उत्तमकृष्ण मजगैयाँचक्रव्यूह !
अभिमन्युकाे भूमिकाका लागि श्रापित भाेकाे, निमुखाे र साेझाे जनता धेरै कुरा जान्दाजान्दै पनि पूर्ण निकास जान्दैन, त्यसैले पुनः फस्छ चक्रव्यूहकाे नियतिमा अर्काे पाँच वर्षका लागि !!

उत्तमकृष्ण मजगैयाँ :
आ-आफ्ना काँधमा भिरेका
ठूल्ठूला झाेलाहरूमा
घाेषणापत्रका नयाँ संस्करणका साथ
परिवर्तनका केही सुन्दर सपना
महझैँ मीठा आश्वासन तथा
अलिकति लज्जा र
अलिकति क्षमायाचनाका
नयाँ प्याकेजहरू बाेकेर
घाेषित शत्रुहरूप्रति आक्रामक,
तर जनताका सामु नतमस्तक बन्दै
हिमाल, पहाड, तराईका
गाउँ-शहरतिर पस्दै छन्
सुरक्षाका चाैघेरासाथ
अब फेरि विदूषकहरू !
कति निहुरेकाे छ !
कति शिथिल छ !
ङिच्च ङिच्च हाँस्दै
लिसाेले टाँसेझैँ
दुवै हात जाेरेकाे जाेर्यै छ,
आफ्नाे पवित्रताकाे विश्वास दिलाउन
जानेजतिकाे किरिया खाँदै छ,
तर स्यालकाे धूर्त्याइँ र
ब्वाँसाेकाे दाह्रा लुकाउन कठिन भयाे
त्यसैले लाेकतन्त्रकाे गीत गाउँदै
शहीदहरूकाे रामनामीले
आफूलाई गम्लङ्ग छाेपेकाे छ,
अनि, विकास र परिवर्तनका नाममा
रचिरहेकाे छ जनताकाे वरिपरि
अब अर्काे नयाँ चक्रव्यूह !
अभिमन्युकाे भूमिकाका लागि श्रापित
भाेकाे, निमुखाे र साेझाे जनता
धेरै कुरा जान्दाजान्दै पनि
पूर्ण निकास जान्दैन, त्यसैले
पुनः फस्छ चक्रव्यूहकाे नियतिमा
अर्काे पाँच वर्षका लागि !!
०००
दाङ
बुद्धहरू मर्दैनन्- (२०५९)
Subscribe
Login
0 Comments
Oldest







































