सुरेन उप्रेतीधुर्वे महाराज
पाँचसात जनालाई पाताल पुग्ने गरी पाखा लगायो । अनि त महाराजा नै बन्यो । धुर्वे नेता भगवान हुन् भनेर नारा लगाउन लायो । चन्द्रमा र मंगल ग्रहमा घडेरी दिउँला भन्दै मास्टर, पत्रकार, वकिल, इन्जिनियर, डाक्टर आदिलाई झोला थमायो ।

सुरेन उप्रेती :
धरणीधर धौबडेलको धन्दुकारी छोरो धुर्वेदेखि गाउँले समेत हैरान थिए । स्कूलमा गुरूहरूलाई गोरू भन्दै ढुङ्गा हानेर हैरान पार्यो भन्थे । स्कुलका शिक्षकहरू निन्याउरो मुख लाएर निगुराको टाउको जस्तै भएर धरणीधरका अगाडि आएर निहुरन्थे । ए ! बज्या धुर्वेले त्यसो पो गरेछ, भन्दै धरणीधर जुँगामा ताउ लाउँथे र हा हा हा गरेर हाँस्थे । उनको अट्टहाँसले बारीका मकै ठुँग्दै गरेका चराहरू तर्सिएर उड्थे । छिमेकीका सुतिरहेका केटाकेटी तर्सिँदै बिँउँझिएर रून थाल्थे । टाट्नामा बाँधेका पाडाबाच्छाहरू दाम्लो चुँडाएर पुच्छर ठाडो पार्दै टाट्नाबाट टाप ठोक्थे ।
धरणीधरको हाँशोको पर्राले पुर्पुरोमा लागेर शिक्षकलाई सिल्टिम्बुर खाएझैं हुन्थ्यो । कान ताता भएर जाली फुटेझैँ हुन्थ्यो । कानबाट तातो रगत बग्यो कि भनेर शिक्षकले कान छामे । औँलामा रगत लाग्यो कि भनेर चश्माको चेपबाट चिहाए । विचरा शिक्षक आँगनमा चर्दै गरेका परेवा र कुखुराले समेत चिथोरेर चुच्चो गाड्लान् भन्ने त्रासले त्राहिमाम भए ।
एक दिनको कुरा हो धुर्वेले सुनौलको सनकसिङलाई घरमा लिएर आयो । सनकसिङले सुनौलका शिक्षकलाई नै सुइँकिने गरी सुम्ल्याएर सुइकुच्चा हानेको रहेछ । सनकसिङको साथले गर्दा धुर्वेको आँट पनि अक्कासियो । बनेपाको विर्खे, चित्लाङको चरी, चक्रपथको चक्रे, पोखराको पर्शे, सिन्धुपाल्चोकको सन्तेलाई धुर्वेले साथी बनायो । सबैजना उजस्तै मलका थुप्रोमा हौसिएका तोरीको साग परेछन् । कोही दश फेल, कोही आइए फेल, कोही स्कुल नै नगाका । गोठालो गएकै ठाउँबाट घोर्ले खसीलाई बोरामा खाँदेर गाउँ छोडेहरूका परेछन् ।
उनीहरूले साँझमा सोमरस सुँइक्याएर गफ हाँकेका बेला सुटुक्क सुन्नु पर्छ । उनीहरूका वीरता र साहसका कुरा बाहिर खुत्रुक खुत्रुक खस्छन् । खोरका खसी, गोठका गाई गोरू भैंसीलाई सुटुक्क सिमा कटाए पछि त भारूको बर्षानै हुने । घाँटीमा घण्टी लगाएका राँगा र गोरू चोर्दा गाउँलेले लखेटेको कुरा गर्थे । गाई बस्तु चोर्दा जुक्ति निकालेर एकजनाले घण्टी हल्लाएको अरूले बस्तुलाई सिमा कटाएको कहानी सुनाउँथे ।
माओवादीको ससस्त्र युद्धका शुरूवाती दिनमा चैँ भागरे भाग बनायो रे । केही समयपछि आफैँ मास्क लगाएर माओबादी बन्दै र भन्दै हिँडेरे । फिरौती र चन्दा उठाउन थालेपछि त लाख हैन करोडका काम हुन थाले । बैङ्कमा मेनेजरसँग मिलेर माडेलाई तीनलाखका जग्गामा तीन करोड मूल्याङ्कन गराएर ऋण दिलाए रे । त्यसपछि त जग्गा मूला त ठाउँ ठाउमा । त्यसपछि पुलिस, प्रसासन, वकिल, न्यायधिस, सिडियो, सांसद सबै पकेटका भएरे । अड्डअदालतका काम त फोनका भरमा हुनथाले । चुनाबमा कसलाई जीताउने, कसलाई मन्त्री बनाउने । ठेक्का पट्टा सबै धुर्वेकै कव्जामा । अब त धुर्थेको पाटी नै बनेको थियो ।
समयले साथ दिए पछी जे पनि हुने । धुर्वेको पार्टीको नाम थियो ‘मनलागी हसुर, जोगाइ दिंउला कसुर’। नभन्दै धुर्वेको पाटी त सत्तामा सोजियो । धुर्वे प्रधान बन्यो । अब त ज्यान मारेर गए पनि माफी । बालिकालाई बलात्कार गरेर फाले पनि माफी । धुर्वेले त एउटा नारा नै बनायो । जसले धरै लुट्छ उसलाई कर छुट्छ ।
धुर्वेलाई मन पर्ने एउटा कविता थियो । चोरी चकारी नगरे चतुर्याँइ हुन्न, दङ्गाफसङ्गा नगरे सुर्याई कहन्न, सोझा र सिधा नलिनु दलैमा पाटी चलाउनु छलऔ बलैमा । यो मन्त्र जानेको ध्रुवेले त्यसै गर्यो । धुर्वेलाई छड्केआँखाले हेर्यो मात्र भने पनि त्यसको भविष्य चेट । पाँचसात जनालाई पाताल पुग्ने गरी पाखा लगायो । अनि त महाराजा नै बन्यो । धुर्वे नेता भगवान हुन् भनेर नारा लगाउन लायो । चन्द्रमा र मंगल ग्रहमा घडेरी दिउँला भन्दै मास्टर, पत्रकार, वकिल, इन्जिनियर, डाक्टर आदिलाई झोला थमायो ।
धुर्वे भगवानलाई हेरेपछि दिनभरको पाप नास हुन्छ भन्दै घरघर र अफिसअफिसमा फोटो राख्न लगायो । सन्सारको सबैकुरा जान्ने “धुर्वे महाराज” नामको किताब छापेर देशभरी पुर्यायो ।
०००
पाँचथर, हाल : भिक्टोरिया, क्यानडा








































धुर्बे हात्ती जस्तै धुर्बे रहेछ…!