अमर अधिकारीगोबरमुन्टे अफिसाँ ३९ वर्ष बरालिँदा
सेवाकालिन तालिम लिनका लागि पनि भनसुन र सोर्सफोर्स चाहिने देखेपछि मलाई सरकारी जागिरप्रति उहिल्यैदेखि वितृष्णा जागेर आएको थियो। तर के गर्नु ? हातमुख जोर्नलाई भए पनि बाध्य भएर गोबरमुन्टे जागिर खाएँ ।

अमर अधिकारी :
२०३९ सालको एसएलसी परीक्षामा उत्तीर्ण भएपछि २०४० सालमा वकिल बन्ने उद्देश्यले कानुन विषय पढ्न रोल्पाबाट दुई दिन पैदल र एक दिन बसमा गरी तीन दिन व्यतित गरेर काठमाडौँमा उक्लिएँ। मान्छेले सोध्छन्- “रोल्पाबाट काठमाडौँ कहिले झर्नुभएको हो” भनेर। तर रोल्पाको मेरो जन्मथलो खुंग्री समुद्र सतहबाट ७ सय फिटको उचाइमा छ भने काठमाडौँ १४ सय फिटको उचाइमा छ। किन झरेको भन्नुपरेको होला, चढेको पो भन्नुपर्ने थियो। रोल्पालाई डोल्पासँग दाँज्ने अनभिज्ञहरुको भीड छ संघीय राजधानी लगायत अन्य स्थानहरुमा। हचुवा वा अन्दाजको भरमा कुनै ठाउँ विशेषलाई हेपेर बोल्न पाइन्न।
रोल्पामा पाइने कतिपय जडिबुटी र रैथाने उपज काठमाडौँमा पाइँदैन। न ह्याँ तिँदू पाइन्छ न त चिउरी पाइन्छ। न काठेगोपी पनि पाइन्छ न त सिप्लीकान, भाल्वापाते, कुथुर्केको अनि जिब्रेको साग। यहाँ त विषादी फलफूल र तरकारी अनि नक्कली खाद्यवस्तुहरु मात्र पाइन्छ। काठमाडौँ हेरेर रोल्पा धेरै नै धनी छ। रोल्पामा मार्वल र स्लेट ढुंगा खानी छ, गढीहरु छन्, झरना छन्, तालहरु छन्, सुन्दर वन र खोलानालाहरु छन्। ढलमती भैसकेका वागमती, विष्णुमती, इच्छुमती (टुकुचा) जस्तो हो हाम्रो रोल्पाको लुंग्री र माडी नदी ? कञ्चन र अञ्जुलीमा लिएर सिधै पिउन मिल्छ हाम्रो रोल्पाका नदी खोलाहरुका पानी। रोल्पाको सदरमुकाम लिबाङ मिनी दार्जिलिङ जस्तो सुन्दर छ। मेरै गाउँ खुंग्रीका पाँचजनाले विद्यावारिधि गरिसके।
हुन त छिमेकी गाउँकाले हेप्थे पहिले पहिले मेरो गाउँलाई शिक्षामा कमजोर गाउँ भनेर। त्यहीँ गाउँको मान्छेले अहिले दुईवर्षको अवधिमा साहित्य लेखनमा छ वटा राष्ट्रिय कीर्तिमान राखिसकेको छ। तर यहाँ धनीहरुको मात्र मूल्याङ्कन हुन्छ, गरिबको हुँदैन। २०७७ असोजमा मलाई खेलकूद मन्त्रीले “तपाइँ त रोल्पाको हुनुहुँदोरहेछ, हाम्रो सचिवालयमा बस्नुस्” भने पछि म सचिवालयमा बसेँ। रोल्पाली भन्दैमा खाओवादी ठान्दारहेछन् कतिपयले। तर त्यो सचिवालयमा म चार महिना पनि टिक्न सकिनँ। किन कि मन्त्रीका स्वकीय सचिवले मेरो कुर्सी-टेबुल र कार्यकक्ष नै हडपे अर्थात् कब्जा गरे। म पनि के कम अवकाशको दिन आउँदै थियो। दुई महिना विदा ठेलेर म पनि आरामले घरमा बसेँ, अस्वस्थ पनि थिएँ म।
२०७९ असार २३ गतेदेखि लागू हुने गरी मैले सरकारी सेवाबाट अनिवार्य अवकाश लिए। जागिर खाने क्रममा “रोल्पाका मान्छेले पनि जागिर खान्छन् र ?” भनेर हेपेर बोले एकजना कर्मचारी साथी। “रोल्पाका मान्छेले चामलको गेडा पनि देखेका हुँदैनन्” भनेर पनि हेपे कसैकसैले। रोल्पाका रैथाने उपजका बारेमा मैले लेखहरु पनि लेख्दैआएको छु र रोल्पामा उत्पादन हुने धानका जातहरुका बारेमा पनि बताउँदैआएका छु। जलस्रोत मन्त्रालयबाट शुरु भएको मेरो निजामती सेवा खेलकूद मन्त्रालयसम्म आउँदा छ वटा मन्त्रालय र अन्तर्गतका निकायहरुमा रहेर सेवा गरेँ।
यस बीचमा कहिले कार्यालय नभएको ठाम्मा सरुवा गरिदिए तोरीलाउने हाकिमहरुले छुचा कर्मचारीमा गनिने केही लेखापालहरुले मैले पाउनुपर्ने भत्ता नै चपाएर पचाएदिए। इमानदारलाई पन्चाएर भ्रष्ट र कामचोर कर्मचारीलाई पुरस्कार दिए। सेवाकालिन तालिम लिनका लागि पनि भनसुन र सोर्सफोर्स चाहिने देखेपछि मलाई सरकारी जागिरप्रति उहिल्यैदेखि वितृष्णा जागेर आएको थियो। तर के गर्नु ? हातमुख जोर्नलाई भए पनि बाध्य भएर गोबरमुन्टे जागिर खाएँ ।
गभर्नमेन्ट अफिसहरुमा कारिन्दादेखि हाकिमसम्म बनेँ, भ्रष्टाचारीहरुको खेदो खनेँ। रिटायरिङ डोरबाट फुत्त निस्केपछि कलमलाई तुफानीसाथ दौडाउन थालेको त दुईवर्षको अवधिमा उपाधि आधादर्जन, कीर्तिमान आधादर्जन, पुरस्कार र सम्मान आधादर्जन अनि धम्की पनि आधादर्जन पाइयो गाँठे। धम्की मात्र कहाँ हो र ? नेताहरुले जासुसी गर्न पनि पठाए मेरो घर वरपर झोलेहरुलाई। म पनि के कम कुन कुन नेताले कहिले कहिले के के नचाहिँदा काम गरेका छन् भनेर अभिलेख मेरो मनमा छ र डायरीमा समेत उल्लेख छ। मेरा कतिपय लेखहरुमा समेत उल्लेख छन् भ्रष्ट नेताहरुका नाम उल्लेख नगरिएका प्रसङ्गहरु।
४२ वर्ष काठमाडौँमा त्यसमा पनि बाह्र वर्ष सिंहदरबारभित्र बिताउँदा सिंहदरबारलाई अभिनय गर्ने रङ्गमञ्च र खेलहरु खेल्ने रङ्गशाला बनाइएका मसँग धेरै टिपोटहरु छन्। तस्कर, चोर, फटाहा, माफियाहरुसँग सङ्गत गर्ने नेताहरुलाई बहिष्कार गर्नैपर्छ, भण्डाफोरका शब्दहरु छर्नैपर्छ, भ्रष्टहरुको सेखी झर्नैपर्छ, जनताको खबरदारीमा पर्दैपर्छ। यिनीहरुको कानमा जाली फुटुञ्जेल सतर्कताका शब्दवाणहरु भर्नैपर्छ। देशघातीलाई लखेट्न जनताहरु सबै मिलेर अगाडि सर्नैपर्छ। मुलुक उधोबाट उभो लगाउने हो भने थोत्रा नेताहरु फेर्नुपर्छ। पत्रु नेताहरुलाई घेर्नुपर्छ, राज्यकोष दोहन गरेर उनीहरुले खाएको छेर्नुपर्छ। हरि ॐ तत्सत !
०००
खुंग्री, रोल्पा हालः बुढानिलकण्ठ, काठमाडौँ ।
Subscribe
Login
0 Comments
Oldest









































