साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डनवाद

हाम्रा बर्तमान नेताहरूलाई पनि यो डनवादको माहात्मे राम्रैसँग थाहा छ । कसरी कसलाई तह लगाउने साम दाम दण्ड भेद नीति कण्ठस्तै आउँछ । त्यसैले घोषित अघोषित रूपमा भुइँ डनहरूलाई संरक्षण गरेर राखेका छन् ।

Nepal Telecom ad

सुरेन उप्रेती :

विचारकहरूका चिन्तनले समाजलाई सकारात्मक ढंगले,परिवर्तन गर्दै सुव्यवस्थित तौरतरिकाले अगाडि बढाउन खनिएको वैचारिक बाटो नै वाद हो भन्दा कसैले टाउको दुखाउनु पर्ने अबस्था नआउला । संन्सार भरमा बिभिन्न वादहरू आ–आफ्‌नै वाद राम्रो भन्दै रात दिन दौडिरहेका छन् । ती प्रमुख वादहरू मध्येका चलन चल्न्तीका वाद भनेका पूँजीवाद र साम्यवादले नै अरूलाई डोर्याएको पाइन्छ । एउटाको नेतृत्व अम्रिकाले गर्या छ भने अर्काको रशियाले गरेको छ । सायद तपाईको कन्सिरी ताती सक्यो होला । किन यसले यी दुई वाद भन्दा अरूको नाम लिएन । कि यसलाई पत्तै छैन कि क्या हो ? भनेर । छन धेरै वादहरू छन यो दुनियामा राज्यवाद, साम्राज्यवाद, माउवाद, बच्चावाद, धनवाद, गनवाद ,डनवाद आदी आदि । तर आज यस छोटो लेखाइमा सबै वादको चर्चा परिचर्चा सम्भव छैन ।त्यसैले परा पूर्वकालदेखि चलि आएको तर भर्खर भर्खरमात्र चर्चाको शिखर चुमेको वादको यहाँ चर्चा गरिएको छ । यो वादको नाम हो डनवाद ।

यो वाद अरूवादहरू जन्मनु भन्दा धेरै पहिले देखिनै अस्तित्वमा रहेको पुरानोवाद हो । यस वादलाइे परापूर्वकालदेखि भिन्न तरिकाले प्रयोगमा ल्याइएको पाइन्छ । कसले र कहिले यसको जन्म गरायो भन्ने ठ्याक्कै तीथि मिति भने हाल सम्म प्राप्त भएको छैन । मानव विकाश हुने क्रममा, जब मानिसलाई समूहमा बस्नु पर्छ भन्ने चेतनाको विकाश भयो तव यो वाद एकदमै फस्टाएर जान थाल्यो । एकजना बलियो वाङ्गो आफ्‌नो समूहमा भएपछि त्यस जमातका सबैको पेट भरिने भयो । निर्धाहरू सँग अहिलेका पशलेहरूले र उद्योगीहरूले हप्ता तिर्ने जस्ता केहि बस्तुहरू थिएनन् । सुन, रूपैया, पैसा, मोटर, फोन, सिमेण्ट, रड, घडी, राडी, गलैंचा गाडी केहि हुँदैन थिए ।

अलि अलि जम्मा गरेको फलफूल र शिकार गरेर ल्याएको चरा चुरूङ्गी र जनावारको रहलपहल मासु सिवाय । अरूले ल्याएर खान ठिक पारेको बस्तुहरू लुटेर खाने क्रमबाट नै यो वादको शुरूवात भएको हो । शिकार खेल्ने र खाने युगबाट विकाश भएर जब पशुपालनको युग सम्म आयो । यो वाद झन फस्टायो । कुन जंगलमा या कुन ठाउँमा कुन समुहले गाई, गोरू, भैंसी, बाख्रा जस्ता जनवारहरू पालन गरेका छन् । रातविरात गएर मान्छेलाई कुट्ने काट्ने र जनवारहरू लुटेर लाने कार्यको थालनी गरे । त्यसबेला देखिनै लुट्ने र खानेको एउटा समूह र काम गर्नेहरूको अर्को समुह विकाश हुँदै गयो । अरूलाई लुट्ने भने पछि लुटिने भन्दा बाठो पनि हुनु पर्यो । बलियो पनि हुनु पर्‍यो ।

दिनभर केहि नगरि सुत्यो बस्यो । साँझ परेपछि लुट्न निस्कियो । यो नै सजिलो उपाए सुजाए त्यसताका । बिस्तारै आफूलाई समयानुकुल परिवर्तन गर्दै हात हतियार बनाउने र अरुलाई आक्रमण गर्नै योजनाहरू बनाउँन थाले । कसरी कम क्षतिमा बढि लुट्न सकिन्छ भन्ने पत्ता लगाउँदै गए । त्यो लुट्ने समूहको नेतृत्व ती मध्येको बलियाले लियो । र त्यो बलियो नै त्यस समूहको डन बन्यो । उसैका इसारामा सबै सोझा र सिधाहरूले काम गर्न थाले । डनको निगाहामा प्राप्त बस्तुहरूले जीवन धान्न थाले । प्रशस्त लुटेर ल्यायो भने अरूले पनि बढी नै खान पाउन थाले । मार र बटुलको अबस्थाबाट पशुपालन र कृषि व्यवशायमा रूपान्तरण भए । अब लुट्ने समूहले जनवार र खानेकुराहरूसँगै महिला केटाकेटीहरू पनि लुटेर ल्याउन थाले । ती लुटेर ल्याइएका महिला र केटाकेटीलाई दास दासीको रूपमा काम गर्न लगाउनथाले । ती दास दासीहरूलाई घरेलु कामका साथै पशुपलनमा र कृषि उत्पादनका काममा समेत लगाए ।

त्यसताकाका डनहरूले बर्तमान डनहरूले जस्तै आ–आफ्‌नो क्षेत्र बाँडेर करहरू उठाउन थाले । भलै नाम भने डन भनेर राखेका े थिएनन् । ती क्षेत्रहरू नै विस्तारै ससाना राज्यहरूमा विकाश हुँदै गए । डनहरू राजा रजौटामा दरिए । हाम्रो देशको इतिहासलाई नै राम्ररी केलाउने हो भने पुष्टी हुन्छ । दौडमा जितेर राजा हुने । अरूलाई कुस्तिमा जितेर राजा हुने आदि, यही नैै डन प्रवृतिको करामत हो । कालान्तरमा अर्को बलियो डन निस्किएर थुप्रै ससानाराज्यहरूमाथि आक्रमण गर्यो । ती हारेका राज्यका मान्छेकाहरूका नाक कान काट्ने, जस्ता उपद्रो गरेको इतिहास हाम्रै अगाडि साँछि छ । कुनैले जनताको जनै काटेर आश्थालाई गोरूगाडामा लादेर पठाएका सबुदहरू हाम्रै अगाडि छन् ।

अरूलाई मारेर राजा हुने प्रवृतिले नेपाललाई समेत सयौं बर्ष अँध्यारोमा होम्यो । ती सबै तात्कालिन डनहरूका योजना र कार्यहरूले सफल हुन सकेका हुन् । तर नाम र पद भने भिन्न प्रकारको र सम्मानिय प्रकारको थियो । त्यस्ता डनहरूलाई राजा महाराजा, सम्राट, भूपति, भूमिपति आदि आदि नामले सम्वोधन गरिन्थ्यो । अझ भातखाने वेलामा समेत ती डनहरूको नाममा भात चढाउन विवश बनाइएको कुरा सम्झाइ रहनु नपर्ला । अझै पुस्तौं पुस्तासम्म यो भात चढाउने क्रम जारी छ ।

ती डनहरूले विश्वका विभिन्न ठाउँमा आ–आफ्‌नै प्रकारले आतङ्क मच्चाएका थिए । तौलिने हो भने केहि कम र बेसी थियो होला तर सर्वसाधारण भने अहिलेका डनले भन्दा अझ बढि नै आतंकित बनाइएका थिए । जर्मनीका हिटलरको दादा गिरी पनि त्यसैको नमूना हो । विश्वलाई आफ्‌नो नियन्त्रणमा राखे र आफू विश्वको डन हुने सपनाले लाखौको इहलिला समाप्त भयो । फ्रान्सका डनवादबाट अझै धेरै राष्ट्रहरू प्रभावित छन् । स्पेनको डनवादले थुप्रै राष्ट्रहरूलाई अझै निन्द्रामा पनि सताइरहेको छ । त्यस्तै बेलायी डनवादले विश्वका धेरै राष्ट्रहरूलाई दास बनायो । हाम्रै छिमेकी भारतलाई समेत निल्न सफल भएको थियो । भारतलाई एकसय पैंतालिस बर्ष त पेट भित्रै राख्यो । मुक्त हुन हजारौले हण्डर खानु पर्र्यो, र सयौंले बलि चढ्नु परेको सबैलाई होशनै छ । नेटो, युनाइटेड नेशन आदि पनि डनराष्ट्रका संगठनहरू हुन् ।

कस कसले कति आर्रिथक भार व्यहोर्न सक्छ उसको शक्तिको र पँहुँचको पनि त्यसैले निर्धारण गर्छ । अस्ती सम्म जी एट र अहिलेका रसालाई निकाले पछिका जी सेभेनहरू पनि परिष्कृत डनहरू हुन ।अमेरिका, बेलायत रसा,चिन आदि डन राष्ट्रहरूको लिष्टमा अग्र पंतिमा छन्। । भारत क्षेत्रिय डनहो । यसको दादा गिरि छिमेकी मुलुकहरू नेपाल, बंगलादेश, माल्दिप्स, भुटान, पाकिस्तान, आदि देशहरूमा व्याप्त छ । यी त भए मानव डनका कुराहरू ।

अझ हाम्रा देवी देउताका पालाका कुराहरू पनि कम रोचकपूर्ण डनवादलका कथाले भरिएका छैनन् । महादेवका कमाण्डमा नन्दी, भ्रिङगी, चतुर्षष्टी योगिनी, वीर बलभद्र आदि । त्यस्तै विष्णुका सैन्यहरू सम्पूर्ण देवगण थिए । देवीहरूले चाहे महिषासुरसँग युद्द गर्दा होस् या सुम्भनिशुम्भसँग युद्द गर्‌दा होस् । त्यस ताका बरु महिला डनहरूको वोलवाला थियो । तर कालान्तरमा पुरुष डनहरूले त्यो अधिाकार महिलाबाट खोसे । त्यसताका सँलग्न सेना सबै डन प्रवृतिकै नमूनाहरू हुन । महिषाशुर, शुम्भ ,निशुम्भ,पनि डनहरू नै थिए । इन्द्रका त्यस्तै सेनामेना थिए । उनले त झन ध्यान गरेर बसेका सोझा बाहुनहरूलाई जासुसकेटीहरू पठाएर नाना भाँतिका नाच गान गरेर अल्मल्याउँन लगाउँथे । मात्र उनको डन पद जोगाई राख्नलाई । त्यस ताकाका ती महान डनहरूलाई आज सयौं, हजारौं वर्षपछि पनि हामी भोक भोकै बसेर, लाइनमा लागेर पूजा आजा गर्दै भज्दछौं । देख्न्नु भो त कुन वाद पुरानो र महान भनेर ।

हाम्रा बर्तमान नेताहरूलाई पनि यो डनवादको माहात्मे राम्रैसँग थाहा छ । कसरी कसलाई तह लगाउने साम दाम दण्ड भेद नीति कण्ठस्तै आउँछ । त्यसैले घोषित अघोषित रूपमा भुइँ डनहरूलाई संरक्षण गरेर राखेका छन् । यो वर्तमान युग भनेको विज्ञानको युग हो भन्ने उनीहरूले मनन गरेका छन् । अब पहिला पहिलाको जस्तो कुदेर, अरूलाई शाररिक रूपमा पछारेर डन हुन सकिंदैन भन्ने राम्रोसँग महसुस गरेका छन् ।

त्यसैले अरूहरूलाई लड्न लगाउने । कुट्न, लुट्न र भुट्न लगाउने र परोक्ष्यमा बसेर नेतृत्व आफूले गर्ने । प्रजातान्तरिक अभ्यास नामको खेलमा ती डन नामक यन्त्रहरूलाई जति परिचालन गर्न सक्यो तेती बढी भोट आफ्‌ना नाममा बर्सन्छ । सामान्य जनतालाई हेर, तिमीहरूलाई भोटहाल्न झन्झट हुन्छ भनेर हामीले सहयोग गरेको भन्दै भोट हालिदिंन्छन् । जनताहरू ए होत नि हाम्रा कस्ता महान विचार भएका विवेकी नेता भनेर गुणगान गाउँछन् । अनि प्रजातन्त्र अमर रहोसको नारा लगाउँछन । कस्तो कायदाको प्रजातन्त्र । कस्तो बुद्धिमतापूर्ण छ त डनवाद । एक दुई जना ठेट्नाले विरोध गरे धनवादको सूत्र लगाएर साम्य पार्छन् । त्यसले पनि नटेर अन्तिम अस्त्र गनवाद प्रयोग गर्छन । मर्नु भन्दा त बौलाउनु निको भनेर घोसेमुन्टो लाउँदै प्रजातन्त्र जिन्दावादका लाईनमा लागेर हात ठड्याउँछन् । क्या महान छ त यो डनवाद हैन त ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुहिएको टाउको

कुहिएको टाउको

सुरेन उप्रेती
धुर्वे महाराज

धुर्वे महाराज

सुरेन उप्रेती
चश्मा

चश्मा

सुरेन उप्रेती
म

सुरेन उप्रेती
भुँडीवाद जिन्दावाद !

भुँडीवाद जिन्दावाद !

सुरेन उप्रेती
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x