लो पहाडबाट
दुःखका भाष्यहरू खसाउँदै—
आमा!
शून्य भएको छ तिमीबिनाको मेरो संसार।
कतै हराएझैँ, कतै भासिएझैँ लाग्छ, आमा।
बिहानीको पहिलो पाइलासँगै
तिमी अघिअघि, म पछिपछि दगुरेको
ममताको फराकिलो बाटो
लाग्छ,
झन्–झन् साँघुरिँदै गएको छ प्रेमको विशाल परिभाषा।
मधुरो–मधुरो उदाउन थालेको छ बिहानीको तेजोमय घाम,
उँधो नझरेर उँभो उक्लिन थालेको छ साँझको गोधुली।
शिखण्डी पहाडको झट्केलो सन्तानको टोपीबाट
ताराहरूले चम्किनै छोडिसके—
निरीह, निरव रातमा किरकिट्टीहरू ओथारो बसेपछि।
जुन अधुरै झर्छ झिसमिसेको तेर्सो किनारबाट,
गीत पनि आधा–आधा मात्र गाउँछन् झ्याँउकिरीहरू
लय मिलाउँदैनन् तिम्रो लोरीमा।
वास्तवमा अधुरो, अपुरो लाग्छ
जिन्दगीको शाश्वत क्यान्भास—
आफ्नै अप्रकाशित कृति
कविता–संग्रह “पाउको धुलो जस्तो”।
कसै गर्दा मलाई स्पर्श गर्न
मेरो समीप आइपुग्दैन
हिमालबाट खसेको एक झोका प्रेमिल बतास।
मनको मरुभूमिमा विराट आँधी चले पनि
हेर्दा–हेर्दै अक्सिजनको अभाव चुलिएको छ
घण्टाघरको टोपीमुनि घडीको अवतार बोकेर
तुर्लुङ्ग झुन्डिएको समयको मौन फोक्सोमा—
कहिल्यै सूर्य नअस्ताउने अन्धो शहरको बिचोबिच।
अन्ततः
मृत्यु पनि दोधारमा छ—
मरेको को हो?
जल्दै गरेको चिता
या
जलाउँदै गरेको चित्त?
म त स्पष्ट छु—
आमा!
तिमी मरेकी होइनौ,
तिमी त बस् दुखको उचाइबाट खसेर
अविरल बगिरहेकी छौ
प्रकृतिको अनुपम स्वरूप लिएर
छहरा झैँ—
छङछङ, छङछङ…
छङछङ, छङछङ…।
मरेको त म हुँ—
सृष्टिका सूक्ष्म जराहरूमा दाग दिएर,
खौरेको टाउकोमा सेतो बृकिट्टो बाँधेपछि
जिउँदाहरूको रंगमञ्चमा
आशोचको प्रहसन गरिरहेको
हाडमासुको रोबर्ट
हाडमासुको रोबर्ट ।।
०००
अछाम
२०८२-०८-२५
Subscribe
Login
0 Comments
Oldest







































