साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुर्पुरो

कोही पुर्पुराले वैज्ञानिक बनेर इतिहास रचेका छन् भने कोही पुर्पुराले साहित्य वा अरू क्षेत्रमा लागेर आफ्नाे सफलताको सिँढीलाई सगरमाथा बनाएका छन् । यो सबै अरू केही नभएर पुर्पुराको खेल हो ।

Nepal Telecom ad

पिँडालु पण्डित :

म धेरै दिनदेखि आफ्नो पुर्पुरो छामिरहेको छु । सुत्दा पनि पुर्पुरो, उठद पनि पुर्पुरो । जतिखेर पनि यही पुर्पुरोमै हात । अब त छाम्दिनँ भन्दा पनि कतिखेर, कतिखेर आलोपालो गर्दै यी दुवै हात स्वाट्टै निधारमा पुगिहाल्छन् । अरूको पुर्पुरो देख्छु, र आफ्नाे पुर्पुरो नियाल्छु । समानता खोज्छु, असमानता खोज्छु । कहिले हाँस्छु, कहिले रुन्छु । कहिले मौन हुन्छु, कहिले बर्बराउँछु । तर मेरो यो स्थिति अहिलेसम्म कहीँ कतै कसैको आँखामा भने परेको छैन । आफैँमा सीमित छ । त्यसमा म चित्त बुझाउँछु, र फेरि पनि पुर्पुराकै विषयमा सोचिरहन्छु ।

पुर्पुरो यस्तो वस्तु हो, जो प्रत्येक प्राणीको जन्म सँगसँगै उसैसँग उसका शरीरको अग्रभागमा सगरमाथा झैँ उपल्लो टाकुरामा टाँसिएर आउँछ । त्यो कसले बनाउँछ ? किन बनाउँछ ? कसरी बनाउँछ ? कहाँ बनाउँछ ? कस्ता सामग्री प्रयोग गरेर बनाउँछ ? एउटैले बनाउँछ, वा धेरै जना मिलेर बनाउँछन् ? जस्ता कुराचाहिँ अझै अनुमान र छलफलको विषय बनिरहेको छ । अझैसम्म छलफलमै केन्द्रित भएकाले यो विषय अझै यकिन भइसकेको छैन । निचोड निस्केको छैन । प्रत्येक प्राणीसँगै टाँसिएर वा झुन्डिएर आउने यस्ता पुर्पुरालाई एकातिर भौतिक रूपमा देख्न र व्याख्या विश्लेषण गर्न सकिन्छ भने अर्कातिर अभौतिक रूपमा चर्चा परिचर्चा गर्न पनि सकिन्छ । यस्तो व्याख्या विश्लेषण र चर्चा परिचर्चा प्राणीको बनोट, आकार, प्रकार र उसका अन्य विशेषतामा निर्भर हुन्छ ।

पुर्पुरो मेरो पनि छ, तपाईंको पनि छ । उहाँको पनि छ, उनीहरूको पनि छ । यस अर्थमा पुर्पुरो हामी सबैको छ । पुर्पुरोलाई हामीले भौतिक रूपमा व्याख्या विश्लेषण गर्न चाह्यौँ भने त्यो सरासर हाम्रा निधारमा गएर ठोकिन्छ । फेरि यसैलाई अभौतिक रूपमा हेर्न, खोज्न वा बुझ्न खोजियो भने त्यो प्राणीकै भाग्यमा गएर टाँसिन्छ । निधार र भाग्यमध्ये निधार देख्न सकिन्छ, भाग्य देख्न सकिँदैन । त्यसैले कुनै पनि प्राणीमा भौतिक रूपमा देखिने र अभौतिक रूपमा अनुमान गरिने निधार र भाग्य दुवै पुर्पुरोका पर्याय हुन् । तर अभौतिक रूपमा अनुमान वा व्याख्या विश्लेषण गरिने भाग्यको विषय भने आध्यात्मिकतातिर गएर जोडिन्छ ।

उसो त हामी धेरै व्यक्ति कुनै न कुनै रूपमा भगवान्‌मा विश्वास गर्छौँ । हामीले विश्वास गरेका भगवान् पनि वर्गीय हितका पछि लाग्ने कामबाट टाढा छैनन् । देवताको स्वार्थका लागि वर्गीय हितमै लागेका कारण भगवान् विष्णुले दशौँ अवतारसम्म धारण गर्नुपरेका लगायत अन्य धार्मिक गाथाहरू हाम्रा शास्त्रमा वर्णित छन् । हाम्रो विश्वासका घेराभित्र छन् । वर्गीय हितका यस्ता गाथा हाम्रा लागि अनुकरणका विषय बनेका छन् । त्यसैले पनि मान्छे वर्गीय हितमा विश्वास गर्छ । वर्गीय हितकै पछि दौडिन्छ । उसका प्रत्येक क्रियाकलाप वर्गीय हितमै केन्द्रित हुन्छन् । चाहे त्यो सङ्कीर्ण रूपमा अवतार लिएर परिवारमा गएर केन्द्रित होओस्, वा सार्वजनिक हितमा केन्द्रित भएर सार्वजनिक हितकै लागि समर्पित होओस् । मान्छे व्यक्तिका रूपमा खडा भएर पारिवारिक हितमा मात्र केन्द्रित हुँदा त्यो सोच सङ्कीर्ण ठहरिन्छ भने सार्वजनिक हितका लागि समूहमा गएर आबद्ध हुँदा त्यो उदार मानिन्छ ।

मान्छे सङ्कीर्ण सोचको परिचायक प्राणी हो । मान्छे, मान्छेकै वर्गीय हितका लागि दौडिन्छ । यस अर्थमा ऊ पहिलो प्राथमिकतामा मान्छेकै हितका लागि लागिपर्छ । त्यसपछि मात्र अरूका लागि । आफ्नाे हित छाडेर ऊ कहिल्यै पनि परहितका लागि दौडिँदैन । यो उसको एउटै मात्र अकाट्य विशेषता हो । गुण हो । परिचय हो । त्यसैले पुर्पुराका विषयमा कुरा उठाउँदा पनि ऊ मान्छेमै केन्द्रित हुन्छ । मान्छेकै पुर्पुराका पक्षमा वकालत गर्छ । मान्छेकै पुर्पुराका विषयमा चर्चा परिचर्चा र छलफल गर्छ । मान्छेका रूपमा गणना भएका हामी सबैलाई अरू प्राणीको पुर्पुराका विषयमा चर्चा, परिचर्चा र वकालत गर्ने फुर्सद पटक्कै हुँदैन, र छैन पनि । त्यसैले यतिखेर पुर्पुराका विषयमा गर्न लागिएको यो छलफल, वा चर्चा परिचर्चा पनि मान्छेकै पुर्पुराका विषयमा केन्द्रित हुनु कुनै अनौठो कुरा भएन ।

सृष्टिका सबै मान्छे लिङ्ग र रूप रङका हिसाबले जेसुकै र जस्तोसुकै भए पनि आकारमा तालुदेखि पैतालासम्मका स्वरूपमा भेटिन्छन् । तर यिनको पुर्पुरो भने एउटै आकार र स्वरूपमा भेटिदैनन् । पुर्पुरो मान्छेपिच्छे फरक फरक हुन्छ । फरक फरक पुर्पुरोले फरक फरक परिणाम दिन्छ । स्वरूपमा उस्तै उस्तै देखिएर के गर्नू ? समाजमा सँगसँगै हुर्केबढेको मान्छे एउटा राजकीय सत्ताको कुर्सीमा विराजमान भएर चौरासी व्यञ्जन समेतले ढाडिएर जस्तोसुकै रूपमा भए पनि देश हाँकिरहेको हुन्छ भने अर्को सडकका चिसा पेटीमा सकसपूर्ण हिसाबले खाली पेट रात गुजारिरहेको हुन्छ । आँखा पर्नु नपर्नु, तुलना हुनु नहुनु त्यो आफ्ना ठाउँमा छ, तर संसारका जुनसुकै भूगोलमा पनि यो सबैले अनुभूत र दृष्टिपात गरेको विषय हो ।

पुर्पुरो एउटा त्यस्तो वस्तु हो, जो भौतिक रूपमा दायाँ बायाँ केही नहुँदानहुँदै पनि टाढैबाट फुटेको देखिन्छ । छाम्दै नछामी परैबाट बलियो देखिन्छ । कसैले साह्रै दुःख पायो भने समाज भन्छ– पुर्पुरो फुटेपछि सधैँ दुःखको दुःखै । त्यसको पुर्पुरै त्यस्तै । त्यस्ताले दुःख नपाएर कसले पाउँछ त ? यसका विपरीत कोही भौतिक तथा मानसिक रूपमा तुलनात्मक हिसाबले अरूभन्दा सम्पन्न छ, वा देखिन्छ भने त्यही समाज भन्छ– त्यसको त पुर्पुरै बलियो छ । पुर्पुरो बलियो भएपछि कसको के लाग्छ ? जता गए पनि पैसैपैसा । जता गए पनि ऐश्वर्य । जता गए पनि सम्पन्नता । जता गए पनि इज्जत र मान, सम्मान । जता गए पनि पद, प्रतिष्ठा । पुर्पुरो भनेको त त्यस्तो पो हुनुपर्छ ।

कोही झाडुबढारु वा त्यसभन्दा माथि तर तल्लै तहका कसैले आफ्नाे रोजगारीलाई नै हतियार बनाएर गैरकानुनी सम्पत्ति कमायो भने पनि तपाईं हामी नै भन्छौँ– पुर्पुरो बलियो थियो, कमायो । कसैले रिस गरेर हुन्छ ? कोही ठुलै पदमा पुगेर पनि हातमुख जोड्ने समस्यामै केन्द्रित छ भने त्यस्तालाई फेरि तपाईं हामी नै भन्छौँ– पुर्पुरोमा लिएर आउनुपर्छ कमाउन त । सोझा औँला लिएर आउने, अनि कमाउन सकिनँ भनेर रोइकराई गरेर हुन्छ ? पुर्पुरो बलियो चाहिन्छ, पुर्पुरो ।

ल, अब हेर्नुस् त यहाँ पुर्पुराको कमाल । समाजको हेराइ र देखाइ । कहीँ कतै अलिकति नङ्ग्रालेसम्म नदर्फराएको पुर्पुरोलाई पनि समाज एकातिर फुटेको देख्छ भने अर्कातिर त्यही समाज अर्काको पुर्पुरो छुँदै नछोई, छाम्दै नछामी, अझ कतिपय अवस्थामा त देख्दै नदेखी बलियो घोषणा गरिदिन्छ । त्यही पुर्पुरो हो जो दुःख पाउँदा फुटेको देखिन्छ, सुख पाउँदा बलियो देखिन्छ । दुःख पाउँदा अभागी पुर्पुरो साबित हुन्छ, सुख पाउँदा भाग्यमानी ठहरिन्छ । अनि, यसरी हेर्दा र मूल्याङ्कनमा पर्दा अचम्मको देखिँदैन त पुर्पुराको सामाजिक हैसियत र प्रस्तुति ?

पुर्पुराकै प्रसङ्गमा राजनीतिमा लाग्ने र समाजका अरू वर्गको पनि अलिकति कुरा गरी हेरुँ न । कोही निर्वाचनमा पचास/साठी हजार मत ल्याएर विजयी भएका हुन्छन्, कोही पैँतीस सय/चार हजार । पचास साठी हजार मत ल्याउने आफ्नो कार्यकालभरि जहाँ जन्मेको हो, त्यहीँको प्रतिनिधिमै सीमित हुन्छ भने पैँतीस सय/चार हजार मत ल्याउने कार्यकालभरि झन्डा हल्लाएर स्वदेश विदेश जहीँतहीँ हुइँकिइरहेको हुन्छ । कतिपय ब्याइते बनेर बसेकाहरू जीवनभर कहीँ कतै कुनै अवसर नपाएर कुहिइरहेका हुन्छन् भने कोही ल्याप्प ल्याइते बनेर टाँसिनेबित्तिकै अनेकौँ रमितामय रजाइँमा रमाउने अवसर पाइरहेका हुन्छन् ।

राजनीतिक क्षेत्रमा मात्र नभएर पढाइगुनाइ र समाजका अन्य क्षेत्रमा पनि यस्तो हुन्छ । कोही नब्बे पन्चान्नब्बे प्रतिशत अङ्क ल्याएर पनि चाहेको विषय पढ्न पाइरहेका हुँदैनन्, कोही पचास पचपन्न प्रतिशतमै त्यस्तो अवसर प्राप्त गरिरहेका हुन्छन् । यो सबै समयको खेल मात्र नभएर पुर्पुराको कमाल हो । पुर्पुरो बलियो भएपछि परि परि आउँछ भनेको पनि यही नै हो । कुनै दुर्घटनामै पर्दा पनि कसैको लास भेटिन्न, कोही सकुशल सासमा भेटिन्छन् । प्लेनबाटै खस्दा पनि कसैको खरानीसम्म पनि फेला पर्दैन, कोही सकुशल ठिङ्ग उभिन आइपुग्छन् । कोही रोजगारी वा अन्य क्षेत्रमा अनैतिक काम गरेर अरबौँको हिस्सेदार हुँदा पनि त्यस्तालाई कहीँ कतै कुनै ठायाँ (बोलीचालीमा ठायाँ भनिए पनि यथार्थमा यो छाया हुनुपर्छ) ले छुँदैन । तर, इमानदारीपूर्वक आप्‌mनो लयमा लाग्नेहरू अनेकौँ प्रपञ्चमा परेर कारबाहीको भागिदार भइरहेका देखिन्छन् ।

भूगोलअनुसार मानिसको जन्माइले पनि उसको पुर्पुरोको मूल्याङ्कन भइरहेको हुन्छ । यसो नहुँदो हो त विश्वका कतिपय समालोचकहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली भूगोलभित्रको जन्माइलाई यो भौगोलिक गल्ती हो भनी किन भन्थे र ? पुर्पुरो बलियो हुनेहरू सुबिधा सम्पन्न र पर्याप्त अवसर भएका ठाउँमा जन्मलान् । पुर्पुरो कमजोर भएकाहरू देवकोटाका झैँ यसको विपरीत स्थानमा जन्मिरहेका पनि हुनसक्छन् । भूगोलअनुसारको यस्तो जन्माइ देश विदेश जहीँतहीँको भूगोलमा हुनसक्छ । सम्पन्न भूगोलभित्रै पनि कोही कमजोर पुर्पुराका हुन्छन्, कोही बलियो पुर्पुराका धनी । सम्पन्न, विपन्न कुनै पनि देशीय वा परदेशीय भूगोलमा यो स्थिति भेटिन्छ । सडकमा सुत्ने र महलमा मडारिने जहीँतहीँ भेटिन्छन् । यी सबै स्थिति पैदा हुनुको मुख्य कारण पुर्पुरो हो भन्दै उसको पुर्पुरोलाई यश अपयशको भागी बनाउने प्रचलन यत्रतत्र सर्वत्र छ । सृष्टिमा पुर्पुरो बलियो र कमजोर हुनेका यस्ता कथा वर्णन गरेर साध्य छैनन् ।

सामान्य हिसाबले हेर्दा संसार पुर्पुरो बलियो हुनेहरूकै छ । समाजमा पद, प्रतिष्ठा, मान, सम्मान र चौतर्फी अवसर पुर्पुरो बलियो हुनेकै हातमा छ । सत्तादेखि पत्तासम्म, झाडीदेखि गाडीसम्म, गाउँदेखि सहरसम्म, दुर्गमदेखि सुगमसम्म, गुलेलीदेखि बन्दुकसम्म सबैतिर पुर्पुरो बलियो हुनेकै हालीमुहाली छ । तर, जे जस्तो भए पनि पुर्पुराले एकातिर प्रशंसाको पगरी गुथेको छ भने अर्कातिर अपयशको अभियोग पनि त्यत्तिकै सहनु परेको छ । कोही पुर्पुराले वैज्ञानिक बनेर इतिहास रचेका छन् भने कोही पुर्पुराले साहित्य वा अरू क्षेत्रमा लागेर आफ्नाे सफलताको सिँढीलाई सगरमाथा बनाएका छन् । यो सबै अरू केही नभएर पुर्पुराको खेल हो ।

पुर्पुरो पुराणका यी सबै तथ्य नियाल्दा के निष्कर्ष निस्किन्छ भने पुर्पुराको महिमा अपरम्पार छ । कसै गरी कुनै किसिमले भेउ पाइनसक्नु छ । अगाडि आँट र पछाडि पयठ हुनेहरूको पुर्पुरो कुनै पनि बेला एकाएक झल्झलाकार भएर यत्रतत्र सर्वत्र चम्किरहेका देखिन्छन् भने आँट र पयठबिनाका पुर्पुराहरू अनेकौँ चोट र खोटमा त्यसै त्यसै डल्लिइरहेका हुन्छन् । खाल्डोको खाल्डोमै सडिरहेका हुन्छन् ।

त्यसैले हाम्रा आँखा सामु पसारो परिरहेका समग्र पुर्पुराहरूको अध्ययनको अर्को यथार्थ के छ ? भने भविष्यमा काला अक्षरले तिनको इतिहास लेखिए पनि जो नकारात्मक छन्, जो स्वार्थी छन्, जो असहयोगात्मक छन्, जो परपीडक छन्, जो विध्वंसात्मक र दुष्ट प्रवृत्तिका छन् त्यस्ताकै पुर्पुराले चौतर्फी आसन जमाइरहेको देखिन्छ । चौतर्फी शासन चलाइरहेको देखिन्छ । जो नहुनुपर्ने हो, यथार्थमा त्यही भइरहेछ । पुर्पुराका विषयमा यतिविधि चर्चा परिचर्चा प्रकाशमा आइसकेपछि जो कसैले पनि आफ्नो पुर्पुरो फुटेनफुटेको र कमसल वा बलियो कुन वर्गमा पर्छ ? आफैँ छुट्ट्याउन सक्ने छन् । आफ्नाे पुर्पुरोको पहिचानमा कोही कसैको सहयोग तिनलाई आवश्यक पर्दैन । इति कलियुगे मनुष्याणाम् पुर्पुरोध्याय वर्णनम् समाप्तम् ।

०००
चक्रपाणी निबन्ध विशेषाङ्क, २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
जँड्याहाको जमघट

जँड्याहाको जमघट

पिँडालु पण्डित
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x