सुरेन उप्रेतीकुहिएको टाउको
सुताइ नमिलेर चिसाले आँखाबाट कचेरा निस्किएका भन्दै टाउकाले टार्ने गरेको थियो । टाउको डुङ्ग डुङ्ग्ती गन्हाउन थाल्यो । त्यो गन्ध टाउकाको आसपासमा मात्र सिमित नरहेर चारैतर्फ फैलियो ।

सुरेन उप्रेती :
केही वर्षदेखि टाउकालाई देख्दा मानिसहरू तर्कन थालेका थिए । कोई कोइले त नाक पनि छोपेका हुन्थे । हतार हतार नाकमुख छोप्ने कपडाको महला निकालेर लाउँथे । त्यो देख्दा अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सेको होला भन्ने टाउकालाई लाग्थ्यो । भर्खरै कोरोनाले घाइते बनेका मान्छेहरू अझै तर्सँदा रहेछन् भनेर मनमनै टाउको हाँस्थ्यो । कतै जाँदा मान्छेहरू अर्को तर्फ फर्किएर कानेखुसी गर्थे । टाउकालाई लाग्थ्यो राम्रो मान्छे आयो भनेर खुस्खुसाएका होलान् । टाउको झन् नाकलाई घिरौँला जत्रो बनाएर कुखुरे छाती बाहिर ल्याएर कुमलाई पछाडि तन्काएर अझै अग्लो भएर हिँड्थ्यो । अली टाढा पुगेपछि टाउकाले सुन्दैन भन्ने भएर होला ती मान्छेहरू मरीमरी हाँस्थे । टाउकालाई झन अग्लो भएको भान हुन्थ्यो । किथ्राका सिङ जस्ता चारतिर फैलिएका जुँगा मुसार्दै टाउको फुलिन्थ्यो ।
उसलाई निकै ठूलो भएको अनुभूति हुन्थ्यो । टाउकाले केही बोलोकी सबै मानिसहरू ताली पट्काउँदै हाँस्थे । टाउको झन फुरुङ्ग भएर त्यस्तै त्यस्ता कुरा बर्षाइ दिन्थ्यो ।
बेलुका घरमा पुगेपछि दिनभरीका कुरा बुढीलाई सुनाउँथ्यो । बूढी पनि टाउकाका कुरा सुनेर मरिमरी हाँस्थिन् । टाउको झन हौसिन्थ्यो । त्यस्तै कुरा गर्थ्यो । बाथरुममा गएर ऐनामा नियाल्थ्यो । टाउकालाई उ सन्सारकै राम्रो लाग्थ्यो । उमेरले जंकु गर्ने बेला भए पनि भर्खरको पठ्ठो ,मस्त उमेरको जस्तो ठान्थ्यो । हिँड्दा उस्तै फूर्ति आउने । चट्ट सुटबुट लगाउँदा होस् या दौरासुरुवालमा काटिँदा होस् टाउकालाई हिन्दी सिनेमाको टाइगर सराफ जस्तै फूर्ति महसुस हुने । मानिसले खैनी माडेर हात पड्काउँदा पनि टाउकालाई राम्रो देखेर हात पड्काएका हुन भन्ठान्थ्यो ।
खुट्टा मजबुत थिए । पैतालाहरू इमानदार र कर्मशील थिए । हातहरू कमकरी थिए । शरीर बलिष्ट थियो । यो सबै भएकोमा टाउकालाई घमण्ड थियो । खुट्टा, हात, पाखुरा र शरीरलाई आकाशपातालकै कुरा जोड्दै हौस्याउँथ्यो । ताली बजाउन लगाउँथ्यो । मर्न र मार्न तयार हुनु पर्छ भनेर सुर्याउँथ्यो । कहिलेकाहीँ अण्टसण्ट कुरा गर्थ्यो । टाउकाले चाहन्थ्यो शरीरका प्रत्येक अङ्ग हाँसुन् । बेस्सरी ताली बजाउन् । अरू हाँसेनन् भने टाउकालाई खपिनसक्नुको छटपटी हुन्थ्यो र बर्बराउन थाल्थ्यो । टाउको भन्थ्यो “मैले त यी मेरा औँलाहरू हुन् । हातखुट्टा हुन भन्ने ठानेको थिएँ । निर्जिव काठ, प्लास्टिक र सिमेण्टबाट बनेका अंग पो परेछन् ।“ हामी शरीरका सबै अंगहरू टाउकाका अर्थनबर्थका कुरामा पनि बेस्सरी हाँसेर ताली बजाउँथ्यौँ । ए अझै त चेतना गुमेको रहेनछ भन्दै टाउको मुस्कुराउँथ्यो ।
शरीरका प्रत्येक अंगहरू टाउकासँग आजित भैसकेका थिए । टाउकाकै छेउमा हुँने गर्धन, छाती र कुमहरू त वाक्क भैसकेका थिए । शरीरलाई बल्ल थाहा हुन थाल्यो किन टाउकाको नजिक पुग्दा मानिसहरू नाक छोप्दा रहेछन् भन्ने । टाउको त भित्रभित्रै कुहिन थालेको रहेछ । कान आँखा र नाकका प्वालबाट पँहेलो पिप निस्कन थालेको रहेछ । सुताइ नमिलेर चिसाले आँखाबाट कचेरा निस्किएका भन्दै टाउकाले टार्ने गरेको थियो । टाउको डुङ्ग डुङ्ग्ती गन्हाउन थाल्यो । त्यो गन्ध टाउकाको आसपासमा मात्र सिमित नरहेर चारैतर्फ फैलियो ।
टाढाटाढासम्म पनि टाउको गन्हाएर गाउँघर हुँदै शहरसम्म महामारी फेलियो । देशभरी दुर्गन्धले प्लेग, औलो, बिफर र कोरोना जस्तै महामारी फैलियो । टाउको अझै कराउँदै हिँड्दै छ । कुहिएर कान झरे । आँखाका परेला झरे । नाक झर्यो र खाली दुईटा प्वालमात्र देखिन थाले । गिदी लिदिबिदी भएर निस्कन थाल्यो । टाउको कुहिएको अण्डा जस्तै भएर कुहियो ।
०००
पाँचथर, हाल : क्यानडा
Subscribe
Login
0 Comments
Oldest







































