उत्तमकृष्ण मजगैयाँहास्यव्यङ्ग्य कसरी लेख्ने ?
सुन र कमिसनकाण्ड छिचाेल्दा मेरै मिति पुर्याइदिन खाेजे कसैलाई नउडाइकन नै हास्य कसरी बर्सेला त ! प्रवृत्तिमाथि व्यङ्ग्य नगर्दै मान्छे कसरी तर्सेला त ! तर नाङ्गामाथि हाँस्ने नाङ्गै बाङ्गामाथि हाँस्ने बाङ्गै कसकाे गल्ती देख्ने ? हास्यव्यङ्ग्य कसरी लेख्ने ?

उत्तमकृष्ण मजगैयाँ :
त्यसै चुपचाप बस्न सकिन्न
केही न केही त लेख्नै पर्याे,
आँखामा पट्टी बाँध्न सकिन्न
कविकाे ब्रह्मले देख्नै पर्याे !
तर फसाद पर्याे मलाई
कसकाे पुर्पुराे सेक्ने ?
हास्यव्यङ्ग्य कसरी लेख्ने ?
भ्रष्टाचारीबारे लेख्दा
आफ्ना इष्टहरू पर्न सक्छन्
अत्याचारीबारे लेख्दा
धेरैले आँखा तर्न सक्छन्
गाेली, बाेली उनैकाे लाग्ने
मलाई जे पनि गर्न सक्छन्
विराेधी वा आतङ्ककारी
जुनसुकै रूपमा हेर्न सक्छन्
समस्या ठूलै पर्याे मलाई
अब कसकाे मैला देख्ने ?
हास्यव्यङ्ग्य कसरी लेख्ने ?
पत्नीबारे व्यङ्ग्य लेखेँ
बाेली बारेकै वर्ष पुग्याे,
बन्धु-वान्धव, मित्रहरू पनि
रिसाएरै दिक्क भयाे,
सासूससुरा, शालाशाली
सबै रुष्ट छन् मैमाथि
बक्क परेँ अब कसकाे गर्ने
आलाेचना भाँति भाँति ?
कसलाई दाेषी देख्ने ?
हास्यव्यङ्ग्य कसरी लेख्ने ?
मन्त्रीकाे दरबारबारे लेख्दा
मेराे घरबार उडाइदिन खाेजे
सुन र कमिसनकाण्ड छिचाेल्दा
मेरै मिति पुर्याइदिन खाेजे
कसैलाई नउडाइकन नै
हास्य कसरी बर्सेला त !
प्रवृत्तिमाथि व्यङ्ग्य नगर्दै
मान्छे कसरी तर्सेला त !
तर नाङ्गामाथि हाँस्ने नाङ्गै
बाङ्गामाथि हाँस्ने बाङ्गै
कसकाे गल्ती देख्ने ?
हास्यव्यङ्ग्य कसरी लेख्ने ?
नयाँ नेपाल बनाउनलाई
संरचनाहरू ढाले कतिले !
बन्द र चक्काजाम गर्दै
सडकमा टायर बाले कतिले !
यस्तै जाेसमा चुलिएर
राष्ट्र नै फाेड्न थाले कतिले !
उग्रतामै विराेधीहरूकाे
गर्धन ताेड्न थाले कतिले !
बाेल्दा कुटाइले तन दुख्छ
माैन बस्दा पनि मन दुख्छ
समावेसी लाेकतन्त्रमा अब
कसकाे मूर्खता देख्ने ?
हास्यव्यङ्ग्य कसरी लेख्ने ?
आधुनिकाकाे जन्तरबारे लेखूँ ?
नेता र जनताबीचकाे अन्तरबारे लेखूँ ?
खरदारकाे टल्कने तालुबारे लेखूँ ?
कि त्यसमाथि सप्रेकाे आलुबारे लेखूँ ?
यस्ताे पनि कहीँ कविता हुन्छ ?
तपाईं आफै भन्नुहुनेछ,
अवश्य पनि म कविकाे नाम
टपरटुइयाँमै गन्नुहुनेछ,
चिन्ता लागिरहेछ मलाई
आफ्नाे सम्मान अब कसरी थेग्ने ?
हास्यव्यङ्ग्य कसरी लेख्ने ??
०००
दाङ
Subscribe
Login
0 Comments
Oldest






































