साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुँडीवाद जिन्दावाद !

यो भुँडीको विचित्र पक्ष चाँहि जति हाले पनि नभरिने हो । अनवरत हाली रहनु पर्ने । जसरी पनि हाल्नलाई उक्साइ रहने । हालौँ हालौँ लागि रहने । गँजडीलाई गाँजाको नशा लागे जस्तै एक पटक लतमा फसेपछि फेरि छोड्नै नसकिने ।

Nepal Telecom ad

सुरेन उप्रेती :

तपाईंलाई अचम्म लाग्न सक्छ । मैले भुँडीलाई यस पेजमा पसार्न लागेको देखेर । मलाई पनि अलि अलि लाज नलागेको भने हैन । सबैका अगाडि भुँडी खोलेर पसारि दिएँ । तर हेर्नुहोस् यो ब्रम्हाका अण्ड माने ब्रम्हाण्डमा भुँडी नभएको कुनै सजीव नै छैनन् । होला, आकारमा ठूलो सानो तर सबैसँग भुँडी छ नै । ठूलो जनावर ह्वेलमाछादेखि सानामा मुसासम्मको भुँडी छ । जनवारमा कुकुरदेखि पन्क्षीमा ढुकुरसम्म । अग्लोमा जिराफदेखि होचोमा बट्टाईसम्मको भुँडी छ । छिटो दौडने चितुवा, सुतुरमुर्गदेखि जमैकन धावक यूजिन बोल्टसम्म सबैको भुँडी छ । संसारको धनी भनेर चिनिने कार्लोस स्लिमदेखि केहि नभएर अरूले खाएको जुठोभात माग्दै हिंड्नेसँग पनि त्यही भुँडी छ । फरक यतिमात्र हो, हुने खानेहरूको अलि ठूलो र पुष्ट होला अरू हुँदा खानेहरूको सुकेको, चाउरी परेको, पछाडि मेरूदण्डसँग गएर, नेताहरू कुर्मासी टाँसिदा झैं टाँसिएको भए पनि भुँडी चैं छ ।

संसारमा युद्ध, हिंसा, हत्या आदि जे जति भए ती सबै यही भुँडीका लागि भएका छन् । धर्मका नाममा भए पनि, जातको नाममा भए पनि पार्टी, वाद या विचार जे भने पनि भुँडीकै लागि भएको कुरा इतिहासले पुष्टी गरेको छ भने वर्तमान त्यसको साक्षी छ । चाहे सुर र असुरहरूका युद्धमा होस् या कौरव पाण्डवका विचको युद्धमा होस् । चाहे प्रथम र दोश्रो विश्वयुद्धमा होस् या इरान इराक, अमेरिका, अफगानिस्तान, सिरियामा होस् या सोमालियामा । सबैको प्रत्यक्ष वा परोक्ष उद्येश्य भनेको भुँडीकै इच्क्षा पूर्तिका लागि हो । यहि कुरा थाहा पाएर होला, भारतियहरू क्या करें भाइ साब, पापी पेटका सवाल है, भन्दै निगुर मुण्टी न बनेर हात माड्ने गर्छन् । यहि भुँडीका लागि मान्छेहरू, चोर्ने, ढाँट्ने, ठग्ने, लुट्ने, कुट्ने, भुट्ने, फुट्ने र जुट्ने पनि गर्छन् । यो कार्यमा व्यक्ति मात्र नभई समूह, पार्टी र सिंगै समाज र राष्ट्रको संलग्नता रहेको हुन्छ ।

अब तपाई भन्नु होला ल व्यक्ति त संलग्न भयो भयो तर पार्टीहरू, समाज र राष्ट्रले कसरी त्यस्तो गर्न सक्छ । तर हेर्नुहोस्, भुँडीले जे पनि गराउँ छ । त्यही भुँडीले छँदा खाँदाको सरकारमा बहुमतको भएका पार्टीलाई फुटायो । सदनबाट सडकमा झार्‍यो । अर्को पार्टीलाई बहुमत पुग्न अवस्थामा अनेक बहना बनाएर ससाना पार्टी बनाउन लगाएर फुटायो । अझ आफैंमा गुट र उपगुट बनाएर पर्देशीले आगो बाल्न राखेका तीन चम्का जस्तो बनाएर पार्टीलाइ धाँजा पारिदियो । अर्को पार्टीलाई फुटाएर श्याल पार्टी दुम्सी पार्टी र शालक पार्टी बनाएर फुटायो । त्यस्तै मदेसलाई पनि कतै थारु गच्छेदार, गुप्ता, झा, ठाकुर महतो रावत र यादव आदी बनाएर फुटायो । मदेसे र पहाडिया बनाएर टुटायो, बाहुन र राई लिम्वु बनाएर छुटायो । नेवार र खें बनाएर फुटायो । तामाङ र मगर, गुरूङ र थारू बनाएर अलग्यायो । छुत र अछुत, तल्लो जात र माथ्लो जात भनेर खुट्यायो । खान पाउने र नपाउने बनाएर छुट्यायो । यो सबै भुँडीले नै त हो । संसदमा पनि भुँडीले गर्दा जुटाउँछ, फुटाउँछ । कहिले कँहि कुर्सी उचाले र त कहिले चड्कन हान्न लगाएर फुटाउँछ । माइक भाँचेर सद्दे सांसदलाई बाँदर बनाएर कुटाउँछ । फेरि पजेरो, र पेन्सन पाउने भनेर त कहिले भत्ता बढाउने भनेर जुटाउँछ ।

यो भुँडी देख्दा बिभिन्न आकारमा भए पनि जानी नसक्नुको छ । दमाहा जस्तो, नगरा जस्तो,ट्याम्को जस्तो, ढोल र ढयाङ्ग्रा जस्तो हुँदै उल्टो पटि फर्काएको डम्फु जस्तो रूपमा छ । जस्‌तो भए पनि यसले सारा प्राणीलाई नै बसमा लिएर शासन गरेको छ । यसले राष्ट्र राष्ट्रहरुलाइ पनि उचाल्छ । कहिले इराकमा तेलको खानी देख्छ र अमेरिकालाई उचालेर आणविक हतियार खोज्ने बाहना बनाएर पस्न लगाउँछ । सद्दाम हुसेनलाई फाँसीमा लट्काउँछ र ए हतियार त छैन पो रहेछ भन्दै कहिलै न टुट्ने सुन्नी र सियाको लडाईं रोपिदिन्छ । कहिले रस्सालाई अफगानिस्तानबाट लखेट्न भनेर तालिवानलाई हतियार बेचेर आन्दोलन छेड्न लगाउँछ । पछि ती तालीवानसँग आफैं लड्नु पर्ने बाध्य स्थिति बनाएर अमेरिकालाई नै फसाउँछ । यो सबै भुँडीकै करामत त हो नि ।

यो भुँडी नभएको भए नत विकशित देशले विकाशोन्मुख देसलाई विभिन्न बाहनामा हातहतियार बेच्नु पर्थ्यो नत लडाकु यान र विमानमा करोडौ खर्चिनु पर्थ्यो । न त समाज सुधारका लागि भन्दै एनजिओ र आइएनजिओका नाममा मान्छे पठाएर धर्म प्रचार गर्नु पर्थ्यो । न त ती धर्म प्रचारक आउदा पैसाका लोभमा परेर धर्म परिवर्तन हुन्थ्यो । न त कम्युनिष्टहरूले भोकाहरूका लागि भनेर राजनीति गर्ने मुद्दानै फेला पार्थे न त कम्युनिष्ट विरोधी आन्दोलनमा भारत र अमेरिकाले करोडौं डलर खर्च गर्नु पर्थ्यो । न त यी हाततियारको किनबेच, न त दाता र लेताको सम्बन्ध । यो गरिब र धनीको खाडल केहि पनि हुने थिएन भने भोका र अघाएकाहरुको भेद हुने थिएन । लडाइँको आवश्यक्तानै थिएन । यो सबै यहि भुँडीले गर्दा त हो ।

हाम्रा बाजे बराजुहरू पनि यही भुँडीकै लागि भनेर त गोली र बारूद वर्षा भएका ठाउँमा नाङ्गो खुकुरी हातमा लिएर लड्न गएका थिए । मर्न कसलाई रहर हुन्छ र ?, यी बहादुरहरू भनेर छातीमा तक्मा टाँसीदियो । एउटा फुली थपी दियो । तर वेलायती सिपाईका जति पनि हाम्रा गोर्खे अफिसरले तलव पाउँदैनन् । लड्ने बेलामा गोर्खे, नाम कमाउने बेलामा वेलायती । नाम कमाउन पनि यही भुँडीको कमाल छ । जति धेरै ठाँउ आफ्नो बनायो । उती बढी आम्दानी हुने । जति बढी आम्दानी भयो तेती बढी भुँडीहरूलाई भर्न सकिने । जती बढी भुँडीहरू खुशी भए तेती नाम कमिने भो । वेलायतले त्यसै हो र सूर्य नअस्ताउने देस भनेर चारै तिर उपनिवेश बनाउँदै दौडिएको । देख्नु भो त भुँडीको कमाल ।

विकृति विसंगति, वेश्यावृत्ति यहि भुँडीको उपज हो । हत्या, हिंसा, चोरी, अपहरण, फिरौती जस्ता अनेक खराव प्रवृति फैलिएकै भुँडी भरिन नपाएर हो । बन्द हड्ताल, गाडी तोडफोड आदिमा भुँडीकै स्वार्थ गाँसिएको छ । सबैले आआफ्ना भुँडी मजाले भर्न पाउँने हो भने, न त नेताका पछि कार्यकर्ता लर्को लाग्थे । न त गुण्डाका पछि नेता भाग्थे । न त यसरी गुण्डानै नेता बन्न पाउँथे । यो सबै भुँडीले गर्दा हो । मान्छेल भुँडी भर्नका लागि जे पनि गर्न सक्छ भन्ने क्‌रा वर्तमानको नेपालको अवस्था एउटा उदाहरण नै हो । कसैले आफ्‌नै भुँडी भर्न ती गतिविधि गरेका छन् । कसैले छोरा छोरी र परिवारका लागि गरेका छन्न । कसैले भने भएभरका नाता गोता, सातपुस्ता सम्मको भुँडी भर्ने आशक्तिले यस्तो दुष्कर्म गरेका छन । यसका उदाहरुण सम्पतिको पहाड बनाउन तम्सेका नेताले खाएको छिंडीको हावा हो । यही भुँडीले लोभमा पारेर त फसायो ।

यो भुँडीको विचित्र पक्ष चाँहि जति हाले पनि नभरिने हो । अनवरत हाली रहनु पर्ने । जसरी पनि हाल्नलाई उक्साइ रहने । हालौँ हालौँ लागि रहने । गँजडीलाई गाँजाको नशा लागे जस्तै एक पटक लतमा फसेपछि फेरि छोड्नै नसकिने । यसको अर्काे प्रवृति भनेको जति हाल्यो तेती नै बढी अँट्दै जाने । अत्यधिक इलास्टिसिटी हुनुहो । सामान्य ढिँडो गुन्द्रुक खाँदा भरिने भुँडी तन्कँदै गएर केहि हाल्दा पनि नभरिने हुनु । त्यसैको परिणाम हो । हाम्रै घरमा बस्ने । हामीले नै दिएको एकथाल भातले टन्न भएर गुन्द्रीमा लम्पसार पर्ने भुँडी, तन्किदै गएर पजेरो, प्राडो, हाउडा, लाउडा, चेज, कोशी, काली, टनकपुर सनकपुर, योजना परियोजना जति खाए पनि नभरिने भएको कुरा त जगजाहेरै छ । कुलतमा फसेर नशामा लम्पट भएका मान्छेले त्यो नशा प्राप्तिका लागि, लताकपडा, भाँडाकुँडा धन सम्पति जहाँन परिवार केहि मत्लव गर्दैन । उसको अन्तिम लक्ष नै लागूपदार्थ प्राप्ति गर्नु हुन्छ ।

त्यस्तै यो भुँडी तन्किएर नाला पानी, सडक, रड, सिमेण्ट, विजुलीका तार ट्रास्फर्मर, नहर, पुल आदि खाने लतमा फसेपछि त्यो पाउँन जे पनि भन्न लगाउँछ । जसो पनि गर्ने बनाउँछ । नपत्याए फेरि आउने निर्वाचनमा त्यो प्रवृतिले गर्ने भाषण सुने फरक पर्ने छैन । जबसम्म विज्ञानले यो भुँडीलाई नियन्त्रण गर्ने नयाँ उपाय सहितको यन्त्र आविष्कार गर्न सक्दैन तबसम्म यी समस्याहरूबाट मुक्ति मिल्न नसक्ने निर्क्योल निकालेँ मैले । त्यसैले म त भन्छु भुँडीवाद जिन्दावाद !

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुहिएको टाउको

कुहिएको टाउको

सुरेन उप्रेती
धुर्वे महाराज

धुर्वे महाराज

सुरेन उप्रेती
चश्मा

चश्मा

सुरेन उप्रेती
म

सुरेन उप्रेती
डनवाद

डनवाद

सुरेन उप्रेती
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x