एमपी पाण्डेछिल्लिएको घाम
एकपटक निर्वस्त्र भइदेउ तिमी निसङ्कोच, निसन्देह तिमीलाई मात्र के को लाज ? बिहानीका सपनाहरूले वेस्यावृत्ति गर्न थालेपछि अचेल त सर्वाङ्ग, ह्वाङ्ग, छ्याङ्ग पारेर हिँडिरहेको छ झन् जिगेलो भविष्य छिल्लिएको घाम ।
एमपी पाण्डे :
आउ रात !
एकपटक निर्वस्त्र भइदेउ तिमी
औँसीले ओढाएको श्यामश्वेत घुम्टो
पुर्णिमाको जिम्मा लाएर
खोल !
बहुरुपी बादलका बहुराष्ट्रिय अङ्गवस्त्रहरू
निष्पट्ट निशाको मुहारमा, जूनले जुल्क्याउनु अघि
ताराहरूले लुकीछिपी झ्यालको पर्दाबाट चिहाउनु पूर्व
मैले बतासलाई भनिसकेको छु
उज्यालो बोकेर नहिँड्नु केही समयका लागि
भनिसकेको छु जुनकीरीलाई पनि
गाउँ गाउँ चाहार्न मनाही छ, पुच्छरमा राँको बालेर
भर्खर आफै निभाएर आएको छु गाउँका टुकी
शहरका बिजुलीहरू
अब पानी हाल्न जाँदैछु ताता चुल्हाहरूमा
निषेध गरेको छु,
टर्चलाइट, मोबाइल, सलाई, लाइटर लगायतका
उज्याला उपकरणहरू सल्काउन,जलाउन र बाल्न ।
ताकि,
सहजै लुट्न सकूँ म
तिम्रो गर्व र स्वतन्त्र स्वाधिन अस्तित्व
मेरो वाचा भयो गर्भिणी हुन दिने छैन तिम्रा ओठहरू
यो अन्धो समाजले प्रष्ट देख्ने गरी
गोजीमै छन केही थान सेफ्टीहरू
केही पत्ता निलोकनहरू
मलाई थाहा छ,
तिम्रो कुमारी स्वाद जाँच्न खोज्नेछ एकदिन
भोलीपर्सी तिम्रो हुनेवाला लोग्नेले
तसर्थ ढुक्क भए हुन्छ
पेट नबोकुञ्जेल थाहा पाउने छैन उ
दुधमा पानी मिसाइएको मिठो झुठ ।
नभए
जबर्जस्ति गर्न पनि आउँछ हामीलाई
यति ख्याल राख्नु
वृन्दाको सत्य डगाउने पनि हामी मध्यकै कोही हो
द्रौपतिको सारी तन्काउने पनि हाम्रै समाज हो
नपत्याए निर्मलाको अबोध आत्मालाई सोध
भागीरथीको श्वास छिनाइएको भूगोललाई सोध ।
नाईंनास्ती
नगरेकै जाति
आउ ! एकपटक निर्वस्त्र भइदेउ तिमी
पटकपटक नाङ्गिएको
मेरो देशको राजनितीक संस्कार जस्तो
सिमाना पारी पुगेर कन्धनी खोल्दै हिँड्ने सरकार जस्तो
भट्टी पसलमा मोलमोलाई हुने कानुन जस्तो
आउ ! एकपटक निर्वस्त्र भइदेउ
युवा रगत, दक्ष जनशक्तिको लिलामी सँगै
उर्वर जमिन बाँझो राखेर अनुदान थाप्न
नाङ्गिदै गरेको समृद्धि
र
हलुङ्गेको कचौरामाथि स्खलित हुँदै गरेको अनुदान जस्तो
आउ ! रात
एकपटक निर्वस्त्र भइदेउ तिमी
निसङ्कोच, निसन्देह
तिमीलाई मात्र के को लाज ?
बिहानीका सपनाहरूले वेस्यावृत्ति गर्न थालेपछि
अचेल त सर्वाङ्ग, ह्वाङ्ग, छ्याङ्ग पारेर हिँडिरहेको छ झन्
जिगेलो भविष्य
छिल्लिएको घाम ।
छिल्लिएको घाम ॥
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































