साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गधाजात्रा

त्यो जात्राको नाम थियो गाईजात्रा, तर त्यो गाईविहीन जात्रा थियो । उत्सवको नाममा विडम्बना, व्यङ्ग्यको नाममा यथार्थ, अनि परम्पराको नाममा परिहास ।

Nepal Telecom ad

लक्ष्मी रिजाल :

गाईजात्राको बिहान उदाउँदै थियो, तर आकाशको अनुहार आज केही बेग्लै थियो । सूर्य न त सुनौलो थियो, न उत्सवमय; ऊ खरानीले पोतिएको झैँ फिक्का देखिन्थ्यो । राजधानीको हरेक कुनामा केही त असहज थियो- जुन न जनताले प्रकट गरे, न राज्यले स्वीकार ।

सहरको मूल सडक तानिएको थिएन- कर्मकाण्ड अनुसार सजिएको थियो, तर रङहरू ओइलिएका, झण्डाहरू टाँसिए पनि पोलहरू थकित थिए । वातावरणमा धुन थिएन, धुनमा जोश थिएन, अनि जोशमा विश्वास थिएन ।

जुलुस सुरु भएको घोषणा भयो, तर गाई देखिएन । त्यो त अघिल्लो वर्ष नै लापता भइसकेको देखियो- मेडिकल रिपोर्ट अनुसार “आदर्शको कुपोषण” भएर मरेको भनियो । गाईजात्रा भनेको गाईको सम्झनामा निकालिने जात्रा हो, तर यहाँ सम्झनामा पनि विस्मृति मिसाइएको थियो ।

गाईको स्थानमा अब गधाहरू देखा परे तर ती पनि परम्परागत गधा थिएनन् ।

स्मार्ट गधा, मोलमोलाइमा सिद्धहस्त, टाई-सुटमा सजिएर इयरफोनमा ब्रोकरसँग कुराकानी गर्दै थिए । कसैले विदेशको सेयरबजारमा लगानीको प्लान बनाउँदै थियो, कसैले जागिरका प्रतिस्पर्धीलाई फसाउने उपाय खोज्दै थियो । गधाहरू हाँस्दै हिँडिरहेका थिए, तिनको हाँसो कुनै साधारण हाँसो थिएन । त्यो बिजनेस मिटिङको ठट्टा थियो, जहाँ राष्ट्र भन्ने नामको ग्राहकलाई झुक्याउन योजनाबद्ध षड्यन्त्र भइरहेको थियो ।

एक गधा त टेलिभिजनमा “हाउस अफ कार्ड्स” हेर्दै गफ गर्थ्यो, “राजनीति भनेको खेल हो, भावना होइन !”

जुलुसको अगाडि एउटै रथ थियो तर त्यो रथ कुनै देवताको थिएन, न शहीदको । त्यो रथमा संविधानको च्यातिएको पाना झुण्ड्याइएको थियो- टेपले टाँसिएको, मस्यौदासम्म सीमित, यथार्थमा प्रयोगशून्य ।

त्यो संविधान यस्तो देखिन्थ्यो, मानौँ कुनै वृद्ध फाइल, जसलाई न्यायालयमा पनि पढ्दैनन्, अनि विद्यालयमा पनि परीक्षामा नआउने टपिक बनेर बसेको छ ।

रथको बीचमा एउटी महिला थिइन् । उनले आफ्नो पहिचान खुलाइन्- “म संविधान हुँ ।” तर उनको स्वर टुटेको थियो, अनुहारमा विवश मुस्कान, आँखा गहिरो पीडामा निथ्रुक्क ।

“म मौनता हुँ, अब म भाष्य होइन, प्रतीक मात्रै बनिसकेकी छु ।”

त्यो वाक्यले चिसो हावा सहरभरि फैलायो ।

रथको पछाडि पालैपालो झाँकीहरू देखिन थाले- पहिलो झाँकी थियो शिक्षा मन्त्रालयको । एक शिक्षक हातमा बोर्ड लिई लेखिरहेका थिए- “शिक्षा सस्तो भयो, परीक्षा तस्करी ।”

विद्यार्थीहरूले ताली बजाए, तर त्यो ताली पनि झुटो थियो । उनीहरू न पढ्न आए, न बुझ्न । उनीहरू आए- टिकटक बनाउन, अनलाइन गेम खेल्न । शिक्षक पनि न पढाउने जोशमा थिए, न सिकाउने जिम्मेवारीमा । सबै एकअर्काको अभिनयको दर्शक बनेका थिए ।

त्यसपछि आयो स्वास्थ्य मन्त्रालयको झाँकी- सेतो कोटमा लिप्त पात्रहरू थिए, तर उनीहरूको स्टेथोस्कोप ‘धड्कन’ होइन, ‘डिल’ सुन्दै थियो ।

एउटा बिरामीको प्रतिरूपले चिच्यायो- “जाँच गर्न आए, अपरेशन भएर निस्किएँ- कागजमा ‘दुर्घटना’ लेखिएको थियो ।”

पत्रकारहरू पनि आएकै थिए, तर हातमा माइक होइन, टेप ल्याएका थिए- ‘ठेकेदारको बोली जस्ताको तस्तै चलाउने उपकरण ।’

क्यामेराम्यानले आवाज नै बन्द गरेर खिचेका भिडिओहरू ‘सुरक्षा कारण’ले बाहिर नजाने सर्तमा प्रसारण हुन्थे ।

एक वरिष्ठ पत्रकारले फुसफुसाउँदै भने- “सत्य भनेको अब समाचार होइन, रिस्क हो ।”

न्यायको झाँकी आउँदा त सहर सिङ्गो स्तब्ध भयो । न्यायाधीशहरू कालो कोटमा, हातमा संविधानको अंश बोकेर चुपचाप उभिएका थिए । एउटा पत्रिकाको रिपोर्टरले सोध्यो- “के तपाईंहरू स्वतन्त्र हुनुहुन्छ ?”

जवाफमा एउटाले आँखा झिम्क्यायो- “स्वतन्त्र छौं, तर सन्दर्भ अनुसार विवश पनि ।”

अर्काले हल्का ठट्टा झैं गरेर भन्यो- “न्याय भन्नु नै अब एउटा प्रक्रिया हो, निर्णय त पहिल्यै कता-कता पुगिसक्छ ।”

र त्यसैबेला आयो ‘संसद् प्रतिनिधित्व झाँकी’- जहाँ सांसदहरू थिए, तर भाषणको स्क्रिप्ट सबैलाई एउटै । भिन्न मत राख्नेहरूलाई ‘दलद्रोही’ घोषणा गरिएको थियो ।

प्रधानमन्त्रीको सवारी आयो । गाडीबाट झ्याल खोलेर उनले घोषणा गरे- “संसद् त गाईजात्रा नै हो !”

सहर हाँसेन । एकपटक हल्का मुस्कान छायो, तर त्यसपछि गम्भीर मौनता छायो । त्यो हाँसो व्यङ्ग्य थियो, आत्मस्वीकृतिको ।

अगाडि देखापरे सरकारी कर्मचारीहरूको झाँकी- पसलका झोलामा घुस राखेर एकअर्कालाई आदानप्रदान गरिरहेका थिए ।

एक गधाले घाँटीको पासो तन्काउँदै भन्यो- “फाइल अघि बढाउन घूस होइन, गिफ्ट भनेर बुझ्नु पर्छ ।”

त्यसपछि कलाकारहरूको झाँकी आयो- कलाकारहरू राजनीतिक नेताको नक्कल गर्दै थिए । गीतमा ‘क्रान्ति’ शब्द थियो, तर धुनमा ‘सम्झौता’ मिसिएको थियो ।

एक गायकले सुर मिलाउँदै भन्यो- “हामी अब शास्त्रीय होइन, प्रचारात्मक गायक हौं ।”

आखिरमा आयो धार्मिक झाँकी- सादा वस्त्रमा बाबा, तर पछाडि अनेकौं कुरा थिए ।

एक जनाले भन्यो- “धर्म आत्माको कुरा हो, तर अहिले यो स्पोन्सरको कुरा हो ।”

बालबालिकाहरू आ-आफ्नो कक्षामा फर्किने बेला आयो । एक बालकले हात उठाउँदै सोध्यो- “हामीले पढेको इतिहास र देखेको वर्तमानमा किन मेल खाँदैन ?”

शिक्षक झस्किए- “किनभने तिमीले जुन किताब पढ्यौ, त्यो लेखक आफैंले लेखेका थिएनन् ।”

गधाजात्राको अन्तिम भाग थियो- “पुरस्कृत गधा सम्मान समारोह !”

सर्वश्रेष्ठ गधा उपाधि पाउने गधा ‘राज्य सञ्चालक’ घोषित भयो । उपाधि दिँदा उद्घोषकले भन्यो- “उहाँले कुनै पनि नीतिमा हस्तक्षेप नगरी सबै निर्णय ‘दोस्रोलाई’ पास गर्नु भएको छ र यही हो ‘आधुनिक कूटनीति’!”

सार्वजनिक उपस्थितिमा गधा एकछिन भावुक भयो । आँखा टलपलाए, अनि भन्यो- “म राजनीतिमा आएको होइन, मलाई त बोलाइएको हो ।”

त्यसपछि सम्पूर्ण झाँकी टुँगियो । तर सडकमा बालकले एउटा गधा देखाएर आमालाई सोध्यो- “आमा, यो नै त होइन, जुन हामी किताबमा पढ्दैनौं ?”

आमाले छोरालाई अङ्कमाल गर्दै भनिन्- “शिक्षा र अनुभव फरक कुरा हो बाबु । किताबमा गाई आउँछ, जीवनमा गधा देखिन्छ !”

त्यो जात्राको नाम थियो गाईजात्रा, तर त्यो गाईविहीन जात्रा थियो । उत्सवको नाममा विडम्बना, व्यङ्ग्यको नाममा यथार्थ, अनि परम्पराको नाममा परिहास ।

आज सहर न हाँस्यो, न रोयो तर सम्झियो भने यति हो- गधा अब केवल जनावर होइन, एउटा ‘रोल मोडल’ हो, जहाँ विवेक छैन, तर पद छ ।

०००
२०८२/०४/११
कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी .

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
आचार्य नन्दलाल
आचार्य नन्दलाल
8 months ago

हेलिकप्टरबाट

Nepal Telecom ad
उचाइ

उचाइ

लक्ष्मी रिजाल
भाषण र भान्सा

भाषण र भान्सा

लक्ष्मी रिजाल
जागरणको घण्टी

जागरणको घण्टी

लक्ष्मी रिजाल
छायाको आवाज

छायाको आवाज

लक्ष्मी रिजाल
पसिनाको क्रान्ति

पसिनाको क्रान्ति

लक्ष्मी रिजाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
1
0
Would love your thoughts, please comment.x
()
x