सुरेश राईभिड्छौ ? मोबाइल बिसाएर आऊ
तिम्रा सारा शक्ति त्यही फोन र कम्प्युटर होइन? सक्छौ ? केहिबेर इन्टरनेट बन्द गरेर आऊ । भिड्छौ ? एक्कैछिन मोबाइल बिसाएर आऊ ।

सुरेश राई :
जे भएम् हामी ता
मेरो सेरोफेरो विषयमा
आफ्नो सेरोफेरोको सरसफाइ
किताबमै गरेर आएकाहरू पो हौं
लामखुट्टे र तोरीको जीवनचक्र जाबो ता
चित्र कोरेर कापीमै झलझली हेरेर आएकाहरू हौँ
गर्न परेन कुनै प्राक्टिकल स्राक्टिकल
घुम्न परेन कुनै ऐतिहासिक ठाउँ साउँ
त्यसैले जे भएम् हामी ता
ब्ल्याकबोर्डमै सम्पूर्ण विज्ञान बुझिआएकाहरू पो हौँ
जसो भएम् हामी ता
झिँगाको चित्र परीक्षामा सोध्ला कि भनेर
साथीले मरेको झिँगा खल्तीमा बोकिलगेको पुस्ता हौँ
‘ओल्ड इज गोल्ड’ प्रश्नपत्र बैंकका भक्तहरू हौँ
‘गेसपेपर’ पढेर गेस मिलाएर पास भएकाहरू पो हौँ
एस एल सीको रिजल्ट नाथे ता
राष्ट्रिय पत्रिकामै छापिएकाहरू हौँ
त्यसैले जसो भएम् हामी ता
चिटै चोर्दा पनि आफैले दु:ख गरेर
हत्केलाभरि लेखेकाहरू पो हौँ
अखबारका कटिङहरू भेला पारेर
चिर्कटो चिर्कटो साँचेर
लाइब्रेरीका पुस्तक चोरीचोरी
आइए र आइकम, एम्ए र एम् कम पढेका हौँ
त्यसैले,
ओ ओभर नाइट पैदा भएका
नवीन युगका टुप्पो पलित नवविद्वानहरू हो !
हामीलाई हेप्छौ ?
तिम्रा सारा शक्ति त्यही फोन र कम्प्युटर होइन ?
सक्छौ ?
केहिबेर इन्टरनेट बन्द गरेर आऊ ।
भिड्छौ ?
एक्कैछिन मोबाइल बिसाएर आऊ ।
०००
बाम्राङ, खोटाङ ।







































वाह कवि ज्यू गज्जब नै आयो