लक्ष्मी रिजालगधाजात्रा
त्यो जात्राको नाम थियो गाईजात्रा, तर त्यो गाईविहीन जात्रा थियो । उत्सवको नाममा विडम्बना, व्यङ्ग्यको नाममा यथार्थ, अनि परम्पराको नाममा परिहास ।

लक्ष्मी रिजाल :
गाईजात्राको बिहान उदाउँदै थियो, तर आकाशको अनुहार आज केही बेग्लै थियो । सूर्य न त सुनौलो थियो, न उत्सवमय; ऊ खरानीले पोतिएको झैँ फिक्का देखिन्थ्यो । राजधानीको हरेक कुनामा केही त असहज थियो- जुन न जनताले प्रकट गरे, न राज्यले स्वीकार ।
सहरको मूल सडक तानिएको थिएन- कर्मकाण्ड अनुसार सजिएको थियो, तर रङहरू ओइलिएका, झण्डाहरू टाँसिए पनि पोलहरू थकित थिए । वातावरणमा धुन थिएन, धुनमा जोश थिएन, अनि जोशमा विश्वास थिएन ।
जुलुस सुरु भएको घोषणा भयो, तर गाई देखिएन । त्यो त अघिल्लो वर्ष नै लापता भइसकेको देखियो- मेडिकल रिपोर्ट अनुसार “आदर्शको कुपोषण” भएर मरेको भनियो । गाईजात्रा भनेको गाईको सम्झनामा निकालिने जात्रा हो, तर यहाँ सम्झनामा पनि विस्मृति मिसाइएको थियो ।
गाईको स्थानमा अब गधाहरू देखा परे तर ती पनि परम्परागत गधा थिएनन् ।
स्मार्ट गधा, मोलमोलाइमा सिद्धहस्त, टाई-सुटमा सजिएर इयरफोनमा ब्रोकरसँग कुराकानी गर्दै थिए । कसैले विदेशको सेयरबजारमा लगानीको प्लान बनाउँदै थियो, कसैले जागिरका प्रतिस्पर्धीलाई फसाउने उपाय खोज्दै थियो । गधाहरू हाँस्दै हिँडिरहेका थिए, तिनको हाँसो कुनै साधारण हाँसो थिएन । त्यो बिजनेस मिटिङको ठट्टा थियो, जहाँ राष्ट्र भन्ने नामको ग्राहकलाई झुक्याउन योजनाबद्ध षड्यन्त्र भइरहेको थियो ।
एक गधा त टेलिभिजनमा “हाउस अफ कार्ड्स” हेर्दै गफ गर्थ्यो, “राजनीति भनेको खेल हो, भावना होइन !”
जुलुसको अगाडि एउटै रथ थियो तर त्यो रथ कुनै देवताको थिएन, न शहीदको । त्यो रथमा संविधानको च्यातिएको पाना झुण्ड्याइएको थियो- टेपले टाँसिएको, मस्यौदासम्म सीमित, यथार्थमा प्रयोगशून्य ।
त्यो संविधान यस्तो देखिन्थ्यो, मानौँ कुनै वृद्ध फाइल, जसलाई न्यायालयमा पनि पढ्दैनन्, अनि विद्यालयमा पनि परीक्षामा नआउने टपिक बनेर बसेको छ ।
रथको बीचमा एउटी महिला थिइन् । उनले आफ्नो पहिचान खुलाइन्- “म संविधान हुँ ।” तर उनको स्वर टुटेको थियो, अनुहारमा विवश मुस्कान, आँखा गहिरो पीडामा निथ्रुक्क ।
“म मौनता हुँ, अब म भाष्य होइन, प्रतीक मात्रै बनिसकेकी छु ।”
त्यो वाक्यले चिसो हावा सहरभरि फैलायो ।
रथको पछाडि पालैपालो झाँकीहरू देखिन थाले- पहिलो झाँकी थियो शिक्षा मन्त्रालयको । एक शिक्षक हातमा बोर्ड लिई लेखिरहेका थिए- “शिक्षा सस्तो भयो, परीक्षा तस्करी ।”
विद्यार्थीहरूले ताली बजाए, तर त्यो ताली पनि झुटो थियो । उनीहरू न पढ्न आए, न बुझ्न । उनीहरू आए- टिकटक बनाउन, अनलाइन गेम खेल्न । शिक्षक पनि न पढाउने जोशमा थिए, न सिकाउने जिम्मेवारीमा । सबै एकअर्काको अभिनयको दर्शक बनेका थिए ।
त्यसपछि आयो स्वास्थ्य मन्त्रालयको झाँकी- सेतो कोटमा लिप्त पात्रहरू थिए, तर उनीहरूको स्टेथोस्कोप ‘धड्कन’ होइन, ‘डिल’ सुन्दै थियो ।
एउटा बिरामीको प्रतिरूपले चिच्यायो- “जाँच गर्न आए, अपरेशन भएर निस्किएँ- कागजमा ‘दुर्घटना’ लेखिएको थियो ।”
पत्रकारहरू पनि आएकै थिए, तर हातमा माइक होइन, टेप ल्याएका थिए- ‘ठेकेदारको बोली जस्ताको तस्तै चलाउने उपकरण ।’
क्यामेराम्यानले आवाज नै बन्द गरेर खिचेका भिडिओहरू ‘सुरक्षा कारण’ले बाहिर नजाने सर्तमा प्रसारण हुन्थे ।
एक वरिष्ठ पत्रकारले फुसफुसाउँदै भने- “सत्य भनेको अब समाचार होइन, रिस्क हो ।”
न्यायको झाँकी आउँदा त सहर सिङ्गो स्तब्ध भयो । न्यायाधीशहरू कालो कोटमा, हातमा संविधानको अंश बोकेर चुपचाप उभिएका थिए । एउटा पत्रिकाको रिपोर्टरले सोध्यो- “के तपाईंहरू स्वतन्त्र हुनुहुन्छ ?”
जवाफमा एउटाले आँखा झिम्क्यायो- “स्वतन्त्र छौं, तर सन्दर्भ अनुसार विवश पनि ।”
अर्काले हल्का ठट्टा झैं गरेर भन्यो- “न्याय भन्नु नै अब एउटा प्रक्रिया हो, निर्णय त पहिल्यै कता-कता पुगिसक्छ ।”
र त्यसैबेला आयो ‘संसद् प्रतिनिधित्व झाँकी’- जहाँ सांसदहरू थिए, तर भाषणको स्क्रिप्ट सबैलाई एउटै । भिन्न मत राख्नेहरूलाई ‘दलद्रोही’ घोषणा गरिएको थियो ।
प्रधानमन्त्रीको सवारी आयो । गाडीबाट झ्याल खोलेर उनले घोषणा गरे- “संसद् त गाईजात्रा नै हो !”
सहर हाँसेन । एकपटक हल्का मुस्कान छायो, तर त्यसपछि गम्भीर मौनता छायो । त्यो हाँसो व्यङ्ग्य थियो, आत्मस्वीकृतिको ।
अगाडि देखापरे सरकारी कर्मचारीहरूको झाँकी- पसलका झोलामा घुस राखेर एकअर्कालाई आदानप्रदान गरिरहेका थिए ।
एक गधाले घाँटीको पासो तन्काउँदै भन्यो- “फाइल अघि बढाउन घूस होइन, गिफ्ट भनेर बुझ्नु पर्छ ।”
त्यसपछि कलाकारहरूको झाँकी आयो- कलाकारहरू राजनीतिक नेताको नक्कल गर्दै थिए । गीतमा ‘क्रान्ति’ शब्द थियो, तर धुनमा ‘सम्झौता’ मिसिएको थियो ।
एक गायकले सुर मिलाउँदै भन्यो- “हामी अब शास्त्रीय होइन, प्रचारात्मक गायक हौं ।”
आखिरमा आयो धार्मिक झाँकी- सादा वस्त्रमा बाबा, तर पछाडि अनेकौं कुरा थिए ।
एक जनाले भन्यो- “धर्म आत्माको कुरा हो, तर अहिले यो स्पोन्सरको कुरा हो ।”
बालबालिकाहरू आ-आफ्नो कक्षामा फर्किने बेला आयो । एक बालकले हात उठाउँदै सोध्यो- “हामीले पढेको इतिहास र देखेको वर्तमानमा किन मेल खाँदैन ?”
शिक्षक झस्किए- “किनभने तिमीले जुन किताब पढ्यौ, त्यो लेखक आफैंले लेखेका थिएनन् ।”
गधाजात्राको अन्तिम भाग थियो- “पुरस्कृत गधा सम्मान समारोह !”
सर्वश्रेष्ठ गधा उपाधि पाउने गधा ‘राज्य सञ्चालक’ घोषित भयो । उपाधि दिँदा उद्घोषकले भन्यो- “उहाँले कुनै पनि नीतिमा हस्तक्षेप नगरी सबै निर्णय ‘दोस्रोलाई’ पास गर्नु भएको छ र यही हो ‘आधुनिक कूटनीति’!”
सार्वजनिक उपस्थितिमा गधा एकछिन भावुक भयो । आँखा टलपलाए, अनि भन्यो- “म राजनीतिमा आएको होइन, मलाई त बोलाइएको हो ।”
त्यसपछि सम्पूर्ण झाँकी टुँगियो । तर सडकमा बालकले एउटा गधा देखाएर आमालाई सोध्यो- “आमा, यो नै त होइन, जुन हामी किताबमा पढ्दैनौं ?”
आमाले छोरालाई अङ्कमाल गर्दै भनिन्- “शिक्षा र अनुभव फरक कुरा हो बाबु । किताबमा गाई आउँछ, जीवनमा गधा देखिन्छ !”
त्यो जात्राको नाम थियो गाईजात्रा, तर त्यो गाईविहीन जात्रा थियो । उत्सवको नाममा विडम्बना, व्यङ्ग्यको नाममा यथार्थ, अनि परम्पराको नाममा परिहास ।
आज सहर न हाँस्यो, न रोयो तर सम्झियो भने यति हो- गधा अब केवल जनावर होइन, एउटा ‘रोल मोडल’ हो, जहाँ विवेक छैन, तर पद छ ।
०००
२०८२/०४/११
कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी .









































हेलिकप्टरबाट