सुरेन उप्रेतीम
नामका अगाडि डा. थपेर बोर्ड झुण्ड्याइ दे । प्राइभेट यूनिर्भिसटी भन । यूरोप र अमेरिकासँग संयुक्त सञ्चालन गरिएको भनेर लगाइ दे न ताल । काइते काइते मन्त्री र नेतालाई मानार्थ विधावारिधि भनेर प्रपाण पत्र थमाइदे ।

सुरेन उप्रेती
मलाई यो म ले बस्न खान दिएन । कतै बजारतिर निस्कियो । राम्रो र गतिलो केहि देख्नुहुन्न । चाहे गाडी होस् कि साडी । अझ गाउँमा गयो भने अझ राडी होसकी पाडी किन्न लगाई हाल्छ । पैसा छैन नी भनेर हात टक्टक्याउँछु । अनेक उपाय सिकाउँछ । थुइक्क हुतिहारा तैंले यस जवानामा आएर पनि पैसा छैन भन्न मिल्छ । अझ नेपाल भनेको अमरावती कान्तिपुरी नगरी जस्तो राजधानी भएको देश हो । के गर्नु अमरावती त के बैकुण्ठपुरी नै भए पनि पैसा नभएपछि भनेर टाउको कन्याउँछु । नामर्द सुन् । ध्यान दिएर सुन भन्दै उपाय बताउन थाल्छ ।
हेर् तैंले जानिस् भने नेपालमा पैसा त हावामा उडिरहेको छ । खोलाका माछाहरूलाई जलाहारीले जालहाने झैं जसरी जाल हान्न पनि जान्नु पर्दैन । थकौलीले उघाए झैं उघाउन पाउँछस् । मात्र उघाउन जानिस भने राता रात माला माल बन्छस् । अझ समय छ सिक सिक मूर्ख भनेर दबाव दिन्छ । अक्क न बक्क हुँदै त्यस्तो सिकाउने स्कुल चैं कहाँ छ नि भनेर प्रश्न गर्छु । धत्तेरिका लाटा तँ सोझो पनि कति सोझो । त्यस्तो ज्ञान पनि कुनै विधालय र महाँविधालयमा गएर सिक्ने हो र ? मलाई अलि झर्को लाग्यो । भो कतै नपढाएको, कतै नसिकाइने कुरा आफैं पत्ता लगाउन सक्ने मेरो क्षमता छैन र नयाँ कुरा पत्ता लगाएर कोलम्वस मार्कोनी हुन पनि पर्याछैन भन्दै तर्किन खोज्छु । तँलाई तेती पनि थाहा छैन । अबको युग भनेको बाइसौं शताव्दीतिर उन्मुख हुँदै गरेको युग हो । अब धेरै कुराहरू आफैंले सिक्न सक्नु पर्छ । अब भनेको खुल्ला विश्वविधालयको युग हो । एउटा कोठामा कैद भएर कितावका पाना गनेर सिक्ने दिन गए बाबु ।
अँ म तँलाई राता रात मालामाल हुने उपाय बताउदै थिंए । त्यो पनि खुल्ला विश्वविधालयबाट सिक्नु पर्छ । अरुको हेरेर त नक्कल गर्न सक्छस् नि । एक पटक गरेर त हेर । अझ दवाव दिन्छ । के अरुको जस्तै गर्दै त यति लामो भएँ । मलाई पनि झोक चल्छ । बाबु आमाले ज्ञानी हुनु । बुद्वको उपदेशको पालना गर्नु भनेका थिए । कहिलै ढाँटिन । अहिंसावादी बन्नु भनेका थिए । चराचुरुङ्गी मार्नु त के पानी नआउने धारा उदघाटन गर्न बोलाउँदा रिवन पनि काटिन् । कति पटक नाकमा झिंगा पस्दा पनि झिंगा मर्लाकी भनेर सास दबाएर झिंगा नाकबाट निकालेर हावामा उडाइ दिन्थें । शिक्षकले राम्रो पढ्नु ज्ञानी हुनु ठूलो मान्छे भइन्छ भन्थे । त्यसै त्यसै गर्दै गएँ । पाँच फिट सात इन्च भन्दा एक इन्च बढ्या हैन । उत्तिकैमा जहिले पनि मान्छे कुटेर रक्ताम्मे पार्ने शिक्षकका समेत दाँत झार्ने धनेले कहिलै पढ्या हैन । तर साढे छ फुट अग्लो छ । अब कसलाई ठूलो मान्छे भन्नु ।
हिँजो ऊ गाडीको खलाँसी बनेर कान्तिपुर छिरेको थियो । दुइचार पटक पकेटमारमा नाम पनि रेडियो र टिभिले लिएको थियो । आज भोलि त उसका अगाडि पछाडि दस विसजना केटाहरू हिँड्छन् । हप्तामा बजारको भाडामात्रै दुई चार लाख उठ्छ । बाटोको ठेक्का उद्याेगधन्दामा सेयर उसैको छ । अझ त्यति मात्रै हो र । पार्टीको केन्द्रीय सदस्यदेखि लिएर मन्त्रीको सल्लाहकार नै छ । उसका केटाहरूले मान्छे कुट्ने लुट्ने भुट्ने गर्छन् र पुलिसले पक्डिन नपाउँदै छुट्ने गर्छन् । मलाई झोक चल्छ र प्रश्न गर्छु भन को ठूलो ।
म अलिक अल्मलिए जस्तो देखिन्छ । अल्मलिएको हैन रहेछ । सम्झिएको रहेछ । तँलाई भैरव अर्यालको याे कविता थाहा छ ?
चोरी चकारी नगरी चतुर्याइँ हुन्न ।
दंगा फसंगा नगरे सुर्याई कहन्न ।
सोझा र सिधा नलिनु दलैमा ।
पार्टी चलाउनु छल औ बलैमा ।
यस्तो कविता सुनायो । त्यस्तो गर्दा जनताले पत्याउँछन् त । एक दुई दिन त पत्याउलान् । त्यसपछि के गर्ने नी मैले प्रश्न तेर्स्याएँ । नबिर्सनु सर्, तँ यूरोप अमेरिकामा हैन नेपालमा छस् । नेपालका जनता यती चाँडै बिर्सन्छन् नि। के नेपाली जनताहरूको लङट्रम मेमोरी लस भएको भन्दै छस् कि के हो । मेरो रिसको पारो चढेको देखेर अलि नम्र हुँदै भन्छ । त्यस्तो सारो त हैन । तर केटाकेटी जस्तै हुन् । जति पिटे पनि जति गाली गरे पनि एक क्षणपछि लालिपप देखएर नानी बाबु भने पछि लुट्पुटिंदै आउने । उ उदाहरण ल्याउँछ । एक पटक नेताहरू खोलामा गाडी सहित पौडिन पसे ड्राइभर बाहिर आवस् । तेसपछि ठूलो आन्दोलन भयो । आन्दोलनका बेला घरका छतमा बसेका बालकहरूदेखि बृद्वहरूलाई तात्कालिन सरकारले भँगेरा झार्दा झैं झार्यो । आन्दोलनमा करोडौंको क्षति भयो । बाटोमा टायर बाल्नेदेखि रेलिङ र बार भत्काउने जस्ता काम भए ।
टुँडिखेलमा लाखौंको संख्यामा जनउभार उठ्यो । नेताले भाषण ठोके । हामीले हत्यारा चिनेका छौं । हामी सत्तामा पुग्नासाथ जनतासामु हत्यारालाई उभ्याउने छौं भने । तालीको गड्गडाहड भयो नेता प्रफुल्ल भएर जुँगा मुसारे । केही समयको अन्दाेलनले तिनै नेता गृह मन्त्री उपप्रधान मन्त्री र प्रधान मन्त्री बने । पार्टीले पटक पटक सरकार चलायो । हत्यारा खोज्ने नामो निशाना आएन । उल्टै जीउँदो साक्षीलाई गाड दिएर सरकारले बर्सौं राख्यो । बर्षौं पछि त्यस साँक्षीको पनि मध्ये दिनमा विचसडकमा हत्या भयो । त्यसको कुनै खोज खबर भएन । कसैले उठाएन कुरो । खोजेन हत्याराकाे भेद । बरु मृतकका नाममा संस्थाहरू खुले । मानिसहरूले रोजगारी पाए । संस्थाले पैसा कमायो । मृतकका सम्झनामा भोज चल्यो । पार्टी सरकारबाट बाहिर आएपछि जनताले खै त हत्यारा समातेक भनेर प्रश्न मात्रै के गरेका थिए । नेताले भने धत्त ,अस्ती सरकारमा भएका बेला सम्झाउनु पर्दैन ? भन्दै उल्टै प्रति प्रश्न हाने ।
विचरा जनताहरूले हो त हाम्रो बुद्धि पनि कस्तो भनेर जिब्रो टोके । ल अब अर्काे पटक चाहीँ सम्झाउन नबिर्सनु नि भनेर नेता छट्किए । जनताहरू सबै पहिलाका कुराहरू र्बिसिएर तीनै नेताको भजन गाउन थाले। हाम्रा त्रिकालदर्शी नेताको जयहोस् भन्दै फुर्काहरू लगाएर भजन तयार गरे ।
नेताले नदीनालाका सम्झौताका सन्धि र समझदारीबाट अरबौंको नाफाका कुरा ल्याए । हाउडा लाउडा र धमिजा काण्डका व्यवशाय चलाए । सुडान प्रकरणका कुराहरू र सबै व्यापारका विरुद्दमा, धेरै पटक जनता उफ्रिए । नेताहरूले खराब काम गरे भनेर आगो फुके । तर केही समयमै सबै बिर्सिए । हाम्रा भगवान जस्ता निस्कलंक नेता भन्दै उनकै नाममा मर्न र मार्न तयार हुन्छन् । जनता केही सम्झँदैनन् । राजालाई भगवानको अवतार मानेर सर्वश्व सुम्पिनेहरू न ठहरिए । म ले अर्थ्यायो ।
मलाई म को पुराणले हैरान बनायो । सुनाए मात्रै त हुन्थ्यो नि तर मेरा प्रत्येक काममा हस्तझेप नै गर्न थाल्यो । कुनै पार्टीले राम्रो काम गर्यो भने पनि राम्रो हो भन्न दिँदैन । राम्रो विचार ल्यायो भने पनि समर्थन गर्न दिँदैन । हेर यो राम्रो काम त हो तर समर्थन गरिस् भने तेरो अस्तित्व सकिहाल्यो नि । खै तेरो अस्तित्व रहेको । बिरोध गर नत्र सकिन्छस् भनेर उर्दि गर्छ । पार्टीभित्र पनि तेरा मत नमिल्नेहरूलाई धम्क्या न । तैंले चाहेको पद नपाए पार्टी फुटाउँछु भनेर धम्की देन । त्यसको परिणाम भोग्ने त जनता नाथे न हुन तेरो के जान्छ र । कहिले अरु पार्टीले निकै राम्रा योजनाहरू ल्याएको हुन्छ समर्थन गर्न नै दिंदैन । सर्त राख, त्यो काम भयो भने तेरो पार्टिीको अस्तित्व नै सकिन्छ । नाम निशाना नै मेटिन्छ । नमाने नेपाल बन्द गर्दिन्छु भन । दुई चार जना केटाहरूलाई ठाउ ठाउँमा गएर पटका पड्काउन लगा ।
याे सरकारले शान्ति कायम गर्न सकेन भनेर सदन अवरुद्व गर । भातृ संगठनमा विना पैसामा ज्यान फाल्न तम्सेर लागेका केटाकेटी छँदैछन । केहि भए म छु भन । शहीद घोषणा गराैँला । परिवार हेरौँला भन्दे न । पार्टीका डनहरूलाई अरु पार्टीका कार्यकर्ताहरूलाई हान्न लगा । दुई पार्टीको भिडन्त शुरु हुन्छ । खोइ देशमा शान्ती शुरक्षा भनेर चर्र्कोभाषण गर । विरोधमा चक्काजाम टायर बाल्ने काम लगाइदै केटाकेटीले पनि रोजगारी पाउर्ने । तँलाई सदनमा उठाउने मसला पनि मिल्ने । केटाहरूलाई जस्ले बढी गाडी फोड्यो उसलाई केन्द्रिय सदस्य बनाइ दिने भन गाढी मूला त कति फुट्छन कति । राम्रो काम चाहिँ गर्न न दे है न दे । तेरो पुस्तौंदेखि खाइ आएको खेलो खत्तम होला नि भनेर सिकाउँछ ।
कहिले व्यापार कसरी गर्ने होला, के गरे राम्रो होला भनेर झोक्राउँदै हुन्छु । म अगि सर्छ र के झोक्राउँछस्। दुई चार लाख ऋण लिएर तराईतिर कुनामा तीन चार विघा जग्गा किन । बैंकलाई घुस ख्वा र दुई करोडको मूल्याङ्कन गराएर ऋण निकाल । सानो उद्याेग खोलेर दुई करोडको वीमा गरा । अब उद्याेग चलाउन शुरु गर । अनि उद्याेगमा आगो लगाइ दे । वीमावालाहरूलाई पनि अलि अलि पैसा दे अरु पैसा निकाल । अर्कैको पैसाले तँ मालामाल ।
नत्र म्यान पावर खोल । युरोप अमेरिका जापान र खाडीमा डक्टर इन्जिनियर प्रोफेसरलाई महिनाको तीनलाख तलब भनेर लाइदेन । प्रति व्यक्ति दुईदेखि चार लाखसम्म उठाउनु । प्रोशेस हुँदै छ भन्ने । दुई चारमहिनामा मालामाल बनि हालिन्छ । त्यो पनि आँट गर्दैनस् भने गँडाको खाग प्रतिबन्धित जडिबुटी रक्त चन्दन आदिको व्यापार थाल । केटाहरूलाई भिडा र केही पर्यो भने म छु भन । पुलिसले समात्यो भने निकाली पनि दे । मेरो मान्छे भन पुलिसले आनाकानी गरे परिवारको माया छ कि छैन भन । दुई चार वटा छुरी र पिस्तोल अनि पटका पड्काउन केटाहरूलाई सिका । अब कुन पुलिसले पक्डन्छ तेरा मान्छेलाई । उल्टै पुलिसहरू तेरा केटाहरूसँग सहयोग माग्दै आउँछन् । बनिनस् त मालामाल । पर्याे भने दुई चार पेटी फ्याल्न पनि पछि पर्नु चै हुन्न है । तेरो एक प्रतिशत पनि जाँदैन । केटाहरूलाई दिनभर पिनाखाना गरा र साँझ पख पारेर बजारमा पठा । तेरा केटा गएतिर नजानु भन्ने पुलिसलाई उर्दी गर । केटाहरू काम तमाम गरेपछि गस्तिमा पुलिस पुग्छ । तँलाई पनि भयो पुलिसलाई पनि भयो । जानिस् त तरिका भन्दै मरिमरि हाँस्छ । अब तेरा केटाहरूलाई पनि रोजगारी पुलिसलाई पनि भत्ता ।
अब बालुवाको ठेक्का खोज्छस् कि रोडा ढुङ्गा जे पनि तँलाई मिल्छ । उ गर्व गर्दै भन्छ । अझ कति छन् कति त्यस्ता मालामाल हुने उपायहरू । पूर्व प्रधान मन्त्राणी जस्नै विस हजार तिरेर सदस्य बन्ने ढुकुटी खोल । एक जनाले चार जना सदस्य बनाए पछि साँवा फिर्ता हुने र दोश्रो महिनादेखि १० हजारका दरले घरैमा बसी बसी पैसा आउने भनेर लगाइ दे ताल । एक दुई जनालाई चेक काटेर दे पनि । त्यसरी पैसा आएको देखे पछी तेरा टाउकामा पैसाको वर्षै वर्षा हुन थाल्छ । कति कमाउँछस् कति । लेखा राख्न मात्रै सिए चाहिन्छ ।
मैलाई यो मका उल्टा सिधा कुरा सुन्दा सुन्दा वाक्क लाग्यो । विषयबस्तु परिवर्तज गर्नु पर्याे तै चुप लाग्छ कि भनेर दाम हैन नाम कमाउने उपाय बता न त भने । उ त झन व्यासमा बसेको पंडित झैं प्रवचन पो दिन्छ है । उसले थालिहाल्यो । हेर अलि शिप नभएका तर गाँठ टन्न भएका साहित्यकार हुँ भन्न रुचाउनेहरू सँग जा । म तपाईलाई सम्मान गर्छु । व्यापक प्रचार प्रसार हुन्छ । चारैतिर प्रशंसा हुन्छ । टिभी रेडियो र पत्र पत्रिकाले कभरेज दिन्छन् । अलिकति खर्च चैं गर्नु पर्छ भन्नु । अब नाम चलेका अलि लोकप्रिय जस्ता मान्छे बाेलाएर पुरस्कार र प्रमाण पत्र दिन लगाउनु । अझ सञ्चारकर्मीहरूलाई तारेमा लगेर तेस्र्याई दिनु । तेरो कार्यक्रमको कत्रो प्रशंसा । देखिस् । अरुकै पैसा अरुकै लगानीमा तेरो नाम आएन त ।
उल्फाको धनमा फूपूको श्राद्व भनेको यही हो बुझिस् । अलि अलि धन खर्च गर्न गाह्रो मान्दैनस् भने झन बेस । अर्को उपाय बताइ दिन्छु । हेर शहरमा इमान्दार निष्कलंक छवि बनाएका मान्छे छन् । तपाईलाई दोसल्ला ओडाएर ताम्रपत्रले तपाईंको योगदानको कदर र सम्मान गर्ने भन । विशिष्ठ मान्छे वोलाएर ताम्र पत्र र दोसल्ला ओडा । रेडियो टिभी पत्र पत्रिका सबै लाइन लागेर आउँछन । चारै तिर तेरो नाम । भएन त कमाल । अपराधनै गरेको थिइस् भने पनि पखालियो । अझ आफै अदृश्य प्रायोजक बनेर आयोजकलाई पैसा दियो । अनि विशिष्ठ व्यक्तिको हातबाट सम्मानित भयो । आफ्नै माला आफ्नै गला कस्तो लाग्यौ आइडिया ?
तँलाई थाहा छैन ऐले नाम र दाम कमाउने अर्को सुन्दर उपाय । मैल कान ठाडा पार्दै उतिर हेरें । स्कुल सुन्दरी कलेज सुन्दरी तामाङ सुन्दरी राई थारु बाहुन क्षेत्री सुन्दरी लिम्वू सुन्दरी गाउँ सुन्दरी शहर सुन्दरी श्रीमति सुन्दरी जिल्ला सुन्दरी अञ्चल सुन्दरी हजुरआमा सुन्दरी आदि आदि प्रतियोगिताको आयोजना गर । प्रायोजक खोजेर सक्दो पैसा उठा । ती सुन्दरीहरूलाई तालिम र प्रवेश शुल्क भनेर सक्दो पैसा लिनु । अब जसले बढिको टिकट विक्रि गर्छ तीनैका छोराछोरीलाई प्रतियोगितामा सोधिने प्रश्नको ट्यूसन पढायो । भन्न जाने पनि नजाने पनि सुन्दरी । सुन्दरी भए पनि नभए पनि सुन्दरी बनाइ दियो । भित्री कुरा कसलाई थाहा र । आयोजक भएर नाम पनि दाम पनि दुबै हातमा लड्डु ।
नत्र भने नामका अगाडि डा. थपेर बोर्ड झुण्ड्याइ दे । प्राइभेट यूनिर्भिसटी भन । यूरोप र अमेरिकासँग संयुक्त सञ्चालन गरिएको भनेर लगाइ दे न ताल । काइते काइते मन्त्री र नेतालाई मानार्थ विधावारिधि भनेर प्रपाण पत्र थमाइदे । ती आइए पनि नपढेका नेतालाई त्यो सक्कली न नक्कली नि । मैले पाएँ भनेर अरुले रिस गरेका नि भनेर रेडियो र टिभी पत्रपत्रिकामा छ्याप्छयाप्ती भरिन्छ । तेरो नाम त कता हो कता ।
मलाई यस खुराफाती म का कुरा सुनेर सारै दिक्क लाग्छ । कान थुन्छु र अर्कातिर फर्किएर बस्छु ।
०००
पाँचथर, हाल बिसी क्यानडा
Subscribe
Login
0 Comments
Oldest







































